सामग्रीमा जानुहोस्

च्यवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
च्यवन
च्यवन
१७औँ शताब्दीका कलाकारको कल्पनामा च्यवन ऋषि
व्यक्तिगत जीवन
जीवसाथीसुकन्या
सन्तान(हरू)और्व, आप्नवान, दधीचि, प्रमति, सुमना र हरित
अभिभावकहरू
  • भृगु (पिता)
  • पुलोमा (माता)
धार्मिक जीवन
धर्महिन्दु धर्म
ऋषि च्यवनद्वारा देवीको पूजा गरिँदै; नुपुरका कृपालद्वारा चित्रित एक तान्त्रिक देवी शृङ्खलाबाट, जसलाई देवी लक्ष्मीको तान्त्रिक स्वरूप मानिन्छ।[१]

च्यवन हिन्दु धर्मका एक प्रसिद्ध ऋषि हुन्। उनी भृगु ऋषिका पुत्र थिए, जसलाई उपनिषद्हरूमा 'भृगु वारुणी'को नामले पनि चिनिन्छ। उनी विशेष गरी अश्विनीकुमारहरूद्वारा तयार पारिएको एक विशेष आयुर्वेदिक औषधि मार्फत पुनः युवावस्था प्राप्त गरेका कारण उनी प्रसिद्ध छन्, जसलाई अहिलेच्यवनप्रास भनिन्छ।[२][३]

महाभारतका अनुसार, उनी स्वर्गका राजा इन्द्रको अस्त्र वज्रको सामना गर्न सक्ने शक्तिशाली थिए। अश्विनीकुमारहरूलाई यज्ञको भाग दिलाउनमा उनकै मुख्य भूमिका रहेको थियो। सो कार्यका लागि उनले 'मद' नामक असुरको सृष्टि गरेका थिए।[४]

ऋग्वेद मा पनि च्यवनको उल्लेख पाइन्छ, जहाँ उनलाई एक वृद्ध र कमजोर व्यक्तिको रूपमा वर्णन गरिएको छ जसलाई अश्विनीकुमारहरूले युवावस्था र शक्ति प्रदान गरेका थिए।[५] ऋग्वेदकै अर्को प्रसङ्ग अनुसार, च्यवान इन्द्रका उपासक राजा तुर्वयाणका कमजोर प्रतिद्वन्द्वी थिए, किनकि उनी अश्विनीकुमारहरूको बढी निकट थिए।[६]

एक परम्परा अनुसार, उनले वैवस्वत मनुकी छोरी आरुषीसँग विवाह गरेका थिए र उनीहरूका छोरा और्व थिए। अर्को परम्परा अनुसार, उनले वैदिक राजा शर्यातीकी छोरी र वैवस्वत मनुकी नातिनी सुकन्यासँग विवाह गरेका थिए। उनीहरूका दुई छोराहरू: आप्नवान र दधीचि थिए। उनलाई हरित र उद्दालक वारुणीका पिताको रूपमा पनि मानिन्छ।[४]

पौराणिक कथा

[सम्पादन]

जन्म

[सम्पादन]

महाभारत (आदिपर्व, अध्याय ५-६) मा पाइने एउटा विवरण अनुसार, जब भृगुकी पत्नी पुलोमा गर्भवती थिइन् र आफ्नो आश्रममा बस्थिन्, एक राक्षसले उनलाई दुःख दिन्छ। त्यसै समयमा पुलोमाको गर्भबाट बच्चा खस्छ (जसलाई संस्कृतमा 'च्युत' भनिन्छ, जसको अर्थ "समय अगावैको जन्म" हो) र यसरी उनको नाम च्यवन रहन जान्छ। बच्चा खसेको देखेपछि राक्षसले आमालाई छोडिदिन्छ,[७] तर त्यो राक्षस तत्कालै भष्म भएर खरानी हुन्छ।

च्यवनले आफ्ना पिताबाट र पछि ब्रह्माबाट वेदहरूको अध्ययन गरेका थिए। पछि उनी एक प्रख्यात 'ब्रह्मर्षि' बनेका थिए।

तपस्या र कायाकल्प

[सम्पादन]

च्यवन ऋषिको कठोर तपस्या र त्यसपछिको युवावस्था प्राप्ति (कायाकल्प) को कथाको सबैभन्दा पुरानो संस्करण ब्राह्मण ग्रन्थहरूमा पाइन्छ। यस कथाको पछिल्लो संस्करण महाभारत मा उल्लेख गरिएको छ। अझ पछिल्ला संस्करणहरू भने भागवत पुराण र पद्म पुराण मा पाउन सकिन्छ।[८]

महाभारत

[सम्पादन]

महाभारतको वन पर्व (अध्याय १२२–५) मा पाइने कथा अनुसार, च्यवन ऋषि एउटा तालको किनारमा तपस्या गर्नमा यति मग्न थिए कि धमिराहरूले उनको पूरै शरीरमा देवल बनाएका थिए र बाहिर उनका आँखा मात्र बाँकी थिए। एक पटक, राजा शर्याती आफ्नो सेना र परिवारसहित त्यस ठाउँको भ्रमणमा आउँछन्। राजाकी छोरी सुकन्याले देवल जस्तो देखिने वस्तुभित्र दुईवटा चम्किला आँखा देख्छिन् र कौतूहलवश एउटा लौरोले त्यसमा घोच्छिन्। यसबाट च्यवन ऋषिलाई अत्यधिक पीडा हुन्छ र उनी क्रोधित हुन्छन्। उनले शर्यातीको सेनाको दिसा-पिसाब रोकिदिन्छन्। राजाले आफ्नी छोरी सुकन्यालाई ऋषिसँग विवाह गरिदिएपछि मात्र उनी प्रसन्न हुन्छन्।[९]

सन्दर्भ समग्रीहरू

[सम्पादन]
  1. ↑ "Rishi Chyavana Worships The Tantric Roopa Of Lakshmi", www.exoticindiaart.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०४-१६।
  2. ↑ Sivarajan, V. V. (१९९४), Ayurvedic Drugs and Their Plant Sources, International Science Publisher, पृ: 28।
  3. ↑ www.wisdomlib.org (२०२०-०४-०६), "Cyavanaprasha: 5 definitions", www.wisdomlib.org, अन्तिम पहुँच २०२२-१०-३१।
  4. 1 2 Dowson, John (२००४), A classical dictionary of Hindu mythology, पृ: 73–5।
  5. ↑ The Rigveda : the earliest religious poetry of India, २०१४, पृ: 968।
  6. ↑ Macdonnel, A. A. (१९८५), Vedic Index of Names and Subjects, पृ: 264–5।
  7. ↑ O'Flaherty, Wendy Doniger (१९८८), The Origins of Evil in Hindu Mythology, Delhi: Motilal Banarsidass, पृ: ३०४, आइएसबिएन 81-208-0386-8।
  8. ↑ Wilson, Horace Hayman (tr.) (१८४०), The Vishnu Purana, John Murray, पृ: ३५४fn२९।
  9. ↑ Ganguli, Kisari Mohan (१८८३–१८९६), "Ch.CXXII", The Mahabharata: Book 3: Vana Parva, Sacred texts archive।