चट्याङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई "उष्ण बिजुली" भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ । सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ । जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।[१]


Blesk.jpg
Lightnings sequence 2 animation.gif

चट्याङ्को समय[सम्पादन गर्ने]

सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ । [२]

वैज्ञानिक कारण[सम्पादन गर्ने]

आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ । त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु "प्रोटन" भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको "न्युटल" अणु प्राप्त गर्नको लागि जमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: सल्लो, पैंयो, खडीक, टुनी जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा "न्युटल"को सम्पर्कमा आएर आकाशिय "प्रोटन" अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ । त्यस कारण चट्याङ् पर्छ।[३]

चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू[सम्पादन गर्ने]

चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई "चिड्को" "चिर्को" भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् । कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ ।

असर[सम्पादन गर्ने]

चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ[४] का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ । यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ । यस्तो अत्यधिक करेन्टको प्रवाह नै चट्याङको प्रमुख खतराको कारक हो । यस्तो अत्यधिक विद्युतीय प्रवाह मानिस, जन्तु–जनावर, वन, जंगल, रुखबिरुवामा हुनेबित्तिकै सबै भष्म हुन्छन् । यसकै कारणले नेपालमा वर्षेनि ठूलो धनजनको क्षति भइरहेको हुन्छ । यो चट्याङका लागि बादलमा भएका चार्जहरूलाई जमिनमा भएको अग्लो सतहबाट केही विपरीत धु्रवका चार्जहरूले संकेत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ । चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ । चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ । त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्पज्वालामुखी विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।[१]

सावधानी[सम्पादन गर्ने]

यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ । पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ । घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा बिजुली चम्केको बेला सतर्क रहने ।[१]

  • फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने ।
  • बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने ।
  • सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने ।
  • खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।
  • बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने
चट्याङ

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ अन्नपूर्ण पोस्टमा प्रकाशित पृतिभक्त अधिकारीको लेख
  2. यो हो संसारको सबै भन्दा बढी चट्याङ पर्ने ठाउँ
  3. भौतिक विज्ञान
  4. अमेरिकास्थित इलिनोय विश्वविद्यालयको लाईटनिङ इन्जुरी रिसर्च प्रोग्रामकी प्रोफेसर डा. मेरी एन कुपर

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]