कीर्तीनिधि विष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कीर्तिनिधि बिष्ट

कार्यकाल
७ अप्रिल १९६९ – १३ अप्रिल १९७०
शासक : महेन्द्र वीर विक्रम शाह
कार्यकाल
१४ अप्रिल १९७१ – १६ जुलाई १९७३
शासक : महेन्द्र वीर विक्रम शाह

वीरेन्द्र वीर विक्रम शाह

कार्यकाल
१२ सेप्टेम्बर १९७७ – ३० मे १९७९
शासक : वीरेन्द्र वीर विक्रम शाह
व्यक्तिगत जानकारी
जन्म (१९२७-०१-१५)१५ जनवरी १९२७
ठमेल, काठमाडौं, नेपाल
मृत्यु ११ नोभेम्बर २०१७(२०१७-११-११) (९० वर्ष)
ज्ञानेश्वर
नागरिकता नेपाली
राष्ट्रियता नेपाली
पेशा राजनीतिज्ञ

कीर्तिनिधि बिष्ट (१५ जनवरी १९२७ - ११ नोभेम्बर २०१७) पञ्चायती व्यवस्थाका प्रधानमन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिए पछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

सुटुक्कै जल्यो ‘सिंहदरबार’[सम्पादन गर्ने]

सरल जीवनशैलीका ९१ वर्षीय विष्ट प्रधानमन्त्री पदमा रहेकै बेला ०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भएको थियो । राति १० बजेतिर आगो लागेको थियो । प्रधानमन्त्री विष्टलाई विद्युत सर्ट भएर आगो लागेको सूचना दिइएको थियो ।

प्रधानमन्त्री विष्ट राति नै बालुवाटारबाट गाडी चढेर सिंहदरबार नजिकै रहेको राष्ट्रिय पञ्चायत भवन छेउमा आए । र, त्यहीँबाट मुलुकको मुख्य प्रशासनिक भवन ह्वारह्वारी जलेको दृश्य हेरे । र, त्यहीँ बसेर बलिन्द्र धारा आँशु खसालेर रोए ।

चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ

चन्द्र समशेरले सिंहमरमर प्रयोग गरेर बनाएको सिंहदरबारबाट निस्केको आगोको राप पुतलीसडक, बानेश्वर थापाथलीसम्म फैलिएको थियो । तर, देशको प्रधानमन्त्री त्यो दृश्य टुलुटुलु हेर्न विवश थिए ।

शाही नेपाली सेनाका जवानहरुले रातभर आगो निभाउने असफल प्रयास गरेका थिए । उनीहरुकै प्रयासले सिंहदरबारको अग्रभाग मात्रै जोगियो, अरु सबै जल्यो । अहिले त राजधानीमा बारुण यन्त्रहरु चुस्त दुरुस्त छैनन, त्यो बेला बालुवा र माटो हालेर आगो निभाउन सकिने कुरै थिएन ।

सिंहदरबार ह्वारह्वारी जलिरहँदा तत्कालीन प्रधानमन्त्री विष्ट रातभरि बालुवाटार नफर्किकनै त्यहीँ बसे । बिहान उज्यालो भएपछि उनी युद्ध हारेको सिपाहीजस्तो बनेर बालुवाटार फर्किए । अनि राजीनामा लेखेर दरबारमा राजा वीरेन्द्रलाई बुझाए ।

तत्कालीन प्रधानमन्त्री विष्टलाई राजा वीरेन्द्रले भनेका थिए- तिमीले सिंहदरबार जलाएको हैन, किन राजीनामा दिन्छौ ? राजीनामा फिर्ता लैजाऊ र मलाई सघाऊ । तर, विष्टले मानेनन् । मलाई नैतिकताले पदमा बस्न दिँदैन सरकार भन्दै उनले राजीनामा दिए ।

