सामग्रीमा जानुहोस्

गङ्गा (देवी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गा
गङ्गा नदीको मानवीकरण
क्षमा र शुद्धीकरणकी देवी
१७औँ-१८औँ शताब्दीमा निर्मित देवी गङ्गाको मूर्ति
अन्य नामहरू
  • भागीरथी
  • शिवप्रिया
  • जाह्नवी
  • निकिता
  • मन्दाकिनी
आबद्ध
मन्त्रॐ श्री गङ्गायै नमः
अस्त्रकलश
प्रतीकगङ्गा नदी
वाहनमकर
चाडपर्वहरू
वंशावली
अभिभावकहरूहिमवत् र मेनावती (केही ग्रन्थहरूमा)
भाइबहिनीहरूपार्वती, मैनाक (केही ग्रन्थहरूमा)
रानी
सन्तानहरूभीष्म र शन्तनुका अन्य ७ छोराहरू

गङ्गा गङ्गा नदीको मानवीकरण हो, जसलाई हिन्दूहरूले शुद्धीकरण र क्षमाकी देवीको रूपमा पूजा गर्छन्। धेरै नामहरूले चिनिने गङ्गालाई प्रायः गोरो वर्णकी एक सुन्दरी महिलाको रूपमा चित्रण गरिन्छ जो मकर भनिने दिव्य गोही जस्तो जीवमा सवार हुन्छिन्। गङ्गाको सबैभन्दा पुरानो उल्लेखहरू ऋग्वेदमा पाइन्छ जहाँ उनलाई नदीहरूमध्ये सबैभन्दा पवित्र मानिएको छ। उनका कथाहरू मुख्यतया उत्तर-वैदिक ग्रन्थहरू जस्तै; रामायण, महाभारतपुराणहरूमा देखा पर्दछन्। रामायणले उनलाई हिमालयको मानवीकरण हिमवत्को जेठी छोरी र देवी पार्वतीकी दिदीको रूपमा वर्णन गरेको छ। यद्यपि, अन्य ग्रन्थहरूले उनको उत्पत्ति संरक्षणका देवता विष्णुबाट भएको उल्लेख गरेका छन्। पौराणिक कथाहरू उनको पृथ्वीमा अवतरणमा केन्द्रित छन् जुन राजर्षि भगीरथको तपस्या र भगवान् शिवको सहयोगका कारण सम्भव भएको हो।

महाकाव्य महाभारतमा गङ्गा र कुरु राजा शन्तनुको मिलनबाट योद्धा भीष्मको जन्म भएको कथा उल्लेख्य छ। हिन्दु धर्ममा गङ्गालाई मानवताको आमाको रूपमा हेरिन्छ। तीर्थयात्रीहरूले आफ्ना मृतक आफन्तहरूको अस्तु गङ्गा नदीमा विसर्जन गर्छन् जसलाई उनीहरूले आत्मालाई (शुद्ध आत्मा) मोक्ष वा जन्म र मृत्युको चक्रबाट मुक्तिको नजिक लैजाने विश्वास गर्छन्। गङ्गाको सम्मानमा गङ्गा दशहरा र गङ्गा जयन्ती जस्ता चाडपर्वहरू गङ्गा नदीको किनारमा रहेका विभिन्न पवित्र स्थानहरूमा मनाइन्छ, जसमा गङ्गोत्री, हरिद्वार, प्रयागराज, वाराणसीकलकत्ताको कालीघाट काली मन्दिर समावेश छन्। गौतम बुद्धका साथसाथै थाइल्यान्डमा लोय क्राथोङ पर्वको समयमा देवी गङ्गाको पनि पूजा गरिन्छ।

किंवदन्ती

[सम्पादन]

जन्म

[सम्पादन]

