गौतम गोत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गौतम गोत्र हिन्दू धर्मावलम्बीहरूको एक गोत्र हो । यो गोत्रलाई वैद्धिक कालको यजुर्वेदिक कालखण्डमा सुरू भएका मुख्य आठ गोत्रहरू मध्यको सबैभन्दा प्रथम गोत्र मानिन्छ । यस गोत्रका गोत्र प्रर्वतक महर्षि गौतम मानिन्छन् । [१]

गौतम गोत्रको परिचय

वैद्धिक कालको यजुरवैदिक कालखण्डमा सुरु भएका मुख्य (मुल) ८ गोत्रहरू मध्यको सबैभन्दा प्रथम गोत्र गौतम गोत्र हो । वैद्धिक कालका मुख्य सात ऋषिहरू ( गौतम, भाद्धाज, विश्वामित्र, जमदग्नी, बशिष्ठ, कश्यपअत्री ) मध्यका जेठा र मुख्य ऋषि महर्षि गौतम थिए । गौतम ऋषिले आफ्नो नामबाट सुरु गरेको गोत्र गौतम गोत्र हो । [१] वैद्धिक कालका महानतम महर्षि गौतमका सन्तानहरू आज आफूलाई गौतम गोत्री अथवा गौतम ऋषिका सन्तति भनेर परिचित गराइरहेका छन् । यसरी महर्षि गौतम ऋषिका सन्ततिहरूका लागी गौतम गोत्र सुरूवात भयो । यो गोत्र सबैभन्दा जेठो गोत्र हो । सप्तऋषिहरूमध्य सबैभन्दा जेठा र सिद्ध ऋषि गौतम थिए । यसै कारण गौतमलाई ऋषिहरूका महर्षि भनिएको हो । यो तथ्य ऋगवेदमा उल्लेख छ । ऋगवेदका कतिपय सुक्तीहरू पनि महर्षि गौतमको नाम र पराक्रममा आधारित भएर रचिएका छन् । सामवेदका कतिपय सुक्तिहरू महर्षि गौतमको नाम र पराक्रममा आधारित भएर रचिएका छन् । सामवेदको भद्रा श्लोकले महर्षि गौतमको पराक्रम र विद्धत्वको इतिवृतान्त उजागर गरेको छ । सामवेदको सिंगै भद्रा खण्डले महर्षि गौतमकै जिवन र कर्मको बारेमा वखान गरेको छ । [१] उनै महर्षि स्वयंले आफ्नो नामबाट सुरुवात गरेको गोत्र नै गौतम गोत्र हो । ब्रह्माण्ड पुराणका अनुसार अहिले प्रचलमा रहेका साण्डिल्यगर्ग गोत्रहरू पनि गौतम गोत्र नै हुन् । किनकी महर्षि गौतमका धेरै पछिका सन्ततिहरूमध्यका साण्डिल्यागर्गले आफू गौतम गोत्री भए ता पनि आफू पछिका सन्ततिहरूको गोत्र आफ्नै नामबाट सुरू गराएर साडिल्य र गर्ग गोत्रको सुरुवात गरेका थिए । त्यसैले अहिले आफूलाई साण्डिल्य र गर्ग गोत्री बताउनेहरू पनि वास्तविक अर्थमा गौतम गोत्री हुन् । अहिले जो आफूलाई गौतम गोत्री बताउछन् उनिहरूका पूर्खा साण्डिल्य र गर्गऋषिहरू भन्दा पहिले नै फाटेका गौतम गोत्री हुन् ।[१] सारमा भन्नु पर्दा वर्तमानमा गौतम गोत्री, साण्डिल्य गोत्री र गर्ग गोत्रीहरू आखिरमा महर्षि गौतमका नै सन्तति हुन् । महर्षि गौतमका कतिपय सन्ततिहरूले समयक्रमसँगै आफ्नै नामबाट नयाँ गोत्रको सुरुवात गर्ने र गौतम गोत्रीहरूको कपिलवस्तु सभ्यता समाप्त भएकोले अहिले गौतम गोत्रीको संख्या कम छ । तर गौतम गोत्र वैद्धिककालका मुख्य आठ गोत्र प्रवर्तक ऋषिहरू मध्यका जेठा र सिद्ध महर्षि गौतमद्वारा प्रवर्तन गरिएको गोत्र भएकोले यो मुल आठ गोत्रमध्यको जेठो गोत्र हो भन्दा अयुक्ति छैन ।[१]

गौतम गोत्रको शाखा

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा सूत्रप्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी छ । प्रत्यक गोत्रको शाखा हुन्छ । त्यस्तै सप्तर्षी मध्यका जेष्ठ ऋषि गौतमको नामबाट सुरु भएको गौतम गोत्रको पनि अलग्गै वैद्धिक शाखा छ । गौतम गोत्रको शाखाको व्याख्या गर्ने सन्दर्भमा विद्वान एम.ए.सेमिङले सन् १९७० गरेको खोजअनुसार गौतम गोत्रीहरू विभिन्न उपजातहरूमा बाँडिएर बहु आयामीक रुपमा फैलिएर रहेको बताएका छन् । उनका अनुसार गौतम गोत्र भित्र वेदको शाखा मान्ने सवालमा दुईवटा परम्परा विद्यमान रहेको भनी बताएका छन् । उनको खोजमा गौतम गोत्रको शाखालाई निम्न दुई किसिमबाट प्रस्तुत गरिएको छ ।[१]

  1. गौतम गोत्र, कत्यायान श्राउतसूत्र, कत्यायान गृहसूत्र, वौद्धयान धर्मसूत्र, वाजसानेयी मध्ययाण्डिना शाखा, शुक्ल यजुर्वेद, तिन प्रहर (अंगिरा, अयास्या, गौतम) । यसरी गौतम गोत्रीहरूको शाखा शुक्ल यजुर्वेदको वाजसानेयी मध्ययाण्डिना हो भनि प्रष्टरुपमा उल्लेख गरिएको छ । अर्थात गौतम गोत्रीहरूको वैद्धिक शाखा शुक्लयजुर्वेदको मध्ययाण्डिना शाखा हो भनिएको छ । यो कुरा वैद्धिक शाखाहरू नामक ग्रन्थ तथा सोही ग्रन्थलाई आधार मान्दै http://indiadivine.org मा विवेचना गरिएको छ ।[१] शुक्ल यजुर्वेदका मुख्य तीन शाखाहरूमध्य वाजसानेयी मध्ययाण्डिना शाखा गौतम गोत्रीहरूको लागि पहिचान कर्मकाण्डको आधार मानियो । यो विषय पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ ।[१]
  2. गौतम गोत्र, जैमिन्य श्राउतसूत्र, गौतम धर्मसूत्र, कौथुम शाखा, सामवेद, तीन प्रहर (अंगिरा, व्रहस्पती वा औतत्थ्य र गौतम) यसरी गौतम गोत्र भित्र शाखा र प्रवरमा केही भिन्नता रहेको तथ्य पनि भेटिएको छ । [१] खास गरी केही गौतम गोत्री समुदायहरू जो नेपाल तथा भारतमा बसोवास गर्दछन् उनीहरूले आफ्नो श्राउतसूत्र कत्यायन नभइ जैमिन्य हो, गृहसूत्र कत्यायन नभइ गोभिल हो, धर्मसूत्र वौद्धायन नभइ गौतम हो, त्यस्तै वेद पनि शुक्ल यजुर्वेद नभइ सामवेद हो र शाखा मध्यण्डिना नभइ कौथुम हो भनेका छन् ।[१] यो विषयमा पनि विद्वानहरूले निकै खोज गरेको पाइन्छ । वास्तवमा गौतम गोत्रभित्र समयको विकाससँगै केही भेदहरू खडा भएको देखिन्छ, त्यसको ज्वलन्त उदाहरण माथी उल्लेखित दुइ प्रकारका गौतम गोत्री परिचय हुन् । यस विषयमा भारतिय विद्वान डोरीलाल शर्माले सन् १९९८ मा लेखेको ग्रन्थ ब्राह्मण वर्गको इतिहासमा गौतम गोत्री ब्राह्मणभित्र वेद, शाखा, धर्मसूत्र, श्राउतसूत्र, गृहसूत्र तथा प्रवर ऋषिका विषयमा फरक मान्यता रहेको बताएका छन् । उनका अनुसार यी भिन्नताहरू भए ता पनि मुलतह गौतम गोत्रीहरू सामवेदी हुन् । सामवेद नै गौतम गोत्रीहरूको मुल वेद हो । सामवेद मुल धर्म दर्शन हो र शुक्ल यजुर्वेद मुल कर्म दर्शन हो भनि उल्लेख गरेका छन् ।[१]

