कल्याण शेरचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कल्याण शेरचन निकै लोकप्रिय नेपाली बरिष्ठ लोकगायक हुन्। वि.सं. २००३ साउन १२ गते आइतबार औशीका दिन पोखरा–११, रानीपौवामा जन्मेका गायक तथा लोक संकलक कल्याण शेरचनको ६४ वर्षको उमेरमा २०६७ माघ २४ गते सोमबार विहान निधन भयो। ७ भाइ छोरा मध्येका कान्छा छोरा शेरचनको श्रीमती र २ छोरी रहेका छन्।[१][२]

बिगत एक वर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित शेरचनको पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विहान २ बजे निधन भएको हो। शेरचन डेढ महिनाअघिदेखि जण्डिस विग्रिएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। पोखरा रानीपौवा निवासी शेरचनको शवयात्रापछि तुलसीघाटमा अन्त्येष्टि गरिने हिमाली सांस्कृतिक परिवार पोखराका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिए।

२०३२ सालदेखि लोक गायनमा सक्रिय शेरचनका ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो’, ‘सुखी ज्यानलाई गुँदरी काम्लो’, ‘कता होला हितको दौंतरी’ लगायतका गीतहरू चर्चित तथा लोकप्रिय छन्। उनको लोकप्रिय गीत ‘च्याङ्बा हो च्याङ्बा, च्याङ्बाले आज के भन्छ‘‘‘बोलको गीतको धुन बीबीसी रेडियो नेपाली सेवाको सिग्नेचर ट्युनसमेत हो।

उनले पहिलो पटक २०२० सालतिर ‘किन रोयौ दमिनी भाउजू दमै दाइले कुटेर टयाम्को फुटेर’ बोलको गीत गाएका थिए। जुन गीत गाउँदा उनले पहिलोपटक रेडियो नेपालबाट पुरस्कार पनि पाए। तर २०३२ सालमा पहिलोपटक ‘घर मेरो खुदिमा, बुढो भयो ठुली के जानु रोदीमा’ भन्ने गीत रेकर्ड भएको थियो।

लोकगीत भनेपछि बाल्यकालदेखि हुरुक्क हुने शेरचन लोकगीत प्रतियोगितामा कहिल्यै दोस्रो हुनु परेन। पारिवारीक पृष्ठभुमि एवं सँगीतकार गोपाल योञ्जनसँग हिमचिम बढेपछि शेरचनको सँगीतको यात्रा अघि बढेको थियो। उतिबेला कवि भुपि शेरचन, गायकहरू पूर्ण नेपाली, क्षेत्र गुरुङ सहितको उनको एउटा गायिकी समुह थियो।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ सगरमाथा टेलिभिजन, २०६७ माघ २५ मङ्गलबार बिहान २:१० देखि २:१५
  2. २.० २.१ http://mechikali.com/बरिष्ठ-लोकगायक-कल्याण-शेरचन-रहेनन्,https://eadarsha.com/article/page/12//