गर्भनिरोधक चक्की
गर्भनिरोधक चक्की (अङ्ग्रेजीः Oral contraceptives, OCPs, birth control pills) जन्म नियन्त्रणका निम्ति सेवन गरिने हर्मोनल औषधिहरू हुन् जसको उद्देश्य गर्भधारण रोक्नु हो।[१] दैनिक हर्मोनल गर्भनिरोधक औषधिहरू गर्भधारण रोक्नका लागि दैनिक रूपमा सेवन गरिन्छ; महिनावारी सुरु भएको पहिलो दिनदेखि खान सुरु गरि नियमित रूपमा २१ दिनसम्म खाइरहनुपर्छ।[२] यसमा प्रायः कृत्रिम हर्मोन—इस्ट्रोजेन र प्रोजेस्टिन—समावेश गरिन्छन्, जसले अण्डाशयलाई अण्डा निकाल्न (ओभुलेसन) दिदैँन र गर्भाशयको मुख (cervical mucus) बाक्लो बनाएर शुक्राणु प्रवेश रोक्छ। मुख्य रूपमा दुई प्रकारका गर्भनिरोधक छन्: संयुक्त चक्की (जसमा इस्ट्रोजेन र प्रोजेस्टिन दुवै हुन्छन्), र प्रोजेस्टिन मात्र गोली (Progestin-only pill / Mini-pill), जसमा केवल प्रोजेस्टिन हुन्छ र मुख्य रूपमा गर्भाशयको मुख बाक्लो बनाउने काम गर्दछ।[३] यसका साथै दीर्घकालीन प्रयोग हुने चक्की (Continuous or extended-use pill) पनि पर्दछन्।[४]
सन् १९६० मा गर्भनिरोधक चक्कीको परिचयले गर्भनिरोधक विकल्पहरूमा क्रान्ति नै ल्यायो र यसले वैज्ञानिक तथा सामाजिक, विज्ञान, साहित्य र सञ्चार माध्यमहरूमा व्यापक छलफल सुरु गरायो। यसमा विशेष ध्यान महिलाका अधिकार, नैतिकता, र व्यक्तिगत रोजाइका मुद्दाहरूमा केन्द्रित भयो। तर, यी औषधिहरूले नयाँ प्रकारका जोखिमका प्रश्नहरू पनि उत्पन्न गरेका छन्। अक्टोबर १९६१ मा ब्रिटिश फ्यामिली प्लानिङ असोसियशनले त्यस्ता चक्कीलाई परिवार नियोजनका साधनका रूपमा सूचिकृत गरेको थियो।[२] नेपालमा, गर्भनिरोधक औषधि र सम्बन्धित जानकारी प्राप्त गर्नको अधिकार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ (The Right to Safe Motherhood and Reproductive Health Act, 2018) द्वारा सुनिश्चित गरिएको छ। यसले यसलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ। धारा ३(४) अनुसार: “प्रत्येक व्यक्तिलाई गर्भनिरोधक सम्बन्धी जानकारी प्राप्त गर्ने र प्रयोग गर्ने अधिकार हुनेछ।” भनी उल्लेख गरिएको छ।[५]
गर्भनिरोधक चक्कीहरूको सम्भावित असरहरूमा महिलामा "अण्डाशय र महिनावारीसँग सम्बन्धित समस्या", साथै "हड्डीको घनत्वमा वृद्धि" (विशेषगरी ४० वर्ष उमेर समूहका महिलामा) प्रमुख छन्। अन्य सामान्य असरहरूमा छालाका समस्या, चिन्ता वा चिडचिडापन[३], स्तन दुखाइ, तौल बढ्नु, र चक्की बन्द गरेपछि गर्भधारणमा केही समस्या हुन सक्छन्। साथै, चक्की सेवन गर्दा महिनावारीको प्रवाहमा परिवर्तन, दुखाइपूर्ण महिनावारी (डिसमेनोरिया), रक्तचापमा परिवर्तन, कम्मर–नितम्ब अनुपातमा फरक, भ्याजाइनल डिस्चार्ज, कन्ट्याक्ट लेन्स प्रयोग गर्दा दृष्टिमा परिवर्तन, अनियमित वा टुप्पो रगतस्राव, र महिनावारी छुट्नु जस्ता लक्षणहरू देखा पर्न सक्छन्।[६]
