जगद्गुरु आद्य शङ्कराचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आचार्य शंकरको जन्म[सम्पादन गर्ने]

आचार्य शंकरको आविर्भाव र तिरोभाव धेरै टाढा अतीतका (१३०० वर्ष अघिका) घटनाहरू हुन् तर उनको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइ रहेको छ । त्यसैले उनलाई भगवान शंकरको अवतार मानिन्छ । उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ । आचार्यले बुद्धलाई विष्णुको नवौं अवतारको रुपमा ग्रहण गरेका थिए । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । उनको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । कुनै महान व्यक्तिको जन्म मिति हिन्दु परम्परामा त्यति महत्वपूर्ण मानिंदैन जति उसको योगदान । त्यसैले सुरुमा शंकरको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ । आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । आर्य संस्कृतिको विकासमा आद्य शङ्कराचार्यको विशिष्ट योगदान रहेको छ। उनको धर्मदर्शन, विचार र उपदेश आत्मा र परमात्माको ऐक्यसम्बन्धमा आधारित मानिन्छ, जसअनुसार परमात्मा एउटै समयबिन्दुमा सगुण र निर्गुण दुईवटै स्वरूपमा उपस्थिति जनाउन सक्षम छन्। स्मार्त सम्प्रदायका अनुयायीहरू आदि शङ्ककराचार्यलाई भगवान् शिवको अवतार मान्दछन्। भगवद्पादाचार्यका अभिधाद्वारा पनि सम्बोधन गरिने 'आदि शङ्कराचार्य'लाई वेदान्त दर्शनअन्तर्गत 'अद्वैतवाद'का प्रणेता मानिन्छ। आचार्य शङ्करको जन्म वैशाख शुक्ल पञ्चमी तिथिमा ईश्वीसंवत् ६८८ मा र परमधाम ईश्वीसंवत् ७२० मा भएको तथ्यलाई स्वीकारिन्छ। शङ्कर दिग्विजय, शङ्करविजयविलास,शङ्करजय आदि ग्रन्थमा उनका जीवनतथ्यसँग सम्बद्ध कतिपय प्रमाण उपलब्ध हुन्छन्। दक्षिण भारतको केरल राज्य (तत्कालीन मालाबार प्रान्त) मा आद्य शङ्कराचार्यको जन्म भएको हो। उनका पिता शिवगुरु तैत्तिरीय शाखाका यजुर्वेदी ब्राह्मण थिए। सनातन आर्य परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतार मानिन्छ। आठ वर्षको उमेरमा आचार्य गोविन्दपादको शिष्यत्व ग्रहण गरी सन्यासी हुनु, सेतुबन्धबाट वाराणसी हुँदै बद्रिकाश्रमसम्मको पैदल यात्रा गर्नु, सोह्र वर्षको उमेरमा बद्रीकाश्रममा पुगी त्यहीं वेदान्त दर्शनमा आधारित ग्रन्थ 'ब्रह्मसूत्र'को भाष्य लेख्नु, समस्त भारतवर्षको भ्रमण गरी अद्वैत वेदान्त दर्शनको प्रचारप्रसार गर्नु, माहिष्मती नगरी(दरभङ्गा)मा गई मण्डनमिश्रलाई शास्त्रार्थमा पराजित गरी वेदान्तको दीक्षा दिनु र मण्डन मिश्रलाई सन्यास आश्रममा पुर्याउन प्रेरणा प्रदान गर्नु, भारतवर्षमा प्रचलित तत्कालीन कुरीतिहरू हटाउन समभावदर्शी धर्मको स्थापना गर्नु, ईश, केन, कठ, प्रश्न, मुण्डक, मांडूक्य, ऐतरेय, तैत्तिरीय, बृहदारण्यक र छान्दोग्योपनिषद् जस्ता जटिल उपनिषद्उपर भाष्य लेख्नु र भारतवर्षमा राष्ट्रिय एकता अखण्डता एवं सांस्कृतिक अखण्डताको स्थापना गर्नु उनको अलौकिक व्यक्तित्वका परिचायक तथ्य हुन्। उनको जीवनयात्रालाई लक्षित गर्दै रचिएको एउटा श्लोकमा भनिएको छ -

