कार्यविनायक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बुङ्मतीको कार्यविनायक उपत्यकाका चार विनायकहरू मध्य एक हुन्।

कार्यविनायक आकृतिविहीन सादा ढुंगामा पूज्ने परम्परा रहिआएको छ। भाकल गर्दा अन्य वैदिक सम्प्रदायले शिव र पार्वतीका सन्तानका रूपमा रहेका गणेशलाई लड्डु पेडालगायत सात्विक प्रसाद चढाउने परम्परा रहे तापनि तन्त्रपरम्परा उजागर भएको उपत्यकामा यहाँका गणेशलाई गणको प्रमुखका रूपमा लिइन्छ। सोही आधारले यहाँ भाकल पूरा गरेकाहरूले राँगा कुखुरा हाँस भेडा आदिको बलि दिने परम्परा छ।कठिन कार्य पूरा गराउनका लागि कार्यविनायकमा भाकल गर्ने चलन छ।

लिच्छवीकालभन्दा अगाडिदेखि यहाँ पूजा-आजा गर्ने चलन चलेको स्थानीय बूढापाका बताउँछन्। तर मन्दिरको औपचारिक स्वरूप भने ने.सं. ७८१मा बनेको मन्दिरअगाडि रहेको शिलालेखलाई आधार मान्दा प्रस्ट हुन्छ। कार्यविनायक मन्दिरको छाना पित्तल र तामा मिलाएर बनाइएको छ। छत्राकार शैलीमा निर्मित मन्दिरको प्रवेशद्वारमा चारतर्फ ढुंगे सिंह घण्टा छुचुन्द्रो मूर्ति प्रतिस्थापित देखिन्छ। मुसालाई गणेशको वाहनको प्रतीक मानिँदै आएको भए पनि यहाँ भने छुचुन्द्रोलाई प्रतीकका रूपमा प्रतिस्थापित गरिएको छ। भोजघरले घेरिएको यस मन्दिरमा भोज खाने भजन गर्ने तथा आराम गर्ने पाटी छ। बुङ्मतीको मूल थलोबाट केही पर खोकनातर्फ लाग्दा पिकनिक स्थलबीच कार्यविनायक मन्दिर अवस्थित छ। धार्मिक गतिविधिबाहेक शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा यस क्षेत्रमा वनभोजका लागि आउनेको बाक्लो चहलपहल देखिन्छ।