कार्टेलिङ्
कार्टेलिङ् वा कार्टेल भन्नाले स्वतन्त्र बजारका सहभागीहरूले आपसमा समझदारी गर्दै एक अर्कासँग प्रतिस्पर्धा नगर्ने सहमति गर्छन् ताकि आफ्नो नाफा बढाउन र बजारमा प्रभुत्व जमाउन सकून्। यसमा उत्पादनकर्ताहरूले प्रतिस्पर्धालाई सीमित गर्न र मूल्य बढाउन कम उत्पादन भएको भनी, आपूर्ति सीमित गरेर, भण्डारण र विपणन कोटा जस्ता उपायहरूले कृत्रिम अभाव सिर्जना गर्दछन्। कानूनी मान्यतामा कार्टेललाई प्रतिस्पर्धा विरुद्धको व्यवहार मान्दछन् र यसरी गरिने अभ्यासलाई गैरकानूनी मानिन्छ। कार्टेल स्वभावत: अस्थिर हुन्छ, किनभने सदस्यहरूले व्यक्तिगत नाफा बढाउन आपसमा छल गर्न वा सम्झौता भंग गर्न पनि सक्दछन्, जसले सबै सदस्यका लागि मूल्य घट्ने अवस्था सिर्जना गर्न सक्छ। अर्थशास्त्रमा कार्टेलको विश्लेषण गर्ने सिद्धान्तलाई कार्टेल सिद्धान्त (Cartel Theory) भनिन्छ। कार्टेललाई अन्य प्रकारको मिलावट वा प्रतिस्पर्धाविरुद्धको संगठन जस्तै कर्पोरेट मर्जर (corporate mergers) बाट छुट्याएर हेर्ने गरिन्छ।