जसबीरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जसबीरे इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रमणीय गाउँ हो । इलामका प्रमूख पर्यटकीय गन्तव्य माईपोखरी, टोड्के झरना, सन्दकपुरछिन्तापु जाने प्रवेशद्वार पनि हो यो स्थान । माइपोखरी गाउँ विकास समिति अन्र्तगत वार्ड नम्वर १मा पर्ने जसबीरे फूलहरूको लागि प्रख्यात छ । यहाँ हरेक घरको बार्दलीभरी फुलेका फूलहरूले जो कोहीको मन लोभ्याउँछ । यो सानो वस्तीमा सुनुवार (मुखिया) र लिम्बु जातिको वाहुल्यता छ । यसैगरी यहाँ राई, वाहुन, क्षेत्री, गुरूङ, सेर्पा, कामी जातिको पनि वसोवास छ । इलाम सदारमुकामवाट करिब ८ किलोमिटरको दुरीमा रहेको जसबीरे समुन्द्री सतहवाट लगभग १७ सय मिटरमा अवस्थित छ । वर्षभरीमा अधिकतम तापक्रम २० डिग्री सेन्टिग्रेड र न्युनतम तापक्रम ४ डिग्री सेन्टिग्रेड रहेको यो ठाँउमा वार्षिक वर्षा ३ हजार मिलिलिटर पर्ने अनुमान छ ।

वस्तीको हिसवाले सानो भएपनि जसबीरे आफैंमा समृद्ध छ । कुनैवेला यस स्थानलाई नमूना गाँउको रूपमा हेरिन्थ्यो । त्यसताका यही ठाँउमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य र राजकुमार दिपेन्द्रले भ्रमण गरेका थिए । जस्ताअलैंची,चिया,ओलन यहाँको प्रमूख उत्पादन हुन् । यहाँ उच्च माध्यमिक विद्यालय (बाल मण्डल उमावि), चिया विस्तार योजनाको शाखा कार्यालय, सन्दकफू चिया उद्योग र माइ इलाम गुराँसे चिया स्टेट रहेको छ ।

ऐतिहासिक कोठी डाँडा[सम्पादन गर्ने]

जसवीरेको शीरमा कोठीडाँडा अवस्थित छ । ऐतिहासिक महत्वको यो डाँडोवाट इलाम जिल्लाको सम्पूर्ण भाग दृश्यवलोकन गर्न सकिन्छ । उक्त स्थानमा करिब डेढ सय वर्ष अघि सदारमुकाम रहेको थियो । पूर्वी किराँत प्रदेश अन्तरगत रहेको इलाम जिल्लामा सदरमुकाम राख्ने क्रममा सर्वेक्षण कार्यमा खटी आएका राम कुँवरले सो स्थान छनौट गरेका थिए । कुँवर फर्केपछि जंगबहादुर राणाका छोरी ज्वाँई गजराज सिंह थापा वडाहाकिम भई सोही स्थानमा आइ वसेका थिए । थापा पछि हर्कजङ्ग जबरा वडाहाकिम भएर आएपछि सोहि स्थानमा वसे । हर्कजङ्ग पछि बडाहाकिम भइ आएका भोगे शम्सेरले पछि इलाम बजार (हालको सदारमुकाम)मा सदारमुकाम सारेका हुन् । पानीको समस्याका कारण उनले उक्त स्थान छाडेको पाइन्छ । अहिले पनि कोठीडाँडामा भग्नावशेषको रूपमा घर वनाउन प्रयोग गरिएको इटा, बालुवा भेटिन्छ ।