अर्थात गौतम गोत्रीहरूकालागि सामवेद मुल धर्म विधि हो र शुक्ल यजुर्वेद मुल कर्म विधि (गौतम गोत्रीहरूका सामाजिक कर्मकाण्डहरू, रित, परम्परा) को मुख्य आधार मानिएको छ । यो कुरा वैद्धिक कालदेखी निर्धारण गरिएको हो । तर समय क्रमसँगै कतिपय गौतम गोत्रीहरूले आफूहरू सामवेदी भएको भन्ने गरेका छन् । भने कतिपयले आफूहरू शुक्ल यजुर्वेदी भएको भनि एक आपसमा भेद देखाउन खोजेको देखिन्छ । वास्तवमा गौतम गोत्रीहरू आफूलाई सामवेदी भन्नेहरू र आफूलाई यजुर्वेदी भन्नेहरू दुईवटै एउटै हुन् । माथि उल्लेखित दुवै प्रकारका गौतम गोत्रीहरू अन्ततः गौतम महर्षिका सन्तति हुन् र उनीहरू भाइवन्धु हुन् भनि प्रष्ट रुपमा उल्लेख गरिएको छ ।[१] विद्वान डोरीलाल शर्माका अनुसार गौतम गोत्री समुदायभित्र वेद, शाखा, सूत्र, प्रवर आदीका विषयमा सामान्य भिन्नता देखिए पनि मुल वंश महर्षि गौतम नै भएकाले माथि उल्लेखित भिन्नताले तात्विक फरक नपर्ने देखिन्छ । कहिले र किन यस प्रकारको भिन्नता उत्पन्न भयो भन्ने कुरामा विद्वानहरूको एक मत हुन सकेको देखिदैन । तथापी सबै विद्वानहरूले सामान्य भिन्नताका बावजुद दुवै थरी गौतम गोत्रीहरू अन्ततः महर्षि गौतमकै सन्तान हुन् भन्नेमा पूर्ण सहमत देखिन्छ ।[१]

गौतम गोत्रको प्रवर

शाखा र सूत्र जस्तै हरेक गोत्रको आफ्नो-आफ्नो प्रवर हुन्छ । प्रवर भन्नाले गोत्र वंशका प्रभावशाली ऋषिहरूको संख्या तथा नामलाई भन्ने बुझिन्छ । प्रत्यक गोत्रको प्रवर मध्य एक स्वयं गोत्र प्रवर्तक ऋषिको नाम हुने गर्छ र अन्यमा त्यो गोत्र वंशका पुर्खा तथा वंशमा उत्पन्न प्रख्यात ऋषिको नाम हुन्छ । गौतम गोत्रको प्रवर के हो ? प्रवर सङ्ख्या कति हो ? भन्ने विषयमा प्रष्ट पार्न जरूरी छ ।

गोत्र :- गौतम
प्रवर संख्या :- तीन (त्रिनय/त्री प्रवर)
प्रवरका नाम :- १) अंगिरा, २) अयस्या, वृहस्पति, कोहिले औतथ्या पनि भन्छन् । ३) गौतम (मुलतः गौतम गणका मुल ऋषि) [१]

माथि उल्लेखित गरिएका तीन प्रवरहरू मध्य अंगिरा गौतम ऋषिका मुल पुर्खा हुन् । उनी महान ऋषि थिए उनकै सन्तति गौतम हुन् त्यसैले अंगिरा गौतम गोत्रका प्रवर भए । त्यस्तै अयस्या गौतम महर्षिको वंशका महान ऋषि हुन् । कतिपय अवस्थामा अयस्यालाई वृहस्पति भन्ने गरेको पनि देखिन्छ । उनि पनि गौतमका अंगिरापछीका पुर्खा नै हुन् । त्यस्तै कतिपय गौतम गोत्रीहरूले मध्य प्रवरमा अयस्याको ठाउँमा औतत्थ्यलाई मान्ने गरेका छन् । वास्तवमा औतत्थ्य पनि गौतमकै एक पुर्खा हुन् । त्यस्तै महर्षि गौतम त गौतम गोत्रका प्रवर्तक नै भएकाले उनि स्वयं गोत्र प्रवर्तक तथा गोत्रका प्रवर्तक पनि भनिन्छन् । यसरी गौतम गोत्रका तीन (३) प्रवर छन् र यसैको आधारमा गौतम गोत्रको परिचय खुलाईन्छ । तसर्थ हरेक गौतम गोत्रीले माथी उल्लेखित तीन प्रवरहरू (अंगिरा, अयस्या/वृहस्पति/औतत्थ्य र गौतम) लाई भुल्न हुन्न । अयस्या र वृहस्पती एउटै हुन् भनि उल्लेख गरेको पनि पाइन्छ । तर सारमा दुवै एउटै गौतम गोत्री हुन् भन्नेमा संका गरिनु हुन्न ।[१]

