सामग्रीमा जानुहोस्

चिन राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिन राज्य म्यानमारको पश्चिमी भागमा अवस्थित प्रशासनिक राज्य हो। यसको राजधानी हाखा सहर हो। यो राज्यको पूर्वमा सागाइमगवे क्षेत्र, दक्षिणमा राखाइन राज्य, पश्चिममा बंगलादेशको चटग्राम क्षेत्र र भारतको मिजोरमसँग र उत्तरमा मणिपुरसँग सिमाना जोडिन्छ। २०१४ को जनगणना अनुसार यस राज्यको जनसंख्या करिब ४,८८,८०१ छ।[]

चिन राज्यको नाम यहाँ बसोबास गर्ने चिन जाति समुदायबाट आएको हो। यो राज्य मुख्य रूपमा पहाडी क्षेत्र भएको कारण बसोबास कम छ, यातायात सुविधाहरू सीमित छन् र आर्थिक विकासको स्तर न्यून छ। २०१७ को रिपोर्ट अनुसार, यहाँ गरिबी दर ५८ प्रतिशत रहेको छ, जुन म्यानमारको सबैभन्दा उच्च दर हो।

प्रारम्भिक इतिहास

[सम्पादन गर्नुहोस्]

चिन राज्यको भूभाग प्रायः चिन पहाडहरूमा फैलिएको छ। ऐतिहासिक रूपमा यो क्षेत्र स्वतन्त्र र आत्मनिर्भर रहेको थियो। पूर्वका बर्मेली राज्य र पश्चिमका भारतीय राज्यहरूबाट टाढा रहेको कारण यहाँको जनसंख्या बाह्य नियन्त्रणबाट अलग थियो। ब्रिटिशहरूको आगमनभन्दा पहिले, स्वतन्त्र सहर-राज्यहरू जस्तै चिम्नुआई, टेडिम, भान्गते, तासुन, र हाखा लगायतले आफ्नै सत्ता सञ्चालन गर्थे। प्रत्येक सहरले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गरी क्षेत्रको शान्ति कायम राख्न भूमिका निर्वाह गर्थ्यो।[]

बीसौँ शताब्दी

[सम्पादन गर्नुहोस्]

१९४८ मा म्यानमार स्वतन्त्र भएपछि, चिन हिल्स विशेष विभाग स्थापना गरियो र राजधानी फलाममा राखियो। पछि हाखामा राजधानी सारियो। ३ जनवरी १९७४ मा चिन हिल्सलाई राज्यको दर्जा दिइयो।[]

"चिन राष्ट्रिय दिवस" २० फेब्रुअरीमा मनाइन्छ, जुन १९४८ मा सम्पन्न भएको सम्झनामा राखिएको हो।

म्यानमार गृहयुद्ध

[सम्पादन गर्नुहोस्]

२०१२ पछि म्यानमार गृहयुद्धले चिन राज्यलाई गहिरो असर गरेको छ। हजारौं चिन बासिन्दाले भारतीयको मिजोरममा शरण लिएका छन्। युद्धको कारण थान्टलाङ जस्ता सहरहरू विनष्ट भएको छ। चिनल्यान्ड डिफेन्स फोर्स जस्ता विभिन्न सशस्त्र प्रतिरोध समूहहरू उदाएका छन्। यसलाई विदेशमा बस्ने चिनका बासिन्दाले आर्थिक सहयोग प्रदान गरेको देखिन्छ। ६ डिसेम्बर २०२३ मा चिन नेशनल फ्रन्टले चिनल्याण्ड संविधान अपनाएर चिनल्याण्ड राज्यको घोषणा गर्यो। तर नौ नगरपालिका मध्य पाँच नगरपालिकाका प्रतिरोध समूहहरूले यस संविधानको विरोध गरिरहेका छन्।[]

प्रशासनिक संरचना

[सम्पादन गर्नुहोस्]

चिन राज्य ४ जिल्लामा विभाजित छ। फलाम जिल्ला उत्तरी चिन राज्यमा अवस्थित छ र यसमा फलाम, टेडिम र टोनजाङ नगरपालिकाहरू छन्।[]

हाखा जिल्ला मध्य चिन राज्यमा पर्दछ र यसमा हाखा र थान्टलाङ नगरपालिका छन्।

मातुपी जिल्ला मध्य र दक्षिण-पश्चिम चिन राज्यमा फैलिएको छ र यसमा मातुपी, रेजुआ उपनगरपालिका र पालेत्वा नगरपालिका छन्।

मिन्ड्याट जिल्ला दक्षिण-पूर्व चिन राज्यमा पर्दछ र यसमा मिन्ड्याट र कान्पेटलेट नगरपालिका छन्।

हाखा जिल्ला पहिलो चिन राज्य ह्लुत्तावको आपतकालीन बैठकमा २०१२ मा गठन भएको थियो भने मातुपी जिल्ला २०१७ मा दोस्रो पिदाङसु ह्लुत्तावको बैठकबाट गठन भएको थियो।

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

जातीय संरचना

[सम्पादन गर्नुहोस्]

