चुडामणि शास्त्री (ढकाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


साहित्यकार चूडामणि शास्त्री (ढकाल) (Chudamani Shastri Dhakal)

संक्षिप्त परिचय[सम्पादन गर्ने]

नेपाली साहित्यिक क्षेत्रका प्रभावशाली एवं विशिष्ट प्रतिभा चूडामणि शास्त्री (उपाध्याय, ढकाल)को जन्म वि.सं. १९८२ पौष १० गते मेची अञ्चलको इलाम नामसालिङ्‍मा र देहावसान वि.सं. २०५३ मंसिर २४ गते भारतको नयाँ दिल्लीमा भएको हो। पिता हरिदत्त ढकाल रमाता यशोदादेवीका एकमात्र छोरा कवि शास्त्रीले वि.स. २००० देखि २०१६ सालसम्म भारतको आसाम प्रान्तमा प्रवासी जीवन बिताउदै त्यहींबाट आफ्नो साहित्यक यात्रा प्रारम्भ गर्नु भएको पाइन्छ। त्यसपछि लगभग १० वर्ष चितवन र ५ वर्ष निजगढ (बारा)मा रहेर साहित्यको सेवा गर्दै वहाँ २०३१ सालदेखि जीवनपर्यन्त स्थायी रूपले महेन्द्रनगरमा रहदै आउनु भएको थियो। यसरी बसाइमा स्थिरता नभएकाले वहाँका प्रारम्भिक कृतिहरू असम (भारत) तथा त्यस पछि क्रमश चितवन, बारा र महेन्द्रनगरबाट प्रकाशित भएका देखा पर्दछन्।

मूलतः विशिष्टाद्वैत वेदान्तबाट प्रभावित कवि शास्त्रीका रचनाहरूमा अध्यात्मवादको सरस प्रवाह पाइन्छ। वहाँका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरू यसप्रकार छन्—

१. विश्वोद्धारक सन्मार्ग रक्षा (२०१०) २. दश ब्राह्मण (२०१०) ३. मगरको विधान (२०११) ४. ज्ञानोदय (२०१२) ५. गोरक्षा सन्देश (२०१२) ६. दलित वर्गको उच्चध्वजा (२०१३) ७. श्रीमद्भगवद्गीता पद्यानुवाद र व्याख्या (२०१४) ८. कामाक्षा मन्दिर या कसाइखाना (२०१४) ९. स्तोत्ररत्नम् (नेपाली पद्यानुवाद र व्याख्या—२०१४) १०. तप्तमुद्राधारणमा निर्णयसिन्धुको फैसला (२०१४) ११. त्रिवेणी (२०१५) १२. नारीपतन (२०१६) १३. अर्थपञ्चक कौमुदी (२०२४) १४. रहस्यत्रयम् (२०२४) १५. आचार्य प्रभाव (२०२५) १६. विद्यार्थी युगकाराम (पर्चा साहित्यः २०३६) १७. श्रीराम–रामानुज संकीर्तन–रूप तथा वहत्तर वाक्य (२०३७) १८. सहस्रगीति (नेपाली पद्यानुवाद र व्याख्या—२०४२) १९. वेदाश चूडामणि (२०४४) २०.माग्नेलाई भिक्षादान (२०४४) २१. श्रीव्रत (नेपाली पद्यानुवाद र व्याख्या—२०४६) २२. मोक्षोपनिषद् (२०४६) २३. श्रीकनकधारा लक्ष्मी स्तवराज (नेपाली पद्यानुवाद र व्याख्या—२०४९) २४.वेदस्तुतिः (नेपाली पद्यानुवाद र व्याख्या–२०५२) २५.शुक्ल यजुर्वेद नेपाली व्याख्या (२०५२)

साहित्य साधनामा नै जीवन अर्पण गरेर निरन्तर क्रियाशील रहने कवि चूडामणि शास्त्रीकामाथि उल्लेखित ग्रन्थहरू बाहेक अनेक फुटकर कविता एवं लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। यस्तै उपनिषद् भाष्यहरू पञ्चसूक्तानी नारदपाञ्चरात्र, श्रीवचनभूषण, व्रह्मसूत्र आदि अनेक धार्मिक ग्रन्थका साथै कामायनीको अनुवाद, प्रजातन्त्र विजय (मौलिक काव्य) आदि थुप्रै कृति र फुटकर कविताहरू अप्रकाशित अवस्थामा रहेका देखिन्छन्। सहस्रगीति, वेदांश चूडामणि, त्रिवेणी, गोरक्षा, सन्देश ज्ञानोदय आदि ग्रन्थहरूमा कवि चूडामणि शास्त्रीको शिल्पगत वैशिष्ट्य देखापर्दछ। अध्यात्म चिन्तनका गुढ रहस्यहरूलाई सरल पद्यमा सहज एवं आलङ्कारिक ढङ्गले अभिव्यक्त गर्न निक्कै सफल हुनुभएको छ।

