गणेशबहादुर प्रसाईँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गणेशबहादुर प्रसार्इंबाट अनुप्रेषित)

राइटर पूर्णप्रसाद र पद्मादेवीका साइँला छोराका रूपमा १९८७ असार ३१ गते ताप्लेजुङको आठराई, निघुरादिनमा जन्मेका थिए ।

राजनीतिक यात्रा[सम्पादन गर्नुहोस्]

गणेशबहादुर प्रसाई राजनीतिमा पनि उत्तिकै सशक्त थिए । राजनीति गरेबापत उनी २००५ मा पक्राउ परेका थिए । त्यस बेला खुट्टामा नेल ठोकिएकाले उनका कुर्कुच्चामाथि बाँचुन्जेल ठूलठूला गाँठा देखिन्थे । २००७ मा शस्त्रविहीन राजबन्दीलाई रिहा गर्ने घोषणा भएपछि जेलमुक्त भएका उनी त्यसै बेला नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश भए । त्यसपछि उनी झापा जिल्ला कम्युनिस्ट पार्टीका सचिव र अखिल नेपाल किसान सङ्गठनका अध्यक्ष भएका थिए । २०१५ को आमचुनावमा गणेशबहादुर तेह्रथुमको आठराईको २६ नम्बर क्षेत्रबाट लडेका थिए । कम्युनिस्टहरूबाट समर्थित स्वतन्त्र उम्मेदवार उनी खरो भाषण गर्थे । त्यति बेला उनलाई चकित परेर सुन्नेहरूमा थिए, प्रा. अभि सुवेदी पनि । चुनाव त काङ्ग्रेस उम्मेदवार तेजमान आङदेम्बेले नै जिते, तर प्रसाईंले राजावादी गोर्खा परिषद्का उम्मेदवार रणधीर सुब्बालाई भने राजनीतिक साख नै नरहने गरी हराएको सुवेदी सम्झन्छन् । प्रसाईले २०२८ मा बीपी कोइरालासँग कामसमेत गरेका थिए । 'चार वर्षसम्म घनिष्ठ भएर यिनीहरू २०३२ सालमा फुटेका थिए,'

साहित्यिक प्रभाव[सम्पादन गर्नुहोस्]

उनले समालोचक रामकृष्ण शर्माको प्रभाव र शैली अनुकरण गरी निबन्धसमालोचना लेखेका छन् । उनी ब्रह्मले देखेका कुरा लेख्ने समालोचक हुन् ।

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

प्रसाईं कुनै बेला 'सञ्चय' डाइजेस्टका सम्पादक पनि रहे र तेस्रो आयाम साहित्यिक आन्दोलनमाथि समालोचना लेखे । उनले २०११ तिर एउटा कविता सङ्ग्रह पनि निकालेका थिए । तर प्रसाईंले कवितामा उति बल गरेनन् । 'सम्पादन, समालोचना, निबन्ध लेखन उनको प्रिय विधा थियो । अध्ययनको व्यापकताले गर्दा उनी अरू समालोचकभन्दा भिन्न थिए । उनी नेपाली साहित्यका प्रतिभाशाली समालोचक हुन् ।

प्रसाईंका जीवनी लेखक नरेन्द्रराज प्रसाईंले भने । दार्जिलिङबाट बीए पास गरेका उनी तेर्‍हथुमको त्रिमोहन हाई स्कुलका प्रधानाध्यापक भए । संखुवासभाको मादी हाई स्कुल, तेर्‍हथुमको पोखरी हाई स्कुल, इलाम हाई स्कुल र झापाको शनिश्चरे हाई स्कुलमा उनले पनि पढाए ।

सम्मान[सम्पादन गर्नुहोस्]

मुक्ति पुरस्कार, साझा पुरस्कार, महानन्द पुरस्कार, देवकोटा शताब्दी सम्मान र भानुभक्त पुरस्कारबाट सम्मानित

निधन[सम्पादन गर्नुहोस्]

८५ वर्षीय प्रसाईंको निधन २०७१ असार १९ गते झापाको वितामोडको विर्ता सिटी अस्पतालमा भयो । उनका पत्नी र दुई छोरा छन् ।

विश्लेषण[सम्पादन गर्नुहोस्]

प्रा.सुवेदीले भने -'प्रसाईं औँलामा गन्न सकिने नेपाली समालोचक हुनुहुन्छ । उहाँ मेरा स्कुलबाहिरका गुरु हुनुहुन्छ । भारततिर चलेको शिक्षाको लहर, जवाहरलाल नेहरुपन्थी रमरम रोमान्टिकवाद उहाँका लेखाइमा व्याप्त छ । उहाँ प्राज्ञ हुन धेरै योग्य व्यक्ति हुनुहुन्थ्यो, तर प्राज्ञहरूका काम गरेर बस्नुभयो ।'

कृति[सम्पादन गर्नुहोस्]

प्रसाईँका निम्नलिखित कृतिहरू प्रकाशित छन् :

  1. सुवानन्ददेखि राजीवलोचनसम्म (साहित्येतिहास समालोचना २०४४),
  2. दीर्घप्रतीक्षा (निबन्धसंग्रह)
  3. त्यो धनकुटा (आत्मकथा)
  4. नेपाली साहित्यमा स्वच्छन्दतावादी धारा (समालोचना २०४८)[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. भट्टराई,घटराज (२०५६), नेपाली साहित्यकार कोश, काठनाडौं : देवकोटा प्रकाशन