त्यसो त प्रधानमन्त्री विष्टलाई तत्कालीन भारतीय राजदूतले पनि राजीनामा नदेउ भनेका थिए । तर, विष्टले सामान्य रेल दुर्घटना हुँदा तिम्रा लालबहादुर शास्त्रीले राजीनामा किन दिए ? भन्दै राजदूतलाई जवाफ फर्काएको इतिहासमा पढ्न पाइन्छ ।

कीर्तिनिधि विष्ट नैतिकता गुमाएर पदमा टाँसिनुहुँदैन भन्नेमा दृढ थिए । उनले ०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए । त्यसबेला पनि उनले नैतिकताका आधारमा शिक्षामन्त्री बनिरहन मिलेन भनेका थिए ।

त्यस्तै ०३६ साल जेठ १० गते विष्टले दोस्रोचोटि प्रधानमन्त्री पदबाट राजीनामा दिए । राष्ट्रिय पञ्चायतको ३० औं अधिवेशन चाँडै बस्न लागेको र सो पञ्चायतले नै नयाँ प्रधानमन्त्रीको सिफारिस गरोस् भन्ने राजाले चाहेको भन्दै उनले राजीनामा दिएका थिए । ज्यान गए पनि कुर्सी नछाड्ने नैतिकताहीन नेताहरुका लागि कीर्तिनिधि विष्ट नैतिकताका ‘सिंहदरबार’ नै हुन्, जो शनिबार दिउँसो आर्यघाटमा सुटुक्क जलेर प्रकृतिमा लीन भएका छन् ।

पारिवारिक स्रोतका अनुसार पूर्वप्रधानमन्त्री विष्टका कान्छा छोराले संसार छाडेको धेरै समय भएको छैन । र, आफ्ना पितालाई स्याहार गरिरहेका जेठा छोरा विनोद विष्ट पनि किड्नीका बिरामी हुन् । [१]

को हुन् विष्ट ?[सम्पादन गर्ने]

थरले विष्ट भए पनि कीर्तिनिधि क्षेत्री नभएर उपाध्याय बाहुन हुन् । उनी राजपुरोहितका सन्तान हुन् । राजघरानाका पाण्डेहरु उनका मावली हुन् ।

पूर्वप्रधानमन्त्री विष्ट खासै ‘हाइप्रोफाइल’ वाला नेताजस्ता देखिँदैनथे । शनिबार निधन भएको खबर सुन्दा पनि कतिपय नयाँ पुस्ताका सर्वसाधारणले उनलाई ‘पूर्वप्रधानमन्त्री’का रुपमा खासै नाम नसुनेको जस्तो गरे । यद्यपि उनी लामो समयसम्म नेपालको राजनीतिमा छाएका पूर्वपञ्च थिए । उनलाई एकजना आदर्श राजनेताका रुपमा उनका समकालीनहरुले लिने गरेका छन् ।

पूर्व प्रधानमन्त्री विष्टको जन्म वि.सं. १९८३ साल पुसमा काठमाडौं ठमेलनजिकै वटू टोलमा भएको थियो । विद्यालयहरु नखुलेको समयमा जन्मेका विष्टले मावली घरमा अक्षर सिके । पछि उनले दरबार हाइस्कुलबाट तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

त्रिचन्द्र क्याम्पसबाट बीए पास गरेका उनले भारतको लखनऊबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरे ।

विष्टको राजनीतिक यात्रा भारतको लखनऊबाटै सुरु भएको थियो । सुरुमा उनी राष्ट्रिय कांग्रेसमा आवद्ध भए । सन् १९४९ मा लखनऊमा पढ्दै गर्दा विष्टको भेट डिल्लीरमण रेग्मीसँग भयो । रेग्मीले नै उनलाई राष्ट्रिय कांग्रेसमा प्रवेश गराए ।