अष्टवर्षेचतुर्वेदी, द्वादशेसर्वशास्त्रवित् ॥ षोडशेकृतवान्भाष्यं द्वात्रिंशेमुनिरभ्यगात् ॥

अर्थात् आठ वर्षको आयुमा चारवटै वेदमा निष्णात भए, बाह्र वर्षको आयुमा समस्त शास्त्रमा पारङ्गत भए, सोह्र वर्षको आयुमा शाङ्करभाष्य लेखे र बत्तीस वर्षको आयुमा शरीर त्यागे।

मानवताका ज्योतिर्मय सूर्य जगद्गुरु शङ्कराचार्य केवल सात वर्षको उमेरमा नै सन्यासी भएका थिए। गुरुकुलको कडा नियमलाई पालना गर्दै भिक्षा माग्ने उद्देश्यले उनी एक जना ब्राह्मणको घरमा गए। ती ब्राह्मणको घरमा भिक्षा दिनका निम्ति अन्नको एउटा गेडो पनि उपलब्ध थिएन। ब्राह्मणकी पत्नीले ती सन्यासी बालकका हातमा एउटा अमलाको दानो राखेर रुँदै आफ्नो परिवारमा अवस्थित गरिबी, विपन्नता र आर्थिक मन्दीका बारेमा बताईन्। त्यस परिवारको दयनीय अवस्था देखेर ती प्रेम र दयाका प्रतिमूर्ति बालक सन्यासीको हृदय द्रवित हुनपुग्यो। उनले तुरुन्त अत्यन्त आर्तपुकारा गरी जगज्जननी माता लक्ष्मीको स्तोत्र रचना गरे र करुणामूर्ति माता लक्ष्मीलाई त्यस निर्धन ब्राह्मण परिवारमा अवस्थित विपदा हरण गर्न स्तुतिप्रार्थना गर्न थाले। बालयोगीको प्रार्थनाबाट सन्तुष्ट भएकी महालक्ष्मीले ती परम निर्धन ब्राह्मणका घरमा अमलाकै आकारका सुनका दाना बर्साउन थालिन्। यसरी जगज्जननी महालक्ष्मीलाई प्रसन्न तुल्याएर त्यस ब्राह्मण परिवारको दरिद्रता हरण गर्न समर्थ दक्षिण भारतको 'कालाडी' नामको गाउँमा जन्मिएका ती बालयोगी सन्यासीको नाम नै शङ्कर थियो र जीवनको उत्तरार्द्धमा ती ‘जगद्गुरु शङ्कराचार्य’का नामबाट प्रख्यात भए। ती महाज्ञानी शक्तिपुञ्ज बालकका रूपमा स्वयं भगवान् शङ्कर यस धराधाममा अवतीर्ण भएका हुन्। यिनका पिता शिवगुरु नामपुद्रिको विवाह भएको धेरै वर्षसम्म कुनै सन्तान नजन्मिएकाले उनले आफ्नी पत्नी विशिष्टादेवीसँगै पुत्र प्राप्तिका उद्देश्यले लामो समयसम्म चन्द्रमौली भगवान् शङ्करको कठिन र कष्टकर आराधना गरे। अन्तत: भगवान् शङ्कर प्रसन्न भए र उनले ती दम्पतिलाई स्वप्नमा दर्शन दिई वरदान माग्न आग्रह गरे। शिवगुरुले आफ्ना ईष्टगुरुसँग एउटा दीर्घायु र सर्वज्ञ पुत्रको याचना गरे। आफ्ना भक्तको याचना सुनेर भगवान् शङ्करले भने - ‘वत्स, दीर्घायु पुत्र सर्वज्ञ हुनसक्दैन अनि सर्वज्ञ पुत्र दीर्घायु हुन सक्दैन। भन तिमी दीर्घायु र सर्वज्ञमध्ये कुन पक्षलाई रोज्छौ?’ त्यसपछि धर्मप्राण शास्त्रसेवी शिवगुरुले दीर्घायु नभए पनि सर्वज्ञ पुत्र प्रदान गर्न आग्रह गरे। भगवान् शिवले फेरि भने- ‘वत्स तिमीले सर्वज्ञ पुत्र प्राप्त गर्नेछौ, म स्वयं पुत्रका रूपमा तिम्रो कोखबाट अवतीर्ण हुनेछु।’