प्रकारहरू
[सम्पादन गर्नुहोस्]संयुक्त गर्भनिरोधक (Combined Oral Contraceptive – COC)
[सम्पादन गर्नुहोस्]संयुक्त ओरल गर्भनिरोधक चक्कीहरूमा प्रायः इस्ट्रोजेन घटक विभिन्न पुस्ताका प्रोजेस्टिन घटकसँग मिश्रित रुपमा प्रयोग गरिन्छ, जसका एन्ड्रोजेनिक र प्रोजेस्टोजेनिक क्षमता फरक–फरक हुन्छ। यस मिश्रणलाई प्रयोग गर्ने सल्लाह दिँदा प्रोजेस्टिन घटकको चाहिने प्रभाव, नकारात्मक असरको जोखिम, र इस्ट्रोजेन तथा प्रोजेस्टिनको मात्रा विचार गरिन्छ।
- इस्ट्रोजेन घटक: एस्ट्राडियोल (Estradiol), एथिनाइलएस्ट्राडियोल (Ethinylestradiol), एसट्रोल (Estetrol), मेस्ट्रानोल (Mestranol)
- पहिलो पुस्ताको प्रोजेस्टिन: नोरेथिन्ड्रोन एसेटेट (Norethindrone acetate), एथिनोडिओल डाइसिटेट (Ethynodiol diacetate), लिनेस्ट्रेनोल (Lynestrenol), नोरेथिनोड्रेल (Norethynodrel)
- दोश्रो पुस्ताको प्रोजेस्टिन: लेभोर्नोर्जेस्ट्रेल (Levonorgestrel), डीएल-नोरजेस्ट्रेल (DL-norgestrel)
- तेस्रो पुस्ताको प्रोजेस्टिन: नोर्गेस्टिमेट (Norgestimate), जेस्टोडीन (Gestodene), डेसोगेस्ट्रेल (Desogestrel)
- अवर्गीकृत प्रोजेस्टिन: ड्रोसिपिरेनोन (Drospirenone), सिप्रोटेरोन एसेटेट (Cyproterone acetate)
प्रोजेस्टिन मात्रको चक्की (Progesterone-Only Pill)
[सम्पादन गर्नुहोस्]प्रोजेस्टिन चक्कीहरूमा प्रायः ड्रोसिपिरेनोन (Drospirenone) वा नोरेथिन्ड्रोन (Norethindrone) समावेश भएका हुन्छन्।[४] ड्रोसिपिरेनोनले अण्डाशयबाट अण्डा निकाल्ने (ओभुलेसन) प्रक्रिया दबाउँछ र एंटी-मिनरलोकोर्टिकोइड क्रियाशीलता पनि राख्दछ। नोरेथिन्ड्रोन मुख्य रूपमा गर्भाशयको मुख (cervical mucus) बाक्लो बनाएर शुक्राणु प्रवेश रोक्ने, ओभुलेसन दबाउने, र चक्रको बीचमा LH र FSH स्तर घटाउने काम गर्दछ। यसले फलोपियन ट्युबमार्फत अण्डाको गति सुस्त बनाउँछ र गर्भाशयको आन्तरिक परत (एन्डोमेट्रियम) को मोटाइ परिवर्तन गर्दछ। केही प्रोजेस्टिनहरूमा एन्ड्रोजेन विरोधी (antiandrogenic) क्षमता बढी हुन्छ, जसले गर्दा ती पॉलीसिस्टिक ओभरी सिन्ड्रोम (PCOS), हिर्सुटिज्म (अनावश्यक शरीरको रौं), र छालाका रोग (acne) जस्ता अवस्थाहरूको उपचारमा प्रभावकारी हुन्छन्।
अन्य प्रोजेस्टिन मात्र (Progestogen-only) हर्मोनल गर्भनिरोधक:[३]
| प्रोजेस्टिन (Progestogen) | प्रोजेस्टिन मात्रा (Progestogen content) | ब्रान्ड नाम (Brand name) |