चिन राज्यको अधिकांश जनसंख्या चिन जाति हो जुन करिब ९५.७% हो। राखाइन जाति ३.४% , बर्मेली ०.८% र अन्य जातिहरू ०.१% छन्। प्रमुख जनजातिहरूमा चिन, जो, जोमी, लाइमी, के’चो, खुमी र अषो पर्दछन्।[][]

चिन राज्यमा इसाई क्रिश्चियन धर्मावलम्बीको बाहुल्य छ। २०१४ को जनगणना अनुसार, यहाँ ८५.४ प्रतिशत जनसंख्या इसाई , १३ प्रतिशत बौद्ध, ०.४ प्रतिशत आदिवासी धर्म, ०.१ प्रतिशत मुस्लिम र १.१ प्रतिशत अन्य धर्महरूमा आबद्ध छन्।[]

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

चिन राज्य प्रायः पहाडी क्षेत्रको भएकोले यहाँ बसोबास कम छ। नात माटाउङ पहाड ३,०७० मिटरको उचाइमा अवस्थित छ, जुन राज्यको सबैभन्दा उच्च शिखर हो।

राज्यको जलवायु सामान्यतया पहाडी र चिसो छ। वर्षा ऋतुमा भारी वर्षा हुने गर्दछ।

चिन राज्यको संस्कृति जातीय विविधता र धार्मिक विश्वासमा आधारित छ। अधिकांश समुदायले क्रिश्चियन धर्म अपनाएको कारण चर्च र धार्मिक कार्यक्रम यहाँको जीवनमा महत्त्वपूर्ण स्थान राख्छ। आदिवासी धर्म र स्थानीय परम्पराले पनि चिन राज्यको सांस्कृतिक पहिचानलाई धनी बनाएको छ। भाषा र परम्परागत नृत्य, संगीत, वेशभूषा र उत्सव यहाँको सांस्कृतिक जीवनको आधार हो।

चिन राज्यमा शिक्षा अवसर सीमित छन्। राजधानी हाखा र केही नगरपालिकाहरूमा मात्र उच्च शिक्षा उपलब्ध छ। प्राथमिक र माध्यमिक विद्यालयको संख्या पर्याप्त भए पनि विश्वविद्यालय र प्राविधिक शिक्षा संस्थानहरू कम छन्। यसले युवाहरूलाई उच्च शिक्षा प्राप्त गर्न सीमित अवसर दिएको छ।[]

चिन राज्यको स्वास्थ्य सेवा अविकसित छ। स्वास्थ्य पूर्वाधार, अस्पताल र औषधि आपूर्ति सीमित छन्। ग्रामीण क्षेत्रका अस्पतालहरूमा आवश्यक उपकरणको अभाव छ। चिकित्सकको संख्या अत्यन्त न्यून छ र धेरै जनसंख्या स्वास्थ्य सेवामा पहुँच पाउन कठिनाइ भोग्छ।

चिन राज्यमा पूर्वाधार कम छ र विकासको स्तर न्यून छ। जनसंख्याको ७० प्रतिशत भन्दा बढी व्यक्ति गरिबी रेखाभन्दा तल जीवन यापन गर्छन्।

स्थानीय जनताको जीवन प्रायः कृषिमा आधारित छ। यहाँको प्रमुख कृषिजन्य उत्पादन कोन्जाक (हात्तीको खुट्टा जस्तै आलु) हो, जसको वार्षिक उत्पादन २५०,००० टनभन्दा बढी रहेको अनुमान छ।

उद्योगको स्तर न्यून छ र स्थानीय स्तरमा साना कारखानाहरू मात्र सञ्चालनमा छन्।

पर्यटन र प्राकृतिक स्रोत

[सम्पादन गर्नुहोस्]

चिन राज्यमा पहाडी भूगोल, वन, र प्राकृतिक स्रोतहरू भएकोले पर्यटन सम्भावना रहेको छ। यहाँका उच्च शिखर, हरियो उपत्यका, नदी र तालहरूले साहसिक पर्यटन र प्राकृतिक अध्ययनका लागि आकर्षण प्रदान गर्छ। तर पहुँचको कठिनाइ र सीमित पूर्वाधारका कारण पर्यटन विकासमा चुनौती छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Union of Myanmar", City Population, अन्तिम पहुँच १० अप्रिल २००९ 
  2. Ngul Lian Zam (Guite), "Mualthum Kampau Guite Hausate Tangthu" (Amazon/CreateSpace, United States, 2018), 77–152 आइएसबिएन ९७८-१७२१६९३५५९.
  3. "Myanmar Divisions", Statoids, अन्तिम पहुँच १८ नोभेम्बर २०१७ 
  4. Fishbein, Emily (२९ अगस्ट २०२३), "Myanmar's striking civil servants: Displaced, forgotten, but holding on", Al Jazeera, अन्तिम पहुँच १२ नोभेम्बर २०२३ 
  5. Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17। 
  6. "Census Population Dashboard | MIMU", themimu.info, अन्तिम पहुँच २९ फेब्रुअरी २०२० 
  7. Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57 
  8. The 2014 Myanmar Population and Housing Census Census Report Volume 2-C, Department of Population Ministry of Labour, Immigration and Population, जुलाई २०१६, पृ: 12–15। 
  9. "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २४ मे २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २००९  वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०११ मिति