सामग्रीमा जानुहोस्

चन्द्रकुमार रसाइली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्र कुमार रसाइली (नेपाली: चन्द्र कुमार रसाइली), जसलाई सीके रसाइली (नेपाली: सिके रसाइली) भनिन्छ, नारायण गोपाल र गोपाल योन्जनका समकालीन नेपाली संगीतकार हुन्।[]

रसाइलीको जन्म पाकिस्तान बलुचिस्तान क्षेत्रमा भएको थियो जब उनका बुबा ब्रिटिस सेनामा सिपाही थिए। उनका सात भाइबहिनी छन्। उनले भारतको मेघालयबाट उच्च विद्यालयसम्म अध्ययन गरे। त्यहाँ उनले अर्केस्ट्राका लागि बजाउँथे। सिके रसाइली - सङ्गितकार

जन्म:- सन् १९४१ मार्च ०१ कोयोटा,पाकिस्तान बुबा:- मानवीर सिंह रसाइली आमा:- चन्द्रमाया रसाइली

सिके रसाइली बरिष्ठ नेपाली सङ्गीतकार हुन्। उनको सङ्गीतमा ५०० भन्दा बढी गीतहरु रेकर्ड भएका छन्। बुबा मानवीर सिंह रसाइली र आमा चन्द्रमाया रसाइलीको १२ सन्तान मध्येका छैंटौं सन्तान हुन् चन्द्र कुमार रसाइली यानकी सिके रसाइली। उनको जन्म सन् १९४१ मार्च ०१ तारिखका दिन पाकिस्तानको कोयोटा भन्ने ठाँउमा भएको हो। सिकेका बुबा आर्मिमा जागिरे हुनुहुन्थ्यो, जागिरको शिलशिलामा मानवीर सिंह परिवार सहित पाकिस्तानमा पुग्नुभएको थियो। त्यही समयमा सिकेको जन्म भयो।

बुबाको सरुवा भइरहने भएको कारण सिकेको बाल्यकाल कहिले आसाम, कहिले सिलोङ त कहिले मलायामा बित्यो, ठाउँ फेरिए सँगै उनको स्कुल पनि फेरिरहे। सिके स्कुलको पढाईमा मध्यम बिद्यार्थीमा पर्थे, बरु विभिन्न खेलमा उनको रुचि हुनुका साथसाथै अग्र पंक्तिमा थिए,आज नेपाली साङ्गीतिक क्षेत्रमा सङ्गितकारको रुपमा उच्च पहिचान बनाएका सिके रसाइली यदि सङ्गितमा नलागेको भए सफल खेलाडी हुन सक्ने उनि स्वयं स्विकार्छन्।

पहिले खेलकुदमा रुची भएका उनको बिस्तारै गीत सङ्गीतमा झुकाव बढ्दै गयो। सिलोङमा हुने बिबाह तथा ब्रतबन्ध, पूजाआजा आदि समारोहहरुमा होस् वा स्कुलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा होस्, गीत सङ्गीत भन्ने बित्तिकै सिकेकै नाम आइहाल्थ्यो। एकदिन "अल इन्डिया रेडियो" गुहाटीबाट रेडियोका केही कर्मचारीहरु नव कलाकारको खोजीमा सिलोङ आएका थिए। नव प्रतिभाको खोजिमा आएका उनिहरुको नजरमा सिके रसाइली पनि पर्न सफल भए र अडिसनमा गीत गाएर उनि पास भए।

