सामग्रीमा जानुहोस्

कार्तिक पूर्णिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्तिक पूर्णिमा
कार्तिक पूर्णिमा: २८ नोभेम्बर २०१२
वैकल्पिक नामकार्तिक पौर्णमी, त्रिपुरी पूर्णिमा, त्रिपुरारी पूर्णिमा, देव-दीपावली
अनुयायीहिन्दु, सिख, र जैन धर्मावलम्बीहरू
प्रकारधार्मिक
महत्त्वमहत्व :
राक्षस त्रिपुरासुर माथि भगवान शिवको विजयको उत्सव
भगवान विष्णु मत्स्य अवतारको रूपमा प्रकट
भगवान कार्तिकेयतुलसी (वृन्दा) को जन्मदिन
गुरु नानक को प्रकाश उत्सव (जन्मजयन्ती)
परिपालनपुष्कर तालमा ब्रह्माको प्रार्थना र धार्मिक अनुष्ठान, विष्णुहरिहरको पूजा, पुष्कर तालमा स्नान
मितिKartik Purnima
सम्बन्धितवैकुण्ठ चतुर्दशी

कार्तिक पूर्णिमा हिन्दु, सिख, र जैन धर्मावलम्बीहरूको सांस्कृतिक पर्व हो जुन कार्तिक महिनाको १५ औँ चन्द्र दिन अर्थात् पूर्णिमाको दिन मनाइन्छ। यो ग्रेगोरियन पात्रो अनुसार नोभेम्बर वा डिसेम्बर महिनामा पर्दछ र यसलाई त्रिपुरारी पूर्णिमा वा देव-दीपावली (देवताहरूको दीपावली) को रूपमा पनि चिनिन्छ। कार्तिक दीपम यसैसँग सम्बन्धित पर्व हो जुन दक्षिण भारतश्रीलङ्कामा फरक मितिमा मनाइन्छ। यो पर्व तिहार (दिपावली) को १५ दिन पछि आउँछ।

यहाँ, पाँच टाउको भएका त्रिपुरान्तकले मेरु पर्वतको धनुष र वासुकी नागको डोरी बनाएर त्रिपुरा (दायाँ माथिल्लो कुना) तर्फ बाण ताकेको देखिन्छ। चार टाउको भएका भगवान ब्रह्मालाई पनि यहाँ देखाइएको छ चने चन्द्रमा तथा सूर्यलाई रथको पाङ्ग्राको रूपमा चित्रण गरिएको छ।

वैष्णव परम्परामा यो दिनलाई राधाकृष्ण दुवैको पूजाका लागि महत्त्वपूर्ण र विशेष दिन मानिन्छ। यसै दिन राधाकृष्णले आफ्ना गोपीहरूसँग रासलीला गरेका थिए भन्ने विश्वास गरिन्छ। जगन्नाथ मन्दिर सहित अन्य सबै राधाकृष्ण मन्दिरहरूमा, सम्पूर्ण कार्तिक महिनाभरि एक पवित्र व्रत पालना गरिन्छ र कार्तिक पूर्णिमाको दिन रासलीलाका कार्यक्रमहरू आयोजना गरिन्छ। ब्रह्मवैवर्त पुराणका अनुसार, कृष्णले यसै दिन राधाको पूजा गरेका थिए।[]