केही समयपछि ईश्वीसंवत् ६८८ को वैशाख महिनाको शुक्लपक्षको पञ्चमी तिथि (केही विद्वानहरूको मतमा अक्षय तृतीया) का दिन मध्याह्नकालमा शिवगुरुकी धर्मपत्नी विशिष्टादेवीले परम प्रकाशस्वरूप, अत्यन्त सुन्दर, दिव्य कान्तिले युक्त बालक जन्माईन्। दैवज्ञ ब्राह्मणहरूले त्यस नवजात शिशुको टाउकोमा चक्राकृति चिह्न, निधारमा नेत्राकृति चिह्न र काँधमा शूलको चिह्न अङ्कित भएको देखेर त्यस्तो विशिष्ट लक्षण भगवान् शिवमा मात्र हुनसक्ने ठानी ती शिशुको नाम ‘शङ्कर’ राखी दिए। तिनै शङ्कराचार्यलाई श्रद्धासुमन समर्पण गर्न प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन 'श्री शंकराचार्य जयन्ती' का रूपमा मनाउने प्रचलन छ। जुन समयमा जगद्गुरु शंकराचार्यको आविर्भाव भएको थियो, त्यस समय नेपाललगायत समस्त भारतवर्षमा वैदिक धर्मको स्थिति कमजोर थियो, मानवतालाई सबैले बिर्सन लागेका थिए र अधार्मिक कृयाकलापले प्रश्रय पाउन लागेको अवस्था थियो। यस्तो कठिन समयमा आचार्य शङ्कर मानव धर्मका ज्वाज्वल्यमान सूर्य झैं तेजस्वी भई प्रकाश स्तम्भका रूपमा प्रकट भएका हुन्। केवल ३२ वर्षको जीवनकालमा उनले सनातन धर्मलाई एउटा यस्तो ओजस्वी शक्ति प्रदान गरे जसबाट सनातन धर्मले त्राण पायो। शङ्कराचार्यको मातृभाषा 'मलयालम' थियो र तीन वर्षको सानै उमेरमा उनी आफ्नो भाषामा सटीक, शुद्ध र स्पष्ट बोलचाल गर्नसक्ने भएका थिए। तर उनका पिता शिवगुरु छोरोले देववाणी संस्कृतको पूर्ण ज्ञान प्राप्त गरेको देख्न चाहन्थे। उनको त्यो इच्छा आफ्नो जीवनकालमा पूर्ण हुन सकेन। शङ्कराचार्य पाँच वर्ष पुग्नुअघि नै यिनका पिताको अकालमा नै मृत्यु भयो र शङ्करले आफ्नो शिरबाट पिताको वात्सल्य र छत्रछाया गुमाउनु पर्यो। उनको लालनपालन र जिम्मेबारीका समस्त बोझ आमा विशिष्टादेवीले वहन गर्नु पर्यो। तिनले पुत्रलाई पालनपोषण गर्न र संस्कारयुक्त बनाउन कुनै कमी हुन दिइनन्। पाँच वर्षकै कलिलो उमेरमा यिनको उपनयन संस्कार अर्थात व्रतबन्ध सम्पन्न भयो र त्यसपछि यिनलाई शास्त्राध्ययनका निमित्त गुरुकुलमा पठाइयो। यिनी सानैदेखि प्रतिभासम्पन्न बालक थिए। यिनको अद्भूत प्रतिभा देखेर यिनका गुरुहरू पनि छक्क पर्थे। अप्रतिम प्रतिभाका धनी श्रुतिधर बालक शङ्करले गुरुकुलमा भर्ना भएको दुई वर्षको अवधि व्यतीत गर्न नपाउँदै वेद, पुराण, उपनिषद्, रामायण, महाभारत आदि ग्रन्थ कण्ठ पारी सकेका थिए। त्यसपछि गुरुबाट दीक्षान्त प्राप्त गरी यिनी घर फर्किए र आफ्नी ममतामयी आमाको सेवासुश्रुषा गर्न थाले। उनको मातृभक्ति र सेवाभावनाको वर्णन गर्ने क्रममा एउटा जनश्रुति प्रचलित छ। भनिन्छ, आमाले नित्य स्नान गर्न दैनिक दुई कोस टाढा रहेको आलवाई (पूर्णा गङ्गा) नदीमा पुग्नु पर्थ्यो। आमाले स्नानादिबाट निवृत्त हुन सधैंसधैं लामो दूरीको यात्रा गर्नु परेको र आफु बालकै भएकाले पानी ढुवानी गर्ने सामर्थ्यसमेत नभएर उनले गङ्गाको स्तुति गरे। बालकको स्तुतिबाट प्रसन्न भई उनको गाउँबाट धेरै टाढा बग्ने त्यो आलवाई (पूर्णा) नदीले आफ्नो बाटो नै बदल्नु पर्यो र बालक शङ्करकै गाउँलाई बाटो स्वीकार्नु पर्यो। यसरी यिनले आफ्नो भक्ति र योगबलका माध्यमले आफ्नी आमाको दैनिक स्नानादिमा सरलता प्रदान गरे। छोरो ठूलो हुँदै गएको अवस्थामा आमा विशिष्टादेवीले शङ्करचार्यको विवाह गर्ने योजना बनाईन्। तर बालक शङ्कर गृहस्थीको झन्झटबाट टाढै बस्न चाहन्थे। एकजना ज्योतिषीले उनको जन्मकुण्डलीको विवेचना गर्दै बालक शङ्करको अल्पायुमा नै मृत्यु हुने बताएका थिए। यस्तो बुझेर आचार्य शङ्करले आफू सन्यासी हुने र लोकसेवामा जुट्ने सङ्कल्प गरे। अन्तत: सन्यास ग्रहण गर्ने उद्देश्यले उनले आमासँग विदा मागे, फलस्वरूप उनले सात वर्षको कलिलो उमेरमा नै सन्यास ग्रहण गरे र त्यसपछि जीवनको उच्चतम लक्ष्य प्राप्त गर्ने उद्देश्यले घर छाडे।