विभिन्न जातका हरिया रुख बोट विरुवाहरुको विचमा हरियो चियाबारी वर परको साना ठूला डाँडाकाँडाले घेरिएको प्राकृतिकाले सजाएको अनुपम दुष्यावलीको विचमा उभिएकी पूर्वकी रानी मानिने हालको सदरमुकाम इलामको इलाम बजार । यो इलाम बजारदेखि १० कि.मी उत्तरमा रहेको एउटा सानो गाउँ छ जसको नाम जस्वीरे भञ्ज्याङ्ग हो । यसको नाम कसरी रहन गयो र यसको नजिकै एक कोठी डाँडा भन्ने डाँडो छ यसको नाम कसरी कोठी डाँडा रहन गयो सो को बृतान्त जाने बुझे र सुनेको आधारमा प्रस्तुत गर्ने जमर्काे गरेको छु । यसमा कोठी डाँडा र जस्वीरे भञ्ज्याङ्गको नाम संगै आउँछ । त्यसमा पहिलो कोठी डाँडाको विषयमा लिएको छु । जस्वीरे भञ्ज्याङ्गको उत्तर पश्चिम तर्फमा एउटा पाथीभरा जस्तै रमाइलो र सुन्दर डाँडा रहेको छ जसलाई कोठी डाँडाको नामले बोलाईन्छ । यसको नाम कोठी डाँडा रहनुको कारण यस प्रकार छ ः पृथ्वी नारायण शाहले १८३१ मा पूर्वी पहाडको लिम्बुवान क्षेत्र सम्झौता गरी लियो त्यसमा इलाम जिल्ला पनि एक हो । यसमा जिल्ला रही आएता पनि यसको सदरमुकाम थिएन यहाँको सरकारी कारोबार गर्न धनकुटाबाट चल्दो रहेछ पछि एक ठाउँबाट मात्र जिल्लाको सवै कारोबार चलाउन गाह्रो पर्ने हुँदा इलाम जिल्लाको सदरमुकाम राख्न ज्यादै आवश्यक भएकोले सदरमुकाम राख्ने ठाउँको टुङ्गो गर्न आवश्यक देखिएकोले प्रधान मन्त्री जङ्ग बहादुर राणाले एक टोली मानिस सर्वेक्षण गर्न पठाएको रहेछ । पठाएको मानिस राम कुँवरको अगुवाईमा रहेछ । राम कुँवर यस जिल्लामा काठमाडौंबाट आउँदा झापा हुदै टाङ्गटिङ्ग विरिङ्गको किनारै किनार आएर आइतबारे डाँडा आई पुगेर त्यहाँ केही समय बसी सदरमुकाम राख्न ठिक छ छैन अध्ययन गरेको रहेछ भन्ने कुरा त्यहाँका बयोबृद्धबाट सुनेको जनश्रुति पाइन्छ । त्यहाँको फिक्कल आइतबारे करफोक आदि ठाउँको अवलोकन गरेपछि त्यहाँको ठाउँ सदरमुकामको लागि उचित देखिएन छ किन भने यो ठाउँ भारतको सिमा नजिकै पर्ने र केही जनजातीहरुबाट पनि केही विद्यन बाधा आउने सम्भावना भएको हुँदा यहाँ त्यती उचित नदेखिएको महसुस गरेको रहेछ । पछि अन्य स्थान हेर्दै जाँदा इलाम जिल्लाको हालको सदरमुकाम देखि १० कि.मि. उत्तरमा पर्ने उच्च डाँडामा आइपुगी अवलोकन गरि त्यही डाँडाको चारै तर्फ हेरी कोठी बनाउने ठाउँ ठहराई राम कुँवर फर्केर गएका रहेछन् । इलाम जिल्लाको सदरमुकाम रहने सम्पूर्ण कागजपत्र सवै तयार भएर रिपोर्ट भए पछि तत्कालिन प्रधानमन्त्री जङ्ग बहादुर राणाले आफ्नो ज्वाईं गजराज थापालाई पठाएर सदरमुकाम स्थापित गर्न आदेश दिएको रहेछ आदेश पालन गरि यो कोठी डाँडामा कोठी बनाएको पाइयो । कोठी बनाउनु भन्दा पहिला यस डाँडालाई देउराली को डाँडा भन्ने गरेको रहेछ । अब कोठी बनिएपछि यसको नाम कोठी डाँडा रहन गएको र हालसम्म पनि यसको नाम कोठी डाँडा नै छदैछ । यो डाँडा जस्वीरे भञ्ज्याङ्गको उत्तर पश्चिममा पर्छ भन्ने कुरा त मैलै पहिले नै उल्लेख गरिसकेको छु । पाउँ भनेर ति विभिन्न जातका मानिसहरु पनि साथमै ल्याउको रहेछ । यस विषयमा म पछि लेख लेख्ने छु र पहिला भवन निर्माण