जयबहादुर हितान मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

English Language

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

जयबहादुर हितानको जन्म वि.सं. २००२ श्रावण १२ गते (सन् १९४९ जुलाई १७)  वडा नं. १, अरेवा, पौँदी–अमराई गा.वि.स., गुल्मी नेपालमा भएको थियो । पिता जमदार पदमसिङ हितान मगर (एम.सी.) र माता हस्तीकुमारी हितान मगरका ६ भाना छोराछोरीमध्येमा उनी माइला छोरा थिए । उनका जेठा दाजी गङ्गा, साइँला भाइ पूर्ण र कान्छा भाइ रमेश अनि दिदी तुलसी र बैनी भिमी थिए । पिता पदमसिङका दुई धर्मपत्नी हस्तीकुमारी र गौरी थिए । दुइटै आमाले रोगव्याधीका कारण अल्पआयुमै जीवन गुमाउनु पर्दा जयबहादुरले सानैमा टुहुरो हुनुपयो । ४/८ गोर्खा रेजिमेन्टबाट दोश्रो विश्व युद्धमा एम।सी। (मिलिटरी क्रस) बहादुरी कमाएका पिता पदमसिङ बर्षमा दुईपल्ट भारत जाने–आउने गर्थे । उनलाई मे महिनामा पल्टनमा भी।सी। (भिक्टोरिया क्रस) दिवस मनाउन र अगस्ट महिनामा दिल्लीमा भारतको स्वातन्त्र दिवस मनाउन निमन्त्रणा आउँथ्यो । पिताको फिरन्ते जीवन र आमाह?को अल्पायुकै मृत्युले स–साना भाइबहिनीको हेरचाहको जिम्मेवारी जयबहादुरकै काँधमा थियो ।

पहाडको गाउँले परिवेशमा ढुङ्गामाटोसँग खेल्दै हुर्किए जयबहादुर । किशोर अवस्थामा पाइला टेकेपछि गाउँघरको दिनचर्या खेतीपाती, घाँसदाउरा, मेलपात गर्दै मेट्रिक स्तरको पढाई सिध्याएपछि उनी बागलुङ जिल्ला, ग्वालीचौर गाविस, अदुवाबारी गाउँकी प्रेमकुमारीसँग २०२२ सालमा विवाह बन्धनमा बाँधिए । यी दम्पत्तिबाट अरेवा गाउँमै तीन छोराहरू विजय, अजय, र सञ्जयको जन्म भयो ।

Jaybahadur hitan.jpeg

शिक्षा र नोकरी[सम्पादन गर्ने]

त्यो जमानामा मगर समुदायका युवायुवतीमा हलोकोदालो गर्ने, भारी बोक्ने र झाम्रे गिदाउने परिवेश थियो । तथापि पिता पदमसिङ शिक्षाप्रेमी थिए । ‘सन्तानले हलो छोडेर कलम कापी समाउनुपर्छ’ भन्ने पिताजीको मान्यताले जयबहादुरले आफ्नै गाउँकै स्कुलबाट उच्च–प्राथमिक शिक्षा हासिल गरे । त्यसपछि माध्यमिक विद्यालय गाउँमा नभएकोले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बसेर २०२० सालमा मेट्रिक (एसएलसी) उत्तीर्ण गरे । भनिन्छ, पौँदी–अमराई भेगमा म्याट्रिक पास गर्ने उनी पहिलो व्यक्ति थिए । यही शैक्षिक योग्यताले जयबहादुरलाई सर्वोदय उच्च–प्राथमिक विद्यालय, अमराईमा छोटो समयको लागि प्रधानाध्यापक भएर शिक्षण सेवा गर्ने मौका पनि प्राप्त भयो । भाइबैनी हुर्किँदै थिए । उनी पढाउनु अलावा घरमा गाइबस्तु पाल्ने, खेत बारीमा अन्न उब्जाउनुपर्ने जस्ता  दैनिक नित्य कार्यहरूमा पनि सामेल हुन्थे । शिक्षित युवा भएको नाताले गाउँलाई सेवा गर्ने सामाजिक उत्तरदायित्व त छँदै थियो ।

जीवनका पारिवारिक र सामाजिक पक्षमा सन्तुलन कायम गर्दै जयबहादुर २०२३ सालमा लोक सेवाको जाँच दिई भूमिसुधार कार्यालयमा निजामती कर्मचारीको रुपमा प्रवेश गरे । जनजाति समुदायको लाहुर भर्ती हुने परम्परालाई तोड्दै उनी श्री ५ को सरकारको कर्मचारी बनेर दैलेखमा खटिए । त्यसपछि मध्यनेपालका विभिन्न ठाउँहरू प्युठान, बाग्लुङ, पाल्पा, तम्घास र भैरहवामा काम गरे । पढेर विद्वान हुनुपर्छ भन्ने मान्यता राख्थे जयबहादुर । त्यसैले एकातिर दिनभर जागिर गर्थे भने अर्कोतर्फ बिहान, साँझ र सप्ताहान्तमा आफ्नो अध्ययनलाई जारी राख्थे । तदनुसार २०२९ सालमा धौलागिरी महेन्द्र कलेज बागलुङबाट आई।ए। र २०३५ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट राजनीति शास्त्रमा बीए पास गरे । नोकरी छोडेरै भए नि काठमाडौं या त भारतमा गएर उच्च शिक्षा हासिल गर्ने उनको विचार थियो । तर, सुरुमा पारिवारिक गरिबी र पछि राजनीतिक र सामाजिक क्रियाकलापमा संलग्नताले उनको एमए तथा पीएचडी गर्ने सपना भने अधुरै रह्यो । 