'त्रिपुरी पूर्णिमा' वा 'त्रिपुरारी पूर्णिमा' नाम त्रिपुरारी—राक्षस त्रिपुरासुरको शत्रुबाट आएको हो। कार्तिक पूर्णिमाका केही किंवदन्तीहरूमा, यो शब्द तारकासुरका तीन राक्षस छोराहरूलाई जनाउन प्रयोग गरिन्छ। त्रिपुरारी भगवान शिवको एक नाम हो। शिवले त्रिपुरान्तक (त्रिपुरासुरको संहारक) को रूपमा यसै दिन त्रिपुरासुरको वध गरेका थिए। त्रिपुरासुरले सम्पूर्ण संसार जितेर देवताहरूलाई पराजित गरेका थिए र अन्तरिक्षमा तीनवटा सहरहरू निर्माण गरेका थिए, जसलाई संयुक्त रूपमा "त्रिपुरा" भनिन्थ्यो। शिवद्वारा एकै बाणले राक्षस(हरू)को वध र उनीहरूको सहरको विनाशले देवताहरू अत्यन्त हर्षित भए, र उनीहरूले यस दिनलाई प्रकाशको उत्सवको रूपमा घोषणा गरेका थिए। यस दिनलाई "देव-दीपावली"—देवताहरूको दीपावली पनि भनिन्छ।[]

तुलसी र विष्णु

[सम्पादन गर्नुहोस्]

कार्तिक पूर्णिमालाई भगवान विष्णुको माछा अवतार (मत्स्य अवतार) र तुलसीको मानवीय रूप वृन्दाको प्राकट्य दिवसको रूपमा पनि मनाइन्छ। ब्रह्मवैवर्त पुराणका अनुसार, तुलसी एक गोपी थिइन् जसलाई पृथ्वीमा राजकुमारीको रूपमा जन्म लिन र शङ्खचूड नामक असुरसँग विवाह गर्न श्राप दिइएको थियो। उनी विष्णुको भक्त बन्छिन् र भगवानसँग विवाह गर्ने तीव्र इच्छा राख्छिन्। जब शङ्खचूडले आफ्नो विजय अभियानबाट विद्यमान व्यवस्थालाई खतरामा पार्छन् (आफ्नी पत्नीको सतीत्वका कारण उनी अजय थिए) तब विष्णुले उनको रूप धारण गरेर उनलाई अङ्गालो हाल्न लगाएर छक्याउँछन् जसले गर्दा उनको सतीत्व नष्ट हुनुका साथै शिवलाई असुरमाथि युद्ध जित्न सम्भव हुन्छ। त्यसपछि विष्णुले आफ्नो वास्तविक रूप प्रकट गरे र उनीसँग विवाह गर्छन्। तुलसीले विष्णुलाई उनको छलका लागि शालिग्राम ढुङ्गाको रूप धारण गर्नुपर्ने श्राप दिन्छिन् र उनलाई शान्त पार्न भगवानले उनको सार तुलसीको बोट र गण्डकी नदी बन्ने बताउँछन्। उनको दिव्य रूप उनीसँगै रहनका लागि वैकुण्ठ प्रस्थान गर्छ।[]

दक्षिण भारतमा, कार्तिक पूर्णिमालाई युद्धका देवता र शिवका कान्छा छोरा कार्तिकेयको जन्मदिनको रूपमा पनि मनाइन्छ।[] यो दिन पितृ (दिवङ्गत पूर्वजहरू) का लागि पनि समर्पित छ।[] अन्डरहिलका अनुसार, यस पर्वको उत्पत्ति प्राचीन समयमा शत्रुहरूमाथि विजय प्राप्त गर्न गरिने शाकमेध नामक यज्ञबाट भएको हुनसक्छ।

हाल कार्तिक पूर्णिमालाई सिखहरूका प्रथम गुरु, गुरु नानकको गुरुपुरब वा प्रकाश पर्वको रूपमा मनाइने भएतापनि केही सिख विद्वानहरूका अनुसार यो विवादास्पद र ऐतिहासिक रूपमा अमान्य छ।[]

सिख समसामयिक स्रोतहरूले गुरु नानकको जन्म महिनाको रूपमा वैशाख (मध्य अप्रिल) लाई उल्लेख गरेका छन्। गुरु नानकको जन्म उत्सवलाई महाराज रणजित सिंहको समयमा भाइ सन्त सिंहको आग्रहमा कार्तिक महिनामा सारिएको थियो मानिन्छ।[] अमृतसरको हिन्दु तीर्थस्थल राम तीर्थ मन्दिरमा लाग्ने कार्तिक पूर्णिमाको मेलामा सिखहरूलाई सहभागी हुनबाट रोक्नका लागि यसो गरिएको थियो।[]