राष्ट्रिय कांग्रेसमा लागेर विष्ट संगठनमा सक्रिय भए । विद्यार्थीकालमै उनले काठमाडौंको सानो गौचरनमा भाषण गरेका थिए । एमएको अध्ययन सकेर नेपाल फर्केपछि विष्ट अध्यापन र राजनीति दुबैमा सक्रिय भए ।

काठमाडौंमा विष्टले केही समय राजनीतिशास्त्र पढाए भने डिल्लीबजारमा खुलेको एडल्ट स्कुलमा पनि अध्यापन गरे ।

राजनीतिमा लाग्ने क्रममा विष्ट राष्ट्रिय कांग्रेसको महामन्त्रीका साथै कार्यवाहक अध्यक्षसम्म बने । यसैवीच ०१७ सालमा राजा महेन्द्रको कदमलाई उनले खुलेर समर्थन गरेपछि उनको राजनीतिक यात्रा पञ्चायती व्यवस्थातर्फ मोडियो । [२]

सिंहदरबारको फन्कोः दौडाहा टोलीदेखि प्रधानमन्त्रीसम्म[सम्पादन गर्ने]

पञ्चायत स्थापनाको प्रारम्भमा विष्ट दौडाहा टोलीको अध्यक्ष बने । ०१८ सालमा उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गए । त्यहीबेला राजाले उनलाई ०१८ साल मंसिर २९ गते राष्ट्रिय निर्देशन मन्त्री बनाए । र, यहीँदेखि उनको सिंहदरबार यात्रा औपचारिकरुपमा सुरु भयो ।

राजा महेन्द्रले ०१९ साल असार १८ गते डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएर सरकार पुनर्गठन गरे । सो मन्त्रिमण्डलमा विष्ट शिक्षामन्त्री बने । सो मन्त्रिमण्डलमा सूर्यबहादुर थापा अर्थमन्त्री थिए ।

तत्कालीन राजा महेन्द्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका गर्‍यै गर्थे । मन्त्रिपरिषदको अध्यक्ष उनी आफैं थिए भने उपाध्यक्ष डा. तुल्सी गिरीलाई बनाएका थिए ।

राजाले ०१९ साल चैत्र २० गतेदेखि भने डा. तुल्सी गिरीलाई मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी सुम्पिए । र, विष्टलाई शिक्षाका साथै निर्माण, सञ्चार र यातायात मन्त्रालयको समेत जिम्मेवारी दिए ।

यही क्रममा ०२० साल चैत्र २० गते कीर्तिनिधि विष्टको जिम्मेवारी फेरियो । उनलाई शिक्षामन्त्रीका साथै परराष्ट्र मन्त्री पनि बनाइयो । यो सरकारमा पनि डा. गिरी नै अध्यक्ष थिए भने अर्थमन्त्रीसमेत रहेका सूर्यबहादुर थापालाई उपाध्यक्ष बनाइएको थियो । विष्ट मन्त्रीहरुको ५ औं बरियतामा थिए ।

विसं ०२१ साल माघ १३ गते पुनर्गठन भएको नयाँ मन्त्रिमण्डलमा डा. तुल्सी गिरीलाई हटाएर सूर्यबहादुर थापालाई अध्यक्ष बनाइयो । र, पाँचौं बरियतामा रहेका विष्टले दोस्रो बरियतामा उक्लिएर परराष्ट्र, भूमिसुधार कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी सम्हाले ।

विष्टले पाएका भूमिसुधार, कृषि र खाद्य मन्त्रालयको जिम्मेवारी ०२२ साल माघ ८ गतेदेखि खड्गबहादुर सिंहलाई दिइयो ।

यही क्रममा ०२३ साल साउन १६ गतेदेखि उपाध्यक्ष विष्टलाई फेरि परराष्ट्रसँगै शिक्षा मन्त्रालयको समेत जिम्मेवारी थमाइयो । त्यसअघि शिक्षा मन्त्रालय पुष्करनाथ उप्रेतीले चलाएका थिए ।

