कुश (रामायण)
| कुश | |
|---|---|
| अयोध्याका राजकुमार कसुरका महाराजा | |
| जीवनसाथी | कुमुद्वती (आनन्द रामायणमा चम्पिका भनिएको) |
| सन्तान | अतिथि कनिकमालिका (राजा महाभोजकी पत्नी) |
| वंश | सूर्यवंश |
| बाबु | राम |
| आमा | सीता |
कुश र उनका कान्छा जुम्ल्याहा भाइ लव राम र सीताका सन्तान थिए।[१] उनीहरूको कथा हिन्दु महाकाव्य रामायणमा वर्णन गरिएको छ। अयोध्याबाट सीताको निर्वासनको समयमा ऋषि वाल्मीकिको आश्रममा जन्मेका कुश जुम्ल्याहा मध्येका जेठा थिए। उनको जन्मपछिको संस्कारमा पवित्र कुश (एक प्रकारको घाँस) को प्रयोग गरिएको हुनाले उनको नाम कुश राखिएको थियो, भने उनका भाइको नाम लव सोही घाँसको जरा प्रयोग गरिएकाले राखिएको थियो।[२]
तमसा नदीको किनारमा अवस्थित आश्रममा ऋषि वाल्मीकि र उनका शिष्यहरूद्वारा हुर्किएका कुशले शास्त्र, धनुविद्या र युद्धकलामा निपुणता प्राप्त गरेका थिए। साथै, वाल्मीकिले रचना गरेको रामायणको पूर्ण ज्ञान पनि उनले आश्रममै सिकेका थिए। हिन्दु परम्परा अनुसार उनले कश्मीर, सिन्धु नदी र हिन्दुकुश क्षेत्रमा शासन गरेका थिए र काश्मीर उपत्यकामा श्रीनगर तथा आधार इलाकामा कसुर सहरको स्थापना गरेका थिए।[३] यद्यपि, स्थानीय लोककथाले कसुर सहरको स्थापना सन् १५२५ मा पस्तुन आप्रवासीहरूले गरेको मान्दछन्।[४] उनका भाइ लवले 'लवपुरी' (हालको लाहोर सहर) बसालेको जनविश्वास छ।
वाराणसी-काशी राज्य र मौर्य साम्राज्य (जसले ईसापूर्व ३२० देखि १८५ सम्म दक्षिण एसियामा शासन गर्दथ्यो) का शासकहरूले आफूलाई कुशका वंशज मान्दथे। कुशलाई रघुवंशी इक्ष्वाकु सूर्यवंशी भनिन्छ। उनकी पत्नी कुमुद्वतीबाट उनका दुई सन्तान थिए: अतिथि (छोरा) र कनिकमालिका (छोरी, यादव वंशी राजा महाभोजकी पत्नी)।
जन्म र बाल्यकाल
[सम्पादन गर्नुहोस्]

रामायणका अनुसार, राजा रामले कोही पनि धर्मभन्दा माथि हुँदैन भन्ने कुरा प्रमाणित गर्न र आफ्नो राज्यका एक नागरिकले सीतामाथि लगाएको लाञ्छनाको खण्डन गर्न गर्भवती रानी सीतालाई अयोध्या त्याग लगाएका थिए। त्यसपछि उनले नेपालको चितवन जिल्लामा अवस्थित तमसा, सोना र सप्तगण्डकी नदीहरूको सङ्गमस्थल त्रिवेणी धाम नजिकै रहेको ऋषि वाल्मीकिको आश्रममा शरण लिएकी थिइन्।[५] सीताले सोही आश्रममा जुम्ल्याहा छोराहरू, कुश र लवलाई जन्म दिएकी थिइन्, जहाँ उनीहरूले ऋषि वाल्मीकिको संरक्षणमा शिक्षा र सैन्य सीपको प्रशिक्षण प्राप्त गरेका थिए। उनीहरूले त्यहाँ रामको कथा (रामायण) पनि सिकेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mani, Chandra Mauli (२००९), Memorable Characters from the Rāmāyaṇa and the Mahābhārata (अङ्ग्रेजीमा), Northern Book Centre, पृ: 77, आइएसबिएन 978-81-7211-257-8।
- ↑ Mani, Chandra Mauli (2009). Memorable Characters from the Rāmāyaṇa and the Mahābhārata. Northern Book Centre.
- ↑ Nadiem, Ihsan N (२००५), Punjab, Al-Faisal Nashran, पृ: १११, आइएसबिएन 9789695034347।
- ↑ Chopra, Gulshan Lall (१९४०), Chiefs and Families of Note in the Punjab (अङ्ग्रेजीमा), Government Printing।
- ↑ Vishvanath Limaye (१९८४), Historic Rama of Valmiki, Gyan Ganga Prakashan।