गौतम गोत्रको वैद्धिक इतिहास

ऋषिवंशका दृष्टिले गौतम गोत्रीहरू स्वायंम्भु मनुका पालामा सप्तर्षिजेष्ठ र अग्निहोत्र संस्कृतिका अग्रणी अङ्गिरा ऋषिका सन्तति मध्यका र आङ्गरिस दश वा तेह्रथरी (अझ सत्रथरी पनि) गौतम गणमध्यका एकथरी उतत्थ्यवर्गी / दैर्घतमसवर्गी हुन् । हिन्दू- आर्यपरम्पराका गोत्र पर्वर्तक सात वा आठ ऋषिहरू मध्यका गौतम (उतथ्यपुत्र दिर्घतमा तथा गोतम रहुगण तथा तद्धंशी) नै आङ्गरिसगणी उपर्युक्त दश तेह्रथरी गौतमहरूको गणक गोत्रप्रवर्तक पूर्वज हुन् । वैद्धिक पौराणिक परम्परामा अङ्गिरा ऋषी मुलतः ब्रह्माका मुखबाट उत्पन्न तृतिय मानसपुत्र अग्निहोत्रपद्धतिका संरक्षक र अग्निदेवका (अग्नाइ देवीका) ज्वालामय साक्षात् स्वरुप तथा अग्निपुत्र एवम् प्रथम हुताशन अनि स्वासंभुव मन्वन्तरका सप्तर्षिमध्य एक अनी शिवा र श्रद्धा /सुरुपाका पति तथा दुई नालका सात र दश गरी सत्र पुत्र (उतथ्य, बृहस्पति, आयास्य, शान्ति, घोर, संवर्त र सुधन्वा आदी) तथा चार पुत्री (अनुमति, सिनीवाली, कुहु र राका) का पिता तथा अथर्वा ऋषिका शिष्य समेत रहेका एक प्राचिन ऋषि तथा वैद्धिक ऋषि पनि मानिन्छन् । [१] अङ्गिरा ऋषि नै गौतम आङ्गिरस, भारद्धाज आङ्गिरस र केवल आङ्गिरस भनिने तीनथरी आङ्गिरस गोत्र समुहका मुल पुर्खा तथा अभिभावक मानिन्छन् र यी तिन गोत्र समुहमध्य गौतम गोत्रका प्रवर्तक र भारद्वाज गोत्रका प्रवर्तक भारद्वाज गोतम आङ्गिराका पौत्र या नाति र केवलाङ्गिरस अङ्गिरा ऋषिबाट सिधै आश्रय, संरक्षण र संस्कार तथा गोत्र पाएका हारीत, कुत्स, कण्व, रथीतर, मुद्धल र विष्णुवृद्ध गोत्रीहरूको अर्को वृहत गोत्रगण हो । अङ्गिरा ऋषिका अनेक पत्नी र पुत्रबारे जानकारी प्राप्त भए पनि खास उनका पत्नी सुरुपा र श्रद्धाका तर्फका तीन पुत्र उतथ्य, बृहस्पतिका सन्तान नै गौतम र भारद्धाजका गोत्रगणीहरू मानिन्छन् र संवर्तको वंश परम्परा रहेको भेटिन्न । गौतम गोत्रबारे सुक्ष्म अध्यायनले उतथ्यका पुत्र दिर्घतमाकै नामान्तर तथा गणसन्दर्भ गोतम रहुगण रहेको बुझिन्छ । बार्हस्पत्य र भारद्धाज आङ्गिरसहरू भरद्धाज, गर्ग, ऋक्ष र कपि चार मुख्य वर्गमा रही यीनका तीन प्रवर ऋषिहरू अङ्गिरस, भारद्वाज र बार्हस्पत्य मुख्य मानिन्छन् । त्यहीं गौतम आङ्गिरसका चाहीं आयास्य, शरद्धान्, कौमण्ड, दिर्घतमा, औशनस, कारेणुपालय, राहुगण, सोमराजक, वामदेव्य र बृहदुक्थ्य तथा उतथ्य औशिज र राध्रुवसमेत बढीमा तेह्र गण रहेका छन् ।[१] गोत्रगण चर्चा तर्फ उन्मुख हुँदा प्रथमतः सप्तर्षि या सप्त ऋषिको चर्चा तर्फ पनि उन्मुख हुनुपर्ने देखिन्छ । सृष्ठिकर्ता ब्रह्माका मानस पुत्रमध्यका प्रथम स्वायम्भुव मनुका पालाका प्रतिष्ठित सप्तर्षिहरू हुन् :- मरिची, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, कद्रु र वशिष्ठ । यी मध्य भारतवर्षिय हिन्दू गोत्र व्यवस्था भने मरिची, अङ्गिरा, अत्रि र वशिष्ठ चार ऋषिको वंशपरम्परामा विशेषतः आधारित रहेको मानिन्छ । वर्तमान वैवस्वत मन्वन्तरका सप्तर्षि चाहीं यी मानिन्छन् :- मरिचीवंशी कश्यप र स्वयं अत्रि तथा अत्रि पुत्र विश्वामित्र, स्वयं वशिष्ठ, अङ्गिरावंशी (पौत्र) गोतम (गौतम) र भरद्वाज (भारद्धाज) अनि भृगुवंशी जमदग्नी मुख्य ४९ गोत्र र नाना गोत्रीय उपगणका मुल पुर्खा ऋषिहरूका सन्दर्भका यी सप्तर्षिका अतिरिक्त आठौ ऋषि अगस्त्य समेतबाट सम्पुर्ण भारतवर्षिय हिन्दू गोत्र प्रवर्तन भएको ठानिन्छ । यिनीहरू मुख्यतः ब्रह्माका चार प्रमुख मानस पुत्र भृगु, अंङ्गिरा, मरीचि र अत्रिका वंशि रहेका छन् । विशेषतः भृगुका सात वर्ग, अत्रिका चार वर्ग, विश्वामित्रका दश वर्ग, कश्यपका तीन वर्ग, वशिष्ठका चार वर्ग, अगस्त्यका चार वर्ग र अङ्गिरसका सात वर्ग मिलाई मुख्य ४९ गोत्रगणको चिनारी दिने पनि गरिन्छ । [१] हिन्दू गोत्रव्यवस्था महागण, गण, सहगण र उपगण हुँदै अति विस्तारित भए पनि प्रवर ऋषिका दृष्टिले ४९ गणलाई मुख्य मान्य गरिन्छ र वर्तमान वैवस्वत मन्वन्तरका मुख्य सात ऋषि र थप अगस्त्य ऋषिसमेत यि आठ ऋषिलाई मुख्य गोत्रप्रवर्तक ठानिन्छ - भृगुवंशी जमदग्नि, अङ्गिरावंशी गौतम र भारद्वाज, अत्रि, अत्रिवंशी विद्यामित्र, मरीचिवंशी कश्यप, वशिष्ठ र अगस्त्य । यिमध्य भृगु र अङ्गिरा गोत्रगणलाई महागण भनिने गरिन्छ ।[१] परम गोभक्त गौतम ऋषिकी प्रथम पत्नीबाट वामदेव र नोधास द्वितिय पत्नी अहल्याबाट सतानन्द पैदा भएको जानकारी पनि पाइन्छ । सामवेदी अध्यायन र सामगानका सांगीतिक परम्परामा व्यासशिष्य जैमिनीका पुत्रशिष्यमध्यका कान्छा सुकर्माका शिष्य पौब्यञ्जि ऋषि नै उदिच्य सामपद्धतिका मुल गुरू रही उनैका चार शिष्य (लौगक्षि, कौथुमी, कुसीदि र लाङ्गलि) मध्यका अन्यतम सामवेदी कौथुम / कौथुमी / कौथुमिय शाखाका मुल गुरू र गौतम गोत्रीका प्राज्ञिक वैद्धिक पुर्खा रहेको कुरा उल्लेख छ । सहस्रवर्त्या सामवेदका पछि बचेका नौ मुख्य शाखामध्य पनि हाल प्रचलित जैमिनीय, राणायनीय र कौथुमी तीन शाखामध्य उदिच्य सामवेदी परम्परामा कौथुमीय नै एक मात्र छ ।[१]

प्राचिन भौगोलिक सन्दर्भमा भारतवर्षिय खास गरी द्विज वर्ग (ब्राह्मण, क्षेत्रीयवैश्य) लाई विन्ध्य पर्वतको साँध बनाई मुल पाँच-पाँच वर्गमा बाँडिएको पाइन्छ । विन्ध्योत्तर पञ्च उदिच्य ब्राह्मणवर्ग र विन्ध्यदक्षिणका पञ्च दक्षिणात्य र द्रविड ब्राह्मणले यि द्धिजातिहरूको गुरूभार ग्रहण गरेको पाइन्छ । उदिच्य वा पञ्चगौड ब्राह्मणहरू क्रमशः पद्यिम-पूर्ण प्रसारका सन्दर्भमा सारस्वत, कान्यकुब्ज, मैथिल, गौत / बङ्ग, कलिङ्ग (उडिया) ब्राह्मणका नाउँले चिनिन्छन् भने दक्षिणात्य ब्राह्मण वर्ग दक्षिणी र पूर्वी-पश्चिमी क्रममा गुर्जर, महाराष्ट्र, कर्णाटक, आन्ध्र-तैलंग तथा द्रविड ब्राह्मणहरू चिनिन्छन् । यी मध्य पञ्चउदिच्य गौड र्गाका र पछी लुप्त सरस्वती नदीको प्रदेशका सारस्वत ब्राह्मण र गण्डकी-कोशीबीच मुल भूमि रहेका मैथिल ब्रह्मणका बीचमा रहने कान्यकुब्जी ब्राह्मणहरूमा नै प्रायः सबै नेपाली पहीडी मूलका ब्राह्मणहरूको पहिचान देखा पर्दछ । मोटामोटीमा यमुना-गंगा र सरयू (कर्णाली / घागरा) तथा गण्डकीका बीचको विशेषतः हिमाली पहाडी र माल तराई भावर प्रदेशको समेत सरयूपारीण र सरयूवारीण भू-क्षेत्र नै कान्यकुब्जी ब्राह्मणहरूको मूल स्रोत प्रदेश हो । यमुना गंगानदीको उत्तरको र दक्षिणको पहाड तथा भावर तराई र गण्डकीसम्मको पौराणिक तथा ऐतिहासिक कान्यकुब्जी केन्द्रप्रदेश प्रतित हुन्छ । खासगरी गढवाली, कुमाउनी र सिन्जाली तथा डोट्याल खसमण्डलसँग सम्बद्ध कान्यकुब्ज प्रदेश नै द्धिजातिहरूको मूल अवस्थल हो । यिनैमध्य मुलतः गढवाली त्याडीलगायत मुख्यतः कुमाउँ-अल्मोडाको श्रीचन्द्र तेवाडीबाट सुरू हुने तेवाडी / त्याडी वंश नै नेपालका त्रिपाठी (तिवारी / तियारी / तेवाडी / त्यारी) थर हुनेहरूको पुर्ख्यौली स्रोत मानिदै आएको छ ।[१]

