कानुन सम्बन्धी केही ऐतिहासिक अभिलेखहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कानुन सम्बन्धी केही ऐतिहासिक अभिलेखहरू प्रकाश वस्ती द्वारा सम्पादित तथा कानुन व्यवसायी क्लब, काठमाडौँ, द्वारा २०६३मा प्रकाशित कानुनी कागजपत्र सङ्कलित किताब हो । यो पुस्तक झण्डै ६०० वर्षेदेखिका कानुनी कागजपत्र सङ्कलित किताब हो– कानुनसम्बन्धी केही ऐतिहासिक अभिलेखहरू। यसमा जयस्थिति मल्लका पालाको (वि.सं. १४३७ अघि) मानव न्यायशास्त्रदेखि मुलुकलाई नयाँ संवैधानिक बाटोतिर डोर्‍याउने पछिल्लो जनआन्दोलनका बेला ११ बैशाख २०६३मा राजा ज्ञानेन्द्रबाट भएको घोषणासम्म छन्।

मानव न्यायशास्त्र, रामशाहका थिति, पृथ्वीनारायण शाहको उपदेश, रणबहादुर शाहको हत्या प्रतिवेदन, 'अठ्तीससाल काण्ड' (राजा त्रैलोक्यका भाइ नरेन्द्र विक्रम शाहले धीर शम्शेरको हत्या गर्न रचेका षडयन्त्र) का अभियोगीहरूले काटिनु वा धपाइनु पूर्व बोलेका कुरा, विभिन्न पर्व र उत्सवमा नेवार जातिले गर्न पाउने खर्चको सीमा, मृत्युदण्ड मुल्तबी राख्ने राणा प्रधानमन्त्रीका पटक–पटकका आदेश लगायत किताबमा थुप्रै रोचक सामग्री छन्। वि.सं. १९८८ देखि पाँच–पाँच वर्षका लागि तीन पटक गरिएको मृत्युदण्ड मुल्तबीको आफ्नै निर्णयलाई परवाह नगरी जुद्ध शम्शेरले १९९७को प्रजापरिषद मुद्दामा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथचन्दगङ्गालाललाई मृत्युदण्ड दिएका थिए। यसमा प्रजापरिषद मुद्दाको फैसला पनि छापिएको छ।

किताबमा पशुपतिनाथका मूलभट्टले 'गोप्य' भनेर कानुन तथा न्याय मन्त्रालयले अभिलेखका लागि माग गर्दा समेत नदिएका १८६७ देखि २०३१ सालसम्मका पशुपतिनाथसम्बन्धी सनद, सवाल, इस्तिहार र ताडपत्रका पाँच वटा नक्कल पनि सङ्कलित छन्। मूलभट्टले यी कागजात एउटा मुद्दाको सिलसिलामा काठमाडौँ जिल्ला अदालतमा पेश गरेपछि त्यहीँबाट नक्कल लिएर कानुन पत्रिकाले २०४४ फागुनमा सार्वजनिक गरेको थियो। हाल पशुपतिनाथको हिसाब–किताबको खोजी गरिरहेको सार्वजनिक लेखा समितिलाई पनि यी कागजात उपयोगी होलान्। किताबमा २०४७को संविधान निर्माण हुँदाका केही रोचक प्रसङ्ग पनि छन्। त्यसबेला मुकुन्द रेग्मी र माधवकुमार नेपालले नयाँ राष्ट्रियगानका दुई अलग–अलग मस्यौदा प्रस्तुत गरेका थिए, तर पछि मतैक्य नभएर पुरानै सदर भयो। यो प्रसङ्गले अहिले चलिरहेको राष्ट्रियगान परिवर्तनको बहसका सहभागीहरूलाई पनि झक्झक्याउला नै।

किताबमा समावेश गरिएका सामग्रीले नेपालको कानुनी इतिहासका धेरै अनुद्घाटित पक्षलाई समेटेका र छरिएका तथा लुप्त हुनलागेका अभिलेखहरूलाई एकत्रित गरेका छन्। किताबका सम्पादक का अनुसार, विश्वकै न्यायिक पद्धतिमा योगदान पुर्‍याउने न्याय प्रणालीको विकास भएको नेपालमा मानव न्यायशास्त्र, पृथ्वीनारायण शाहको दिव्यउपदेश, शक्ति पृथक्कीकरणको सिद्धान्तबाट प्रेरित १२ असार १९९७को सनदजस्ता नेपालीले गर्व गर्नुपर्ने अभिलेखहरू छन्| किताबमा नेपालको न्याय–कानुन व्यवस्थाका विविध पक्षहरूबारे कर्क प्याटि्रक, ह्यामिल्टन, हड्सन र सिल्भाँ लेभीले लेखेका विवरणहरू पनि छन्। बेलायतको राजदूत भएर सन् १८२० देखि १८२४ सम्म नेपालमा कार्यरत ब्रायन हटन हड्सन नेपालको कानुनी व्यवस्थाको गहन अध्ययन गर्ने विद्वानमध्ये मानिन्छन्। किताबमा समावेश उनका चार सामग्रीमध्ये ९८ वटा प्रश्नमा ढालेर तयार पारिएको नेपालको कानुनी र प्रहरी व्यवस्थासम्बन्धी सामग्रीलाई सम्पादक वस्तीले नेपालीमा अनुवाद गरेर समेत राखिदिएका छन्।

किताबमा समावेश सामग्रीहरूको मौलिक भाषा–शैलीलाई सकेसम्म जस्ताको तस्तै राखिएको छ। चन्द्र शम्शेरको दास विमोचनसम्बन्धी भाषणको त्यतिबेलै भएको अङ्ग्रेजी अनुवाद समेत दिइएको छ, जसले तत्कालीन नेपालमा प्रचलित अङग्रेजी भाषाको केही झलक पनि दिन्छ। पाठकहरूलाई सामग्रीको पृष्ठभूमि र सन्दर्भ बुझ्न सजिलो होस् भनेर प्रत्येक सामग्रीको शुरुमा सम्पादकीय टिप्पणी लेखिएको छ। यद्यपि कतिपय सामग्री बुझ्न यी टिप्पणीले मात्र नपुगी विस्तृत विवेचनाको खाँचो देखिन्छ। पुरानो भाषा–शैलीले गर्दा बुझ्न कठिन केही सामग्रीलाई पाठकहरूले सजिलोसँग बुझ्न सक्ने गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता पनि देखिन्छ। किताबमा प्रस्तुत सामग्रीहरू तिनको उत्पत्ति वा विषयवस्तुका आधारमा सिलसिलाबद्ध रूपमा र पछिल्तिर शब्दानुक्रमणिका (इण्डेक्स) सहित राखिदिए पाठकहरूलाई अझ सजिलो हुनेछ।

नेपालका कानुनसम्बन्धी ५५ वटा अभिलेखहरू एकै ठाउँमा सङ्ग्रह गरिदिएर प्रस्तुत किताबले कानुनको इतिहासबारे अध्ययन–अनुसन्धान गर्न र जानकारी लिन चाहनेहरूलाई राम्रै खजाना राखिदिएको छ। यतिका पुराना सामग्रीहरू जम्मा पार्ने काम पक्कै सजिलो थिएन भन्ने कुरा सम्पादकले किताबमा नाम लिएका सहयोगी व्यक्ति र संस्थाहरूको लामो सूचीबाटै स्पष्ट हुन्छ।

  • [१] पुस्तक | परिचय

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्रहरू[सम्पादन गर्ने]