ग्रामदेवता
ग्रामदेवता हिन्दु धर्ममा कुनै निश्चित स्थान वा इलाकाका अधिष्ठाता देवता हुन्,[१] जसको मुख्य रूपमा भारत र नेपालका गाउँहरूमा पूजा गरिन्छ।[२][३]
विभिन्न समय उत्पत्ति भएका ग्रामदेवताहरूलाई प्रसन्न तुल्याउँदा उनीहरूले गाउँका बासिन्दाहरूलाई डकैती, महामारी र प्राकृतिक विपत्तिहरूबाट जोगाउने विश्वास गरिन्छ र यदि उनीहरूलाई उपेक्षा गरियो वा खुसी पारिएन भने तिनै विपत्तिहरू निम्तिने विश्वास गरिन्छ।[४][५] दक्षिण भारतमा ग्रामदेवता सामान्यतया स्त्री रूपमा हुने गर्दछन्।[६] यस क्षेत्रमा, प्रजननको प्रतीकका रूपमा गाउँकी देवीलाई मन्दिरमा स्थापना गरिन्छ र गाउँको सिमानामा गाउँको रक्षक (क्षेत्रपाल) लाई राखिन्छ।[७]
एक दक्षिण भारतीय पौराणिक कथा अनुसार ग्रामदेवताहरूको उत्पत्ति परम सत्ताद्वारा सिर्जित पहिलो शक्तिबाट भएको मानिन्छ। शक्तिका नौ रूपहरू सिर्जना गरिएका थिए, जसलाई सामूहिक रूपमा 'नवशक्ति' भनिन्छ। उनीहरूको अहङ्कारका कारण उनीहरूलाई स्वर्गबाट पृथ्वीमा निष्कासित गरि उनीहरूलाई मानव जातिलाई खराब र दुष्ट शक्तिहरूबाट जोगाउने जिम्मेवारी दिइन्छ। यसैले, ग्रामदेवताहरूलाई उनीहरूको कर्तव्यका लागि विभिन्न चाडपर्वहरू र उनीहरूको पूजाका लागि समर्पित मन्दिरहरू मार्फत सम्मान गरिन्छ।[८][९]
विकास
[सम्पादन गर्नुहोस्]दक्षिण एसियामा "मातृदेवी" को सबैभन्दा प्रारम्भिक उपस्थिति मेहरगढमा ईसापूर्व चौथो सहस्राब्दीका टेराकोटा (माटोका) स्त्री मूर्तिहरूको रूपमा पाइन्छ। यी मूर्तिहरूले "मातृदेवी" को प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। यस्तै प्रकारका स्त्री मूर्तिहरू ईसापूर्व तेस्रो देखि दोस्रो सहस्राब्दीका हडप्पा सभ्यताका स्थलहरूमा पनि फेला परेका छन् जसमा गर्भबाट बिरुवा निस्किएको एक महिला र रुखमा रहेकी एक महिला (देवी मानिने) लाई अर्की महिलाले पूजा गरिरहेको र तल सातवटा आकृतिहरू भएको दृश्य देखिन्छ। कृषिसँगको उनीहरूको सम्बन्धका कारण हडप्पा कालकै जस्तो 'भूमि' वा पृथ्वीको आत्माको अवधारणा आज पनि गाउँहरूसँग त्यसरी नै जोडिएको छ। गाउँकी देवीको निरन्तर उपासनाको प्रमाण हालको पूर्वी पश्चिम बङ्गालको चन्द्रकेतुगढबाट प्राप्त ईसापूर्व पहिलो शताब्दीको एक टेराकोटाको टुक्राबाट मिल्छ। उक्त फलैँचामा छाता समातेकी एक आकृति देखिन्छ जसलाई स्पष्ट रूपमा एक देवी मानिएको र उनलाई माटोका भाँडा, फलफूल, फूल र अन्य उपहारहरूका साथ पूजा गरिएको देखिन्छ भने यो हाल आधुनिक समयका ग्रामदेवीहरूलाई चढाइने भेटीहरूसँग मिल्दोजुल्दो छ। ग्रामदेवताहरूसँग सम्बन्धित अर्को साझा प्रतिमा लक्षण 'सप्तमातृका' (सात माताहरू) को समूह हो। यी देवीहरूको पहिलो उल्लेख ईसा पूर्व पहिलो शताब्दी तिरको महाभारतको पछिल्लो पत्रहरूमा पाइन्छ भने वेदहरूमा उनीहरूको उल्लेख नहुनुले यी देवीहरूको उत्पत्ति गैर-वैदिक भएको सङ्केत गर्दछ।[१०] प्रजननकी देवीहरूका अतिरिक्त, विभिन्न रोगका देवीहरूमा मरिअम्मन र माता जस्ता कुरुप शारीरिक विशेषताहरू भएका देवीहरू समावेश छन्। हडप्पा कालमा कपालमा हतियार भएका देवीले यस्तै देवीहरूको प्रतिनिधित्व गरेको हुन सक्छ। त्यसैगरी, पौराणिक हिन्दु धर्ममा समाहित भएका देवी दुर्गा ईसापूर्व पहिलो शताब्दीदेखि ईसापछिको पहिलो शताब्दीको वरपर देखा पर्छिन्।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Iyengar, T. R. R. (२००४), Hindu Mythology (अङ्ग्रेजीमा), Intellectual Book Corner, पृ: 385, आइएसबिएन 978-81-7076-104-4।
- ↑ Chandra, Suresh (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses (अङ्ग्रेजीमा), Sarup & Sons, पृ: 111, आइएसबिएन 978-81-7625-039-9।
- ↑ Becchio, Bruno; Schadé, Johannes P. (२००६), Encyclopedia of World Religions (अङ्ग्रेजीमा), Foreign Media Group, पृ: 112, आइएसबिएन 978-1-60136-000-7।
- ↑ Leviton, Richard (२००५-१०-१४), Encyclopedia of Earth Myths: An Insider's A-Z Guide to Mythic People, Places, Objects, and Events Central to the Earth's Visionary Geography (अङ्ग्रेजीमा), Hampton Roads Publishing, पृ: 555, आइएसबिएन 978-1-61283-298-2।
- ↑ Atran, Scott (२००४-१२-०९), In Gods We Trust: The Evolutionary Landscape of Religion (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 125, आइएसबिएन 978-0-19-803405-6।
- ↑ Oppy, Graham (२०१५-०४-१७), The Routledge Handbook of Contemporary Philosophy of Religion (अङ्ग्रेजीमा), Routledge, पृ: 128, आइएसबिएन 978-1-317-51592-0।
- ↑ Flueckiger, Joyce Burkhalter (२०१५-०२-२३), Everyday Hinduism (अङ्ग्रेजीमा), John Wiley & Sons, पृ: 30, आइएसबिएन 978-1-118-52818-1।
- ↑ Garrett, John (१९७१), A Classical Dictionary of India (अङ्ग्रेजीमा), Atlantic Publishers & Distri, पृ: 540।
- ↑ Sharma, Arvind (२०००), Classical Hindu Thought: An Introduction (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 65, आइएसबिएन 978-0-19-564441-8।
- 1 2 Elgood, Heather (२००४-०९-०१), "Exploring the roots of village Hinduism in South Asia", World Archaeology 36 (3): 326–342, आइएसएसएन 0043-8243, डिओआई:10.1080/0043824042000282777।