राजा महेन्द्रले ०२३ साल माघदेखि अध्यक्ष र उपाध्यक्षको साटो प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाउन थाले । यही क्रममा ०२३ साल माघ १४ गते पुनर्गठित मन्त्रिपरिषदमा सूर्यबहादुर थापा प्रधानमन्त्री भए भने विष्ट उपप्रधानमन्त्री बनाइए । त्यसबेला बेदानन्द झा गृहमन्त्री बनेका थिए । ०२४ साल जेठ १५ गते पुनर्गठित मन्त्रिमण्डलमा पनि सूर्यबहादुर थापा नै प्रधानमन्त्री थिए भने विष्टलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र र आर्थिक योजनाको जिम्मेवारी दिइयो । सो मन्त्रिमण्डलमा राजेश्वर देवकोटाले भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

सूर्यबहादुर थापाकै हैसियतमा व्यक्तित्व बनाइसकेका विष्टलाई राजाले एकाएक ०२५ साल चैत्र २५ गते प्रधानमन्त्री बनाए ।

यसअघि सूर्यबहादुर थापाले सम्हालिरहेको प्रधानमन्त्री पदका साथै अर्थ, सामान्य प्रशासन र राजदरबारसम्बन्धी मन्त्रालय विष्टको भागमा पुग्यो ।

वीचमा पटक-पटक मन्त्रिपरिषद गठन पुनर्गठन भइरहे पनि ०३० साल साउन १ गते नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्व विष्टले नै गरिरहे ।

दुई वर्ष प्रधानमन्त्री चलाएपछि नगेन्द्रप्रसाद रिजाल फालिए । र, ०३२ साल मंसिर १५ गते डा. तुल्सी गिरी प्रधानमन्त्री बन्न आइपुगे ।

गिरी प्रधानमन्त्री बनेको दुई वर्षपछि राजा वीरेन्द्रले उनलाई फालेर फेरि ०३४ साल भदौ २७ गते पुनः कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाए ।

विष्ट त्यसपछि ०३६ साल जेठ १६ गते सूर्यबहादुर थापा प्रधानमन्त्री नबन्दासम्म सरकारको नेतृत्वमा रहे । थापाले ०४० साल असार २९ गतेसम्म प्रधानमन्त्री चलाए । त्यसपछि लोकेन्द्र बहादुर चन्दले ०४२ साल चैत्रसम्म सरकारको नेतृत्व गरे । त्यसपछि नगेन्द्रप्रसाद रिजाल अन्तरिम प्रधानमन्त्री बने भने मरिचमानसिंह श्रेष्ठ ०४३ साल असार २ गते आम निर्वाचनपछिको प्रधानमन्त्री बन्न आइपुगे । र, मरिचमानकै पालामा पञ्चायतविरुद्ध आन्दोलन भयो र उनी पदच्युत भए । लोकेन्द्रबहादुरले सरकार सम्हालेको पर्सिपल्ट ०४६ चैत्र २६ गते बहुदल आयो ।

बहुदल आएपछि पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द घुमाई फिराई प्रधानमन्त्री बने । तर, विष्ट भने ‘लो प्रोफाइल’ मा बसे । सूर्यबहादुरले बहुदलकालमा पनि चुनाव जिते । तर, विष्टलाई भने चुनाव कहिल्यै फापेन ।

यद्यपि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भने विष्ट ०६१ साल माघ २० गते राजाको मन्त्रिमण्डलमा पुनः उपाध्यक्ष बन्न आइपुगे । ०६३ साल बैशाखमा जनआन्दोलन सफल नहुञ्जेल डा. तुल्सी गिरी र विष्ट दुबैजना ज्ञानेन्द्रको मन्त्रिमण्डलका उपाध्यक्ष थिए । [३]

राष्ट्रवादी एवं सादगी नेताको छवि[सम्पादन गर्ने]

