कान्छी बाराही देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपालमै सर्वाधिक पानी पर्ने कास्की लुम्लेको उत्तरमा अवस्थित कान्छी बाराही देवीको मन्दिरमा विशेष तिथि पर्वमा पूजाआजा गर्ने भक्तजनहरूको घुँइचो लाग्छ। जङ्गलकोबीच पोखरीको डीलमा प्राकृतिक सुन्दरताले रमणीय स्थल लुम्ले गाविस-३ तान्चोकमा रहेको कान्छी बाराही देवीको मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। त्यस क्षेत्रमा विशेषत गुरूङ जातिको बाहूल्यता रहेकोले लाहुरेमा भर्ती हुने भाकल गरेर पूजा गर्न आउने धेरै भए पनि पढाइमा सफलता, परिवारजनको सुख, समृद्धि, सुस्वास्थ्य तथा आफूले चाहेको कुरा प्राप्त होस् भनी इच्छा राखेर आउने दर्शनार्थी धेरै भेटिन्छन्। देवीलाई सम्झेर भर्ती हुन भाकल गर्नेहरू सफल भएपछि विदेशबाटै फूल, अक्षता भेटी पठाउँछन् भने घरफर्केपछि मन्दिर आउँछन्, कतिपय शैक्षिक, विहेबारी सफलता र परिवारजनको सुखको कामना गरेर आउँछन्।

पोखरा-बागलुङ राजमार्गको लुम्लेबाट डेढ घण्टा पैदल हिँडेपछि मन्दिर पुगिन्छ। धौलागिरी, माछापुच्छ्रेलगायतको सुन्दर हिमाली दृश्य देखिनु यहाँका थप आकर्षण हुन्। लुम्लेबाट घान्द्रुक हुँदै हिमाली क्षेत्र घुम्नजाने पर्यटकको पदयात्रा मार्ग चन्द्रगिरीकोटको बाटो वा सिंधै लालीगुँरास र सुनाखरी फुल्ने वनघडेरीको जङ्गलैजङ्गल पैदल बाराही मन्दिर पुगिन्छ। साउनको महिना, अँधेरी रात, नवदुर्गालगायतका तिथिमा यस मन्दिरमा पूजा हुँदैन भने माघमा ब्रत बस्नेले पनि पूजा गर्दैनन्। पूजा गर्ने तिथि मिति जुरेपछि घोक हाल्ने र गाउँ वरपर, छिमेकी जिल्लामा प्रचार गरिन्छ। कुखुरा, हाँस, रागा, सुँगुर आदि नचढ्ने सो मन्दिरमा पाठा बोका बलि दिइन्छ। परेवा उडाइन्छ। पूजामात्र गर्नेले फूल अक्षता र सुनको सिक्रीसहितका भेटी चढाउँछन्। मूल मन्दिर भने पोखरीको डीलमा पक्की बनाइएको छ।

डीलमा स्थानीय बनबहादुर गुरूङलाई सपनीमा तीन फेर पोखरीको बीचमा पूर्वतिर मुख गरेर मन्दिर बनाइदेउ भनेपछि पण्डितले अक्षता हेरेर खन्दा दुई हात खनेपछि दुईटा शिला र घण्टी फेलापरेकोले २०२८ सालमा त्यहीं बनाइएको अर्को सानो मन्दिरपछि पुनःनिर्माण गरिएको छ। तनुहँको छाब्दी बाराही, ढोरबाराही, पोखरा फेवातालको ताल बाराही, घान्द्रुकको मेस्रोम बाराहीजस्ता बाराही देवीका सात बहिनीमध्ये लुम्ले तान्चोकको कान्छी बाराही हो भन्ने जनश्रुति पाइए पनि त्यसबारेमा यकिन तथ्यहरू पाईंदैनन्।