उनी केरल प्रदेशबाट लामो पदयात्रा गर्दै नर्मदा नदीको किनारामा अवस्थित ओमकारनाथ पुगे। उनले त्यहाँ गोविंदपाद नाम गरेका गुरुसँग योग शिक्षा तथा अद्वैत ब्रह्मको ज्ञानार्जन गरे। तीन वर्षको अवधिसम्म आचार्य शङ्करले अद्वैत तत्त्वको साधना गरे। त्यसपछि गुरुको आज्ञामुताबिक उनी वाराणसी(काशी)मा अवस्थित भगवान् विश्वनाथको दर्शन गर्ने उद्देश्यले त्यहाँबाट हिंडे। काशी जाने क्रममा बाटोमा उनको एउटा चाण्डालसित जम्काभेट भयो। चाण्डाल बाटो छेकेर हिंड्दै थियो। त्यसको प्रवृत्ति देखेर शङ्करले रिसाउँदै बाटो छाड्न आदेश दिए। शङ्कराचार्यलाई क्रोधित देखेर चाण्डालले उनलाई विनम्रतापूर्वक भन्यो - ‘हे मुनि! हजुरले मलाई हप्काएर प्रत्येक शरीरमा उपस्थित हुनुहुने परमात्मालाई उपेक्षा गर्नुभएको छ, त्यसैले हजुरमा ब्राह्मणत्व देखिएन, हजुर त अब्राह्मण हुनुहुँदो रहेछ। त्यसैले हजुरले पो मलाई बाटो दिनुपर्यो।’ चाण्डालका मुखबाट त्यस्ता देववाणी सुनेपछि आचार्य शङ्करले अति प्रभावित भई उसलाई भने -‘तपाईंले मलाई ज्ञान प्रदान गर्नुभएको छ, त्यसैले मेरो शिष्यत्व स्वीकार गर्नुहोस्।' यति भनेर शङ्कराचार्यले साष्टाङ्ग प्रणाम गर्नासाथ त्यो चाण्डाल अलप भयो र त्यसका ठाउँमा भगवान् शिव प्रकट भई शङ्कराचार्यलाई दर्शन दिए। काशीमा केही दिन बिताएपछि शङ्कराचार्य आचार्य मण्डन मिश्रको दर्शनार्थ माहिष्मती नगरी गए। आचार्य मिश्रका पालेका मैनाले पनि वेदका मन्त्रको उच्चारण गर्ने गर्दथे। अचार्य मिश्रकै घरमा बस्दा ती दुबैका बीचमा शास्त्रार्थ चल्ने गर्दथ्यो। एकपल्ट आचार्य शङ्करले तिनलाई शास्त्रार्थमा जिते। आफ्ना पतिले शास्त्रार्थमा हर्दै गरेको देखेर मिश्रकी पत्नीले शङ्कराचार्यलाई सम्बोधन गर्दै भनिन् - ‘महात्मन्! अहिले हजुरले मेरा पतिको आधा अङ्गलाई मात्र जित्नुभएको छ, आफ्ना तर्क र युक्तिका बलले मलाई पराजित बनाउनु भयो भने हजुर विजयी हुनु हुनेछ।।’ यति भनेर मिश्रकी पत्नी भारतीले कामशास्त्रमा आधारित प्रश्नहरू तेर्स्याउन थालिन्। तर शन्ङ्कराचार्य त आबाल ब्रह्मचारी थिए, त्यसैले उनमा कामशास्त्रसम्बद्ध ज्ञानको कमी थियो। उनले आफ्नो अज्ञानतालाई स्वीकार गरे र ती प्रश्नको उत्तर दिन केही समय लाग्ने बताए। त्यसपछि उनले सूक्ष्म रूप धारण गरी परशरीरमा प्रवेश गरी विषय र वासनासम्बद्ध समस्त जानकारी प्राप्त गरे। अनि आचार्य शङ्करले भारतीलाई पनि शास्त्रार्थमा जिते। काशीमा बसोबास गरेकै समयमा उनले ठूलठूला ज्ञानी, विद्वान् र पण्डितहरूलाई शास्त्रार्थमा हराउने काम गरे र 'गुरु' पदमा प्रतिष्ठित भए। अनेकानेक शिष्यहरूले उनीसित दीक्षा ग्रहण गरे। त्यसपछि आचार्य शङ्कर धर्मप्रचार गर्नथाले। उनले वेदान्तका जटिलताहरूलाई फुकाउँदै अनेकौं ग्रन्थहरूको रचनासमेत गरे। अद्वैत ब्रह्मवादी आचार्य शङ्कर केवल निर्विशेष ब्रह्मलाई मात्र सत्य मान्दथे र ब्रह्मज्ञानमा निमग्न हुने गर्दथे। एकपटक उनी ब्रह्ममुहूर्तको समयमा आफ्ना शिष्यमण्दलीका साथमा एउटा साँघुरो गल्लीको बाटो गङ्गास्नान गर्न वाराणसीस्थित मणिकर्णिका घाट जाँदै थिए। बीच बाटोमा एउटी युवती आफ्नो मृत पतिको टाउको काखमा राखी विलाप गरेर बसेकी थिई। आचार्य शङ्करका शिष्यहरूले त्यस स्त्रीसित मृत शव हटाएर बाटो दिन अनुरोध गरे, तर तिनको अनुरोधलाई नसुने झैं गरी ऊ रोइकराइ गरिरही। त्यसपछि स्वयं आचार्यले त्यो शव बाटोबाट हटाउन अनुरोध गरे। आचार्यको त्यस्तो आग्रह सुनेपछि त्यस स्त्रीले भनी - ‘हे संन्यासी! हजुर मलाई बारम्बार यो लाश हटाऊ भन्नुहुन्छ, यो लाशलाई नै बाटो छाड् भनेर आदेश चाहिं किन दिनुहुन्न। युवतीका कुरा सुनेर आचार्य शङ्करले फेरि भने - ‘हे देवी! तपाईंले शोकका कारण यो लाशमा आफैं बाटो छाड्ने शक्ति छैन भन्ने चेतनासमेत गुमाउनु भएछ।' आचार्यको बोली भुइँमा खस्न नपाउँदै तुरुन्त ती महिलाले प्रतिप्रश्न गरिहालिन् - ‘महात्मन् हजुरको दृष्टिमा त शक्तिबाट निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो, त्यसो हो भने शक्तिविना नै यो लाश किन हट्न सक्दैन त?’ त्यस आइमाईका गम्भीर, ज्ञानमय र रहस्यपूर्ण वाक्य सुनेर आचार्य त्यहीं थचक्क बसे र समाधिस्थ भए। उनले अन्त:चक्षुमा के देखे भने सर्वत्र आद्याशक्ति महामायाले लीलाविलाप गरेर बसेकी छन्। उनको हृदय अनिवर्चनीय आनन्दबाट भरियो र उनको मुखबाट मातृवन्दनाका शब्दमयी धारा स्तोत्रका रूपमा प्रस्फुटन हुन थाले। जीवन भोगाइ र अनुभूतिको वेगमा खारिंदै अब आचार्य शंकर यस्ता महासागर बन्नपुगे, जसमा अद्वैतवाद, शुद्धाद्वैतवाद, विशिष्टाद्वैतवाद, निर्गुण ब्रह्म ज्ञान आदि समस्त सिद्धान्तहरू डगमगाउन थाले। ती मतका अनुयायीहरू ज्ञानको अद्वैत भूमिमा जुन परमात्मा निर्गुण निराकार ब्रह्म छन्, तिनै ईश्वर द्वैतभूमिमा सगुण साकार परमात्माका रूपमा छन् भनेर मान्न बाध्य भए। तिनीहरूले ब्रह्मका निर्गुण र सगुण दुबै स्वरूपलाई समर्थन त गरे नै, साथै निर्गुण ब्रह्मसम्म पुग्नका लागि सगुण ब्रह्मको उपासनालाई अपरिहार्य माने, अनि ज्ञान र भक्तिको मिलन भूमिमा अद्वैत ज्ञान नै समस्त साधनाहरूको परम उपलब्धी हो भन्ने अनुभूति समेत गरे। आचार्य शङ्करले ‘ब्रह्म सत्यं जगन्मिथ्या’को उद्घोष पनि गरे र शिव, पार्वती, गणेश, विष्णु आदिका भक्तिरसले परिपाक प्राप्त गरेका सुमधुर स्तोत्रहरूको रचना समेत गरे, साथै उनैद्वारा ‘सौन्दर्य लहरी’, ‘विवेक चूडामणि’ आदि श्रेष्ठतम ग्रन्थको सिर्जना पनि भयो अनि 'प्रस्थानत्रयी' को भाष्य पनि लेखियो। आफ्ना अकाट्य तर्कद्वारा शैव, शाक्त र वैष्णव मतको द्वन्द्वलाई समापन गरे। पञ्चदेवोपासना(पाञ्चायन देवताको आराधना) गर्ने परिपाटिको विकास गरे। उनले सेतुबन्धदेखि हिमालयसम्मको सम्पूर्ण भारतवर्षको यात्रा गरे र चारवटा मुख्यमुख्य मठ (दक्षिण भारतको श्रृङ्गेरीशङ्कराचार्यपीठ, पूर्व भारत (उडीसा) को जगन्नाथपुरीस्थित गोवर्द्धनपीठ, पश्चिम भारतको द्वारिकास्थित शारदामठ र उत्तराखण्डको बद्रिकाश्रममा अवस्थित ज्योतिर्पीठ) को स्थापना गरेर समस्त आर्यावर्तलाई सांस्कृतिक, धार्मिक, दार्शनिक, आध्यात्मिक एवं भौगोलिक एकताको अविच्छिन्न सूत्रमा निबद्ध गरे। उनले समस्त मानव जातिलाई जीवन्मुक्तिको एउटा महत्त्वपूर्ण सूत्र प्रदान गरे -

