कामाख्या
| कामाख्या | |
|---|---|
इच्छा (काम), प्रजनन र रचनात्मक शक्तिकी देवी | |
काली पूजा, पण्डालमा पूजा गरिएकी कामाख्या | |
| आबद्ध | त्रिपुरसुन्दरी, भवानी, सती,महाविद्या |
| वासस्थान | नीलाचल पर्वत |
| मन्त्र | कामाख्ये वरदे देवी नील पर्वत वासिनी त्वं देवी जगतां माता योनिमुद्रे नमोस्तुते |
| अस्त्र | खड्ग, त्रिशूल, चक्र, ढाल, धनुष, बाण, गदा, कमल, घण्टा, अङ्कुश, कपाल, शङ्ख |
| बार | आइतबार |
| वाहन | सिंह |
| चाडपर्वहरू | अम्बुवाची मेला, नौरथा |
| रानी | शिव |
कामाख्या एक मातृदेवी हुन्[१] जसलाई शाक्त तान्त्रिक देवता मानिन्छ। काम (इच्छा) को अवतार मानिने उनलाई इच्छाकी देवीको रूपमा पुजिन्छ।[२] उनको निवासस्थल अर्थात् कामाख्या मन्दिर भारतको असम स्थित कामरूप क्षेत्रमा अवस्थित छ।[३][४]
मूलतः एक किरात देवीको रूपमा रहेकी उनी १० औँ/११औँ शताब्दीमा गुवाहाटी को पश्चिममा ब्रह्मपुत्र नदी को किनारमा रहेको नीलाचल पहाडमा विराजमान छिन् (जहाँको मन्दिर सन् १५६५ मा पुनः निर्माण गरिएको थियो)।[५] उनलाई कुनै मूर्ति वा मानव रूपमा नभई प्राकृतिक पानीको मुहानद्वारा सिञ्चित योनी आकारको शिलाको रूपमा पूजा गरिन्छ।[६] यो मन्दिर ५१ शक्तिपीठहरू मध्ये प्रमुख मानिन्छ र शाक्त सम्प्रदाय को सबैभन्दा महत्त्वपूर्ण मन्दिरहरू मध्ये एक हो।[३]
प्रतिमा लक्षण
[सम्पादन]कामाख्याको प्रतिमा लक्षणको वर्णन हिन्दु धर्मशास्त्र कालिका पुराणमा गरिएको छ। उनका बाह्रवटा हात र विभिन्न रङका (सेतो, रातो, पहेँलो, हरियो, कालो र रङ्गीचङ्गी) छवटा टाउकाहरू छन्। प्रत्येक टाउकाले उपासनाको मार्गमा उनीसम्म पुग्ने विभिन्न तरिकाहरूको प्रतिनिधित्व गर्दछन्। उनले बहुमूल्य गहनाहरू र जवा कुसुम (घण्टी फूल) जस्ता राता फूलहरू पहिरिएकी छिन्। उनले आफ्ना दशवटा हातहरूमा कमल, त्रिशूल, खड्ग, घण्टा, चक्र, धनुष, बाण, गदा वा राजदण्ड, अङ्कुश र रक्षाकवच लिएकी छिन्। उनका बाँकी दुई हातले सुन वा खप्परबाट बनेको कचौरा समातेका छन्। उनी ब्रह्माको प्रतीक मानिने कमलमा विराजमान छिन् जुन सिधै श्वेत प्रेत (सेतो शव) माथि रहेको छ। यो शवलाई शिवको प्रतीक मानिन्छ जो एउटा सिंहमाथि सुतिरहेको हुन्छ।[७][८]
किंवदन्ती
[सम्पादन]यस देवीको किंवदन्तीले हिन्दु साहित्यका पात्र र स्थानीय परम्पराहरूलाई जोड्दछ। एक पटक, नरकासुरले आफ्नो इच्छाले प्रेरित भई कामाख्यासँग विवाह गर्न चाहेको हुन्छ। जब विवाहको प्रस्ताव राखिन्छ तब देवीले ठट्टा गर्दै उसको अगाडि एउटा सर्त राख्छिन्। यदि उसले एकै रातमा, भाले बासेर बिहानीको सङ्केत हुनुभन्दा अगाडि, नीलाचल पहाडको फेदीदेखि मन्दिरसम्म सिँढी बनाउन सक्यो भने उनी पक्कै पनि उससँग विवाह गर्छु भनेर सर्त राख्छिन्। नरकासुरले यसलाई