जोन एफ. केनेडीको हत्याकाण्ड
| जोन एफ. केनेडीको हत्याकाण्ड | |
|---|---|
राष्ट्रपति जोन एफ. केनेडी, उनकी पत्नी ज्याकलिन केनेडी ओनासिस, टेक्सासका गभर्नर जोन कोनाली र कोनालीकी पत्नी नेली कोनाली डालसमा राष्ट्रपतिको हत्या हुनु भन्दा केही मिनेट अघि | |
| स्थान | डिली प्लाजा, डालस, टेक्सास, संयुक्त राज्य |
| निर्देशाङ्क | ३२°४६′४५.४″उ ९६°४८′३०.६″प / 32.779278°N 96.808500°W |
| मिति | नोभेम्बर २२, १९६३ १२:३० अपराह्न (केन्द्रीय प्रमाणिक समय) |
| लक्ष्य | जोन एफ. केनेडी |
आक्रमणको प्रकार | गोली हानी हत्या |
| हतियारहरू |
|
| मृत्यु |
|
| घाइते | |
| अपराधी | लि हार्वे ओसवाल्ड |
| अभियोग | हत्या (२ मुद्दा, पुर्पक्ष अघि नै हत्या गरिएको) |
संयुक्त राज्य अमेरिकाका ३५औँ राष्ट्रपति जोन एफ. केनेडीको हत्या सन् १९६३ नोभेम्बर २२ को शुक्रबारका दिन टेक्सासको डालसस्थित डिली प्लाजामा राष्ट्रपतिको मोटरकेड (सवारी) मा सवार भइरहेका बेला भएको थियो। केनेडी आफ्नी पत्नी ज्याकलिन, टेक्सासका गभर्नर जोन कोनाली र कोनालीकी पत्नी नेलीसँग सवारीमा थिए भने उनलाई नजिकैको टेक्सास स्कुल बुक डिपोजिटरीबाट पूर्व अमेरिकी जलसैनिक लि हार्वे ओसवाल्डले गोली हानी हत्या गरेका थिए। मोटरकेडलाई तुरुन्तै पार्कल्यान्ड स्मारक अस्पताल पुर्याइन्छ जहाँ गोली चलेको लगभग ३० मिनेटपछि केनेडीलाई मृत घोषित गरिन्छ। उक्त आक्रमणमा कोनाली घाइने बनी पछि निको भएका थिए। दुई घण्टा आठ मिनेटपछि डालस लभ फिल्डमा एयर फोर्स वन जहाजभित्र उपराष्ट्रपति लिन्डन बि. जोन्सनले हतारमा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका थिए।
हत्यापछि, ओसवाल्ड पेस्तोल लिन घर फर्किँदा त्यसको केही समयपछि उनले एक्लै रहेका डालसका प्रहरी अधिकारी जे. डी. टिपिटलाई पनि गोली हानी हत्या गरेका थिए। केनेडी र कोनालीलाई गोली प्रहार भएको करिब ७० मिनेटपछि, ओसवाल्डलाई डालस प्रहरी विभागले पक्राउ गर्छ र टेक्सास राज्यको कानुन अनुसार केनेडी र टिपिटको हत्याको अभियोग लगाउँछ। दुई दिनपछि, प्रत्यक्ष टेलिभिजन क्यामेराहरूले ओसवाल्डलाई डालस प्रहरी मुख्यालयको भूमिगत तल्लाबाट लैजाँदै गरेको दृश्य कैद गरिरहेका बेला, डालसका नाइटक्लब सञ्चालक ज्याक रुबीले उनलाई गोली हानी हत्या गरिदिन्छन्। केनेडीलाई जस्तै ओसवाल्डलाई पनि पार्कल्यान्ड स्मारक अस्पताल लगिन्छ जहाँ उनको केही समयमै मृत्यु हुन्छ। रुबीलाई ओसवाल्डको हत्यामा दोषी ठहर गरिएतापनि सो निर्णय पुनरावेदनमा उल्टिन्छ र सन् १९६७ मा नयाँ पुर्पक्षको प्रतीक्षा गरिरहँदा रुबीको जेलमै मृत्यु भएको थियो।