‘दुर्जन: सज्जनो भूयात् सज्जन: शान्तिमाप्नुयात्। शान्तो मुच्येत बंधेभ्यो मुक्त: चान्यान् विमोचयेत्॥’

अर्थात् दुर्जन सज्जन बनून्, सज्जनले शान्ति प्राप्त गरून्, शान्तजनहरू बन्धनबाट मुक्त होऊन् र मुक्तजनले अन्य व्यक्तिहरूलाई मुक्त तुल्याऊन्।

आफ्नो विशिष्ट प्रयोजन पूर्ण भएपछि तेतीस वर्षको अल्पायुत्वमा नै उनी यस नश्वर शरीरलाई त्यागेर जीवनमुक्त भएर गए।

ब्रह्मसूत्रको शाङ्कर भाष्य रचना गरेर विश्वलाई एउटा सूत्रमा बाँध्ने प्रयास पनि शङ्कराचार्यले नै गरेका हुन्, जुन सर्वसाधारण मनुष्यबाट असम्भव थियो। हामी शङ्कराचार्यको दार्शनिक सिद्धान्तमा सगुण र निर्गुण दुबै ब्रह्मको अनुभूति एकै पटक गर्न सक्दछौं। उनका मतमा निर्गुण ब्रह्म निराकार ईश्वर हुन् र सगुण ब्रह्म भनेका साकार ईश्वर हुन्। जीवलाई उनी अज्ञानस्वरूप र व्यष्टिको उपाधि प्रदान गर्दछन्। तत्त्वमसि अर्थात् तिमी नै ब्रह्म हौ, अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो यी बृहदारण्यकोपनिषद तथा छान्दोग्योपनिषदमा उल्लिखित वाक्यद्वारा यस जीवात्मालाई निराकार ब्रह्मभन्दा अभिन्न स्थापना गर्ने प्रयत्न शङ्कराचार्यले नै गरेका हुन्। ब्रह्मलाई जगतको उत्पत्ति, स्थिति र प्रलयका निमित्त कारण बताइएको छ। ब्रह्म (सत्) त्रिकालाबाधित नित्य, चैतन्यस्वरूप तथा आनन्दस्वरूप छ भन्ने कुरालाई शङ्कराचार्यले स्वीकार गरेका छन्। जगतको स्वरूपलाई बताउँदै उनी भन्दछन् :-