भएको विषयमा विस्तार गर्न चाहन्छु । इलाम जिल्लाको रमणिय ठाउँ मध्ये यो पनि एक हो । यो डाँडाको उचाई १९०० मि. छ । यो डाँडाबाट जिल्लाको केही स्थान बाहेक धेरै जसो स्थान देखिन्छ यस बाहेक अन्य ठाउँ मध्ये धनकुटा, धरान, विराटनगर साथै पूर्वी तराई पूर्ण रुपले देखिन्छ । यसरी विभिन्न ठाउँको दुष्यालोकन गर्नका साथै सूर्र्योदयको दृष्य पनि छलङ्ग देखिने भएकोले यस ठाउँलाई सदरमुकाम कायम गरेको देखिन्छ । वि.सं. १९२० मा कर्णेल गजराज थापा यस ठाउँमा आई कोठी बनाएको पुराना बयोबृद्धाहरुको भनाईबाट बुझिन्छ । कोठीको बनावट भग्नावशेषको आधारमा यो डाँडामा सम्याई चारैतर्फ भवन बनाई विचमा चोक राखेको छ जो अझै पनि देख्न सकिन्छ । पूर्व तर्फ तीन कोठा भएको भवन छ, पश्चिम उत्तर दक्षिण तर्फ ठूला ठूला भवनका नमूनाहरु छन् । भवनहरु प्राय काँचो र पाकेको ईंटावाट बनेको छ । यो उत्खनन् गर्दा अझै पनि भेट्न सकिन्छ । भवनको पूर्व उत्तर तर्फ ठूलो पटाङ्गिनीको नमूना छ जहाँ सिपाहीहरुलाई कवाज खेलाउने ठाउँ बुझिन्छ । पूर्व दक्षिण तर्फ घाम ताप्ने तथा हावा खाने सानो ठाउँको नमूना छ । यस कोठीको आसपासमा रहेको स्थानहरुको नामपनि लप्टने डाँडा (लप्टन) कप्ताने डाँडा (क्याप्टेन) आदि छ । यो उत्तर तर्फ छ । यहाँ पनि काँचो ईंटाबाट भवन बनिएको नमूना छ । कप्ताने डाँडाको पूर्वमा पूजारी डाँडा भन्ने छ । यसमा सरकारी तर्फबाट पूजा आजा गर्ने ठाउँ बुझिन्छ । लप्टने क्याप्टने डाँडा भन्नाले लेप्टन क्याप्टेन बस्ने क्वाटर भन्ने बुझ्न सकिन्छ । त्यस्तै नजिकै घर्ति कटेर , सुतार कटेरा, भोटे पँधेरा, कागतेपानी धारो (हाते कागज बनाउने धारा) र कोठीको पूर्व तर्फ ४०० शय मिटरमा एउटा ठकुरीको चिहान भन्ने ठाउँ छ, त्यो काठमाडौंबाट ल्याएको ठकुरी जातीको मानिस स्वर्गीय भएपछि दफनाएको ठाउँ भन्ने जनश्रती छ । अन्य सम्बन्धमा गजराज थापाको श्रीमतीलाई राणाकी छोरी भएकीले रानी भन्नु पर्दाे रहेछ, रानीको आदेश अनुसार रानीको भेडा गोठ पनि राखेको र त्यो ठाउँ कोठीबाट एक डेड कि.मी पूर्वमा पर्छ त्यसलाई अहिले पनि रानीले भेडाल राखेको टार भएकोले रानी टार भन्ने चलन छ । यसैको उत्तर तर्फ नोरङ्ग खोला छेउमा एउटा टार परेको छ त्यस ठाउँलाई विऊ बारी भनिन्छ । यसबाट के अनुमान हुन्छ भने त्यसबाट खाद्यान्न वा वनस्पतिको विकास विस्तार गर्न शुरु गरेको पनि बुझिन्छ । वा चियाको विऊ राखेको हुन सक्छ । १९२० देखि इलाम जिल्लाको सदरमुकाम कोठी डाँडामा रहेको थियो तर मानिसहरुलाई आवश्यक विभिन्न वस्तु किनवेच एवं साटासाट गर्ने स्थान इलाम गोलाखर्कको मानेभञ्ज्याङ्ग मात्र रहेछ यहाँ लेकालीहरु आलु चिङ्फिङ, सिलटिमुर, खनक्पा लिएर आउने र औलालीहरुले मकै, कोदो, खोर्सानी, औले