१० महिनाको अनुसन्धानपछि, वारेन आयोगले ओसवाल्डले नै केनेडीको हत्या गरेको र ओसवाल्ड वा रुबी कुनै षड्यन्त्रको हिस्सा भएको कुनै प्रमाण नभएको निष्कर्ष निकालेको थियो। सन् १९६७ मा, न्यु अर्लिन्सका जिल्ला सरकारी वकिल जिम ग्यारिसनले व्यवसायी क्ले स विरुद्ध केनेडीको हत्याको लागि एकमात्र मुद्दा चलाउँदा क्ले स निर्दोष सावित भएका थिए। त्यसपछिका सङ्घीय अनुसन्धानहरू—जस्तै रकफेलर आयोग र चर्च समिति—वारेन आयोगको सामान्य निष्कर्षसँग सहमत भएका थिए। सन् १९७९ को आफ्नो प्रतिवेदनमा, हाउस सेलेक्ट कमिटी अन एसासिनेसनले केनेडीको सम्भवतः "एक षड्यन्त्रको परिणाम स्वरूप हत्या भएको" निष्कर्ष निकालेको थियो। उक्त आयोगले सम्भावित षड्यन्त्रकारीहरूको पहिचान नगरेतापनि "राष्ट्रपतिमाथि दुईजना बन्दुकधारीले गोली प्रहार गरेको उच्च सम्भावना" रहेको निष्कर्ष निकालेको थियो। यस आयोगका निष्कर्षहरू मुख्यतया डालस प्रहरीको रेडियो च्यानलबाट रेकर्ड गरिएको एउटा विवादास्पद अडियो रेकर्डिङमा आधारित थिए जसलाई पछि अमेरिकी न्याय मन्त्रालयले झुटो सावित गरिदिएको थियो।
केनेडीको हत्या अझै पनि व्यापक बहसको विषय हो र यसले धेरै षड्यन्त्रका सिद्धान्तहरू र वैकल्पिक अनुमानहरूलाई जन्म दिएको छ। सर्वेक्षणहरूले देखाए अनुसार धेरैजसो अमेरिकीहरू यो एक षड्यन्त्र थियो भन्ने कुरामा विश्वास गर्छन्। यस हत्याकाण्डले गहिरो प्रभाव पारेको र यो सन् १९६० को दशकमा अमेरिकामा भएका चार प्रमुख हत्याहरूमध्ये पहिलो थियो। यसको दुई वर्षपछि सन् १९६५ मा माल्कम एक्सको र पाँच वर्षपछि अर्थात् सन् १९६८ मा मार्टिन लुथर किङ जुनियर र केनेडीका भाइ रोबर्ट केनेडीको पनि हत्या भएको थियो। केनेडी हत्या गरिएका चौथो अमेरिकी राष्ट्रपति हुन् भने पदमा बहाल रहँदै मृत्यु हुने उनी हालसम्मकै पछिल्ला राष्ट्रपति हुन्।
हत्याकाण्डका फिल्म र तस्वीरहरू
[सम्पादन गर्नुहोस्]भगवान, मैले सबै कुरा देखेँ। मैले उहाँको टाउकोबाट गिदी बाहिर निस्किएको देखेँ।

सडकबाट करिब ६५ फिट (२० मी) टाढा पर्गोलाको पर्खालमा उभिएर,[१] दर्जी अब्राहम जाप्रुडरले केनेडीको हत्यालाई २६ सेकेन्डको मौन ८ मिमी फिल्ममा रेकर्ड गरेका थिए जसलाई 'जाप्रुडर फिल्म' भनिन्छ।[२] यसको फ्रेम ३१३ ले केनेडीको टाउको विष्फोट भएको ठ्याक्कै क्षण कैद गरेको छ। लाइफ पत्रिकाले हत्याको केही समयपछि जाप्रुडर फिल्मका फ्रेमहरू ठूलो पारेर प्रकाशित गरेको थियो।[२][३] यो फुटेज पहिलोपटक सन् १९६९ मा क्ले सको मुद्दामा सार्वजनिक रूपमा देखाइएको र यसलाई पनि सन् १९७५ मा जेराल्डो रिभेराले टेलिभिजनमा देखाएका थिए।[४] सन् १९९९ मा, एक मध्यस्थता समितिले सङ्घीय सरकारलाई जाप्रुडरका हकदारहरूलाई प्रति सेकेन्ड ६,१५,३८४ डलर तिर्न आदेश दिएको थियो जसले पूरा फिल्मको मूल्य १ करोड ६० लाख डलर (सन् २०२५ मा $NaN बराबर) कायम गरेको थियो।[५][६]