नामरूपाभ्यां व्याकृतस्य अनेककर्तृभोक्तृसंयुक्तस्य प्रतिनियतदेशकालनिमित्तक्रियाफलाश्रयस्य मनसाऽप्यचिन्त्यरचनारूपस्य जन्मस्थितिभङ्गयतः ( अर्थात् नाम र रूपबाट व्याकृत, अनेकौं कर्ता एवं भोक्ताद्वारा संयुक्त, जसमा देश, काल, निमित्त र क्रियाफल समेत आबद्ध छन्, जुन जगतको सृष्टिलाई मनले पनि कल्पना गर्न सकिंदैन, त्यस जगतको उत्पत्ति, स्थिति र प्रलय जसले गर्दछ, त्यसैलाई ब्रह्म भन्दछन्।)

पशुपतिनाथमा[सम्पादन गर्ने]

आफ्ना शिष्यहरुका साथ बङ्गाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शंकरलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर पशुपतिनाथको पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्। यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शंकरलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ । शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले । सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए । केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरे ।

अनन्तको अन्त र निरन्तरता[सम्पादन गर्ने]

नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए । तथापि शिष्यहरुको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे । आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरुले बुझिहाले कि गुरुदेवको ब्रह्म स्वरुपमा लीन हुने समय आइपुगेको छ । उनको आयुका ३२ वर्ष पूरा भइसकेको थियो । यसबाट सम्पूर्ण शिष्यहरु निराश हुन पुगे । एक दिन आचार्यले सबै शिष्यहरुलाई आफ्नो नजीकमा बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो त्यो सकिएको छ । मेरो प्रस्थान पछि तिमीहरुले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । अहं ब्रह्मास्मि यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ ।[१]

सम्पूर्ण जगतका जीवलाई ब्रह्मका रूपमा स्वीकार गर्नु र तर्कद्वारा त्यसलाई प्रमाणित गर्नु आदि शङ्कराचार्यका विशेषता हुन्। यसरी शङ्कराचार्यको व्यक्तित्व र कृतित्वको मूल्याङ्कनबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने समस्त सनातन धर्मलाई एउटै सूत्रमा उनेर एकताबद्ध बनाएर उनले आर्यावर्तवासीलाई ठूलो गुन लगाए तथा आर्य संस्कृतिको विकासमा उनको अमूल्य योगदान रह्यो। त्यसैले उनी एकजना महान् समन्वयवादी सन्त थिए। उनले सनातन धर्मको निभ्न लागेको दियोलाई बर्तन थपेर पुनः समुज्ज्वल र प्रकाशमय बनाई पुनस्र्थापित र आलोकित तुल्याई प्रतिष्ठित पारे। एकातिर उनले अद्वैत चिन्तनलाई पुनर्जीवित तुल्याई सनातन हिन्दु धर्मको दार्शनिक आधारलाई सुदृढ बनाए भने अर्कातिर उनले सर्वसाधारण जनमानसले पूजा आराधना गर्दै आएको मूर्तिपूजाको औचित्यलाई पुष्टि गर्ने प्रयास समेत गरे। त्यस्तै सनातन हिन्दु धर्मलाई दर्बिलो जगमा खडा गर्न उनले आफूविरोधी सम्प्रदायका तर्क र मतलाई आंशिक रूपमा भए पनि स्वीकार गरे। उदाहरणका लागि शङ्कराचार्यको मायावादमा महायानी बौद्ध चिन्तनको प्रभाव छ भन्ने मान्यता प्राप्त हुन्छ। शङ्कराचार्यको अद्वैत दर्शनको सारतत्त्वलाई यसरी पनि अर्थ्याउन सकिन्छ :-

१. ब्रह्म र जीव मूलतः र तत्त्वतः एउटै हुन्। हामी ब्रह्म र जीवमा जुन अन्तर देख्दछौं त्यसको मुख्य कारण अज्ञानता हो।

२. जीवको मुक्तिका निमित्त ज्ञानको आवश्यकता हुन्छ।

३. ब्रह्ममा लीन हुनु नै जीवको मुक्ति हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्वामी अपूर्वानन्द, अनु. डा. बाबुराम ज्ञवाली, शंकराचार्यको जीवनी, सन् २०१०, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, काठमाडौं, 978-99946-1