गढवालतिर कान्यकुब्जी दालभ्य गोत्रका तेवाडी भएको जानकारी पाइन्छ । खास गरी कुमाउँका चन्दवंशी राजा उद्यान चन्दता समयमा वि.सं. १४६७-१४६८ तिर गुजरातका तेवार या तेवाडका ब्राह्मण श्रीचन्द तेवाडीका छोरा शुकदेव अल्मोडाको बालेश्वरका निर्माण-प्रतिष्ठानमा आमन्त्रित रहेको र बाबु श्रीचन्द तेवाडी बारामण्डलका कत्युरी राजाका अनुग्रहबाट सुवाँल नदीपारी र अल्मोडा पर्वतभन्दा तल खगमरा कोटसम्म पुगी त्यहाँको कत्युरी राजासँग भूमिदान र त्यहाँ उनले सिंचाइँको व्यवस्था समेत मिलाएको जानकारी पाइन्छ । पछी सो खगमरकोटक्षेत्र राजा उद्यानचन्दको राज्य विस्तार अन्तर्गत पर्न गयो । पछी चन्दवंशी राजा बालो कल्यणचन्द (राज्यकाल १६१७-२५) का पालामा खसिया खोलाका डाँडामा त्याडीखान, सिटौलीखान र चीनखानका बीच वि.सं. १६२० मा अल्मोडा नगर र दरबार बन्दा श्रीचन्द तेवाडीको पनि केही जग्गा मर्दा सोबापत अरू छ गुना जग्गा अन्यत्र दिइएको जानकारी पाइन्छ । कुमाउँको इतिहासमा राजा बिमलचन्द (१६८२-१६९५) को अन्त्यपछि राजा बजबहादुर चन्दका प्रसंगमा चौंसारका पुरोहित धर्माकर तेवाडी र उनको धर्मपरायण पत्नीका बारेमा उल्लेख भएको पाइन्छ र यिनै तेवाडीनीले बजबहादुरलाई संकटकालमा दूध ख्वाई हुर्काएको र बचाएको हुँदा यि तेवाडी दम्पतिका छोरा नारायण तेवाडी राजाका दूध भाइसमेत हुँदा कुमाउँमा प्रतिष्ठित रहो र यिनका सन्ततिलाई त्यहाँ वि.सं. १७२६, १७२७ मा र १७३९ मा ताम्रपत्र गरी भूमिदान दिइएको र गुठीसमेत राखिएको पाइन्छ । कुमाउँको इतिहासमा एकातिर नेपालतर्फ गएका ठुला विद्वानका रुपमा श्रीपतिनिधी तेवाडी र कनकनिधी तेवाडीको उल्लेख पाइन्छ भने अर्कातिर यिनका पूर्वज जयदेव तेवाडी नेपाल (डोटीतर्फ) बाट सोमचन्दका साथ कुमाउँ आई ती राजा हुँदा मन्त्री भएको पनि जानकारी भेटिन्छ ।[१] कुमाउँको इतिहासमा राजा बिमलचन्द (१६८२-१६९५) को अन्त्यपछि राजा बजबहादुर चन्दका प्रसंगमा चौंसारका पुरोहित धर्माकर तेवाडी र उनको धर्मपरायण पत्नीका बारेमा उल्लेख भएको पाइन्छ र यिनै तेवाडीनीले बजबहादुरलाई संकटकालमा दूध ख्वाई हुर्काएको र बचाएको हुँदा यि तेवाडी दम्पतिका छोरा नारायण तेवाडी राजाका दूध भाइसमेत हुँदा कुमाउँमा प्रतिष्ठित रहो र यिनका सन्ततिलाई त्यहाँ वि.सं. १७२६, १७२७ मा र १७३९ मा ताम्रपत्र गरी भूमिदान दिइएको र गुठीसमेत राखिएको पाइन्छ । कुमाउँको इतिहासमा एकातिर नेपालतर्फ गएका ठुला विद्वानका रुपमा श्रीपतिनिधी तेवाडी र कनकनिधी तेवाडीको उल्लेख पाइन्छ भने अर्कातिर यिनका पूर्वज जयदेव तेवाडी नेपाल (डोटीतर्फ) बाट सोमचन्दका साथ कुमाउँ आई ती राजा हुँदा मन्त्री भएको पनि जानकारी भेटिन्छ ।[१] विक्रमियको सत्रौं शताब्दी यता काली कुमाउँ क्षेत्र त्यहाँका चौथानीमा देवलिया र सिमल्टिया पाण्डे, बिडाका तेवाडी र डड्याली बिष्ट अनी छ गौरिया थरिया वा षट्कुली ब्राह्मणका गन्तीमा पन्त, पाण्डे, जोशी, तेवाडी, भट्ट र पाठक समाविष्ट रहेको भेटिन्छ । कुमाउँका धौणी, सरणी, कठौलिया, असबाडा, चौताल, अल्मोडा, डढोली, खरही आदी क्षेत्रमा तेवाडी बसेको पाइने जानकारीसमेत उपलब्ध छ । कुमाउँ र झुँसी क्षेत्रमा यि गौतम गोत्री थरहरू रहेको भेटिन्छन् :- चन्द, रौतला, कुँवर, नेगी, धौनी, क्षेत्रिय, मंगवाडी, बिष्ट, तडागी कायस्थ, पवार आदी ।[१]

गौतम गोत्री क्षेत्रिय

महर्षि गौतमका जेठा छोरा वामदेव पट्टीका सन्ततिहरू नै क्षेत्रीय गौतम गोत्री भएका छन् भनि देवि भागवतले उल्लेख गरेको छ ।[१] यस हिसाबले भन्ने हो भने ब्राह्मणबाट नखसेका पौराणिक कालदेखि नै क्षेत्रिय रुपमा चिनिदै आएका गौतम गोत्रीहरू नै गौतम गोत्रका मुल क्षेत्री हुन् । अर्थात क्षेत्रिय शब्दको सरुवात गौतम गोत्रमा सबैभन्दा पहिले महर्षि गौतमका छोरा वामदेवबाट नै भएको हो । पछी ब्राह्मण पुर्खाबाट खसेर खत्रीका रुपमा क्षेत्रिय भएका गौतम गोत्री क्षेत्रीय बाहेकका अरु सबै क्षेत्रीहरूका पुर्खा वामदेवका सन्तती हुन् । [१]

गौतम गोत्री ब्राह्मण

महर्षि गौतमकी रानी अहल्याबाटका छोरा अथवा कान्छा छोरा शतानन्द निकै विद्वान, पुरोहित र क्रमकाणडका ज्ञाता थिए । पछी गएर शतानन्दका सन्तानहरू नै गौतम गोत्रभित्र ब्राह्मण भएका थिए । यो कुरा रामायण र ब्रह्माण्ड पुराणले स्विकार गरेका छन् ।[१] यस तथ्यमा विश्वास गर्ने हो भने गौतम ऋषिका दुई छोराहरू वामदेव पट्टीका सन्ततीहरू क्षेत्रिय र शतानन्दका सन्ततीहरू ब्राह्मण भएका थिए । पछि गएर कालान्तरमा शतानन्द पट्टीका सन्तति गौतम गोत्री ब्राह्मणहरूबाट जातिय व्यवस्था अनुसार खसेर खत्री भएकाहरू पनि क्रमशः गौतम गोत्री क्षेत्रिय बन्दै गए । आखिर गौतम गोत्री क्षेत्रिय भित्रको मुल क्षेत्रिय अर्थात वामदेव ऋषिको सन्तति को हो भन्ने छुट्याउन पूस्तावलिको अध्यायन गर्नु पर्ने हुन्छ तर गौतम गोत्री ब्राह्णहरू भने सबै महर्षि गौतम र अहिल्याका छोरा शतानन्द ऋषिका सन्तति हुन् भन्नेमा कतै संका छैन ।[१]

