खम्पु
श्रीखण्डपुर (नेपाल भाषा: खम्पू) नेपालका काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा अवस्थित एक ऐतिहासिक शहर हो। यो शहर काठमाडौंदेखि लगभग २८ किलोमिटर पूर्वमा र करिब १४०० मिटरको उचाइमा अवस्थित छ। श्रीखण्डपुरको मुख्य आकर्षण श्वेत भैरव मन्दिर हो जुन शहरको करिब १ किलोमिटर उत्तरपूर्वमा रहेको छ। यो शहरको नाम 'श्री खण्ड' भन्ने रूखको उपस्थितिका आधारमा राखिएको हो। लिच्छविकालमा यस स्थानलाई खम्पू भनिन्थ्यो, जुन नाम आज पनि यहाँ बसोबास गर्ने नेवार समुदायले प्रयोग गर्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]श्रीखण्डपुर बनपा सप्तपुरका ऐतिहासिक शहरहरूमध्ये एक हो। ऐतिहासिक विवरणअनुसार 'श्रीखण्डपुर' नाम यहाँ पाइएको चन्दनको रूख (श्री खण्ड) बाट आएको हो। समयको क्रममा विभिन्न ठाउँबाट मानिसहरू बसोबास गर्न आउँदा यी रूखहरू काटिएर वस्ती विस्तार गरियो, जसका कारण यो स्थानलाई श्रीखण्डपुर भनियो।
मान्यता अनुसार शहरको मध्यभागमा रहेको एउटा चन्दनको रूखको ठुटोलाई ढाकेर स्तूप (चैत्य) निर्माण गरिएको थियो जुन आजसम्म पनि अवस्थित छ। यहाँको डिपंकर बुद्धको मूर्ति पनि यही क्षेत्रको चन्दनको काठबाट निर्माण गरिएको भनिन्छ।
धार्मिक महत्त्व
[सम्पादन गर्नुहोस्]हिमवत खण्डका अनुसार, नेपालमा उल्लेख गरिएका ६४ पवित्र शिव लिंगमध्ये ६ वटा काभ्रे जिल्लामा छन्। तीमध्ये धनिश्वर शिवलिंग श्रीखण्डपुरको पश्चिममा रहेको छ, जसलाई रौद्रगिरि पर्वत भनिन्छ। नेपाल माहात्म्य अनुसार यो लिंग धनिश (कुबेर) ले स्थापना गरेका थिए। यो स्थानमा पूजा गर्दा धन र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
"कामधेनु ततो लिंगं सर्वकाम फलप्रदम् नम्ना संस्थापयामास खुरेश्वरं-अनुत्तमम् (अध्याय ५, श्लोक ७)
धनेश स्थापयामास धनेश्वरमिति ध्रुवम्। (अध्याय ५, श्लोक ५)"
ऐतिहासिक कालक्रम
[सम्पादन गर्नुहोस्]श्रीखण्डपुरमा वस्ती कहिले बस्न थालियो भन्ने ठ्याक्कै भन्न गाह्रो भए पनि, लिच्छविकालभन्दा पहिले नै यहाँ बस्ती थियो भन्ने अभिलेखहरूबाट बुझिन्छ। मल्लकालमा यसलाई व्यवस्थित शहरका रूपमा विकास गरिएको थियो। आजभन्दा करिब ९२३ वर्ष अगाडिको प्रमाणहरू पाइन्छन्। यसको उत्पत्ति किरातकालमै भएको मानिन्छ।
किरातकालमा बनेपा 'भुजुंग', साँगा 'सङ्घ', खोपासी 'कुर्पासी', र श्रीखण्डपुर 'खान्पु' भनिन्थ्यो। कतिपय अभिलेखमा यसलाई 'खम्पुर' पनि भनिएको छ। साँगा, नाला, बनेपा, पनौती, खोपासी आदि स्थानहरूमा भेटिएका पुरातात्विक प्रमाणहरूले श्रीखण्डपुर किरातकालदेखि अवस्थित भएको देखाउँछन्।
मल्लकालको विकास
[सम्पादन गर्नुहोस्]मल्लकालमा राजा आनन्द देवले कालीगठ संवत् ४१९७ (इ.स. ११५३) मा बनपा सप्तपुरको व्यवस्था गरेका थिए। बनेपा, पनौती, नाला, धुलिखेल, श्रीखण्डपुर लगायतका शहरहरू विकास गरिएका थिए। श्रीखण्डपुरमा चार ढोका र चार पोखरी बनाइएका थिए। मठमन्दिर, गुठी, ढलान सडक र बजार व्यवस्थापन पनि गरिएको थियो। श्रीखण्डपुरको पूर्वतर्फ वाही (लायकु दरबार) निर्माण गरिएको थियो। अहिले त्यो भवन वडा कार्यालयको रूपमा प्रयोग भइरहेको छ।