जाप्रुडर डिली प्लाजामा गोली चलेको समयमा वा त्यसको आसपास फिल्म वा स्थिर तस्वीरहरू खिच्ने कम्तीमा ३२ व्यक्तिहरूमध्ये एक थिए।[७] फोटोग्राफरहरूमध्ये सबैभन्दा उल्लेखनीय रूपमा, मेरी मुरम्यानले आफ्नो पोलरोइड क्यामेराबाट केनेडीका धेरै तस्वीरहरू खिचेकी थिइन् जसमा टाउकोमा गोली लागेको १/६ सेकेन्ड भन्दा कम समय पछिको केनेडीको तस्वीर पनि समावेश छ।[८]
जाप्रुडरका अतिरिक्त, चार्ल्स ब्रन्सन, मारी मचमोर, र ओर्भिल निक्सले पनि हत्याकाण्डको भिडियो खिचेका तर जाप्रुडरको तुलनामा उनीहरूले अलिक टाढाबाट खिचेका थिए।[९][१०] ती तीनमध्ये, केवल निक्सले—जसले जाप्रुडरको विपरीत तर्फबाट 'घाँसे ढिस्को' कैद गर्दै भिडियो खिचेका थिए भने यसैबेला वास्तवमै घातक गोली प्रहारको क्षण रेकर्ड भएको थियो।[१०][११][note १] सन् १९६६ मा, निक्सले दाबी गरे अनुसार उनले फिल्म एफबिआईलाई दिएपछि उनीहरूले फिर्ता गरेको प्रतिलिपिमा केही फ्रेमहरू "गायब" वा "बिग्रिएका" थिए। यद्यपि कम गुणस्तरका प्रतिलिपिहरू अस्तित्वमा रहेतापनि यसको मौलिक फिल्म सन् १९७८ देखि हराइरहेको छ।[११] जर्ज जेफरीजले खिचेको यसअघि अज्ञात फुटेजलाई सन् २००७ मा सार्वजनिक गरिएको थियो।[१२][१३] गोली चल्नुभन्दा केही समय अगाडि खिचिएको यो फिल्मले केनेडीको कोट खुम्चिएको देखाउँछ, जसले केनेडीको ढाडमा लागेको गोलीको घाउ र उनको कोटमा भएको प्वालको स्थान बीचको भिन्नतालाई स्पष्ट पार्दछ।[१४]
केही फिल्म र तस्वीरहरूले एक अज्ञात महिलालाई हत्याकाण्डको भिडियो खिच्दै गरेको कैद गरेका छन्; अनुसन्धानकर्ताहरूले उनलाई टाउकोमा बाँधेको रुमालका कारण बबुस्का लेडी उपनाम दिएका छन्।[१५] सन् १९७८ मा, गोर्डन आर्नोल्डले अगाडि आएर आफूले घाँसे ढिस्कोबाट हत्याकाण्डको भिडियो खिचेको र एक प्रहरी अधिकारीले आफ्नो फिल्म जफत गरेको दाबी गरेका थिए।[१६] तर सो क्षेत्रमा खिचिएका कुनै पनि तस्वीरहरूमा आर्नोल्ड देखिँदैनन् जसलाई रिक्लेमिङ हिस्ट्री का लेखक भिन्सेन्ट बुग्लियोसीले "आर्नोल्डको कथा मनगढन्ते भएको निर्णायक तस्वीर प्रमाण" भनेका छन्।[१७]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Trask (1994), pp. 59–61, 73.
- 1 2 Cosgrove (2011)
- ↑ Pasternack (2011)
- ↑ Bugliosi (2007), p. 371.
- ↑ Inverne (2004)
- ↑ Pasternack (2012)
- ↑ Bugliosi (1998), p. 291.
- ↑ Bugliosi (2007), p. 885.
- ↑ Friedman (1963), p. 17.
- 1 2 Bugliosi (2007), p. 452.
- 1 2 3 Rose (2015)
- ↑ "George Jefferies Film". Sixth Floor Museum at Dealey Plaza.
- ↑ "Newly released film of JFK before assassination". Associated Press.
- ↑ MacAskill (2007)
- ↑ Bugliosi (2007), p. 1045.
- ↑ Bugliosi (2007), pp. 886–887.
- ↑ Bugliosi (2007), p. 887.