|---|---|---|
| लेभोर्नोर्जेस्ट्रेल, सेवन गरिने (oral) | ३० माइक्रोग्राम | माइक्रोलुट (Microlut) |
| लेभोर्नोर्जेस्ट्रेल, गर्भाशय भित्रको यन्त्र (intrauterine device) | १९.५ mg | किलिना (Kyleena) |
| ५२ mg | मिरेना (Mirena) | |
| नोरेथिस्टरोन, सेवन गरिने (oral) | ३५० माइक्रोग्राम | नोरिडे २८ (Noriday 28) |
| ड्रोसिपिरेनोन (Drospirenone) | ४ mg | स्लिन्डा (Slinda) |
| मेड्रोक्सीप्रोजेस्टरोन एसेटेट, मांसपेशीमा इन्जेक्सन (intramuscular injection) | १५० mg | डेपो-प्रोभेरा (Depo-Provera) |
असरहरू
[सम्पादन गर्नुहोस्]क्यान्सर: केही अध्ययनहरूले देखाएका छन् कि हर्मोनल गर्भनिरोधक (विशेष गरी ओरल कन्ट्रासेप्टिभ पिल्स) प्रयोग गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम त्यस्ता महिलाहरूको तुलनामा बढी हुन्छ जो यसलाई प्रयोग गर्दैनन्। अध्ययनहरूमा विशेष रूपमा उल्लेख एस्ट्रोजेन (Estrogen) स्तन क्यान्सरको विकासमा मुख्य भूमिका खेल्ने जबकि प्रोजेस्टिन (Progestin) को भूमिका अझै अस्पष्ट रहेका बताउँछन्। संयुक्त गर्भनिरोधक (COC) प्रयोग गर्दा स्तन क्यान्सरको जोखिम बढ्ने विषयमा निरन्तर रुपमा पुष्टि भेटिन्नन्; विभिन्न अध्ययनहरूले जोखिम बढ्दैन देखि लिएर २०–३०% सम्म वृद्धि हुने देखाएका छन्।[७] यस्तो जोखिम प्रायः अस्थायी हुने र हालै वा हाल नियमित रूपमा COC प्रयोग गर्ने व्यक्तिहरूमा मात्र सीमित देखिन्छ। जुन महिलाहरू परिवार नियोजनमा संलग्न छन्, तिनीहरूलाई सम्भावित क्यान्सरजन्य असरको बारेमा सचेत भने गराइनु आवश्यक हुन्छ। तर यसै सँगै यौन स्वास्थ्यका फाइदाहरूको अतिरिक्त, COC प्रयोग गर्दा गर्भाशयको मुख (endometrial), आन्द्रा (colorectal), र डिम्बाशय (ovarian) क्यान्सर हुने जोखिम कम गर्न पनि मद्दत गर्न सक्छ।[७] अध्ययनहरूमा पहिचान गरिएका जोखिम कारकहरूको पूर्ण हिसाब राख्न कठिनाइ देखि\का छन्, हर्मोनल गर्भनिरोधक र स्तन क्यान्सरबीचको सम्बन्ध हर्मोनका प्रत्यक्ष प्रभाव वा स्वास्थ्य सेवासँगको बढी संलग्नताका कारण हो भन्ने निर्धारणमा चुनौती रहेका छन् जसकारण गर्भनिरोधकहरूद्वारा नै क्यान्सर हुने भन्ने प्रमाणित हर्ने सकिने अवस्था छैन।[८]
स्ट्रोक (Stroke): हर्मोनल गर्भनिरोधक, विशेष गरी ओरल कन्ट्रासेप्टिभ पिल्स प्रयोग गर्दा पहिलो वर्षमा स्ट्रोक हुने जोखिम बढ्ने मानिन्छ। मुख्य रूपमा मौखिक गर्भनिरोधक प्रयोग र हर्मोन प्रतिस्थापन उपचार (HRT) स्ट्रोकको बढ्दो जोखिमसँग सम्बन्धित देखिएका छन्, विशेषतः प्रयोगको पहिलो वर्षमा यो जोखिम बढ्दछ। यसको सम्भावित कारण तत्कालीन रक्त जम्ने प्रक्रियामा (hemostatic balance) आएको असन्तुलन हुन सक्ने पाइएको छ।[९]