खरदार पदमा भूमिसुधारमा जागिरे भएको १२ वर्षसम्म पनि, शैक्षिक योग्यताको बावजुद पदोन्नति नहुँदा २०३६ सालमा जागिरबाट राजिनामा दिनुपरेको तितो सत्य त उनको मनमस्तिष्कमा सधैँ बिजी रह्यो । तर, आई।ए। पास गरेपछि तम्घास र पाल्पामा कायममुकायमा प्रशासन अधिकृत बनेर दुइचार दिन कार्यालय सञ्चालनको अनुभव भने थियो । जनजातिमध्येमा नेवार बाहेक अरु कर्मचारी कार्यालयमा नहुने असमान प्रशासन व्यवस्था देखेर उनी सधैँ चिन्तित बन्थे । उनको नोकरीको दौरानमा लेखिएको दैनिकीको अनुसार उनी प्रायजसो काजमा गाउँगाउँमा खटाइएको पाइन्छ । सधैँ बाहिर फिल्डमा मात्रै काम गर्दा घामपानीले रुझाउने, प्रतिकूल मौसमको सामना गर्नुपर्ने, उकालो ओरालो हिँड्नपर्ने, खानापिना र सुत्नको राम्रो व्यवस्था नमिल्ने हुनाले धेरैचोटि अस्वस्थ बनेको पनि उनको दैनिकी लेखनमा पाइन्छ ।

२०३६ सालमा नोकरी छोडेपछि सामाजिक सेवा र राजनीतिमा खर्लप्पै होमिए जयबहादुर । २०४६ सालमा प्रजातन्त्र आएपछि नेपाली काँग्रेसको शासनकालमा २०४८ सालमा लुम्बिनी विकास कोषको सदस्य बनाइए ।  

साहित्य[सम्पादन गर्ने]

जयबहादुर हितानको जीवनको पूर्वाध, विद्यार्थी जीवनदेखि जागिरकालसम्म साहित्यमा अति नै रुची भएको पाइन्छ । उनले गाउँमा मास्टरी गर्दा स्कुलका कार्यक्रममा नाटक खेल्ने, प्युठान र बागलुङमा छँदा नाटक हेर्ने, खेल्ने र लेख्ने गरेको पाइन्छ । मनोरञ्जनको लागि रामरमिता, चाडपर्वको बेला गाउँघरका ठिटीहरूसँग झाम्रे गीत गाएको पनि उनको दैनिकीमा उल्लेख छ । उनले लेखेका ३६ वटा गीतहरूमध्ये कतिमा झाम्रे भाका पाइन्छ । उनी उपन्यास, कविता र अन्य साहित्यिक रचनाको अध्ययनमा रम्थे । ‘स्वर्गमा भेटिएका भानु, लक्ष्मी, र लेखनाथ’ शिर्षकको उनको लघुकाव्यले उनी यी तीन कविका साहित्यिक कृतिबाट खुबै प्रभावित भएको सङ्केत दिन्छ । साहित्यिक गोष्ठीमा भाग लिने, कवि–महाकविका जन्मदिन र स्मृति दिवसमा कविता वाचन गर्ने उनी कुनै पनि साहित्यिक संस्थासँग आवद्ध रहेको भने जानकारीमा छैन । उनले साहित्यका बिभिन्न विधामा श्रृजना रचे । उनका ४४ वटा कविता, ३६ वटा झाम्रे, गाइने र आधुनिक भाकाका गीत, २ लघुकाव्य, ११ कथा, २ नाटक, र ३ निबन्धका पाण्डुलिपि कापीका पानामा लेखेर छाडेको पाइयो । किताबको रुप दिन नसके पनि साप्ताहिक खबर पत्रिका र मासिक÷त्रैमासिक पत्रिकामा ‘अभागी हितानु उपनाममा उनका सृजना फुटकर प्रकाशित हुने गर्थे । 

पत्रकारिता र लेखन[सम्पादन गर्ने]

जीवनको मध्यान्तर, २०३६ सालमा जागिरबाट अवकास लिएपछि जयबहादुर हितानले स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, र मुखपत्रहरूमा सक्रियरुपमा लेख्ने गरेको पाइन्छ । बुटवल, भैरहवाबाट निस्कने चौतारी, लुम्बिनी, राज्यसत्ता साप्ताहिक तथा राष्ट्रिय स्तरको नेपाल पुकार साप्ताहिकमा पनि उनले समसामयिक राजनीति, जनजाति, भूपू सैनिकका विषयमा कलम चलाए । उनी २०३७ सालतिर पूर्वी नेपालबाट प्रकाशित हुने न्यूलाइट, हलचल र कोङ्पी पत्रिकाको प्रतिनिधि थिए । त्यतिखेर उनले विशेषतः आदिवासी जनजातिका हित र अधिकारका विषयलाई प्रमुखताको साथ लेखे । उनी मगर सङ्गठनको मुखपत्र ‘लाङघाली’ सम्पादन मण्डलभित्रका एक सम्पादक पनि थिए । मगर सङ्घले प्रकाशन गर्ने लाफा, झोराक, ग्याहट जस्ता पत्रिकामा उनी मगर समुदायको इतिहास तथा संस्कार संरक्षण र अधिकारको चेतना फैलाउने विषयमा लेखहरू प्रकाशित गर्थे । साहित्यिक रचनाहरूको कृति पाण्डुलिपिमै सीमित भए पनि २०३७ मा उनको ‘नेपालको गृह नीति र प्रजातन्त्र’ शिर्षकको पुस्तक बुटवलबाट प्रकाशित हुन्छ । कुरोभन्दा काम बढी गर्नुपर्छ भन्ने मान्यताले प्रेरित जयबहादुरको मुखभन्दा हात अगाडि चल्थ्यो । अर्थात् बोली भन्दा उनको कलम बलियो थियो । मञ्चमा भाषणभन्दा पत्रपत्रिकामा उनका विचार बढी पोखिन्थे । लामो समयसम्म निजामती सेवामा रहेर जनताका घर–दैलोमा पुगेका उनी जनताको सुखदुःखसँग परिचित थिए । त्यसैले, उनले आफ्ना लेखमार्फत् तत्कालीन श्री ५ को सरकारले प्रशासनिक सुव्यवस्थापन ल्याउनुपर्ने, सरकारी निकायमा समावेशी आधारमा जातीय सहभागिता कायम गरिनुपर्ने र त्यसो गरे मात्र राष्ट्रको सर्वाङ्गिण विकास हुने विचारहरू निरन्तर प्रवाह गरिरहे ।

राजनीतिक सेवा[सम्पादन गर्ने]