मल्ल र पश्चात्काल
[सम्पादन गर्नुहोस्]यक्ष मल्लको पालामा भक्तपुर राज्यले बनपा सप्तपुर क्षेत्रको शासन गरेको थियो। उनको छोरा रण मल्लले बनेपाबाट शासन गरेका थिए। रण मल्लको मृत्युपछि र पृथ्वीनारायण शाहको एकीकरणसम्म यो क्षेत्र भक्तपुर राज्य अन्तर्गत थियो।
पृथ्वीनारायण शाहले १८२० साल कार्तिक १० गते धुलिखेल कब्जा गरेपछि भोलिपल्ट पनौती र श्रीखण्डपुर पनि अधिनमा लिए। त्यसपछि श्रीखण्डपुर नेपाल एकीकरणमा समावेश भएको हो।
पर्व र जात्रा
[सम्पादन गर्नुहोस्]श्रीखण्डपुरमा प्राचीन कालदेखि विविध पर्व र जात्राहरू मनाइन्छ। कतिपय पर्वहरू मिथकीय कालदेखि नै प्रचलित छन्। जात्राहरूको सञ्चालनका लागि गुठीमार्फत आयस्रोतको व्यवस्था गरिएको छ। नगरपालिका र सरकारले पनि सहयोग पुर्याएका छन्। यहाँको प्रमुख जात्रा 'बिस्का जात्रा' हो।
भूगोल
[सम्पादन गर्नुहोस्]श्रीखण्डपुर धुलिखेल नगरपालिका वडा नं ५ अन्तर्गतको होचो थुम्को क्षेत्रमा अवस्थित छ। यो पून्यमती नदीको किनारमा अवस्थित छ। यसको दक्षिणमा पौराणिक 'पलाती' क्षेत्र, उत्तरमा बनेपाको 'भुजुंग', पूर्वमा धुलिखेल, पश्चिममा चालेश्वर वन र महाकाली देवीको मन्दिर छ।
यहाँको हावापानी सुहाउँदो छ। चारवटा ढोका छन्: पूर्वबाट वहाटोल-धुलिखेल, पश्चिमबाट पून्यमती नदी-धनेश्वर, उत्तरबाट भैरव मन्दिर-बुदोल, र दक्षिणबाट लासा कोटोल-चोकोट जाने बाटो। पोखरीहरू: टपुखु (पूर्व), महादेव पोखरी (दक्षिण), सरस्वती पोखरी (उत्तर)।
यहाँ मुख्य रूपमा नेवार समुदाय बसोबास गर्छन्। यहाँ पुराना टोलहरू जस्तै: वहाटोल, नष्टोल, भूखटोल, चाफ टोल, बसाटोल, लासा कोटोल छन् भने नयाँ टोलहरू शाही टोल, मानन्धर टोल, नयाँ बस्ति, मगर टोल आदि छन्।
प्रसिद्ध टोलहरूको कथा
[सम्पादन गर्नुहोस्]वहाटोल: लायकु दरबार भएकाले नाम रह्यो।
नष्टोल: नास्द्यो देवताको पूजा हुने स्थान।
भूखटोल: भूकम्प हुँदा क्षति नभएको ठाउँ।
बसाटोल: 'चाट्ने पाट्ने राजा काट्ने' भन्ने थरको परिवारलाई राजा द्वारा निकालिएर यहाँ बसोबास गरेपछि।
चाफ टोल: यहाँ रहेको चाफ (पाटी) को आधारमा।
लासा कोटोल: बिस्का जात्रामा लस्कुस (अनुष्ठान) हुने स्थान।
शिक्षा
[सम्पादन गर्नुहोस्]२००३ सालतिर बनेपामा गणेश स्कुल, जापानी स्कुल आदि स्थापना भए। श्रीखण्डपुरमा श्री श्वेत भैरव स्कुल २००७ चैत १६ मा मान्यता प्राप्त गरेर खोलिएको थियो। प्रारम्भमा मन्दिरको विश्रामगृहमा सञ्चालन गरिएको स्कुल पछि लायकु दरबारमा सारिएको थियो।
२०२७ सालमा श्री जनजागृति स्कुल स्थापना भयो। पछि यी दुवै स्कुल गाभिएर 'श्रीखण्डपुर माध्यामिक विद्यालय' नाम दिइयो। हाल यो उच्च माध्यमिक विद्यालयको रूपमा सञ्चालित छ। अन्य निजी स्कुलहरू: एसओएस हर्मन, गोल्डेन सिद्धार्थ, सन्तालम स्कुल आदि।