हिन्दु धर्मग्रन्थहरूमा गङ्गाको जन्मका बारेमा विभिन्न पौराणिक कथाहरू पाइन्छन्। भागवत पुराणका अनुसार, भगवान विष्णुले वामन अवतारको रूपमा आफ्नो बायाँ खुट्टा ब्रह्माण्डको अन्त्यसम्म फैलाउँदा आफ्नो खुट्टाको बुढी औँलाको नङले यसको आवरणमा एउटा प्वाल पर्न जान्छ। त्यस प्वालबाट कारण सागरको शुद्ध जल यस ब्रह्माण्डमा गङ्गा नदीको रूपमा प्रवेश गर्छ। रातो केशरले ढाकिएका भगवानका चरणकमलहरू धोएपछि, गङ्गाको पानीले अत्यन्तै सुन्दर गुलाबी रङ्ग प्राप्त गर्छ। यस ब्रह्माण्डभित्र ओर्लनु अघि गङ्गाले सिधै विष्णुको चरणकमल स्पर्श गर्ने भएकाले यसलाई भगवत्-पदी वा विष्णुपदी भनिन्छ जसको अर्थ भगवानको चरणबाट निस्किएको भन्ने हुन्छ। त्यसपछि गङ्गा [ब्रह्मलोक]] वा ब्रह्मपुरमा बस्न थाल्छिन् र भगीरथको अनुरोधमा पृथ्वी ग्रहमा अवतरण गर्छिन्। भूमि देवीको (पृथ्वी माता) विनाश रोक्नका लागि भगवान शिवले गङ्गालाई आफ्नो शिरमा सुरक्षित रूपमा धारण गर्छन्। त्यसपछि देशको आवश्यकता पूरा गर्न शिवको जटाबाट गङ्गालाई मुक्त गरिन्छ।[]

रामायणले यस पौराणिक कथाको अर्कै संस्करण वर्णन गर्दछ। गङ्गालाई ब्रह्माका छोरा तथा हिमालयका राजा हिमवत् र मेरु पर्वतकी छोरी रानी मेनावतीका जेठो सन्तानको रूपमा वर्णन गरिएको छ। उनकी कान्छी बहिनी पार्वती हुन् जसले पछि शिवसँग विवाह गर्छिन्। जब गङ्गाले जवानी प्राप्त गरिन्, तब देवताहरूले उनलाई स्वर्गमा लान्छन् जहाँ उनले नदीको रूप धारण गरी प्रवाहित हुन थाल्छिन्।[][]

महत्व

[सम्पादन]

देवी गङ्गालाई गङ्गा माता पनि भन्ने गरिन्छ भने भक्तजनहरू व्रत बन्ने क्रममा र हिन्दु लोक संस्कृतिमा उनलाई पाप क्षमा गर्ने र मानवजातिलाई शुद्ध पार्ने क्षमताका लागि श्रद्धाका साथ पुजिन्छ।[] प्रकृतिमा नदीको रूपमा उनी विनाशकारी हुन सकेतापनि अन्य विभिन्न देवीहरूको तुलनामा उनको कुनै विनाशकारी वा भयानक पक्ष छैन।[] उनी अन्य देवताहरूको माता पनि हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Hawley, John Stratton; Wulff, Donna Marie (१९८४), The Divine Consort: Rādhā and the Goddesses of India (अङ्ग्रेजीमा), Motilal Banarsidass Publishing House, आइएसबिएन 978-0-89581-441-8
  2. Wangu, Madhu Bazaz (२००३), Images of Indian Goddesses: Myths, Meanings, and Models (अङ्ग्रेजीमा), Abhinav Publications, आइएसबिएन 978-81-7017-416-5
  3. Sivaramamurti, C. (१९७६), Gaṅgā (अङ्ग्रेजीमा), Orient Longman, आइएसबिएन 978-0-86125-084-4
  4. "Story of Gaṅgā", २८ जनवरी २०१९, मूलबाट १२ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२०
  5. V?lm?ki; Venkatesananda, Swami (१९८८-०१-०१), The Concise R_m_ya_a of V_lm_ki (अङ्ग्रेजीमा), SUNY Press, आइएसबिएन 978-0-88706-862-1
  6. Sivkishen (२०१५-०१-२३), Kingdom of Shiva (अङ्ग्रेजीमा), Diamond Pocket Books Pvt Ltd, आइएसबिएन 978-81-288-3028-0
  7. 1 2 Quoted in Eck 1982, p. 218
  8. Eck 1998, p. 149