चुनौतीको रूपमा लिन्छ र आफ्नो सम्पूर्ण बल लगाएर यो ठूलो काम सम्पन्न गर्ने प्रयास गर्छ। बिहान हुनुभन्दा ठीक अगाडि उसले काम झण्डै पूरा गरिसकेको थियो। यस समाचारले त्रसित भई देवीले एउटा भालेको घाँटी अठ्याएर त्यसलाई असामयिक रूपमा बास्न लगाउँछिन् जसले गर्दा नरकासुरलाई बिहान भएको भान हुन्छ। यस चालबाट धोका खाएपछि नरकासुरले काम बीचैमा छाडिदिन्छ। अहिले उक्त स्थानलाई 'कुकुरकाता' भनिन्छ, जुन दररङ जिल्लामा अवस्थित छ। त्यो अपूर्ण सिँढीलाई 'मेखेलाउजा पथ' भनिन्छ।[९]
देवताहरूले गरेको छलबाट दुःखी भएको र आफ्नो पराक्रम अतुलनीय छ भन्ने जानेको हुनाले उसले पृथ्वीका सबै राज्यहरूलाई आफ्नो नियन्त्रणमा लिन्छ। त्यसपछि, उसले स्वर्ग तर्फ आँखा लगाउँछ। विष्णुका पुत्र (नरकासुर) को आक्रमणलाई शक्तिशाली इन्द्रले पनि थाम्न नसकेर स्वर्ग छोडेर भाग्छन्। नरकासुर स्वर्ग र पृथ्वी दुवैको अधिपति बन्छ। सबै अपमानको बदला लिन उसले स्वर्गकी मातृदेवी अदितिका झुम्काहरू खोस्छ र उनको केही क्षेत्र कब्जा गर्नुका साथै आफ्नो सुखका लागि श्रीकृष्णका १६,००० गोपिनीहरूलाई बन्दी बनाउँछ।[१०] इन्द्रको नेतृत्वमा सबै देवताहरू नरकासुरबाट मुक्ति पाउन विष्णु कहाँ जान्छन्। विष्णुले उनी कृष्णको रूपमा अवतार लिएर यस विषयको समाधान गर्नेछु भनेर आश्वासन दिन्छन्।[११]
भूदेवीलाई दिएको वचन अनुसार नरकासुरलाई लामो समयसम्म शासन गर्न दिइएको हुन्छ। अन्ततः विष्णुले कृष्णको रूपमा जन्म लिन्छन्। कृष्णकी पत्नी सत्यभामा (जसलाई भूदेवीको अवतार मानिन्छ) की नातेदार अदितिले मद्दतका लागि सत्यभामासँग सम्पर्क गर्छिन्। सत्यभामाले नरकासुर विरुद्ध युद्ध गर्न कृष्णसँग अनुमति माग्छिन्। देवताहरू र अदितिलाई दिएको वचन अनुसार कृष्णले आफ्नी पत्नी सत्यभामासँगै आफ्नो वाहन गरुडमा चढेर नरकासुरको विशाल किल्लामा आक्रमण गर्छन्। कृष्णले नरकासुरको सेना विरुद्ध नारायणास्त्र र आग्नेयास्त्र प्रयोग गरेर युद्ध लड्दा युद्धले भीषण रूप लिन्छ। नरकासुरले आफ्ना ११ अक्षौहिणी सेना कृष्ण विरुद्ध परिचालन गर्छ। यद्यपि, कृष्णको थोरै प्रयासमै ती सबैको संहार गरिन्छ। कृष्णले नरकासुरका सेनापति मुरको पनि वध गर्छन्। त्यसैले कृष्णलाई 'मुरारी' (मुरको वध गर्ने) भनिन्छ।[१२] नरकासुरले कृष्ण विरुद्ध धेरै अस्त्रहरू प्रयोग गर्छ तर कृष्णले सजिलै ती सबैलाई निष्क्रिय पारिदिन्छन्। अन्तमा, जब नरकासुरले त्रिशूलले कृष्णलाई मार्ने प्रयास गर्छ, उसले हरिको छेउमा देवी कामाख्या उभिएको देख्छ र अन्ततः कृष्णले आफ्नो सुदर्शन चक्रले उसको शिर छेदन गर्छन्।