डिप्रेशन (Depression): प्रमाणहरूले ओरल कन्ट्रासेप्टिभको प्रयोगले, विशेष गरी पहिलो दुई वर्षमा, डिप्रेशनको जोखिम बढ्ने देखाएका छन्।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "What is the combined pill?", nhs.uk (en-GBमा), अन्तिम पहुँच २०२५-०८-२६।
- ↑ २.० २.१ "के परिवार नियोजनका चक्की सेवनले महिलालाई मोटो बनाउँछ", BBC News नेपाली (नेपालीमा), २०२४-०५-१९, अन्तिम पहुँच २०२५-०८-२६।
- ↑ ३.० ३.१ ३.२ Mu, Eveline; Kulkarni, Jayashri (२०२२-०६-०१), "Hormonal contraception and mood disorders", Australian Prescriber (अङ्ग्रेजीमा) 45 (3), डिओआई:10.18773/austprescr.2022.025, पिएमआइडी 35755988, पिएमसी 9218393।[स्थायी मृत कडी]
- ↑ ४.० ४.१ Cooper, Danielle B.; Patel, Preeti (२०२५), "Oral Contraceptive Pills", StatPearls (Treasure Island (FL): StatPearls Publishing), पिएमआइडी 28613632, अन्तिम पहुँच २०२५-०८-२६।
- ↑ "Right to Safe Motherhood and Reproductive Health Act 2075", UNFPA Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०८-२६।
- ↑ Samanta, Moumita; Maiti, Monoj (२०२२-०८-३०), "Effects of oral contraceptive pill on female health", International Journal of Experimental Research and Review (अङ्ग्रेजीमा) 28: 15–24, आइएसएसएन 2455-4855, डिओआई:10.52756/ijerr.2022.v28.003।
- ↑ ७.० ७.१ Kamani, Mustafa; Akgor, Utku; Gültekin, Murat (२०२२), "Review of the literature on combined oral contraceptives and cancer", Ecancermedicalscience 16: 1416, आइएसएसएन 1754-6605, डिओआई:10.3332/ecancer.2022.1416, पिएमआइडी 36072240, पिएमसी 9377820।
- ↑ "The Wikipedia Library", wikipedialibrary.wmflabs.org (अङ्ग्रेजीमा), डिओआई:10.2147/bctt.s390664#abstract, अन्तिम पहुँच २०२५-०८-२६।
- ↑ Johansson, Therese; Fowler, Philip; Ek, Weronica E.; Skalkidou, Alkistis; Karlsson, Torgny; Johansson, Åsa (२०२२-१०), "Oral Contraceptives, Hormone Replacement Therapy, and Stroke Risk", Stroke 53 (10): 3107–3115, डिओआई:10.1161/STROKEAHA.121.038659।
- ↑ Johansson, T.; Larsen, S. Vinther; Bui, M.; Ek, W. E.; Karlsson, T.; Johansson, Å (२०२३-०१), "Population-based cohort study of oral contraceptive use and risk of depression", Epidemiology and Psychiatric Sciences (अङ्ग्रेजीमा) 32: e39, आइएसएसएन 2045-7960, डिओआई:10.1017/S2045796023000525।