सामग्रीमा जानुहोस्

क्षीर सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णु र लक्ष्मी क्षीर सागरमा शेषनागमाथि विराजमान छन्, सन् १८७० तिर

क्षीर सागर वा दूधको समुद्र सात समुद्रहरूमध्ये केन्द्रबाट पाँचौँ स्थानमा पर्दछ जसको उल्लेख विभिन्न हिन्दु धर्मग्रन्थहरूमा गरिएको छ। यसले क्रौञ्च भनिने महाद्वीपलाई घेरेको छ।[१] हिन्दु धर्मग्रन्थहरूका अनुसार, देवता र असुरहरूले अमरत्वको अमृत प्राप्त गर्नका लागि एक हजार वर्षसम्म यस समुद्रलाई मन्थन गरेका थिए।[२] यो घटना प्राचीन हिन्दु पौराणिक कथाहरूको सङ्ग्रह पुराणको समुद्र मन्थन अध्यायमा उल्लेख गरिएको छ। क्षीर सागरलाई देवता विष्णु आफ्नी पत्नी लक्ष्मीका साथ आफ्नो सर्प-वाहन शेषनागमाथि शयन गर्ने (विश्राम गर्ने) स्थानको रूपमा वर्णन गरिएको छ।[३][४]

समुद्र मन्थन

[सम्पादन]

क्षीर सागर ब्रह्माण्डको समुद्र मन्थनको पौराणिक कथाको स्थल हो। विष्णुको सल्लाहमा, देवता र असुरहरूले अमरत्वको अमृत प्राप्त गर्नका लागि आदिम समुद्रको मन्थन गरेका थिए। समुद्र मन्थनका लागि उनीहरूले सर्पराज वासुकीलाई मन्थन गर्ने डोरीको रूपमा प्रयोग गर्छन्। उनीहरूले मन्दार पर्वतलाई मन्थन गर्ने मदानीको रूपमा प्रयोग गरे र त्यसलाई विष्णुको अवतार कुर्म (कछुवा) को पिठमा राख्छन्। जब देवता र असुरहरूले समुद्र मन्थन गर्छन् तब त्यसको गहिराइबाट हलाहल नामक विष निस्किएर त्यसको विषालु धुवाँले ब्रह्माण्डलाई ढाक्छ। देवता र असुरहरूले शिवसँग मद्दत माग्छन् र शिवले सो विषलाई निलेर आफ्नो कण्ठ (घाँटी) मा पुर्‍याउँछन्। उनकी पत्नी देवी पार्वतीले विषलाई शरीरको बाँकी भागमा फैलिनबाट रोक्ने प्रयास गर्छिन् जसका कारण विषको कडापनले शिवको घाँटी नीलो हुन जान्छ। यसैले उनलाई नीलकण्ठ (नीलो घाँटी भएको) भनिन थालिन्छ।[५]

महाभारतका अनुसार, क्षीर सागरको मन्थनका क्रममा धेरै 'रत्न'हरू निस्किएका थिए जसमा; कामधेनु (इच्छा पूरा गर्ने गाई),[६] वारुणी (मदिराकी देवी), पारिजात वृक्ष, अप्सराहरू, चन्द्रमाको अर्धकला, हलाहल विष र हातमा अमृतको कलश लिएका धन्वन्तरी (देवताका वैद्य) समावेश छन्।[७] त्यसपछि समृद्धिकी देवी लक्ष्मी, घोडा उच्चैःश्रवा, कौस्तुभ मणि, हात्ती ऐरावत, इच्छा पूरा गर्ने वृक्ष कल्पवृक्ष र पाञ्चजन्य शङ्ख प्रकट हुन्छन्। पुराणहरूमा दुर्भाग्यकी देवी अलक्ष्मी, रिद्धि र सिद्धि, पुष्कर र विभिन्न वनस्पतिजन्य पदार्थहरूको उत्पत्तिको पनि उल्लेख छ।[८]

जब अन्ततः अन्य रत्नहरूसँगै अमृत पनि प्रकट हुन्छ तब देवता र असुरहरूबीच यसका लागि पनि झगडा हुन्छ। यद्यपि, विष्णुले मोहिनी नामक सुन्दरीको रूप धारण गरी असुरहरूलाई झुक्याएर अमृत बाँड्ने जिम्मेवारी लिन्छन् सो अमृत केवल देवताहरूलाई मात्र खुवाइदिन्छन्। स्वरभानु नामक एक असुरले अमृत पिउनका लागि देवताको भेष धारण गर्छ। सूर्य र चन्द्रले विष्णुलाई यो छलको बारेमा सचेत गराउँछन्। अमृत पिइसकेपछि विष्णुले स्वरभानुको टाउको काटेतापनि अमृतको प्रभावले गर्दा उनको टाउको र शरीर दुवै अमर रहिरहन्छ। पछि, उनको टाउकोलाई राहु र शरीरको बाँकी भागलाई केतु भनिन थालिन्छ।[९]

साहित्य

[सम्पादन]
क्षीर सागरमा महाविष्णुबाट ब्रह्माको उत्पत्ति हुँदै

विष्णु पुराण

[सम्पादन]

विष्णु पुराणले क्षीर सागरबाट लक्ष्मीको उत्पत्तिको वर्णन यसरी गर्छ:[१०]