जयबहादुर हितानले विद्यार्थी कालमै लेनिन, माओ र कार्लमाक्र्सका दर्शन÷सिद्धान्तका किताब अध्ययन गरेको देखिन्छ । यसरी वामपन्थी विचारमा झुकाव राख्ने उनले सरकारी जागिरे भएपछि भने पञ्चायती विचारधाराका मतियार प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य, जिल्ला सभापति, अन्चलाधिससँग नजिक रहेर काम गर्नुपर्छ । त्यतिखेर उनले पञ्चायतमा लागेर राजनीति गर्ने मनस्थिति पनि बनाएको पाइन्छ । यद्यपि पञ्चायती सरकारको असमानता, राजमुकुटको मात्रै गुणगान र चाप्लुसी, भ्रष्टाचार र एकलौटी नीतिले उनी झनै विकर्षित हुन जान्छन् । बरु, नोकरीका पछिल्ला वर्षहरूमा बी।पी। कोइरालासँग बढी प्रभावित हुनपुग्छन् । विभिन्न पत्रपत्रिका, किताब र विचार गोष्ठीमार्फत बी।पी।को भारत निर्वासन र उनका समाजवादका सिद्धान्त र मेलमिलापको नीतिको अध्ययन गर्ने अवसर पाएपछि उनी नेपाली काँग्रेस पार्टीमा आबद्ध हुन्छन् । 

तीसको दशकको शुरुवातमै उनमा प्रतिपक्षको राजनीति गर्न अचाक्ली रहर भएको तर बहालवाला कर्मचारी हुनुको पीडाबोध देखिन्छ । २०३० सालमा पाल्पामा जागिरे छँदा नै सरकारी नोकारी छोडी सक्रिय राजनीतिमा लाग्नुपर्छ कि भन्ने अमिला अनुभूतिहरू उनको दैनिकीमा पाइन्छ । प्रशासनको आँखा तरेर लुकीलुकी भए पनि धेरैपल्ट भूमिगत राजनीतिक सभासम्मेलनमा उपस्थित भएको समेत देखिन्छ । अन्ततः भैरहवामा सरुवा भएपछि उनी २०३६ सालको चैत्र महिनामा नोकरी छोड्छन्, नेपाली काँग्रेस रुपन्देहीको सदस्यता लिन्छन्, र सक्रिय र खुल्ला राजनीति सुरु गर्छन् । उनले नोकरीबाट राजिनामा दिनुभन्दा एक हप्ता अगाडि मात्र बी।पी। कोइरालाको भैरहवा, बुटवल, नारायणघाटको भ्रमणमा ठूल्ठूला सम्मेलनहरू भएका थिए । ती सबै ठाउँमा उनले बी।पी। लाई पच्छ्याउँदै गए । बल्ल, नारायणघाटमा बी।पी। लाई प्रत्यक्ष भेट्न पाए । उनले त्यहाँ बी।पीलाई आफू छिट्टै नोकरी छोडेर नेपाली काँग्रेसमा लाग्ने प्रतिबद्धता जनाए । त्यतिखेर बी।पी।ले पनि उनीजस्ता उत्साही युवालाई भेट्दा खुशीले गदगद भएर काठमाडांैमा पनि भेट्ने आश्वासन दिएको पाइन्छ ।

जनमत सङ्ग्रह छेका डटेर बहुदलको प्रचारप्रसारमा लागे जयबहादुर । २०३७ साल बैशाख २० गते निर्दल कि बहुदल छान्न जनमत सङ्ग्रह भयो । तर, चुनाव धाँधलीरहित हुनसकेन र अभाग्यवश बहुदलको विजय हुन सकेन । त्यसपछि राजनीतिक पार्टीहरूलाई झनै निगरानी गर्न थालियो । यता जयबहादुरको राजनीतिक सकृयता झनै बढेर गयो । २०३८ मा उनी नेपाली काँग्रेस रुपन्देहीको सहसचिव भए । २०३८ फाल्गुनमा नवलपरासीको गैँडाकोटमा नेपाली काँग्रेसको प्रशिक्षण शिविरमा उनले पहिलोपल्ट खुल्ला रुपमा भाग लिए । जसमा श्रद्धेय नेतागण बी।पी। कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, जमानसिङ गुरुङको उपस्थिति थियो । राजनीतिक विचारको आदानप्रदान र तालिम गर्ने यो उनको पहिलो अनुभव थियो । अब उनी पार्टीको वैचारिक–साङ्गठनिक विकास र पछाडिएका जातजातिलाई समेत राजनीतिमा आकर्षित गर्ने मुख्य ध्येयका साथ राजनीतिक मैदानमा उत्रिए । त्यसपछिको उनको राजनीतिक जीवन निकै पेचिलो सङ्घर्षमा बितेको पाइन्छ । २०४६ सालको प्रजातन्त्र प्राप्तिसम्म आइपुग्दा आमसभा, जुलुस, मेलमिलाप तथा बी।पी। जयन्ती, आमचुनाव बहिष्कार इत्यादि क्रियाकलापमा भाग लिँदा उनले धेरैचोटि जेलनेल, पुलिस र मण्डलेको लाठी चार्ज सामना गर्नुपर्यो । २०३८ बैसाखमा बुटवलबाट पश्चिमतिर आमचुनाव बहिष्कारको प्रचारप्रसारको क्रममा उनी साथी गौतमसँग पक्राउ परी जेल परे । २०३९ पुषमा ने।वि।सं। लुम्बिनी अञ्चलस्तरीय अधिवेशन थियो । तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा उद्घाटन हुनेवाला अधिवेशन शुरु हुनुअघि नै तौलिहवा सी।डी।ओ। प्रशासनको आदेशमा सशस्त्र प्रहरीले लाठी चार्ज गर्यो । महामन्त्री कोइराला र पार्टीका दर्जनौँ कार्यकर्तालगायत हितान पनि लाठी प्रहारले घाइते हुनुपर्यो ।