अडिसनमा पास भएसँगै सन् १९५९ मा "अल इन्डिया रेडियो"मा नेपाली गायकको रुपमा अनुबन्धित भए। त्यतिबेला उनले महिनामा एउटा गीत गाउनुपर्थ्यो, त्यसबापत उनले पारिश्रमिक स्वरूप ४०० भारतिय रुपैयाँ प्राप्त गर्थे। अल इन्डिया रेडियोमा काम गर्ने क्रममा गायकको पहिचान बनाइरहेका सिकेलाई एकदिन काठमाडौँ आउने अवसर प्राप्त भयो। तत्कालीन राजा महेन्द्रको शुभ जन्मोत्सवको अवसरमा काठमाडौँमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर उहाँलाई जुर्यो, कार्यक्रममा सहभागी जनाउनका लागी काठमाडौँबाट सिलोङको "सङ्गीत कला समिति"लाई निमन्त्रणा पठाइएको थियो,सांस्कृतिक कार्यक्रममा सहभागी हुन सिलोङका अन्य कलाकार टोलीसँगै वि.सं. २०१८ सालमा सिके रसाइली पनि काठमाडौँ आए।

राजा महेन्द्रको शुभ जन्मोत्सवको उपलक्ष्यमा पहिलो पटक काठमाडौँ आएका सिकेलाई लगातार ३ बर्ष राजाको जन्मोत्सव कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो। भारतको बसाईमा बङ्गाली साथिहरुको सङ्गतले सङ्गितमा गहिरो प्रभाव परेको बताउने सिकेले लखनउको सङ्गीत बिद्यालयबाट सङ्गीतमा डिप्लोमा गरेका थिए। गायक सिके रसाइली स्वयम् कुशल सङ्गितकार थिए। उनको नविनतम् सङ्गीत सृजना देखेर राजा महेन्द्रले समेत आफुले लेखेको शब्दमा सङ्गीत भरेर सुनाउन भनेको अविस्मरणीय पल उनी आज पनि सम्झन्छन्।

गीत सङ्गीतको शिलशिलामा उनको काठमाडौँ आउने जाने क्रम बढ्दै गयो। यस क्रममा उनको सङ्गीतकर्मी साथीहरुसँग चिनजान बाक्लिँदै गयो। उनको गायन शैली र सङ्गीत सृजना गर्ने क्षमता देखेर साथीहरुले उनलाई काठमाडौँमा नै बसेर सङ्गीत क्षेत्रमा लाग्न सल्लाह दिन्थे।

साथीभाईको सल्लाहमा उनी काठमाडौँ बस्ने निर्णय लिएका सिके रसाइली वि.सं. २०२४ सालमा रेडियो नेपालमा करारमा जागीरे भए। त्यतिबेला रेडियो नेपालमा गीत रेकर्ड गर्नका लागी रेडियो नेपालको स्वर परिक्षामा उत्तिर्ण हुनुपर्थ्यो। उनले पहिले नै अल इन्डिया रेडियोबाट स्वर परिक्षा उतिर्ण गरिसकेको कारण रेडियो नेपालमा स्वर परिक्षा दिनु परेन। रेडियो नेपालमा आवद्ध भएसँगै उनको आवाजमा "जन्म गरिदिइन् माताले" बोलको पहिलो गीत रेकर्ड गर्ने अवसर मिल्यो, संजोगको कुरा यहि गीत अल इण्डिया रेडियोमा रेकर्ड गराएर अल इण्डिया रेडियोमा अनुबन्धित भएका थिए।

पहिलो गीत रेकर्ड गर्न पाउनु उनको लागी सौभाग्यको कुरा भएपनि गीतले राजनिती गाएको आरोप खेप्नुपर्दा साह्रै चित्त दुखेको थियो। बिस्तारै सिके गीत गाउन भन्दा सङ्गीत सृजनामा ब्यस्त हुन थाले। सङ्गीत सृजनामा तल्लिन उनको गायन यात्रा बिस्तारै छुट्दै गयो, अन्ततः सङ्गितकारको रुपमा स्थापीत भए।