नरकासुरको मृत्यु हुनुभन्दा अघि उसले आफ्नी आमा सत्यभामासँग सबैले आफ्नो मृत्युलाई रङ्गीचङ्गी उज्यालोका साथ मनाउनुपर्ने वरदान मागेको मानिन्छ। यसरी, यो दिनलाई दीपावलीको एक दिन अगाडि 'नरक चतुर्दशी' को रूपमा मनाइन्छ। कृष्णले नरकासुरले बन्दी बनाएका महिलाहरूको सम्मान बचाउन उनीहरूकै आग्रहमा पत्नीका रूपमा स्वीकार गर्छन्, किनकि समाजले उनीहरूलाई नरकासुरको कब्जामा रहेका वस्तुका रूपमा हेर्थ्यो। तीमध्ये मुख्यलाई कहिलेकाहीँ रोहिणी भनिन्छ। विवाहपछि उनीहरू सबै द्वारकामा बस्छ थाल्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Kamakhya was a new goddess unknown to the Devi herself" (Kakati 1989:38)
- ↑ Urban, Hugh B. (डिसेम्बर २००८), "Matrix of Power: Tantra, Kingship, and Sacrifice In the Worship of Mother Goddess Kamakhya", Journal of South Asian studies 31 (3): 501, मूलबाट २३ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २०२२।
- 1 2 "उत्तरपूर्वी भारतको असम राज्यमा ब्रह्मपुत्र नदीको किनारमा रहेको नीलाचल पहाडको टाकुरामा अवस्थित कामाख्या मन्दिर दक्षिण एसियाकै सबैभन्दा पुरानो र सम्मानित तान्त्रिक साधना केन्द्रहरूमध्ये एक हो। कम्तीमा आठौँ शताब्दीदेखि नै कामरूप क्षेत्र (जसको अर्थ 'इच्छाको स्थान' वा 'इच्छाको रूप' वा वर्तमान असम) लाई भारत, पाकिस्तान र बङ्गलादेशको पवित्र भू-भागमा फैलिएका शाक्त पीठहरू ('शक्तिको केन्द्र') वा देवी उपासनाका केन्द्रहरूमध्ये एक अत्यन्त महत्त्वपूर्ण स्थलको रूपमा मान्यता दिइएको छ।" (Urban 2019:256)
- ↑ "असमको नीलाचल (नीलो पहाड), जो सुप्रसिद्ध देवी कामाख्याको पवित्र निवासस्थल हो, प्रारम्भिक मध्यकालदेखि नै सबैभन्दा महत्त्वपूर्ण शाक्त-तान्त्रिक केन्द्रहरूमध्ये एक रहँदै आएको छ र आज पनि छिमेकी राज्यहरूबाट लाखौँ भक्तजनहरूलाई आकर्षित गर्ने गर्दछ।" Shin (2010, p. 3)
- ↑ "असमको गुवाहाटीमा अवस्थित नीलाचल पहाड, देवी कामाख्याका साथै १० महाविद्याहरूको पवित्र निवासस्थल हो।" (Shin 2018:87)
- ↑ Shin (2010, pp. 4–7)
- ↑ Re-imagining South Asian Religions: Essays in Honour of Professors Harold G. Coward and Ronald W. Neufeldt (अङ्ग्रेजीमा), BRILL, २०१२, पृ: 147–8, आइएसबिएन 978-90-04-24237-1।
- ↑ "Description of Devi Kamakhya as per Tantra-S", मूलबाट २१ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २०२१। अभिलेखिकरण २१ नोभेम्बर २०२१ वेब्याक मेसिन
- ↑ Kāmarūpa Anusandhān Samiti (2007),Journal of the Assam Research Society - Volume 38,p.30
- ↑ Swami, Parmeshwaranand (२००१), Encyclopaedic Dictionary of the Puranas, New Delhi: Sarup and Sons, पृ: ९४१, आइएसबिएन 8176252263।
- ↑ B. K. Chaturvedi (2017), Vishnu Puran
- ↑ Dianne M. MacMillan (2008), Diwali: Hindu Festival of Lights, p.24