२०४० श्रावणमा बुटवलमा अर्को घटना भयो । पार्टीले बी।पी। को वार्षिक श्रदाञ्जली सभा आयोजना गर्दै थियो । यसको पम्प्लेटिङ गर्दै हिँड्दा जयबहादुरलाई प्रहरीले समातेर जेलमा हाल्यो । त्यसैगरी २०४० पुषमा मेलमिलाप दिवस मनाउने क्रममा पनि प्रहरीको यातना सहनु पर्यो । २०४० फागुण २० गते रुपन्देहीको केरवानीमा घटेको घटना त उनको जीवनमा अविस्मरणीय थियो । पुष्पानन्द गिरीको घरमा महामन्त्री गिरिजा प्रसाद कोइराला सहित ३०० कार्यकर्ता जम्मा भएर सम्मेलन भैरहेको थियो । अचानक प्रहरी आतङ्क खनियो । प्रहरीको निर्घात पिटाइले पार्टीका हितैसी मित्र यादबनाथ आलोक मारिए भने उनी पनि सख्त घाइते पारिए । २०४२ अषाढमा सत्याग्रहको सिलसिलामा केही साथीहरूको साथ उनी बमकाण्डको छानबिनको लागि फेरि प्रहरी हिरासतमा परे ।  २०४६ को जनआन्दोलनमा नेपाली काँग्रेसको तर्फबाट सक्रिय भूमिका खेल्दाखेल्दै जयबहादुरलाई फाल्गुन महिनामा प्रहरीले समातेर भैरहवा जेल लग्यो । दुई महिनापछि चैतको २६ गते जेलमुक्त भए, जुनदिन राजा वीरेन्द्रद्वारा बहुदलमाथिको प्रतिबन्ध हटाएको घोषणा भयो । स्मरणरहोस्, अर्कोदिन २७ गते राजाले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई अन्तरिम प्रधानमन्त्रीको लागि प्रस्ताव गर्यो, तर सभापति कृष्णप्रसाद भट्टराईलाई बनाउनुपर्छ भनी गणेशमानले नै निबेदन दिए । पार्टीभित्र प्रजातन्त्र र आदिवासी जनजातिको पक्षमा आवाज उठाउने जयबहादुरको लागि यो विषय अवश्यमेय ताजुबलाग्दो थियौ नै । २०४८ मा आमचुनावको घोषणा भयो । पार्टीमा सांसद उम्मेदवारीको टिकट पाउने होडबाजी र तानातान सुरुभयो । जनआन्दोलनमा सक्रिय भाग नलिएकाले समेत नातागोता र चाप्लुसीको भरमा टिकट पाए । यसले आन्दोलनमा जेलनेल, लाठी भेटेका, पार्टीमा तन, मन, धन दिएर काम गरेका जयबहादुरजस्ता सदस्यलाई बज्रपात पर्यो ।

२०४६ सालको आन्दोलनपछि जनजातिका हक र अधिकार दिलाउने नाराको साथ भटाभट राजनीतिक पार्टीहरू खुले । २०४७ सालमा गोरेबहादुर खपाङ्गी मगरको अगुवाइमा राष्ट्रिय जनमुक्ति पार्टी पनि दर्ता भयो, जसमा भू। पू। सैनिक र जनजाति नेताहरूको बर्चस्व थियो । काँग्रेस–एमालेमा काम गर्दै गरेका थुप्रै जनजाति बुज्रुगहरू जनमुक्ति पार्टीमा प्रवेश गरे । जयबहादुरलाई पनि पार्टी परित्याग गरी जनमुक्ति पार्टीमा आउने अनुरोध नआएको होइन । तर, सिद्धान्तमा अडिग र निश्ठावान उनले पार्टी परित्याग गर्नुभन्दा नेपाली काँग्रेसमै रहेर जनजातिका अधिकारको लागि लड्ने बाटो पहिल्याए । यसका प्रमाणहरू उनका लेखहरूमा प्रशस्तै पाइन्छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना र जनमुक्ति जस्ता पार्टीले संसदीय प्रजातन्त्रको हितको लागि नेपाली काँग्रेससित साझेदारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्थे ।

२०४८ सालको आमचुनावमा नेपाली काँग्रेसले बहुमत ल्यायो र गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपाली काँग्रेसको सरकार गठन भयो । जयबहादुरलाई यही बेला सान्त्वनाको लागि लुम्बिनी विकास कोसको सदस्य बनाइयो । बिडम्बना, कोइराला मातहतको सरकारलाई कुर्चीको बाँडफाँड नमिलेर आफ्नै सांसदहरूले अविश्वासको प्रस्ताव ल्याए । हार्ने सम्भावना देखेकाले गिरिजाले प्रधानमन्त्रीको शक्ति प्रयोग गर्दै २०५१ मा मध्यावधि चुनावको घोषणा गरे । परिणामस्वरुप पार्टीमा गुटबन्दी सुरु भयो । गणेशमान, कृष्णप्रसाद, गिरिजाको आ–आफ्नो गुट छुट्टियो । युवा नेताहरू पनि जुर्मुराउन थाले । तर, जयबहादुरले पार्टीमा सन्तुलन ल्याउन पुराना र नयाँ कार्यकर्ताहरूलाई सम्झाउने बुझाउने काम गरे । गिरिजापक्षमा बसेर पार्टी एकता र सङ्गठन विस्तारमा जोड दिँदै उनी घरेलु जिल्ला रुपन्देही र जन्म जिल्ला गुल्मीमा खटिए । टिकट बाँड्ने र चुनावी चहलपहल सुरु भयो । यसपल्ट पनि पैसावाला र चाप्लुसी गर्नेलाई नै सांसदको टिकट दिइयो ।   दुर्भाग्यवश नेपाली काँग्रेसलाई जनताले साथ दिएनन् । कुनै पनि पार्टीको बहुमत आउन सकेन । एमालेको मातहतमा मिलिजुली सरकार बन्यो । आपसी कलह र देश विकासभन्दा पनि अरुको खुट्टा तान्ने प्रवृत्तिले चरम रुप लियो । चुनाव भएर महिनौ बित्दा पनि मन्त्रिमण्डल पूर्ण हुन सकेन । एमालेले पनि लामो समय थाम्न सकेन । तदनुसार २०५२ अषाढमा यसले पनि मध्यावधि चूनावको घोषणा गर्यो । हितानले फेरि त्यसको विरोधमा आफ्ना आवाज लेखहरूमार्फत् घन्काए ।