गौतम बुद्ध र गौतम गोत्र

भगवान गौतम बुद्ध आज भन्दा करिब २६ सय वर्ष पहिले कपिलवस्तु तिलौराकोटका राजा सुद्धोधनको पुत्रको रुपमा मायावतिको गर्भबाट जन्मेका थिए । उनको पनि जात, थर, वंश, धर्म, गोत्र आदी सबै थियो । उनको राज्यमा पाली भाषा बोलिन्थ्यो र त्यस राज्यको राष्ट्रिय धर्म सनातन धर्म हिन्दू थियो । [१] वेदमा आधारित सनातन धर्म मान्य राजा सुद्धोधनका जेठा छोराको रुपमा जन्मिएका सिद्धार्थ गौतम वेजोड चिन्तन शक्ति, लगन र तपस्याद्वारा सिद्ध पूरुष नै बने । उनमा जागृत भएको सोच र जिवन जगत प्रतिको विचार अन्ततः बौद्ध धर्ममा परिणत भयो । तर महात्मा गौतम बुद्ध गौतम गोत्रिय युवराज थिए भन्दा नौलो लागला तर यो वास्तविक हो । यस विषयमा गोत्र पद्धतिबारे अनुसन्धान गर्ने अध्ययताहरूले आफ्नो खोजमा यस कुराको रहस्योट्घाटन गरेका छन् । उनले गोत्र पद्धति र मानवको वंश विज्ञान अन्तर्गत X र Y क्रोमोजोमको अध्यायन गर्ने यस विषयलाई यसरी विश्लेषण गरेका छन् । [१]

महात्मा गौतम बुद्धका पिता तिलौराकोटका राजा सुद्धोधन थिए । उनि आर्य वर्णका क्षेत्रीय पुरुष थिए । उनको जातिय अवस्था यस्तो थियो ।
  • राजा सुद्धोधन
    • जात/थर = शाक्य (क्षेत्रीय)
    • वर्ण = आर्य
    • धर्म = सनातन वैद्धिक (हिन्दू) धर्म
    • गोत्र = गौतम
    • प्रवर = त्रिनय (३)
    • गृह तथा श्राउत सूत्र = कत्यायन
    • धर्म सूत्र = वौद्धयान
    • शाखा = वाजसानेयी मध्ययण्डिना वा कौथुमी
    • वेद = धर्म दर्शन सामवेद र कर्म दर्शन शुक्ल यजुर्वेद

माथी उल्लेख भए अनुसार राजा सुद्धोधन एक हिन्दू क्षेत्रीय गौतम गोत्री राजा थिए । उनी अत्यन्त धार्मिक तथा सत्यवादी राजा थिए । त्यो समयमा युद्ध सञ्चालन देखी दरबार सञ्चालनसम्म सबै धार्मिक प्रक्रिया अनुसार हुन्थ्यो । राजा सुद्धोधनको धर्म सूत्र वौद्वायन थियो । वौद्वायन भन्दा वौद्व शब्दको उत्पत्ती र प्रयोगको कुरा आउँछ । वौद्वायन भनेको वेदले निर्धारण गरेको जिवन धर्म हो । यसमा जिवन के हो ? यसको सञ्चालन कसरी गर्ने ? जिवना मुल्य मान्यता के हुनुपर्छ ? आदी विषयहरू उल्लेख भएका छन् । सबै गोत्रका फरक फरक धर्म सूत्रहरू हुन्छन् । तिनै धर्म सूत्रका आधारमा त्यस गोत्रका मानिसहरूले जिवन सञ्चालन गर्नु पर्ने वैद्धिक चलन थियो । तसर्थ सुद्धोधनको धर्म सूत्र वौद्वायन थियो । उनको दरबारमा यसैको अधिनमा रही युवराजलाई जिवन दर्शन सिकाइन्थ्यो ।[१] युवराज सिद्धार्थ वौद्वायन धर्म सूत्रसँग निकै प्रवाभित भएका थिए । किनकी उनी जिवन जगत सम्बन्धी फरक दृष्टिकोणबाट जान्न चाहन्थे । उनको जिवन जगत सम्वन्धी फरक सोचको विकास गराउनमा वौद्वायन धर्म सूत्रको निकै योगदान देखिन्छ । यही धर्म सूत्रले संकेत गरेको सास्वत सत्यको खोजिमा लाग्ने अठोट युवराज सिद्धार्थमा उत्पन्न भएपछी उनले आफ्नो जिवनको मुल दर्शन वौद्वायनलाई स्विकारे र जिवनको सास्वत सत्य खोज गर्दै आफ्नो मुल दर्शन वौद्वायनमा आधारित भइ नयाँ विषयहरूलाई दर्शनमा समावेस गर्दै गए । यसरी संश्लेषित र परिमार्जित भएको वौद्वायन धर्म सूत्र अततः बौद्ध धर्म बन्न पुग्यो ।[१] वास्तवमा वेद र बौद्वायन धर्म सूत्र लिखिएको करिब पाँचहजार वर्ष पहिले हो भनिन्छ । त्यस बौद्वायनलाई अङ्गिकार गरी जिवन जगतबारे नयाँ अध्यात्मिक मार्ग निर्माण गर्ने महात्मा गौतम जन्मेको २५ सय वर्ष भयो । त्यसैले गौतम बुद्ध जन्मिनु भन्दा २५ सय वर्ष पहिले नै वौद्वायन धर्मसूत्र लिखित रुपमा वेदको अङ्ग भइ अस्तित्वमा आइसकेको थियो । [१] यस कारण महात्मा गौतमको मुल धर्मसूत्र वौद्वायन थियो । त्यस्तै उनको नामले पनि गौतम गोत्रसँग तादात्म्यता राख्दछ । गौतम भन्ने शब्द वैद्धिक कालमा महर्षि गौतमको नामको रुपमा अस्तित्वमा आएको हो । महर्षि गौतमका २५ सय वर्ष पछाडीका सन्तती युवराज सिद्धार्थले आफ्नो वास्तविक नाम सिद्धार्थ पछाडी गौतम शब्दलाई नामको रुपमा धारण गरे । यसको पछाडीको एउटै कारण महर्षि गौतमको आदर्शवादी जिवनशैली र प्रभावशाली व्याक्तित्व नै हो । महर्षि गौतमको जिवन तथा कर्मदेखि युवराज सिद्धार्थ प्रभावित थिए । जसले गर्दा उनले आफ्नो नाम सिद्धार्थको पछाडी गौतम शब्दलाई जोडी सिद्धार्थ गौतम राखे ।[१] उनी सधैं जिवन जगतबारे वौद्वायनले निर्देशन गरेको मार्गलाई अनुशरण गर्ने र त्यही अनुरुप जिवन यापन गर्न सम्झाउँदै प्रवचन दिन्थे । उनले जिवन जगतबारे आफ्नो तपस्याबाट प्रस्फुटित कुराहरूलाई पनि वौद्वायनमा संश्लेषित गर्दै गए । अन्ततः उनका अनुयायीहरूले दिव्य दृष्टीबाट आर्जित ज्ञानलाई वौद्व धर्मको नामबाट प्रचार गरे यहीबाट सिद्धार्थ गौतमको अध्यात्मिक खोजलाई वौद्व धर्म भनिएको हो ।[१] उनले प्रतिपादन गरेको धर्मको नाम वौद्ध धर्म भएपछी अनुयायीहरू उनलाई सिद्धार्थ गौतमको सट्टा भगवान गौतम बुद्ध भनेर सम्बोधन गर्न थाले । यी दुवै शब्द (गौतम र बौद्ध) बुद्ध जन्मिनु भन्दा २५ सय वर्ष पहिले गौतम गोत्रका प्रवर्तक महर्षि गौतमको नाम र उनको धर्मसूत्र वौद्वायन धर्मसूत्रको नामको रुपमा प्रचलनमा आइसकेको थियो । [१] गौतम र वौद्ध यी दुइ शब्द एकैसाथ गौतम गोत्रसँग मात्र सरोकार राख्दछन् । समग्रमा भन्नु पर्दा महात्मा गौतमबुद्ध आर्य वर्णका गौतम गोत्री क्षेत्रीय पुरुष थिए । उनको धर्मसूत्र वौद्वायन थियो ।

गौतम गोत्रीहरूका मुल सभ्यताहरू

महर्षि गौतमका सन्ततीहरूको रुपमा भारतीय उपमहादीप देखि विश्वभर छरिएर रहेका सबै गौतम गोत्रीहरूको उत्पत्तीदेखि हालसम्मको समयान्तराललाई हेर्दा केही मुल सभ्यताहरू सामने आउँछन् । मुलरुपमा भन्नुपर्दा गौतम गोत्रको उत्पत्ती कहाँ भयो र गौतम गोत्रीहरू गौत्रोत्पत्तिको समयदेखि हालसम्म कहाँ-कहाँ बसे के गरे र कसरी विश्वभर फैलिए भन्ने विषयमा दृष्टिगोचर गर्दा केही मुल सभ्यताहरू उभर्छन् । [१]