साहित्य
[सम्पादन गर्नुहोस्]यहाँ २०० वर्षभन्दा बढी समयदेखि साहित्यको विकास भइरहेको छ। प्राचीन कालदेखि नै कवीहरूको जन्मभूमिका रूपमा परिचित। कालु मान सिंह (वि.सं. ९७१-१०२०) ले ३१ कविता लेखेका थिए। हिराकाजी श्रेष्ठ, लीलाभक्त श्रेष्ठ, आनन्द राजोपाध्याय, पुष्करराज बल आदि कवीहरू थिए।
प्रकाश पुस्तकालयले युवाहरूलाई कविता लेख्न र वाचन गर्न उत्प्रेरित गर्यो। २०२८–२०३१ बीच युग सन्देश मण्डलद्वारा साहित्य सम्मेलन भयो जसमा सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यामी, प्रेमबहादुर कासकार आदि लेखकहरू सहभागी थिए।
२०६२ मा श्रीखण्डपुर क्लबद्वारा 'श्रीखण्डपुर दर्पण' प्रकाशित भयो। २०६३ मा श्री श्वेत भैरव दर्पण र २०६१ मा 'श्रीखण्ड' स्मारिका प्रकाशित गरियो।
पारंपरिक संगीतका साधकहरू: आनन्द राजोपाध्याय, पुष्करराज बल, दिलगोपाल धुज्जु, हरिकृष्ण श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ आदि। नेवार समुदायले बासरी, जुगी बाजा, नयाँ खिँ बाजा, धिमे बाजा आदि बजाउँथे। नयाँ खिँ बाजा लोप हुँदैछ, जुगी बाजा हराइसकेको छ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]श्री नाख भगवतीको कथा: एकपटक श्रीखण्डपुरको भगवती जलेश्वर हुँदै पनौती पुगिन्। पछि श्रीखण्डपुरका बासिन्दाहरूले सुनको गहना ल्याउने वाचा गरे। तर, धुलिखेलका बासिन्दाले लौका र घिरौला फुलको माला दिँदा भगवती उनीहरूतिर गइन्। श्रीखण्डपुरवासीहरूले नाक काटी ल्याएर यहाँ स्थापना गरे।
शोरखुट्टे पाटी: १६ खम्बे तीनतले पाटी जसको भुइँतलामा दोषीलाई राखिन्थ्यो, माथिल्लो तलामा पंचायत बैठक बस्थ्यो। अहिले त्यस स्थानमा स्वास्थ्य चौकी निर्माण गरिएको छ।
क्वेनावासी गणेश स्थान: यहाँको पानी कहिल्यै सुक्दैन। एक तान्त्रिकले गणेशको शक्ति परीक्षण गर्न खोज्दा ठूलो र सानो आकारको अर्थ स्वर्ग र पाताल भएको पत्ता लाग्यो। गणेशको मूर्ति चोभारबाट ल्याइएको हो।
नवदुर्गा जात्राको घटना: एक पटक जात्राको बेला माछा मार्दा देवता रिसाए। तान्त्रिकले कारण बताउँदा जात्रामा माछा मार्न बन्द गरियो। त्यसपछिको जात्रामा माछा नमार्ने निर्णय गरियो।
ॐ गणानां त्वा गणपतिं हवामहे गणेशको आह्वान गर्ने मन्त्र, जसले बुद्धि र शुभता प्रदान गर्छ।
References
[सम्पादन गर्नुहोस्]- Dhulikhel Municipality अभिलेखिकरण २०१५-०९-२७ वेब्याक मेसिन
- Dhulikhel Government Site
- The Himalayan Times National Newspaper tags on Shreekhandapur
- The Himalayan Times National Newspaper News article
- https://manish2048.com.np/ हाम्रो गौरब हाम्रो श्रीखण्डपूर
- https://jojolopakhampu.com/
- https://archive.org/details/shreekhandapur-khadpu-khampu
External links
[सम्पादन गर्नुहोस्]- https://manish2048.com.np/ हाम्रो गौरब हाम्रो श्रीखण्डपूर