पालिताना जैन मन्दिरहरू

कार्तिक पूर्णिमा जैन धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण धार्मिक दिन हो जसलाई उनीहरू जैन तीर्थस्थल पालितानाको भ्रमण गरेर मनाउँछन्।[] कार्तिक पूर्णिमाको दिन पालिताना ताल्लुकाको शत्रुञ्जय पहाडको फेदीमा हजारौँ जैन तीर्थयात्रीहरू शुभ यात्रा गर्न भेला हुन्छन्। 'श्री शत्रुञ्जय तीर्थ यात्रा' को रूपमा पनि चिनिने यो पदयात्रा जैन भक्तको जीवनमा एक महत्त्वपूर्ण धार्मिक घटना हो, जसले पहाडको टाकुरामा रहेको आदिनाथ मन्दिरमा पूजा गर्न २१६ किलोमिटरको कठिन पहाडी भूभाग पैदलै पार गर्दछन्। जैन धर्ममा कार्तिक पूर्णिमाको दिन अत्यन्तै महत्त्वपूर्ण छ। जैनहरूको विश्वास अनुसार प्रथम तीर्थङ्कर आदिनाथले आफ्नो पहिलो उपदेश दिन यहाँ आएर यस पहाडलाई पवित्र बनाएको मानिन्छ। जैन ग्रन्थहरूका अनुसार, लाखौँ साधुहरूले यस पहाडमा मोक्ष प्राप्त गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Mohapatra, J. (२०१५), Wellness and Indian Festivals & Rituals (अङ्ग्रेजीमा), Partridge Publishing, पृ: 164, आइएसबिएन 978-1-4828-1690-7
  2. "The legends behind Dev Diwali", Garavi Gujarat 43 (2042): ११, ३१ अक्टोबर २००९।
  3. Chaturvedi, B. K. (२००४), Brahmavaivarta Purana (अङ्ग्रेजीमा), Diamond Pocket Books Pvt Ltd, पृ: 59, आइएसबिएन 978-93-5296-763-6
  4. "Birth of Guru Nanak ~ Katik or Baisakh?", SikhNet (अङ्ग्रेजीमा), २०१३-०५-०९, अन्तिम पहुँच २०२३-१०-२९, "गुरु नानकको जन्म मितिको बारेमा विवाद रहिआएको छ। परम्परागत रूपमा गुरु नानकको जन्म सन् १४६९ को कार्तिक महिनाको (अक्टोबर-नोभेम्बर) पूर्णिमाको रातमा भएको थियो र त्यसैले विश्वभरका सिखहरूले गुरु नानकको जन्मदिन कार्तिकमा मनाउँछन् भन्ने विश्वास गरिन्छ। तर, आधुनिक विद्वानहरू यो मितिलाई अस्वीकार गर्दछन्। उनीहरूको अनुसन्धानले देखाएअनुसार उनको जन्म सन् १४६९ को वैशाख (अप्रिल) महिनामा भएको थियो।"
  5. Puri, J. R. (१९८२), Guru Nanak, His Mystic Teachings (अङ्ग्रेजीमा), Radha Soami Satsang Beas, "गुरु नानकको जन्मको वार्षिकोत्सव मेला ननकाना साहिबमा वैशाख (अप्रिल) महिनामा मनाइन्थ्यो। रणजित सिंहको समयमा, भाइ सन्त सिंहको आग्रहमा यो उत्सव मनाउने मिति कार्तिक (नोभेम्बर) महिनामा सारिएको थियो।"
  6. Proceedings - Punjab History Conference (अङ्ग्रेजीमा), Department of Punjab Historical Studies, Punjabi University., २००९।
  7. "Pilgrims flock Palitana for Kartik Poornima yatra", The Times of India, २००९-११-०२, मूलबाट २०१२-१०-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-११-०३