अध्ययनशील विष्ट राजनीतिमा शिक्षामन्त्रीका रुपमा प्रवेश गरे भने परराष्ट्रमन्त्रीका रुपमा उनले नेपालको राष्ट्रियता सम्वर्द्धनमा महत्वपूर्ण भूमिका खेले ।

चीनको सीमानामा नेपाली भूमिमा रहेका भारतीय चेकपोष्टहरु विष्टकै पालामा हटेका हुन् । र, यही कारणले उनलाई भारतविरोधी राष्ट्रवादी नेताका रुपमा हेर्ने गरिएको छ । भारतमै राजनीतिशास्त्र पढेका भएपनि विष्टले भारतीय राजनीतिक हस्तक्षेप कहिल्यै रूचाएनन् । [४]


नेपाली राजनीतिमा विष्टको योगदानबारे पक्कै पनि विश्लेषकहरुले समीक्षा गर्लान् । तर, समग्रमा हेर्दाखेरि उनको राजनीतिक विशेषता भनेकै चीनसँगको विशेष सम्बन्ध निर्माण गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउनु, भ्रष्टाचारमा नमुछिनु, पदको लोभ नगरी राजनीतिमा नैतिकता एवं त्यागको भावना प्रदर्शन गर्नु, जीवन पर्यन्तसम्म सरल जीवनशैली अपनाउनु अनि निरन्तर राजतन्त्रको सेवक बन्नु इत्यादि हुन् ।

र, अर्को पनि के स्मरणीय हुन सक्छ भने विष्टले ०१७ सालदेखि निरन्तर राजतन्त्रको सेवा गरे पनि उनी क्रुर शासक होइनन् । ०३६ सालमा विद्यार्थी आन्दोलन चर्कनासाथ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिए भने जनआन्दोलनको मुखमा प्रधानमन्त्री पदसमेत छाडेर विवादबाट टाढै बसे ।

विष्टको स्वभाव नै नरम र मध्यमार्गी प्रकारको थियो । उनले रुखो बोली बोलेर कसैलाई नचिढ्याएको समकालीनहरु बताउँछन् । भलै उनी गणतन्त्रवादी थिएनन् । [५]

सधैं दरबारको आशिर्वाद, चुनाव कहिल्यै फापेन[सम्पादन गर्ने]

दुई दशकभन्दा बढी समय सिंहदरबारको कुर्सीमा बस्न सफल विष्टको जीवनमा चुनाव भने कहिल्यै फापेन ।

पञ्चायतको अन्त्य भएर ०४६ सालमा बहुदल आइसकेपछि विष्टले राष्ट्रिय जनता परिषदका नामबाट निर्वाचनमा भाग लिए । ०५१ साल काठमाडौं ३ बाट प्रतिनिधसभाको चुनाव लडेका पूर्वप्रधानमन्त्री विष्टले ११८० मत पाएका थिए । उनको पार्टीले देशभरिबाट २८ जना उम्मेदवार उठाएको थियो र देशभरिबाट ८९३१ मत प्राप्त भएको थियो ।

पूर्वप्रधानमन्त्री विष्ट ०५६ सालमा पनि काठमाडौं ३ बाटै चुनाव लडे । सो चुनावमा उनले ३६५ मत मात्र प्राप्त गरे । देशभरि ३९ स्थानमा उम्मेदवार उठाउँदा उनको पार्टीलाई जम्मा ३७९९ भोट आयो ।

०१८ सालदेखि ०३६ सालसम्म जतिबेलासम्म विष्ट मन्त्री र प्रधानमन्त्री बने, त्यसबेला देशमा कुनै आम चुनाव नै भएन । उनी सधैं राजाबाट मनोनित भएर सिंहदरबारमा पुगे । ०३६ सालपछि उनी ज्ञानेन्द्रकालको अपवादलाई छाडेर राजनीतिको अग्रभागमा खासै देखिएनन् । [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]