पार्टीभित्रको गलत संस्कारका विरुद्ध लड्दै उनी नेपाली काँग्रेसमा सक्रिय भइरहे । २०५३ माघमा पार्टी क्रियाशीलता र जनसम्पर्क अभियानमा पार्टीले खटायो । उनी तत्कालीन सांसद शिबराज जोसीसँग गोर्खामा दुई हप्ता भन्दा बढी काम गरे । 

उनी उमेरले वृद्धाअवस्थामा प्रवेश गर्दै थिए । २०१७, २०३६ र २०४६ को राजनीतिक परिवर्तनमा पुराना नेताहरू बीपी कोइराला, गिरिजा प्रसाद कोइराला, गनेशमान सिंह, कृष्ण प्रसाद भट्टराईको अविस्मरणीय देनको सराहना गर्दै पार्टी हाँक्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने, युवालाई शक्ति हस्तान्तरण गरिनुपर्ने उनको मान्यता थियो । यसको उदाहरणको लागि ‘युवा वर्गको उत्तरदायित्व’ र ‘राष्ट्र निर्माणमा युवाहरूलाई आब्हानु भन्ने लेखमा पाइन्छ । ‘रोजगार देऊ या रोटी देऊ, होइन भने कुर्ची छोडिदेऊ’ भनेर उनले युवाहरूलाई समर्थन जनाउँदै आफ्ना लेखमा वृद्ध नेताहरूलाई घोच्थे ।

सामाजिक सेवा[सम्पादन गर्ने]

जयबहादुर हितानले मुख्यतः तीन सामाजिक क्षेत्रमा योगदान पुर्याएको पाइन्छ , 

  1. गाउँले जनतालाई सरकारी अड्डा अदालतको कार्यमा सहयोग, 
  2. मधेसी, दलित, तथा अन्य पिछडिएका जनजातिको हक र अधिकारको लागि आवाज उठाउनु,
  3. मगर समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण, लोपोन्मुख इतिहासको उत्खनन र चेतना जागृतिको कार्य ।

सरकारी कार्यालयले नागरिकलाई निःशुल्क, छरितो र सुलभ सेवा उपलब्ध पुर्याउनुपर्ने कानुनी कर्तव्य रहेता पनि व्यवहारमा त्यस्तो पटक्कै पाइँदैन । नेपालको कर्मचारी तन्त्रमा गाउँले, अनपढ  तथा गरिब जनतालाई ठग्ने, घुस खाने, ढिलासुस्ती गरिदिने प्रवृत्ति व्यापक छ । त्यतिबेला सरकारी निकायमा मधेसी, थारु, दलित तथा जनजातिको पहुँच नै थिएन । यस्ता समस्यालाई मनन गरेर उनी असहाय जनतालाई कानुनी सरसल्लाह दिनुको साथै अड्डा अदालतमा लगेर त्यहाँका हाकिमलाई भनसुन गरी काम बनाइदिन्थे । बुटवल, भैरहवा र गुल्मीका जनताको लागि उनी साँच्चिकै ‘जयु थिए ।

राज्यसत्ताबाट पिछडिएका वर्गलाई पूर्ण अधिकार प्रदान नगरेसम्म नेपालको सर्वाङ्गिण विकास हुन नसक्ने जयबहादुरको ठहर थियो । सङ्गठित नभैकन अधिकार प्राप्ति सम्भव नहुने ठानेर उनले २०३७ सालमा भैरहवामा ‘नेपाल मङ्गोल जनजाति सम्मेलनु भनेर एक बृहत सभा तथा अन्तरक्रिया आयोजना गरे । यसको संयोजक उनी स्वयं थिए भने यसमा सुनसरीका प्रेमसिङ लिम्बू, हाल मङ्गोल नेशनल अर्गनाइजेसनका गोपाल गुरुङ, साथै कोङ्पी हलचल पत्रिकाका सम्पादक घल राईले पनि उनलाई ठूलो मद्दत गरेका थिए । आज, त्यसलाई नै ‘नेपाल आदिवासी जनजाति महासङ्घ’को थालनीको रुपमा लिन सकिन्छ । 