टिमुर ल्याई किनबेच एवं साटासाट गर्ने गर्दा रहेछन् । बजार भर्न आउँदा जाँदा कोठी डाँडामा कोठी बने पछि सवै मानिसहरु जस्वीरे भञ्ज्याङ्गबाट उकालो गई कोठी डाँडा हुँदै कागतेपानी धाराको ओरालो हिड्नु पनि कर्णेलको आदेश भएपछि उक्त कार्यको रेखदेख जसविर सुब्बाले गर्दा रहेछन् । यसरी हिड्ने बाटो फराकिलो बनाउको नमूना अझै पनि छदैछ । जस्वीरेमा तलैबाट बाटो भए पनि सदरमुकामको कोठी हँुदै जानु पर्ने र नहिडे जरिमाना हुने बुढा पाकाहरुको भनाई छ । यस इलाको तत्कालिन सदरमुकाम कोठी डाँडामा तीन जना बडा हाकिम (कर्णेल)हरुले जिल्लाको शासन व्यवस्था चलाएको भन्ने बुझिन्छ । किन भने त्यस बेलाको बुढापाकाको जनश्रुतिबाट सव भन्दा पहिला गजराज थापा आई सदरमुकाम स्थापना गरि आवश्यक सवै बन्दोवस्त गरे पछि लामै समय सम्म जिल्लाको शासन व्यवस्था चलाई उहाँ सरुवा भई राजधानी तर्फ गए पछि उहाँको सट्टामा कर्णे हर्क जंग जवरा आई वसेको रहेछ । को कति बसेको भन्ने एकिन पाइएन र त्यस पछि यहाँ अन्तिम पटक कर्णेल भोगे शम्शेर जबरा आएका रहेछन् तर उसैको पालामा इलामको सदरमुकाम हालको सदरमुकाम इलाममा सारेको रहेछ । त्यस बेला भोगे शम्शेर इलाम रहेता पनि कोठी यसै स्थानमा धेरै पछि सम्म रहेको जनश्रुति पाइन्छ । यो जस्वीरेको कोठी डाँडाबाट इलाम सदरमुकाम किन सरेर गयो कसरी सो कुरा स्पष्ट पाइएन तर अनुमान अनुसार त्यस बेला जंगला मुलुक हुनको साथै निक्कै उच्चामा रहेकोले साथै लेकाली भेक पनि भएको हुनाले पानीको मुहानपनि टाढा भएको कारण सरेर गएको हुनसक्छ । यो जस्वीरे सदरमुकाम इलाममा सरेर गएपछिबाट हाल जिल्ला प्रशासन कार्यालय बसेको पक्की घर महाविर शमशेर जवराले कलकत्ताको नमूना हेरी सोही अनुसारको बनाउन लगाएको रहेछ । यसै लेखमा कोठी डाँडासंगै जस्वीरे भञ्ज्याङ्ग भन्नको कारण कोठी डाँडा र जस्वीरेको पनि कथा जोडिएको छ त्यो यस प्रकार छ म सानै हुँदा यस ठाउँमा बसोबास गर्ने जसविर लिम्बुको भानिज शेरा हाङ्ग लिम्बु र प्याङ्ग गा.वि.स. वडा नं. २ बस्ने सान बहादुर थेवे जस्ता बयोबृद्धबाट भनेको सुनेको कुरा यस प्रकार छ ः गजराजको श्रीमतिले आफ्नो बाबुसँग विन्ती चढाईछन् “अब म काठमाडौंबाट धेरै टाढा पूर्व इलाममा जाँदै छु, त्यस कारण म त्यहाँ जाँदा सवै जातीका मानिसहरु एक–एक जना पठाईदिनु साथै त्यो ठाउँ लिम्बुवानको क्षेत्र भएकोले एकजना लिम्बु जातीको मानिस पनि पठाईदिनुहोस’’ भनेपछि छोरीको इच्छा अनुसार बाहुन, ठकुरी, नेवार, मगर, लिम्बु समेत पठाएको रहेछ । त्यसमा त्यसबेला लिम्बु कहाँबाट आयो भन्ने सम्बन्धमा पृथ्वी नारायण शाहसँग लिम्बुवानले सम्झौता गरे पछि लिम्बुको थुम–थमुबाट एक–एक जना प्रतिनिधि पठाउँदो रहेछ र प्रतिनिधिहरुले