क्षुद्रग्रह पेटी
| सूर्य वृहस्पति ट्रोजनहरू ग्रहहरूको कक्ष | क्षुद्रग्रह पेटी हिल्डा क्षुद्रग्रहहरू पृथ्वी नजिकका वस्तुहरू (छनोट गरिएका) |

क्षुद्रग्रह पेटी सौर्यमण्डलको एक दुनोट आकारको क्षेत्र हो जुन सूर्यलाई केन्द्र बनाएर मङ्गल र वृहस्पति ग्रहको कक्षको बीचमा फैलिएको छ। यसमा धेरै ठोस र अनियमित आकारका पिण्डहरू छन् जसलाई क्षुद्रग्रह वा गौण ग्रह भनिन्छ। पहिचान गरिएका वस्तुहरू धेरै आकारका भएतापनि यी पिण्डहरू ग्रहहरू भन्दा धेरै साना छन् र तिनीहरू औसतमा एक अर्काबाट करिब १० लाख किलोमिटर (वा ६ लाख माइल) को दूरीमा रहेका छन्। सौर्यमण्डलका अन्य क्षुद्रग्रह समूहहरूबाट फरक देखाउन यसलाई मुख्य क्षुद्रग्रह पेटी वा मुख्य पेटी पनि भनिन्छ।[१]
यो क्षुद्रग्रह पेटी सौर्यमण्डलको सबैभन्दा भित्री र सानो तारापुञ्जीय चक्र हो। यसको कुल पिण्ड चन्द्रमाको ३% मात्र हुने अनुमान गरिएको छ, जसको ६०% भाग चारवटा ठूला क्षुद्रग्रहहरू; सेरेस, भेस्टा, पालास र हाइजियामा केन्द्रित छ। अन्य क्षेत्रहरूमा पाइने सौर्यमण्डलका साना पिण्डहरू अन्तर्गत पृथ्वी नजिकका वस्तुहरू, सेन्टरहरू, कुइपर पेटीका वस्तुहरू, स्क्याटर्ड डिस्कका वस्तुहरू, सेडनोइडहरू र उर्ट बादलका वस्तुहरू पर्दछन्।[२]
सेरेस यस क्षेत्रको एक मात्र यस्तो वस्तु हो जुन वामन ग्रह हुन पर्याप्त ठूलो छ र यसको व्यास करिब ९५० किलोमिटर छ, जबकि भेस्टा, पालास र हाइजियाको औसत व्यास ६०० किलोमिटर भन्दा कम छ।[३][४] बाँकी खनिज वर्गीकृत पिण्डहरूको आकार केही मिटरसम्म साना छन्। क्षुद्रग्रहका पदार्थहरू यति पातलो गरी फैलिएका छन् कि धेरै मानवरहित अन्तरिक्ष यानहरूले कुनै पनि दुर्घटना बिना यसलाई पार गरिसकेका छन्।[५] यद्यपि, ठूला क्षुद्रग्रहहरू बीच टक्कर हुन सक्छ र यसले क्षुद्रग्रह समूह सिर्जना गर्न सक्छ, जसका सदस्यहरूको कक्षीय विशेषता र संरचना उस्तै हुन्छन्। पेटीभित्रका व्यक्तिगत क्षुद्रग्रहहरूलाई उनीहरूको स्पेक्ट्रम अनुसार वर्गीकृत गरिन्छ, जसमा कार्बनयुक्त (सि-श्रेणी), सिलिकेटयुक्त (एस-श्रेणी) र प्रयाप्त मात्रामा धातु भएको (एम-श्रेणी) जस्ता तीन आधारभूत समूहमा पर्दछन्।
क्षुद्रग्रह पेटी आदिम सौर्य निहारिकाबाट प्लानेटेसिमलको समूहको रूपमा गठन भएको हो,[६] जुन आदिग्रहका साना पूर्ववर्ती रूपहरू हुन्। यद्यपि, मङ्गल र वृहस्पति बीचमा वृहस्पतिको गुरुत्वाकर्षण अवरोधका कारण तिनीहरू मिलेर एउटा ग्रह बन्न सकेनन्,[७]जसले गर्दा ती ठोक्किएर टुक्रा-टुक्रा हुन्छन्। नतिजास्वरूप, क्षुद्रग्रह पेटीको मौलिक पिण्डको ९९.९% भाग सौर्यमण्डलको इतिहासको पहिलो १० करोड वर्षमा हराएको थियो। केही टुक्राहरू अन्ततः भित्री सौर्यमण्डलमा प्रवेश गर्दा भित्री ग्रहहरूमा उल्कापिण्डको प्रभाव पर्न गएको थियो। जब क्षुद्रग्रहको सूर्यको परिक्रमा गर्ने अवधि वृहस्पतिसँग कक्षीय अनुनादमा हुन्छ, तिनीहरूको कक्षमा विचलन आउँछ। यस्तो दूरीमा किर्कवुड ग्याप देखा पर्दछ किनभने तिनीहरू अन्य कक्षहरूमा धकेलिन्छन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Williams, Matt (२०१५-०८-२३), "What is the Asteroid Belt?", Universe Today, अन्तिम पहुँच २०१६-०१-३०।
- ↑ Pitjeva, E. V. (२०१८), "Masses of the Main asteroid Belt and the Kuiper Belt from the Motions of Planets and Spacecraft", Solar System Research 44 (8–9): 554–566, एआरएक्सआइभी:1811.05191, डिओआई:10.1134/S1063773718090050, बिबकोड:2018AstL...44..554P।
- ↑ Krasinsky, G. A.; Pitjeva, E. V.; Vasilyev, M. V.; Yagudina, E. I. (जुलाई २००२), "Hidden Mass in the asteroid Belt", Icarus 158 (1): 98–105, डिओआई:10.1006/icar.2002.6837, बिबकोड:2002Icar..158...98K।
- ↑ Pitjeva, E. V. (२००५), "High-Precision Ephemerides of Planets—EPM and Determination of Some Astronomical Constants", Solar System Research 39 (3): 176–186, डिओआई:10.1007/s11208-005-0033-2, बिबकोड:2005SoSyR..39..176P, मूलबाट जुलाई ३, २०१४-मा सङ्ग्रहित। अभिलेखिकरण सेप्टेम्बर ७, २०१२ वेब्याक मेसिनYeomans, Donald K. (जुलाई १३, २००६), "JPL Small-Body Database Browser", NASA JPL, मूलबाट २९ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-२७।
- ↑ Koberlein, Brian (२०१४-०३-१२), "Why the asteroid Belt Doesn't Threaten Spacecraft", Universe Today, अन्तिम पहुँच २०१६-०१-३०।
- ↑ "How Did The asteroid Belt Form? Was There A Planet There?", CosmosUp, २०१६-०१-१७, मूलबाट डिसेम्बर ६, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-३०। अभिलेखिकरण २०१८-१२-०६ वेब्याक मेसिन
- ↑ Redd, Nola Taylor (२०१२-०६-११), "Asteroid Belt: Facts & Information", Space.com, अन्तिम पहुँच २०१६-०१-३०।
- ↑ Delgrande, J. J.; Soanes, S. V. (१९४३), "Kirkwood's Gap in the Asteroid Orbits", Journal of the Royal Astronomical Society of Canada 37: 187, बिबकोड:1943JRASC..37..187D।