जयबहादुर हितान आदिवासी जनजातिको हक र अधिकारमा जागृति फैलाउने एक अभियानकारी थिए । उनले स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिकामा यी वर्गहरूका हक र अधिकार सुनिश्चित गर्ने बारेमा थुप्रै लेखहरू लेखेर चेतना जगाउने काम गरे । नेपाल आदिवासी जनजाति महासङ्घका तत्कालीन तथा संस्थापक महासचिव सुरेश आलेमगर, परशुराम तमाङ तथा अन्य जनजाति नेताहरूसँग सहकार्य गर्दै र रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै थुप्रै भेला, सम्मेलन र अधिबेसनमा भाग लिए । जयबहादु हितान भूतपूर्व गोर्खा सैनिकहरूको समस्यामा सचेत थिए । आफू लाहुरे नभएता पनि स्थानीय भू।पू। सङ्गठनमा सल्लाहकारको पद सम्हालेर मद्दत पुर्याए । नेपाल भू।पू। सैनिक सङ्गठनका तत्कालीन अध्यक्ष शेरबहादुर गुरुङसँगसँगै बैठकहरूमा सम्मिलित हुँदै भू।पू।को एकता र सङ्गठनात्मक विकासमा वैचारिक सरसल्लाह प्रदान गरे । राजनीतिक पार्टीहरूले भू।पू। लाई ‘चाइँदाको भाँडो नचाइँदाको ठाँडो’ बनाउने प्रवृत्ति सर्बबिदितै छ । यसलाई उन्मूलन पार्न नेपाली काँग्रेस पार्टीमा आवाज उठाउँदै भू।पू। को २००७ र २०१७ सालको क्रान्तिमा रहेको योगदानलाई कदर गरिनुपर्ने विषयमा पत्रपत्रिकामा लेखेर जनचेतना फैलाउने कार्य गरे । जयबहादुर हितानको सबैभन्दा उल्लेखनीय योगदान मगर समुदायलाई रह्यो । मगरहरू नेपाल अधिराज्यभरि छरिएर पिछडिएको अवस्थामा रहेको र सङ्गठित भएर अगाडि बढ्नुपर्ने एक परिकल्पनाकार थिए उनी ।   नेपाल लाङघाली परिवार, जो पछि गएर ‘नेपाल मगर सङ्घ’मा परिणत भयो । त्यसको स्थापनाको लागि बुद्धिजीवी मगरहरूसँग समन्वय तथा परामर्श उनैले अगाडि बढाएका थिए । २०२८, २०२९ सालतिर पाल्पाका तत्कालीन सभापति दुर्गाबहादुर रानामगर र बुटवलको मङ्गलापुरमा बस्नुहुने राजपरिषद् सदस्य कविराज पुनमगरसँग उनीहरूकै निवासस्थानमा गई लाङ्घाली परिवारको स्थापनाको बारेमा छलफल गरे । २०३० सालमा काठमाडौं गएर तत्कालीन कर्णेल श्रीप्रसाद बुढाथोकीमगर र मानानीय भिमबहादुर बुढाथोकीमगरसँग लाङ्घाली परिवार गठनको सन्दर्भमा वार्तालाप चलाए । २०३१ मा पाल्पामा मगर विद्यार्थी तथा अन्य बुद्धिजीवीहरूलाई एक जलपान कार्यक्रममा भेला गरेर मगरहरूलाई एकताको सूत्रमा बाँध्न अन्तरक्रिया आयोजना गरे । जयबहादुर हितानले २०३२ सालमा भैरहवा सरुवा भएपछि लाङघाली परिवार स्थापनाको जग बसाल्न गृहकार्य तथा पूर्वतयारीलाई द्रूत गतिले अगाडि बढाएको देखिन्छ । भैरहवा निवासी शेरजङ थापामगर, बूँद रानामगर, अमरबहादुर थापामगर आदि मगर बुज्रुकहरूसँग क्रमिक कोठे छलफल चलाए, जतिबेला जातीय सङ्गठनका बारेमा कुरा गर्दा नै सरकारले साम्प्रदायिकताको आक्षेप लगाएर कानुनी कारबाही गर्थ्यो । यद्यपि आफू सरकारी जागिरे भइकन पनि जातीय सङ्गठनको आवश्यकता अपरिहार्य देखेर २०३२ असार महिनामा ‘कानुङ लाङ्घाली मगराती भाषा’ को नामले एक संस्थाको गठन गर्नमा उनले ठूलो भूमिका निभाए । उनी पर्दापछाडि बसे । उक्त संस्थामा अमरबहादुर थापामगर अध्यक्ष र बूँद रानामगर उपाध्यक्ष सहितको एउटा कार्यसमिती गठन भयो । कानुनको ज्ञाता भएकोले उनैले संस्थाको विधानसमेत लेखिदिए ।

जयबहादुर हितानलाई समाजसेवामा अति नै रुची थियो तर सरकारी जागिरे भएकोले त्यो स्वतन्त्रता थिएन । जब जागिरबाट राजिनामा दिए तब राजनीति र समाजसेवामा हाराहारीमै काम गरे । २०३७ सालमा बाबुराम रानामगरसँग मिलेर मगरहरूको हरेक बस्तीमा ‘मगर सुधार समिती’ गठनको परिकल्पना गर्दै २० सूत्रीय कार्यक्रम ल्याए । जसअन्तर्गत् मगरहरूले सामाजिक, साँस्कृतिक, धार्मिक कार्यमा आर्थिक मितव्ययिता अङ्गाल्नुपर्ने, जाँड–रक्सीको सेवन घटाउनुपर्ने, मगर भेष, भाषा संस्कृतिको जगेर्ना र इतिहासको उत्खनन्मा जोड दिनुपर्ने, सामाजिक कोष खडा गरी एकापसमा आर्थिक सहयोग आदानप्रदान गर्ने जस्ता विषयबस्तु समावेश थिए । यस अभियानलाई मगरहरूका आँगनआँगनमा पुर्याएर कार्यन्वयन गराउन उनले त्यसपछिका समय खर्चिए । यिनै प्राथमिकताहरू पछि गएर नेपाल मगर सङ्घको विधानमा अभिन्न अङ्ग बन्न पुगे ।

‘कानुङ लाङ्घाली मगराती भाषा’ लाई २०३७ मा ‘कानुङ लाङ्घाली परिवार, रुपन्देही’ नामाकरण गरियो । जयबहादुर हितान यसको सचिव भए । उनले अध्यक्ष बाबुराम रानामगर, कोषध्यक्ष मनवीर गर्बुजामगर इत्यादिसँग सहकार्य गर्दै लाङ्घाली परिवारलाई अगाडि बढाए । २०३८ सालमा बुटवलमा मगरहरूको पहिलो ऐतिहासिक राष्ट्रिय भेला भयो । यसैले नेपाल लाङ्घाली परिवार सङ्घ तदर्थ समिती गठन गर्योे । यसमा स्वभावैले उनले प्रमुख भूमिका निभाए ।

२०३९ मा नेपाल लाङ्घाली परिवार सङ्घ बिधिवत स्थापना भयो । यसको लगातार तीन कार्यकाल सचिव भएर उनी सङ्गठन बिस्तारमा खटिए । हेमबहादुर पुनमगर, सुरेश आलेमगर, एम।एस। थापामगर, गोरेबहादुर खपाङ्गीमगर, दिलिपसिङ आलेमगर, दुर्गाबहादुर रानामगर, बाबुराम रानामगर, मनवीर गर्बुजामगर, यामबहादुर बुढाथोकीमगर, केशरजङ बरालमगर, डा। हर्र्षबहादुर बुढामगर जस्ता राष्ट्रिय स्तरका मगर अग्रजहरूसँग हातेमालो गर्दै उनले आफ्नो समाज उत्थानको लागि तन, मन, धन अर्पिए ।