आफ्नो निजी मानिस लगेको हुँदो रहेछ, त्यसै मध्ये जसवीर लिम्बु (लुङ्गहिमो साँवा) पनि रहेछ, वहाँ ताप्लेजुङ्गको फेवा खोलाबाट काठमाडौं आई जागिरे खरिदार भई बसेकोमा वहाँबाट गजराज थापासँग इलाम आउने हुकुम भएपछि जसवीरे लिम्बु यस ठाउँमा आएका रहेछन् । (थुमः लिम्बुवानमा थुम भन्नाले जिल्ला भन्ने बुझिन्छ, त्यसबेला लिम्बुवानमा १० लिम्बु १६ थुम थियो) जसवीर लिम्बु यहाँ आएपछि कोठीको पूर्वपट्टि बसेको र गजराज थापालाई शासन व्यवस्थाको काममा सहयोग गरेको रहेछ, इलाम सदरमुकाम कोठी डाँडा भएकाले पछि यहाँ जसवीर लिम्बु यस ठाउँमा स्थाई बसोबास गर्दै आउँदा वस्दा यस ठाउँको नाम जस्वीरे भञ्ज्याङ्ग रहन गएको प्रष्ट हुन्छ । जव यस ठाउँमा सदर मुकाम रहदासम्म आसपासमा धेरै वस्ती पनि रहेको पाइन्छ, त्यसमा पनि जस्वीरे भञ्ज्याङ्गको आसपासमा पनि बाक्लै वस्ती रहेछ किन भने यहाँ विभिन्न ठाउँहरुमा चिहानहरु प्रशस्त भेटिन्छन् । त्यस्तैm एक पटक सार्वजनिक भवनको घरेडी खन्दा एउटा चिहान भेटियो त्यसमा एउटा पैसा प्रतापसिंह शाहको पालाको भेटिएको थियो । जसले गर्दा यो पैसाले १३७–३८ वर्षभन्दा पहिलाको जनाउँछ । यस ठाउँमा बस्ने एकजना घिमिरे बाहुनले धेरै वर्ष अगाडि बताए अनुसार जसवीर लिम्बुले ठूलो हक–डक गरेर बसेको थियो अरे २५ वटा घोडा पालेको थियो आफु चढ्ने घोडा पाङ्ग्रे थियो अरे त्यो घरमा राखेर अरु घोडाहरु छिन्टापु, टप्पु भन्ने जंगलमा छाडी दिन्थे र महिनामा एकपटक नुन लगिदिन्थे भनेर बताएको थियो । घोडाहरुले शनिश्चरेबाट नुन साथै अन्य मालसामानहरु ओसार पसार गर्ने काम गर्थे र ती घोडाहरु खेप्ने मानिसहरु पनि आफ्नै जग्गामा राखेको थियो भन्ने बुझियो । यो ठाउँको नाम कोठी डाँडा र जस्वीरे कसरी रहन गयो भन्ने स्मबन्धमा मैले प्रष्ट रुपमा लेखेको छु, अव जस्वीरे भञ्ज्याङ्गको बारेमा अगाडि जाऊँ । यो जस्वीरे भञ्ज्याङ्ग इलामको सदरमुकामको उत्तर तर्फ रहेको अति नै रमणिय छ, यहाँको प्राकृतिक बनावट र वातावरण पनि ज्यादै राम्रो छ, यहाँका मानिसहरु प्राकृतिक वातावरणसँग ज्यादै रमाउँछन् । साथै यहाँका मानिसहरु प्रत्येक घरहरुमा विभिन्न थरीका फूलहरु बाह्रै महिना हराभरा हुने गरि लगाउँछन् । जसले गर्दा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आइपुग्ने वित्तिकै फुल्हरुसँग लुमामारी खेल्दै रमाउँछन् । यस ठाउँको भौगोलिक बनावट पनि ज्यादै रमाइलो छ, यहाँ आसपासका डाँडा काँडाको बानवटलाई कोठी डाँडाबाट हेर्दा आफैं हराएको महसुस हुन्छ । यहाँका मानिसहरु साधारण जीवन विताउँछन् सिधा–साधा व्यवहार गर्दछन् आउने जाने मानिसहरुलाई अतिथिको रुपमा सेवा सत्कार गर्नुको साथै कुनै आपदविपद परि आएको वखतमा कसैलाई पराई विरानो भन्ने