मिथिला सभ्यता

मिथिला सभ्यता दक्षिण एसियाली मानव इतिहासकै सबैभन्दा पुरानो सभ्यताहरूमध्यको एक हो । यसले भारतीय उपमहादिपको मानव विकासको इतिहासलाई देखे भोगेको छ । हिन्दू धर्मका वैद्धिक ग्रन्थहरूलाई नियालेर हेर्ने हो भने , गोत्रोत्पत्तिको इतिहाससँग पनि मिथिला जोडिएको छ । मिथिलाको अध्यायन विना गोत्रोत्पत्तिको इतिहास पनि खोतल्न सकिदैन ।[१] हिन्दू धर्मका धर्मग्रन्थहरूका अनुसार गोत्र पर्वर्तक ऋषिहरूमध्यका जेष्ठ ऋषि महर्षि गौतमको जिवनाश्रम मिथिला राज्य अन्तर्गतको मिथिला उपवनमा थियो भनिएको छ । शास्त्रहरूका अनुसार प्राचिन मिथिलाराज्यमा राजा जनकको राज्य थियो । जनक भन्ने नाम केवल राजाको मात्र नभइ पूरा वंशका राजाहरूको नाम रही आएको छ । ति जनक भगवान रामका ससुरा तथा देवी सिताका पिता थिए । त्यस समयको मिथिला राज्य अन्तर्गतको मिथिला उपवनमा महर्षि गौतमको आश्रम थियो । त्यस उपवन भित्रबाट प्राचिनकालमा गोदावरी नदी बग्दथ्यो ।[१] त्यही गोदावरी नदीको किनारामा महर्षि गौतमको आश्रम थियो । विभिन्न पुराणहरूका अनुसार महर्षि गौतमको आश्रम भएको स्थानभन्दा ठिक पारीपट्टी गोदावरी नदीको अर्को किनारामा त्यस समयको सबैभन्दा समृद्ध पुष्कर नामको शहर थियो भनिएको छ । त्यही मिथिला उपवन भित्रको गोदावरी नदी किनारामा रहेको आश्रममा नै महर्षि गौतमले अहल्या भित्राएका थिए । त्यही आश्रममा सतानन्दको जन्म भएको थियो भनिएको छ ।[१] अहल्यापट्टीका सतानन्द पछी गएर निकै विद्वान बनेका थिए त्यसैले राजा जनकले उनलाई आफ्नो राज्यका राज पुरोहित बनाएका थिए आफ्नै दरबारमा राखेका थिए । गौतम पुत्र वामदेव, नोधास र सतानन्दहरूको जिवनको सुरुवात मिथिलाबाट नै भएको थियो । उनिहरूको जिवन मिथिलामा बितेकाले उनिहरूका सन्ततिहरू पनि मिथिलाबाट नै फैलिएका थिए । [१] अर्थात गौतम गोत्रीहरूको विस्तार मिथिलाबाट नै भएको थियो । यसबाट प्रष्ट हुन्छ, वास्तवमा गौतम गोत्रीहरूको विस्तार सबैभन्दा पहिले मिथिलाबाट नै भएको थियो । त्यसैले निश्चितताका साथ भन्न सकिन्छ कि गौतम गोत्रीहरूको पहिलो सभ्यतास्थल मिथिला नै हो । मिथिला सभ्यताको लामो समयपछिमात्र गौतम गोत्रीहरू मिथिलाबाट चारै तिर फैलिन थाले । यसरी फैलिने क्रममा वर्तमानको दक्षिण भारत तथा पूर्व-पश्चिमतिर फैलिएका थिए ।[१]

कपिलवस्तु सभ्यता

महामानव भगवान गौतम बुद्ध जन्मेको स्थान कपिलवस्तु विश्वमानव समुदायका लागी धार्मिक, सामाजिक, पुरातात्विक तथा सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको छ । अझ यो स्थान गौतम गोत्रीहरूकालागि त अति महत्वपूर्ण रहेको छ । किनकी विभिन्न खोज, धार्मिक ग्रन्थहरूले गरेको व्याख्य अनुसार कपिलवस्तुको शाक्यवंश गौतम गोत्री थियो ।[१] शाक्यवंशका राजा सुद्धोधनका छोरा भगवान गौतम बुद्ध पनि गौतम गोत्री थिए । भगवान गौतम बुद्धले आफ्नो नाम गौतम + बुद्ध राख्नुको पछाडी पनि गौतम गोत्रको सम्बन्ध छ । गौतम बुद्ध जन्मनु भन्दा करिब २५ सय वर्ष पहिलेबाट प्रारम्भ भएको गौतम गोत्रमा मात्र एकै ठाउँमा गौतम र बुद्ध भन्ने शब्दको प्रयोग भएको छ । विभिन्न वेदहरूका अनुसार महर्षि गौतमको नामबाट सुरु भएको गौतम गोत्रका विभिन्न धर्मसूत्र मध्य एक वौद्धायन धर्मसूत्र पनि हो । शाक्य वंशको गोत्र गौतम, धर्मसूत्र वौद्धायन थियो । राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरिसकेपछि आफ्नो नाम गौतम+बुद्ध भन्ने दुइ शब्दको समिश्रणबाट राखेको देखिन्छ । [१] गौतम उनको गोत्र र गोत्र प्रवर्तक महर्षिको नाम तथा वौद्ध उनको गोत्रको मुल धर्म सूत्र भएकाले त्यही धर्म सुत्र र महर्षिको गौतमको नामलाई समिश्रण गरेर राजकुमार सिद्धार्थले आफ्नो नाम गौतम वुद्ध राखेको पुष्टी हुन्छ । यसरी भगवान गौतम बुद्ध स्वयं गौतम गोत्री, क्षेत्रिय कुलका राजकुमार थिए । मिथिला राज्य सबैभन्दा समृद्ध पनि भगवान गौतम बुद्धकै जिवनकालमा भएको थियो भने कपिलवस्तु सभ्यताको नष्ट पनि गौतम बुद्धकै जिवनकालमा भएको थियो । गौतम गोत्रीहरूको सबैभन्दा विकसित कुलमा शाक्य वंश नै रहेको देखिन्छ । वास्तवमा सिद्धार्थ गौतमभन्दा पहिले पनि भगवा रुपी अन्यरुप पनि उदाएको देखिन्छ । भगवान गौतम बुद्धभन्दा पहिले कपिलवस्तुमा देवत्व प्राप्त गर्ने गौतम गोत्री महामानवहरू क्रकुच्छन्द्ध र कनकममुनीको जन्म भएको र उनिहरूको अन्तिम रुपमा भगवान गौतम वुद्ध जन्मिएको भनि विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन् ।[१] इतिहारकार प्रा.डा. श्रीराम प्रसाद उपाध्यायका अनुसार कपिलवस्तुका राजा सुद्धोधनकी रानी तथा कोली गणराज्यकी राजकुमारी मायादेवी गर्भिणी अवस्थामा माइत जाँदा कोलीग्राम (रामग्राम) जान लाग्दा ईसापूर्व ६२३ मा लुम्वीनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । जन्मने बित्तिकै बालक सिद्धार्थले उत्तर तर्फ सात पाइला हिंडेर "म यस पृथ्वीमा मोक्ष प्राप्तिको निम्ती पूनः जन्मिएको छु, यो मेरो जन्म अन्तिम हुनेछ र फेरी जन्मने छैन भनेका थिए । यसबाट प्रष्ट हुन्छ कि लुम्बिनीको शाक्य वंशमा देवत्व प्राप्त गर्ने अन्य पुरुष पनि जन्मिएका थिए र तिनकै अन्तिम स्वरुपमा बालक सिद्धार्थ जन्मिएका थिए । यसरी गौतम गोत्रीय शाक्य वंशमा सिद्धार्थभन्दा पहिले देवत्व प्राप्त गर्ने अन्य पुरुषहरूमध्य क्रकुच्छन्द्ध र कनकमुनी मुख्य हुन् भनि नेपालको प्राचिन तथा मध्यकालिन इतिहास नामक ग्रन्थमा इतिहासकार प्रा.डा.श्रीराम प्रसाद उपाध्यायले लेखेका छन् । यद्यपि डा.उपाध्याले सिद्धार्थ गौतमको गोत्र गौतम हो भनी पुष्टि भने गरेका छैनन् ।[१] इतिहासकार प्रा.डा. श्रीराम प्रसाद उपाध्याय तथा बाशुदेव त्रिपाठीका अनुसार कपिलवस्तुको चरम विकास वुद्धको समयमा भएको थियो भने कपिलवस्तु सभ्यताको अन्त्य पनि भगवान गौतम बुद्धकै पालामा भएको थियो । प्रा.डा. वाशुदेव त्रिपाठीका अनुसार गौतम गोत्रीहरूको अत्यन्त समृद्ध सभ्यतामध्यको कपिलवस्तु सभ्यता पनि एक हो । कपिलवस्तु राज्यमा सबैभन्दा ठुलो जनसङ्ख्या गौतम गोत्रीहरूको थियो र त्यस राज्यको राज वंश पनि गौतम गोत्री नै थियो । विकासको चरम चुलीमा पुगेको गौतम गोत्रीहरूको कपिलवस्तु सभ्यता महात्मा गौतम बुद्धकै जिवनकालमा पूर्ण रुपमा विनास भएको भन्दै आफ्नो पूस्तक नेपालको प्राचिन तथा मध्यकालिन इतिहासमा प्रा.डा.श्रीराम प्रसाद उपाध्यायले यस्तो उल्लेख गरेका छन् :- [१]