जयबहादुर हितानले २०४० सालयता जिल्लास्तरीय मगर सङ्गठनहरू खोल्न विशेष भूमिका निभाएका थिए । नयाँ पुस्ता र शिक्षित युवा मगरलाई सम्मिलित नगराए सामाजिक आन्दोलन दिगो नरहने देखेर यस्तो सङ्गठन विद्यार्थीमा विस्तार गरिनु पर्छ भनी कार्यसमितिमा प्रस्ताव ल्याए । फलस्वरुप नेपाल अधिराज्यका क्याम्पस र विश्वविद्यालयमा मगर विद्यार्थी सङ्गठन खोलिन थालिए । उनीस्वयम्ले मध्य–पशिमाञ्चल क्षेत्रमा यस कार्यलाई अगुवाइ गरे । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, दाङ इत्यादि जिल्लाका क्याम्पसमा अध्ययनरत मगर विद्यार्थीसँग समन्वय गरी आफू प्रत्यक्ष ती क्याम्पसहरूमा उपस्थित भएर धमाधाम मगर विद्यार्थी सङ्गठनको स्थापना गरिदिए । त्यसैले आजको ६०–६५ जिल्लाका ५०० भन्दा बढी क्याम्पस तथा विश्वविद्यालयमा स्थापित नेपाल मगर विद्यार्थी सङ्गठनहरू हितानकै दूरदर्शिताको उपज मानिन्छ ।

नेपालमा मगरहरूको गौरवपूर्ण इतिहास र संस्कृति रहेको तर लुप्त र उन्मूलन हुन गैरहेको अवस्था थियो । यसको खोजी र संवर्धन अत्यावश्यक थियो । त्यसैले, २०४५ सालमा जयबहादुर हितानकै निर्देशनमा ‘मगर संस्कृति तथा इतिहास परिषद्’ गठन भयो ।  यसको अध्यक्षको कार्यभार पनि आफैले सम्हाले । त्यसै बर्ष केशरजङ बरालको अध्यक्षतामा ‘मगर भाषा तथा लिपी परिषद्’ पनि गठन गरियो । यसैक्रममा उनले मगरको इतिहास लेख्ने कार्यमा थुप्रै किताबहरू अध्ययन, मगर समुदाय बसोबास गर्ने ठाउँहरू स्थलगत भ्रमण्, बूढापाकाबाट किंवदन्ती र विभिन्न सूचनाहरू सङ्कलन गरे । तर, बीचैमा उनी बिरामी परेर यो महत्वपूर्ण परियोजना पूरा हुन सकेन । तर, उनले जतिसक्दो सङ्कलन गरेको मगर सम्बन्धी पाण्डुलिपि भने उनकै आलमाडीमा फेला परेको छ । नेपाल मगर सङ्घ बृहत र सुदृढ हुँदै गयो । अनि युवा पुस्तामा हस्तान्तरित हुँदै पनि गयो । यसमा जयबहादुर हितानको ठूलो भूमिका छँदै थियो । तर, उनी शारीरिक रुपले अस्वस्थ हुँदै थिए । २०५४ सालमा गोरेबहादुर खपाङ्गीको अध्यक्षकालमा उनी सल्लाहकारमा नियुक्त हुँदै मगर सङ्घको अधिकारिक पदबाट बाहिरिए । उनको महत्वपूर्ण सामाजिक सेवाको कदर गर्दै २०५७ सालमा नेपाल मगर सङ्घको सातौँ राष्ट्रिय महाधिबेसन धरानले उनलाई ‘हर्क पुरस्कार’ले सम्मानित गर्यो । जतिखेर उनी पक्षघातबाट पीडित भैसकेका थिए ।

व्यक्तित्व[सम्पादन गर्ने]

हितान भलाद्मी र मृदुभाषी थिए । उनी घरेलु काममा भन्दा पनि बढी गाउँ, बजार हिँडडुल गरेर साथीभाइ भेट्ने, बैठक, गोष्ठीमा भागलिन मन पराउँथे । दर्शन, राजनीतिक, सामाजिक, र समसामयिक विषयका पत्रपत्रिका तथा किताबहरू पढ्न औधी रुचाउँथे । भनिन्थ्यो, पहाड घर हुँदा घरको काम गर्नुभन्दा किताब लिएर खेत तथा वनमा गई पढ्ने गर्थे । घरमा गरीबीको कारणले खाने कुरा हुँदैनथ्यो तर हितानले ऋण गरेर भए पनि पुस्तक पसलबाट पत्रपत्रिका ल्याएर पढ्थे । गुम्बा, मन्दिर र मस्जिद गएर भगवानको आराधाना गरेर धर्म कमाउनु भन्दा असहाय जनताको सेवा गरेर कर्म कमाउन रमाउँथे । बिहानै उठेर चिया पिएपछि बजार गाउँ घुम्ने, त्यसपछि नुहाउने, दिनको खाना खाएपछि एकैछिन बिस्तारामा आराम गरेपछि फेरि साथीभाइ भेट्न, बैठकहरूमा भाग लिन बाहिर जाने र बाहिर कुनै विशेष काम नरहे घरमा चाँडै फर्केर अध्ययन गर्ने उनको दिनचर्या हुन्थ्यो ।

समाजसेवी, विद्वान, राजनीतिक नेता, साहित्यकारहरूसँग सङ्गत गर्ने र तिनलाई घरमा पाहुना बोलाएर सत्कार गर्थे । सामाजिक र राजनीतिक सेवाको लागि मरिमेट्ने उनलाई सरकारी जागिर छोडेर परिवारलाई भविष्यमा कसरी पाल्ने चिन्ता रहेन । नोकरी परित्याग गर्दा उनी परिवारसँग भैरहवामा किरायमा बस्थे । स–साना तीन छोराहरू स्कुल पढ्थे ।  बैंकमा पैसाको बचत भनेको एक सुका पनि थिएन । छोराहरूको स्कुलको शुल्क बुझाउने पैसा हुन्थेन । यस्तो दयनीय आर्थिक अवस्थालाई सामना गर्दै उनी राजनीति र सामाजिक क्रियाकलापमा दत्तचित्त भएर लागिरहे ।  छोराछोरी र जहानलाई धेरै माया गरे मात्तिन्छन भन्ने विचार थियो उनमा । त्यसैले आफ्ना बच्चाहरूसँग भलाकुसारी गर्ने, सँगै घुम्नेडुल्ने, खेल्ने उनलाई कहिल्यै फुर्सद रहेन । छोराछोरीको शिक्षाामा भने अति जोड दिने र स्कुलमा गएर शिक्षकसँग प्रगति विवरण बुझ्ने गर्दथे । तर, कदापि उनीहरूको छेउमा बसेर ‘होम वोर्कुमा सहयोग पुर्याएनन् । छोराछोरीले पढेर कि त आफूजस्तै सरकारी जागिरे कि त नेपाल पुलिस वा सैनिक अधिकृत पद सम्हालून् भन्ने सपना साँचेका थिए उनले । आफ्नो छोरालाई गोर्खा पल्टनमा भर्ती गराउने पक्षमा उनी कदापि थिएनन् । गोर्खा भर्ती जनजाति पिछडिनुको एक मुख्य कारण हो भन्ने उनले प्रष्टै बुझेका थिए । आफ्ना दाजुभाइ, दिदीबैनी, र नातेदारमा एकताको भावना, जागरण, सहयोग, सरसल्लाहप्रति मरिहत्ते गर्थे ।