नसम्झी सवैको यथोचित सहायेग गर्ने सवैको स्वभाव छ । यो ठाउँ चारैतफैको केन्द्रमा रहेको र पर्यटक क्षेत्रको लागि धेरै महत्वपूर्ण ठाउँ हो । ३ दशक पहिला तमुरपारे, अरुनपारे, भोजपुरे, पाँचथरे, ताप्लेजुङ्गे मानिसहरु यस ठाउँ हुदै गैरीबास, जौबारी, माने भञ्ज्याङ्ग र पशुपतिको नाका हुँदै भारतसम्म आउ–जाऊ गर्ने गर्थे । हाल सवै तिरबाट सडक विस्तार भएकोले गर्दा यस ठाउँमा मानिसहरुको आउजाउ अलिक पातलो भएको आभास भएता पनि माबु, माइमझुवा, सुलुबुङ्गका अधिकांश मानिसहरुको आउजाउ यहींबाट हुन्छ । यहाँका अधिकांश मानिसहरुको पेशा कृषि नै हो । यहाँ मकै, आलु अनि सागसब्जी आदि हुन्छ । यसको साथै चिया, पशुपालन पनि मुख्य पेशा कै रुपमा लिइन्छ, यस बाहेक नगदेबालीमा यस ठाउँको मुख्य बाली अलैंची थियो तर हाल आएर रोगको कारणले गर्दा मासिन गयो यसबाट यस ठाउँका सम्पूर्ण किसानहरुलाई ठूलो नोक्सान भएको छ । तर यहाँ २०४२ सालदेखि चिया खेति पनि सञ्चालनमा आएकोले गर्दा अलैंचीबाट भएको नोक्सानको पुर्ति चियाबाट केही हदसम्म भएको आभास हुन्छ , चिया दिर्घकालिन खेति भएकोले यस क्षेत्रका मानिसहरुको जिविकोपार्जनको राम्रो बाटो खुलेको छ । केही वर्ष यता अन्र्तराष्ट्रिय बजारमा पाईने किबी फलको खेती पनि सुरु भैसकेको छ, यसको उत्पादन बढ्दै गएपछि कृषकहरुको आयश्रोत धेरै राम्रो हुने देखिन्छ । यो जस्वीरे भञ्ज्याङ्ग इलाम जिल्लाको माइपोखरी गा.वि.स. वडा नं. १ मा पर्दछ । हाम्रो यो ठाउँ शिक्षामा केही पछाडी छ, यहाँ भएको संघ संस्था उद्योग व्यवसाय केही मात्र भएका मध्ये श्री बाल मण्डल उच्च मा.वि. माइपोखरी–१, जस्वीरे, सगरमाथा मा.वि. चारखाँदे, चिया विस्तार आयोजना जस्वीरे, चिया उद्योग माइ टी कम्पनी प्रा.लि., सन्दकफु टी प्रोसेसर प्रा.लि. संघ सस्थाहरुमा हरियाली जैविक चिया उत्पादक सहकारी संस्था लि., श्री सूर्योदय कृषि सहकारी संस्था लि. छ । यस बाहेक चियाको हरियो पत्ति सङ्कलन केन्द्र निट मार्फत ४ स्थानमा बनाउने कार्य भईरहेको छ । जस्वीरे भञ्ज्याङ्ग इलाम जिल्लाको पर्यटकीय स्थानहरु मध्ये एक हो । तर यो बत्तीको छेउको अध्यारो भने जस्तै हुन गएको छ । यो इलामको सदरमुकामको नजिकै अन्र्तराष्ट्रिय सम्पदामा सूचीकृत भएको रामसार माइपोखरीको काखमा रहेको जस्वीरेलाई पर्यटकीय स्थान बनाउने सम्बन्धमा नेताहरुको दृष्टि पुगेन या पहँुच पुगेन र यस क्षेत्रले यो सौभाग्य कहिल्यै पाएन । हाल यस क्षेत्रका जनाताहरु मिलि–जुली एक भएर अघि बढ्दै छन् । भविष्यमा इलाम जिल्लाको अति सुन्दर र रमणिय सोभाग्यमान कोठी डाँडा जस्वीरे भञ्ज्याङ्ग आन्तरिक तथा बाह्य पर्यटकहरुको निमित्त कहिल्यै आँखामा ओझेल नपर्ने पर्यटकीय स्थान बन्ने छ भन्ने विस्वास छ ।