क्षुद्रग्रह
क्षुद्रग्रह उल्का पिण्ड भन्दा ठूलो हुने एकप्रकारको (१ मिटर वा सोभन्दा ठूलो) आकाशिय पिण्ड हो जसलाई ग्रह वा पुच्छ्रेताराको रूपमा पहिचान गरिएको हुँदैन। क्षुद्रग्रहले भित्री सौर्यमण्डल भित्र परिक्रमा गर्दछ वा बृहस्पति ग्रहसँगै सह-कक्षीय (ट्रोजन क्षुद्रग्रह) भएर घुम्दछ। क्षुद्रग्रहहरू चट्टानी, धातुयुक्त वा बरफले बनेका पिण्डहरू हुन् जसमा वायुमण्डल हुँदैन। यिनीहरूलाई मुख्यतया सि-प्रकार (कार्बनयुक्त), एम-प्रकार (धातुयुक्त) वा एस-प्रकार (सिलिकायुक्त) मा वर्गीकृत गरिएको छ। क्षुद्रग्रहहरूको आकार र स्वरूपमा धेरै भिन्नता पाइन्छ। एक किलोमिटर भन्दा कम व्यास भएका चट्टानका थुप्रादेखि करिब १००० किलोमिटर व्यास भएको सेरेस जस्ता वामन ग्रह सम्मका क्षुद्रग्रहहरू छन्। यदि कुनै आकाशिय पिण्ड सौर्य विकिरणले तातेपछि पुच्छर भएको स्वरूपमा परिणत हुन्छ भने त्यसलाई क्षुद्रग्रह नभई पुच्छ्रेतारा मानिन्छ, यद्यपि हालैका अवलोकनहरूले यी दुई प्रकारका पिण्डहरूबीच समानता हुन सक्ने सङ्केत गरेका छन्।
थाहा पाइएका करिब १० लाख क्षुद्रग्रहहरूमध्ये [१] सबैभन्दा ठूलो सङ्ख्या मङ्गल र बृहस्पतिको कक्षाको बीचमा, सूर्यबाट करिब २ देखि ४ खगोलीय एकाइको दूरीमा अवस्थित छ, जसलाई मुख्य क्षुद्रग्रह पेटी भनिन्छ। सबै क्षुद्रग्रहहरूको कुल द्रव्यमान पृथ्वीको चन्द्रमाको ३% मात्र छ। मुख्य पेटीका अधिकांश क्षुद्रग्रहहरूले अण्डाकारको स्थिर कक्षाहरू पछ्याउँछन् र पृथ्वी जस्तै दिशामा घुम्दै सूर्यको एक पूर्ण चक्कर लगाउन तीन देखि छ वर्षसम्म लगाउँछन्।[२]
सन् १८०१ मा खोजिएदेखि पृथ्वीबाट क्षुद्रग्रहहरूको अवलोकन गरिँदै आएको छ। ग्यालिलियो अन्तरिक्ष यानले पहिलोपटक क्षुद्रग्रहलाई नजिकबाट अवलोकन गरेको थियो। त्यसपछि नासा र जाक्साद्वारा क्षुद्रग्रहहरूका लागि धेरै समर्पित मिसनहरू पठाइएका छन्। नासाको नियर सुमेकरले एरोसको अध्ययन गरेको थियो भने डनले भेस्टा र सेरेसको अवलोकन गरेको थियो। जाक्साका मिसनहरू हायाबुसा र हायाबुसा२ ले क्रमशः इतोकावा र रिग्युको अध्ययन गरी नमुनाहरू फिर्ता ल्याएका थिए। आसिरिस-रेक्सले बेनुको अध्ययन गरी सन् २०२० मा नमुना सङ्कलन गरेको थियो जुन सन् २०२३ जुन महिनामा पृथ्वीमा ल्याइएको थियो। सन् २०२१ मा प्रक्षेपण गरिएको नासाको लुसीले दसवटा विभिन्न क्षुद्रग्रहहरूको अध्ययन गर्ने जिम्मा पाएको थियो। नासाको डबल एस्टेरोइड रिडिरेक्सन टेस्टलाई सेप्टेम्बर २०२२ मा नियतवश क्षुद्रग्रह डिमर्फोसमा ठोक्काइयो, जुन ग्रह रक्षा प्रविधिको परीक्षण थियो। अक्टोबर २०२३ मा प्रक्षेपण गरिएको नासाको साइकी ले धातुयुक्त क्षुद्रग्रह साइकीको अध्ययन गर्ने लक्ष्य राखेको छ। युरोपेली अन्तरिक्ष आयोगको हेरालाई सन् २०२४ को अक्टोबरमा प्रक्षेपण गरिएको थियो। चीनको तिआएवान-२लाई मे २०२५ मा प्रक्षेपण गरिएको थियो [३] जसले पृथ्वीको सह-कक्षीय क्षुद्रग्रह ४६९२१९ कामोओलेवा र सक्रिय क्षुद्रग्रह ३११पि/पानस्टार्सको अन्वेषण गर्नेछ।[४]
पृथ्वीको नजिक रहेका क्षुद्रग्रहहरू पृथ्वीमा ठोक्किएमा विनाशकारी परिणाम हुन सक्ने सम्भावना रहन्छ। यसको एउटा प्रमुख उदाहरण चिक्सुलब प्रभाव हो, जसले क्रेटेसियस-प्यालेओजीन विलुप्ति घटना गराएको र डाइनोसरको अन्त्य गरेको मानिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Asteroids", NASA Solar System Exploration, २६ अक्टोबर २०१७, अन्तिम पहुँच २९ मार्च २०२२।
- ↑ "Asteroids (from the NEAR press kit)", nssdc.gsfc.nasa.gov, अन्तिम पहुँच २९ मार्च २०२२।
- ↑ Jones, Andrew (२०२२-०५-१८), "China to launch Tianwen 2 asteroid-sampling mission in 2025", Space.com, अन्तिम पहुँच २०२२-०९-२९।
- ↑ Gibney, Elizabeth (३० अप्रिल २०१९), "China plans mission to Earth's pet asteroid", Nature (journal), डिओआई:10.1038/d41586-019-01390-5, पिएमआइडी 32346150, अन्तिम पहुँच ४ जुन २०१९।