त्याग, तपस्या र कडा मिहिनेतले मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुरामा विश्वास राख्थे । बी। ए। पास नगर्दासम्म बालमा तेल नहाल्ने, चुरोट, रक्सी नपिउने कसम खाएका थिए रे । २०३५ सालमा बी। ए। उत्तीर्ण भएपश्चात बल्ल उनले यी कुराहरू गर्न थाले । भैरहवामा छँदा मधेसी संस्कार अपनाउँदै खैनी, पान, सुपारीको लतमा लागे । बाहिर साथीहरूसँग बसेर भन्दा घरमै रक्सी मगाएर एक्लै सेवन गर्थे ।

जयबहादुर हितान झण्डै पाँच फिट सात इँच अग्ला, कालो कपाललाई उँभो पारेर कोर्ने, प्रायजसो सेतो कमेज, कालो इस्टकोट, कालो पेन्ट र कालै जुत्ता पहिरिन्थे । ठूल्ठूला बैठक, समारोह, र औपचारिक कार्यक्रममा भने नेपाली दौरा सुरुवाल र ढाका टोपीमा सजिन्थे । हट्टाकट्टा, सधैँ तन्दुरुस्त शरीर देख्दा पहिलोचोटि हितानलाई भेट्नेहरू कतै लाहुरे त होइन भनी प्रश्न गर्थे । साधारण नेपाली दाल, भात, तरकारी, अचार भोजन गर्न रुचाउने उनको चियामा भने अम्मलै बसेको थियो । दिनमा ५÷६ कप चिया नभई नहुने । जति टकक्राइदिए पनि पिउन नछोड्ने उनको बानी थियो ।

जीवनका अन्तिम बर्षहरू[सम्पादन गर्ने]

जयबहादुर हितानको बाल्यकाल गरिबीमा हुर्के पनि कठोर परिश्रमपछि जीवनका उत्तरार्ध आर्थिक रुपले सबल थियो । यद्यपि जीवनको अन्तिम अवधि मानसिक तथा शारीरिक दुवै तवरले कष्टपूर्ण रह्यो ।  पार्टीभित्र सत्ता र पदको लालचले स्थानीयदेखि केन्द्रसम्मका कार्यकर्ताहरूमा मनमुटाव थियो । हितानलाई पार्टी र जनताप्रतिको अथक सेवा बापत कुनै प्रतिफल मिलेन । गाउँका जनता र स्थानीय पार्टी कार्यकर्ताबीच अति नै प्रख्यात उनले केन्द्रका नेतासित नजिकको सम्बन्ध नरहँदा सम्भावित राजनीतिक नियुक्ति तथा अवसरदेखि बञ्चित हुन पर्यो । केन्द्रका नेतासँगको सम्बन्धको खाडललाई पुर्ने मनसायले उनी २०५३ सालदेखि ललितपुरको तिखेदेवल घरमा बस्दै आएका थिए । तर देशको राजनीतिक अवस्थामा स्थीरता र सुधार आएन । माओवादीले राजा र अन्य राजनीतिक पार्टीबिरुद्ध हिंसात्मक द्वन्द्व छेड्यो । यसले पनि उनको व्यक्तिगत राजनीतिमा असर पर्न गयो । उता मगर सङ्गठनमा पनि राजनीति घुस्यो र ध्रवीकरण देखा पर्यो । त्यति नै बेला उनलाई घरपरिवारको वातावरण पनि अनुकुल भएन । विविध कारणहरूले गर्दा उनलाई मानसिक तनावले निक्कै सताउन थाल्यो । उच्च रक्तचाप र डाइबिटिजले समात्यो ।  २०५६ पुषमा उच्च रक्तचापको कारणले स्ट्रोक भयो । सन्तोष भतिज, पार्वती भतिजनी साथै श्रीमतीले काठमाडौं टिचिङ हस्पिटलमा उपचार गराउन लगे । हङकङमा रहेका विजय र अजय छोरा अनि अस्ट्रेलियामा रहेको सञ्जय छोरा बुबाको यस्तो खबर सुनेर तुरुन्त नेपाल आए । एक महिना लामो उपचारपछि पनि हितानको स्वास्थ्यमा भनेजस्तो लाभ हुन सकेन । अब उनी हिँडडुल गर्न नसक्ने बने । त्यसपछि एक अपाङ्गको जीवन जिउनु पर्ने भयो । उनका राजनीतिक र सामाजिक सबै क्रियाकलाप ठप्प भयो ।  उपचारको क्रम जारी नै रह्यो । डक्टरी, आयुर्बेदिक, चाइनिज, आध्यात्मिक उपचारको लागि नेपालका विभिन्न ठाउँ, भारतको दार्जीलिङ, गोरखपुर, भेलोर लगियो तर उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएन । ती अन्तिम क्षणहरूमा ह्विलचेयर र बैसाखीको सहाराले घरभित्रबाहिर मात्र सीमित भए । श्रीमती र परिवारको राम्रो हेरविचारको बावजुद करिब दस बर्ष पक्षघातसँग सङ्घर्ष गर्दागर्दै ६४ बर्र्षको उमेरमा, मिलन चोक बुटवलको घरमा, २६ मङ्सिर २०६६ सालमा उनको निधन भयो ।

Notes[सम्पादन गर्ने]

[१]

  1. Biyaya, Hitan Magar (December 12, 2014). Jaya Bahadur Hitan Magar Byaktitwa Ra Krititwa (Biyaya Hitan Magar संस्करण). Nepal: Nepal Magar Association. .