उनले ३,००० भन्दा बढी गीतहरुमा सङ्गीत भरेका छन्। जसमध्ये वि.सं. २०३२ सालमा रेकर्ड गरिएको राजेन्द्र रिजालको शब्द, नारायण गोपालको स्वर र सिके रसाइलीको सङ्गीतमा रहेको "प्रेमको माला पहिराइ दिएँ " बोलको गीत गीतकार,सङ्गितकार र गायक तीनैजनाको लागी उपलब्धी मुलक रह्यो। त्यसैगरी निर शाहको शब्द, नारायण गोपालको स्वर र सिके रसाइलीको सङ्गीतमा "कहिलेकाहीँ म हाँस्छु" बोलको गीतले पनि सिके रसाइलीको सङ्गीतको धरातललाई प्रष्ट्याउँछ।

नारायण गोपाल र सिके रसाइलीको मित्रता नेपाली साङ्गीतिक क्षेत्रमा निकै महत्वपूर्ण रह्यो। उनिहरूको सहकार्यमा आधा दर्जनजति गीत रेकर्ड भएका छन्,हरिभक्त कटुवालको शब्दमा सिके रसाइलीको सङ्गीत र नारायण गोपालको स्वरमा गीत रेकर्ड गराउने सिके रसाइलीको चाहना अधुरै रह्यो। गीत रेकर्ड गराउन गएका नारायणलाई स्टुडियोमा कसैले केही भनेपछि नारायण गोपाल गीत रेकर्ड नगरि नै स्टुडियो छोडेर हिँडेका थिए। त्यसपछि उक्त गीत पुनः रेकर्ड हुन सकेन।

धेरैले आफ्ना लागी गरौँ आफु बनौँ भन्ने चाहन्छन् तर सिके रसाइली एउटा यस्तो ब्यक्तित्व हुनुहुन्छ जसले आफ्नो बारेमा भन्दा बढी अरुको बारेमा सोच्ने र अरुको लागी आफुले सकेको गर्न तत्पर रहने ब्यक्ति हुन्। आफु नेपथ्यमा रहेर नेपाली सङ्गीत क्षेत्रमा थुप्रै नयाँ कलाकारहरु जन्माउनमा उनको ठूलो योगदान रहेको छ। २० को दशकदेखि निरंतर नेपाली साङ्गीतिक क्षेत्रमा उनको योगदान रहदै आएको छ।

वि.सं. २०३० सालमा सिके रसाइली र कालिम्पोङको दिल कुमारी तिरुवाको बिबाह भयो। उनिहरूको प्रेम बिबाह भएको हो। सिकेको गीतको प्रसंशा गर्ने हजारौं स्रोता मध्ये दिल कुमारी पनि एक हुन्। चिठ्ठीको जमानामा पत्रमित्रताबाट सुरु भएको उनिहरुको चिनजान अन्ततः बिबाहमा परिणत भयो। छोरीले प्रेम बिबाह गरेको कारण दिलकुमारीका बुबाआमा वर्षौँसम्म छोरीसँग रिसाए। जब पहिलो नातिको जन्म भएपछि भने साउँको भन्दा बढी ब्याजको माया भनेजस्तो बुबाआमाको मन पग्लिएर ज्वाइँ छोरीलाई नेपाली परम्परा अनुसार भित्राउनु भयो ।

उनिहरूका दुई सन्तान छोरा रोशन रसाइली र छोरी रेश्मा रसाइली रहेका छन्। छोरा छोरी दुवैको बिबाह भएर रसाइली दम्पती अहिले हजुरबुबा हजुरआमा भैसकेका छन्।

  • नारायण गोपाल मेमोरियल अवार्ड २०१७ []
  • नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार []
  1. "हरिभक्तको गीत नारायण गोपालले गाउन भ्याएनन्, उदितनारायणले गाउँदै गाएनन्", Ujyaalo Online, अन्तिम पहुँच २०२३-०७-१७ 
  2. Monica (२०१७-१२-०३), "Narayan Gopal Memorial Award to Rasaili", The Himalayan Times, अन्तिम पहुँच २०२३-०७-१७ 
  3. "कलाकारका लागि राज्यबाट प्रयाप्त लगानी हुन सकेन : उपराष्ट्रपति पुन", Naya Patrika, अन्तिम पहुँच २०२३-०७-१७