जस्तै—

गरीबी ऐश्वर्यी नरकसँग स्वर्गामृत विष
छ मैत्री विद्वेषी अपहृत हुने द्वन्द्वज–वश
प्रभो ! व्यापिन् ! स्वामीन् ! धन भरितको दिव्यपुरमा
मिल्यो सर्वात्माको अतुलमय यो दर्शन यहाँ।।
जती जे देखिन्छन् सुख, दुःख र चिन्ता समनमा
कृपाकोपागार द्विविधतर शीतोष्ण पनमा
हुने अन्तर्यामी प्रभु–परित द्विव्योत्तम नदी
उनै स्वामी बस्ने स्थल विषद हो ‘द्विव्यनगरी’।। (सहस्रगीति (पृष्ठ ४९०–४९१)
सुछाँया घामै या अणु र सुमहत् जङ्गमहरू
सँगै सारा बस्तु प्रभुमय भए तापनि प्रभु।
हुने टाढा उन्का सुरगण बसे पुण्य पुरमा
बिना उन्का पाउ अरु न त कुनै रक्षक यहाँ।। (ऐ. पृष्ठ–४९७)

वेदका गहना चिन्तनपरक भावनालाई सुन्दर नेपाली पद्यमा अभिव्यक्ति दिँदै प्रस्तुत गरिएको वेदांश–चूडामणिमा कवि शास्त्रीको विशिष्ट काव्य–प्रतिभा देखापर्दछ। २० वटाभन्दा बढी छन्दहरूको प्रयोग गरेर लगभग दुईहजार पद्यमा लेखिएको उक्त काव्यमा बौद्धिक चिन्तनको सारतत्त्व अत्यन्त कलात्मक रूपमा प्रस्तुत गरिएको छ। जस्तै—

”अमरगण सबै ती श्रीशले नै रचेका
स्तुति वचन गरेरै देवता हुन् जुटेका।
प्रभुगत भइ अंश प्रेमधारा बगेका
असुर गण छुटाइ स्वर्गमा छन् रमेका।।
दृढ समय बनाई साधनायुक्त भक्त
परम पुरुषलाई प्राप्त गर्ला यथार्थ
हृदयगत हुँदामा दिण्य पीयूष रूप
प्रभुकृत गरि यज्ञ ज्योति होस् पूर्णरूप।। (वेदांश–चूडामणि पृष्ठ–५३)

शास्त्रीय एवं लोक छन्दमा सुन्दर सुललित कविताहरू रच्न सिद्धहस्त कवि चूडामणि शास्त्रीको मूल भावभूमि पूर्वीय अध्यात्मचिन्तन हो। वहाँका अधिकांश रचनाहरू भक्तिरसमा चुलुम्म डुबेका पाइए पनि कतिपय कृतिहरूमा जीवनजगत्का अन्य पक्षहरूलाई समेत समेटिएको पाइन्छ। ‘त्रिवेणी’ (चम्पु काव्य), ज्ञानोदय, गोरक्षा सन्देश (खण्डकाव्य) दलित वर्गको उच्चध्वजा, कामाक्षा मन्दिर या कसाइखाना ? (वैचारिक लेख) आदि कृतिहरूमा वहाँले सामाजिक, धार्मिक विकृति, विसंगतिहरू प्रति तीक्ष्ण प्रहार गर्दै समाजसुधारको आग्रह गर्नुभएको छ। आध्यात्मिक स्थलमा धर्मको नाममा हुने बलिप्रथाको कटु आलोचना गर्दै कवि लेख्नुहुन्छ—

“जडको पूजा निम्ति यसरी, चेतनमार्नु कस्तो हो ?
सम्झ अझै लौ शोसक वर्ग मत्त भएछौ कति अहो ?
भोक, प्यास, त्राश र प्रेम जस्मा पूर्ण छ त्यसलाई
काटी जल या पथ्थरमान्ने, विवेकी हूँ पो भन्नु अझै ? (त्रिवेणी पृष्ठ–१६)

यसरी आफ्ना भावनाहरू स्पष्ट एवं कलात्मक रूपमा प्रस्तुत गर्नुहुने कवि चूडामणि शास्त्रीका ‘विद्यार्थी युगका राम’ (२०३६) ‘प्रजातन्त्र विजय’ (अप्रकाशित काव्य) आदि केही रचना जनमत संग्रहको परिवेशमा बहुदलीय व्यवस्थाको पक्षमा उभिएर लेखिएका देखिन्छन्। यस्तै ‘अर्थपञ्चक कौमुरी’ ‘रहस्य त्रयम्’ आदि ग्रन्थबाट वहाँको परिचय एक उत्कृष्ट संस्कृत कविको रूपमा पाइन्छ।