गौतम बुद्धले आफ्नो जिवनकालमा नै कपिलवस्तुको पतन भएको देख्नु पर्यो । कपिलवस्तुको छिमकमा कोशल राज्य थियो र त्यस राज्यका राजा प्रसेनजित थिए । ति राजाले कपिलवस्तुको राजखान्दानकी शाक्य राजकुमारीसँग विवाह गर्न खोजे । शाक्यहरूले प्रसेनजितलाई झुक्याएर ल्याइतेपट्टीकी कन्या वासवदतसँग विहे गरिदिए । वासवदतबाट एक पुत्र पैदा भए । उनको नाम विरुद्धक राखियो । एक पटक विरूद्धक आफ्ना मावली आएका बखत शाक्यहरूले विरूद्धकको निकै अपमान गरे । त्यसै बखत विरूद्धकले यस अपमानको बदला लिने अठोट गरे । यसका साथै दुई राज्यको सिमानामा रहेको रोहिणी नदीको पानीको भागवण्डाको विषयमा पनि गम्भिर विवाद भयो । कोशलको राजा भएपछी विरूद्धकले कपिलवस्तुमाथी हमला गर्न खोजे । उनले हमला गर्न खोजेपछी गौतम बुद्ध स्वयंले यो आक्रमण रोकेका थिए । यसरी कपिलवस्तुमाथी विरूद्धकको तीन पटकसम्मको आक्रमणा उपास गौतम बुद्ध स्वयंले रोकेका थिए । तर चौथो पटक गौतम बुद्ध कपिलवस्तुमा नभएको मौका पारी विरूद्धकले कपिलवस्तुमाथी आक्रमण गरे । विरूद्धकले अत्यन्त योजनावद्ध रुपमा र निकै ठुलो फौंजकासाथ कपिलवस्तुमाथी आक्रमण गर्दा कपिलवस्तुमा ७७,००० (सतहत्तर हजार) मानिसको ज्यान गयो ।

प्रा.डा. वाशुदेव त्रिपठीका अनुसार त्यो आक्रमणमा मारिएका ति सतहत्तरहजार मानिसमध्य अधिकांश गौतम गोत्री नै थिए किनकी राजवंश गौतम गोत्री शाक्यहरूको भएकाले त्यस वंशको रक्षाका लागि गौतम गोत्रीहरू नै बढी लडे र विरूद्धकको निशानामा पनि बढी जसो गौतम गोत्रीहरू नै परे । यस कत्लआमसँगै कपिलवस्तुमा गौतम गोत्री शाक्य वंशको राजसत्ता समाप्त भयो । निकै ठुलो संख्यामा गौतम गोत्रीहरूको कत्लेआम भयो र कपिलवस्तु सभ्यता समाप्त भयो ।[१] यसरी कपिलवस्तुमा विरूद्धकको आक्रमणबाट बचेका गौतम गोत्रीहरू यत्रतत्र भागेर चारै तिर फैलिए । तर सबैभन्दा बढी चाहीं कपिलवस्तुबाट दक्षिणतिर पर्ने प्राचिन कान्याकुब्ज तिर लागेको भनेर इतिहासकारहरू संकेत गर्छन् किनकी कपिलवस्तु पछि गौतम गोत्रीहरूको सबैभन्दा ठुलो र सम्पन सभ्यताको रुपमा कान्यकुव्ज (कन्नौज) लाई मानिन्छ । यसप्रकार गौतम गोत्रीहरूको कपिलवस्तु सभ्यता गौतम बुद्धको पालामा चरम सिमामा पुग्यो र गौतम बुद्धकै पालामा समाप्त भयो । [१]

कन्नौज सभ्यता

मिथिला र कपिलवस्तु पछि गौतम गोत्रीहरूको सबै भन्दा ठुलो र विकसित सभ्यताको सुपमा कन्नौज सभ्यता रहेको पाइन्छ । कन्नौजको प्राचिन नाम कान्यकुव्ज हो । प्राचिन कान्यकुब्ज वा कन्नौज हाल भारतको उत्तर प्रदेश राज्य अन्तर्गत इलाहाबाद क्षेत्रलाई ओगट्ने कन्नौज भन्ने जिल्लाको सदरमुकाम रहेको शहरलाई जनाउँछ । कान्यकुब्ज वास्तवमा त्यस समयको अत्यन्त विकसित र समृद्ध सभ्यता मानिन्थ्यो । यो सभ्यता कपिलवस्तुको विनास पछि त्यहाँबाट चारैतिर भाग्ने क्रममा कान्यकुब्ज पुगेका मलतः गौतम गोत्री र अन्यहरू मिलेर स्थापना गरेका थिए । कपिलवस्तुमा राजकाज तथा विकास र विस्तार सम्बन्धी प्रसस्त ज्ञान भएका गौतम गोत्री लगायतका आप्रवासीहरूले कान्यकुब्जमा पनि विकासको मुल खोले । उनिहरूले त्यहाँ नयाँ-नयाँ निर्माण, नयाँ-नयाँ आविस्कार आविस्कार तथा समृद्ध राज्य व्यवस्थाको स्थापना गरे । यसबाट तत्कालिन समयको परिस्कृत राज्य व्यवस्थाको सुरुवात भयो । [१] वास्तवमा कान्यकुव्ज कपिलवस्तुपछिको गौतम गोत्रीहरूको सबैभन्दा मुल सभ्यताको रुपमा स्थापित भएको छ । यस सभ्यताले गौतम गोत्रीहरूलाई प्राचिन सभ्यतासँग जोड्ने काम गर्दछ । कन्नौज सभ्यता गौतम गोत्री लगायत वर्तमानको नेपालका अधिकांश थर गोत्रहरूको मुहान नै हो भन्दा पनि अयुक्ती हुन्न । गौतम गोत्रीहरूकालागि त यो खास महत्वको छ । किनकी कन्नौजमा स्थापित राज्य व्यवस्था गौतम गोत्रीहरूको थियो र यो करिब १२ औं शताब्दिसम्म चलेको देखिन्छ । प्राचिन कत्युर देखि नेपालसम्म फैलिएका चन्दवंशको सुरुवात नै कान्यकुब्जबाट भएको देखिन्छ । त्यस्तै नेपालका गौतम गोत्री प्रायः सबैजसोको मुल पुर्खा खोज्दै जाने हो भने कान्यकुव्जसम्म सजिलै पुग्न सकिन्छ । कान्यकुव्जी ब्राह्मण भनेर चिन्ने चिनारी नै रहेको पाइन्छ । [१] यसबाट प्रष्ट हुन्छ कि वास्तवमा कान्यकुब्ज वा कन्नौज गौतम गोत्रीहरूको प्राचिन सभ्यताहरू मध्यको एक हो र यसले गौतम गोत्रीहरूको इतिहास खोज्न निकै ठुलो मद्दत पुग्दछ ।