क्षीर सागरले स्वयं प्रकट भएर उनलाई कहिल्यै नओइलाउने फूलको माला अर्पण गरे; र देवताका कलाकार (विश्वकर्मा) ले उनको शरीरलाई दिव्य आभूषणहरूले सजाए। यसरी स्नान गरी, वस्त्र र आभूषणले सजिएकी ती देवीले, समस्त देवताहरूका सामु आफूलाई हरिको हृदयमा अर्पण गरिन्; र त्यहाँ ढल्किँदै, उनले देवताहरूतिर आफ्नो दृष्टि घुमाइन् जो उनको नजरबाट हर्षविभोर भएका थिए। तर दैत्यहरूको अवस्था त्यस्तो थिएन, जो विप्रचित्तिको नेतृत्वमा क्रोधले भरिएका थिए, किनकि विष्णुले उनीहरूबाट मुख फेर्नुभएको थियो र समृद्धिकी देवी (लक्ष्मी) ले उनीहरूलाई त्याग्नुभएको थियो।

— विष्णु पुराण, पुस्तक १, अध्याय ९

तिरुवायमोली

[सम्पादन]

तमिल साहित्यको एक वैष्णव कृति तिरुवायमोलीमा पनि क्षीर सागर (तिरुप्पार्काटल) को उल्लेख गरिएको छ:[११][१२]

ती कमल-नयन भगवानको प्रशंसा गर
जो तीन देवताका स्वरूप हुन्
जो प्रथम तीनमध्ये पनि प्रथम हुन्
जसले श्रापहरू मोचन गर्छन्
जो गहिरो सागरमा शयन गर्छन्
जो दिव्य प्राणीहरूका प्रभु हुन्
जसको धनुषले सुन्दर लङ्कालाई जलायो र
जसले हाम्रा पापहरू नष्ट गर्छन्।

— नम्माल्वार, तिरुवायमोली, पद ३.६.२

देवी भागवत पुराण

[सम्पादन]
समुद्र मन्थनको समयमा क्षीर सागरमा वासुकी बेरिएको मन्दार पर्वतमुनि विष्णुको कूर्म अवतार, सन् १८७० तिर

देवीभागवत पुराणले पनि आफ्ना श्लोकहरूमा क्षीर सागरलाई सन्दर्भित गरेको छ:[१३]

भगवान हरि कहिले वैकुण्ठमा बस्नुहुन्छ, कहिले क्षीर सागरमा बसेर सुखभोग गर्नुहुन्छ, कहिले शक्तिशाली दानवहरूसँग युद्ध गर्नुहुन्छ, कहिले विस्तृत यज्ञ अनुष्ठानहरू गर्नुहुन्छ, कहिले कठोर तपस्या गर्नुहुन्छ त कहिले योगमायाको निर्देशनमा गहिरो निद्रा (योगनिद्रा) मा पर्नुहुन्छ। यसरी उनी कहिल्यै पनि पूर्ण रूपमा मुक्त र स्वतन्त्र हुँदैनन्।

— देवीभागवत पुराण, अध्याय २०, श्लोक १२ - १४

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ D. Dennis Hudson: The body of God: an emperor's palace for Krishna in eighth-century Kanchipuram, Oxford University Press US, 2008, आइएसबिएन ९७८-०-१९-५३६९२२-९, pp.164-168
  2. ↑ "Churning the Ocean of Milk by Michael Buckley"।
  3. ↑ Jones, Constance; Ryan, James D. (२००६), Encyclopedia of Hinduism (अङ्ग्रेजीमा), Infobase Publishing, पृ: 288, आइएसबिएन 978-0-8160-7564-5।
  4. ↑ Chenni Padmanabhan, Concept of Sri Andal's Tiruppavai, R.P. Publications, 1995 - Krishna (Hindu deity) in literature - 296 pages, पृ: ८७।
  5. ↑ Flood, Gavin (१९९६), An Introduction to Hinduism, Cambridge: Cambridge University Press, आइएसबिएन 0-521-43878-0।, pp. 78.
  6. ↑ Krishna, Nanditha (२०१४-०५-०१), Sacred Animals of India (अङ्ग्रेजीमा), Penguin UK, पृ: 109, आइएसबिएन 978-81-8475-182-6।
  7. ↑ The Book of Avatars and Divinities (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, २०१८-११-२१, पृ: 112, आइएसबिएन 978-93-5305-362-8।
  8. ↑ Garg, Gaṅgā Rām (१९९२), Encyclopaedia of the Hindu World (अङ्ग्रेजीमा), Concept Publishing Company, पृ: 392, आइएसबिएन 978-81-7022-375-7।
  9. ↑ McLeod, Alexus (२०१६-०६-१७), Astronomy in the Ancient World: Early and Modern Views on Celestial Events (अङ्ग्रेजीमा), Springer, पृ: 130, आइएसबिएन 978-3-319-23600-1।
  10. ↑ Makarand Joshi, VISHNU PURANA Sanskrit English OCR, पृ: 65।
  11. ↑ Makarand Joshi, The Tamil Veda Pillan Interpretation Of Tiruvaymoli J Carman And V Narayanan 1989 OCR, पृ: 72–73।
  12. ↑ Makarand Joshi, The Tamil Veda Pillan Interpretation Of Tiruvaymoli J Carman And V Narayanan 1989 OCR, पृ: 88।
  13. ↑ Swami Vijnanananda (२०१८), The Srimad Devi Bhagavatam by Veda Vyasa and Translated by Swami Vijnanananda।