क्यारोलिना केनेडी
क्यारोलिन केनेडी | |
|---|---|
आधिकारिक तस्वीर, सन् २०२२ | |
| संयुक्त राज्य अमेरिका अस्ट्रेलियाको राजदूत | |
| पदमा जुलाई २५, २०२२ – नोभेम्बर २८, २०२४ | |
| राष्ट्रपति | जो बाइडेन |
| पूर्वाधिकारी | आर्थर बि. कल्भाहाउस जुनियर |
| उतराधिकारी | एरिका ओल्सन (कार्यवाहक) |
| संयुक्त राज्य अमेरिका जापानको राजदूत | |
| पदमा नोभेम्बर १९, २०१३ – जनवरी १८, २०१७ | |
| राष्ट्रपति | बराक ओबामा |
| पूर्वाधिकारी | जोन रुस |
| उतराधिकारी | बिल ह्यागर्टी |
| व्यक्तिगत विवरण | |
| जन्म | क्यारोलिन बुभियर केनेडी २७ नोभेम्बर १९५७ न्युयोर्क शहर, अमेरिका |
| दल | डेमोक्रेटिक |
| दम्पती | |
| सन्तान | |
| आमाबुबा(हरू) | |
| आफन्त | केनेडी परिवार बुभियर परिवार |
| शिक्षा | रेडक्लिफ कलेज (कला स्नातक) कोलम्बिया विश्वविद्यालय |
पुरस्कार तथा सम्मान | अर्डर अफ द राइजिङ सन (सन् २०२१) |
क्यारोलिन बुभियर केनेडी (अङ्ग्रेजी: Caroline Kennedy, जन्म; २७ नोभेम्बर १९५७) एक अमेरिकी लेखक, कूटनीतिज्ञ तथा अधिवक्ता हुन्। उनले सन् २०१३ देखि २०१७ सम्म जापानका लागि संयुक्त राज्य अमेरिकाको राजदूत र सन् २०२२ देखि २०२४ सम्म अस्ट्रेलियाका लागि संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा काम गरेकी थिइन्।[१][२] केनेडीको अधिकांश व्यावसायिक जीवन साहित्य, कानून, राजनीति, शिक्षा सुधार र परोपकारमा बितेको छ। उनी केनेडी परिवारकी सदस्य र पूर्वराष्ट्रपति जोन एफ. केनेडी तथा प्रथम महिला ज्याकलिन केनेडी ओनासिसकी एक मात्र जीवित सन्तान हुन्।
न्युयोर्क सहरमा जन्मिएकी केनेडी दुई वर्षकी हुँदा उनका बुबाले राष्ट्रपतीय निर्वाचन जितेका थिए र उनले आफ्नो बाल्यकालको प्रारम्भिक वर्षहरू ह्वाइट हाउसमा बिताएकी थिइन्। सन् १९६३ नोभेम्बर २२ का दिन मा उनको बुबाको हत्या हुँदा उनी मात्र पाँच वर्षकी थिइन्। अर्को वर्ष, केनेडीले आफ्ना भाइ जोन एफ. केनेडी जुनियर र आमा ज्याकलिनसँग म्यानहाटनको अप्पर इस्ट साइडमा बसाइँसराइ गरेकी थिइन् र त्यहीँ आफ्नो शिक्षा जारी राखेकी थिइन्। उनले रेडक्लिफ कलेजबाट स्नातक गरेर पछि कोलम्बिया कानुन विद्यालयबाट सन् १९८८ मा जुरिस डक्टरको उपाधि हासिल गरेकी थिइन्। केनेडीले त्यसको अर्को वर्ष न्युयोर्क राज्यको बार परीक्षा उत्तीर्ण गरेकी थिइन्। म्यानहाटनको मेट्रोपोलिटन कला सङ्ग्रहालयमा काम गर्दैगर्दा उनको भेट उनका भावी श्रीमान एडविन स्लोसबर्गसँग भएको थियो। उनीहरूले सन् १९८६ मा विवाह गरे र उनीहरूको रोज, तातियाना र ज्याक गरि तीन सन्तानहरू रहेका छन्।
सन् २००८ को राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणमा केनेडी र उनका काका टेड केनेडीले डेमोक्रेटिक उम्मेदवार बराक ओबामालाई समर्थन गरेका थिए। उनले पछि फ्लोरिडा, इन्डियाना र ओहायोमा ओबामाको पक्षबाट चुनावी प्रचारमा भाग लिएकी थिइन्। उनको उपराष्ट्रपतीय चयन समितिको सह-अध्यक्षको रूपमा काम गर्दै डेन्भरमा आयोजित सन् २००८ को डेमोक्रेटिक राष्ट्रिय सभालाई सम्बोधन गरेकी थिइन्।[३] ओबामाले हिलारी क्लिन्टनलाई विदेश मन्त्रीको रूपमा चयन गरेपछि, केनेडीले क्लिन्टनको रिक्त रहेको न्युयोर्कको सिनेट सिटमा नियुक्त हुन रुचि देखाएतापनि पछि व्यक्तिगत कारण देखाउँदै फिर्ता भएकी थिइन्। सन् २०१३ मा ओबामाले केनेडीलाई जापानका लागि संयुक्त राज्य अमेरिकाको राजदूत नियुक्त गरेपछि उक्त पद सम्हाल्ने उनी पहिलो महिला बन्न सफल भएकी थिइन्।[४] आठ वर्षपछि, जो बाइडेनले केनेडीलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेर सन् २०२२ जुन १० का दिन मा त्यसको पुष्टिपछि उनले पदभार ग्रहण गरेकी थिइन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "United States Embassy To Japan – Former Ambassadors", मूलबाट अगस्ट २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ७, २०१७। अभिलेखिकरण अगस्ट २४, २०१९ वेब्याक मेसिन
- ↑ U.S. Embassy Australia [@USEmbAustralia] (नोभेम्बर २७, २०२४), "Ambassador Kennedy is thankful for her Australian fam, this beautiful country, and its people. We're thankful for her." (ट्विट), अन्तिम पहुँच फेब्रुअरी १०, २०२५ – ट्विटरद्वारा।
- ↑ Gary Ginsberg on her campaigning for Obama; cited in MacFarquhar, Larissa (April 18, 2009). "The Kennedy Who Couldn't". The Age: Good Weekend supplement (pp. 12–16).
- ↑ Landler, Mark (जुलाई २४, २०१३), "Obama Nominates Caroline Kennedy to Be Ambassador to Japan", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०१७।
- ↑ "PN1661 – Nomination of Caroline Kennedy for Department of State, 117th Congress (2021–2022)", Congress.gov, मे ५, २०२२, मूलबाट अप्रिल २०, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ६, २०२२।