कत्युर सभ्यता

मिथिला, लुम्बिनी र कन्नौज पछि गौतम गोत्रीहरूको सबैभन्दा विकसित सभ्यताको रुपमा कत्युर सभ्यता रहेको छ । प्राचिन कत्युर भन्ने स्थान हाल भारतमा पर्ने कुमाउँगढवाल क्षेत्रलाई बुझिन्छ । प्राचिन कालमा यस क्षेत्रलाई कत्युर भनेर चिनिन्थ्यो । यो क्षेत्र पनि वर्तमान नेपालका अधिकांश गौतम गोत्रीहरूको निमित्त ऐतिहासिक महत्वको ठाउँको रुपमा रहेको छ । गौतम गोत्रीहरूको अत्यन्त समृद्ध सभ्यताको रुपमा रहेको कान्यकुव्ज वा कन्नौज सभ्यतामाथि तत्कालिन समयमा मुसलमानहरूद्वारा आक्रमण भए पछि धर्म तथा संस्कार संस्कृति जोगाउन त्यहाँबाट उत्तर पश्चिम तिर लागेर तत्कालिन कत्युर क्षेत्रमा आएको देखिन्छ ।[१] वर्तमान नेपालमा पाइएका अधिकांश गौतम गोत्रीहरूको इतिहास केलाउँदा गौतम गोत्रीहरूको पुर्खा करिव छैठौं देखि १२ औं शताब्दी भित्र कान्यकुब्जबाट प्राचिन कत्युर हालको उत्तराखंड क्षेत्रमा आएको भन्ने पाइयो । यो प्रसंग सबैमा समान पाइयो । यसले प्रष्ट पारेको छ कि वास्तवमा नेपालका अधिकांश गौतम गोत्रीहरूको पुर्खा मिथिला, कपिलवस्तु, कन्नौज हुँदै कत्युर राज्यमा आएको र त्यसपछि नेपाल प्रवेस गरेको हो । कान्यकुव्जबाट कत्युर आई सकेपछि गौतम गोत्री क्षेत्रियहरू त्यस क्षेत्रमा आफ्नो राज्य विस्तार गर्न थाले । यस अभियानमा सबैभन्दा पहिलो व्याक्ती राजा सोम चन्द थिए । उनि वर्तमान नेपालको बैतडी देखी रुकुम, रोल्पा, प्युठान हुँदै काठमाडौंसम्म फैलिएका चन्दहरू तथा बटाला (झाँती) र सोडारीहरूका पुर्खा हुन् । उनले विक्रमादित्यको ११ औं शताब्दिको अन्त्यतिर तत्कालिन अर्कै वंशको कत्युरी राज्यको अन्त्य गरी आफ्नो साशन स्थापना गरेका थिए । उनको यस कदमबाट कत्युरमा गौतम गोत्री क्षेत्रिय, ब्राह्मण आदिलाई सामाजिक विकास गर्ने प्रसस्त मौका मिल्यो । यसको प्रभाव अहिले त्यस क्षेत्रमा र नेपालमा रहेका गौतम गोत्रीहरूमा पनि देखिन्छ ।[१]

नेपालका गौतम गोत्री थरहरू

नेपाली समाज जातिय विविधताले भरिएको समाज हो । खास गरी हिन्दू धर्ममा विश्वास गर्ने आर्य ब्राह्मण, क्षेत्रीय, वैश्य तथा शूद्रहरू गोत्र प्रणालीमा आधारित भई एक आपसमा सामाजिक रित कर्म तथा विहेवारी गर्ने गर्दछन् । गोत्र प्रणाली कै आधारमा जातिय भेद छुट्याउने प्रचलन छ । यो प्रचलन खासगरी भारतीय उप-महादिपमा बसोवास गर्ने सम्पूर्ण आर्य समाजमा विद्यमान छ । नेपाल पनि भारतीय उप-महादिपको एक खण्ड भएकाले यहाँको आर्य समाज पनि गोत्र प्रणालीमा प्रखर रूपमा विश्वास र त्यसका नियमहरूको पालना गर्दछ । तसर्थ गोत्र पद्धत्तिमा विश्वास गर्नेहरूले आफ्नो गोत्र अन्तर्गतका स-गोत्रीहरू को-को हुन् भनि थाह पाइराख्न जरुरी छ । नेपालको मेची देखि महाकालीसम्म बसोवास गर्ने आर्य वर्णका हिन्दू थरहरू मध्य अहिलेसम्म थाह हुन आएका गौतम गोत्री थरहरू यस प्रकार छन् ।[१] :-

क्र.सं. थर गोत्र प्रवर (तीन)
चन्द गौतम अंगरिस-अयस्या-गौतम
संज्याल / सञ्ज्याल / सन्याल उपाध्याय (सान्नी) ,, ,, ,, ,,
बटाला (झाँती) ,, ,, ,, ,,
सोडारी ,, ,, ,, ,,
त्रिपाठी ,, अंगरिस-औतथ्य-गौतम
तिवारी ,, ,, ,, ,,
धरेल ,, ,, ,, ,,
बिष्ट बैतडी ,, अंगरिस-अयस्या-गौतम
पाण्डे (पलेउ) ,, ,, ,, ,,
१० भट्ट (वली) ,, ,, ,, ,,
११ महत ,, ,, ,, ,,
१२ ऐरी ,, ,, ,, ,,
१३ धिताल ,, ,, ,, ,,
१४ जैसी (बारला, अम्तला, चिल्तडा) ,, ,, ,, ,,
१५ कठायत ,, ,, ,, ,,
१६ महतारा ,, ,, ,, ,,
१७ भण्डारी ,, ,, ,, ,,
१८ ठकुल्ला ,, ,, ,, ,,
१९ बोहरा ,, ,, ,, ,,
२० महरा ,, ,, ,, ,,
२१ दमाइ (पुर्पती) ,, ,, ,, ,,

अहिलेसम्म खोजिएका तथा भेटिएका नेपालका गौतम गोत्री थरहरू माथि उल्लेख गरियो । नेपाली समाजमा गौतम गोत्री थरहरू यत्तिनै हुन् भन्ने होइन, तमाम गौतम गोत्री थरहरू छुटेका हुन सक्छन् तर हालसम्म २१ वटा थरहरू गौतम गोत्र अन्तर्गतका स-गोत्री हुन् भन्ने थाह हुन गएको छ । यी २१ वटा थरका व्याक्तीहरू स-गोत्री वन्धु हुनेहुँदा यिनको बीच वैवाहिक लेनदेन हुन सक्दैन । कहीं कतै भुलवस भएको रहेछ भने पनि अब उपरान्त सजग हुनुपर्छ । किनकी यी २१ थर अन्तर्गतका सबै एउटै पूर्खा महर्षि गौतमका सन्तति हुन् भन्नेमा कुनै संका छैन । वास्तवमा गोत्र प्रणाली वैज्ञानिक रूपमा पनि अत्यन्त प्रभावकारी र अनुवंशिक रूपमा अत्यन्त आवस्यक छ । त्यसैले माथि उल्लेखित थर अन्तर्गतका पुरूषहरू एक आपसमा भाइ-वन्धुको सम्वन्धले रहन आवस्यक छ ।[१] गोतामे / गौतामे / गौतमहरू गौतम गोत्री होइनन् तिनीहरू अत्रि गोत्री हुन् । लुम्बिनी-भेरी अञ्चल आदीका तिवारी र त्रिपाठीहरू शाण्डिल्य गोत्रका हुन् भने पहाडी मूलका एकथरी तिवारीहरू आफूलाई त्रिपाठी भन्दैनन् ।[१]

नेपालका गौतम गोत्रीय केही विशिष्ट व्याक्तिहरू

मिथिला, कपिलवस्तु, कनौज र कत्युर पछि नेपाल पसेका गौतम गोत्रीयहरूको कुलमा केही विशिष्ठ व्याक्तीहरूले जन्म लिएका छन् । जसको नामले नेपालको इतिहासका पानाहरू सहित रङ्गिएका छन् ति व्याक्तिहरू यस प्रकार रहेका छन् ।

सन्दर्भ सूची

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस