सामग्रीमा जानुहोस्

टेरेसा नयमेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टेरेसा नयमेन
टेरेसा नयमेनको तस्वीर
जन्म(१८९८-०४-०९)९ अप्रिल १८९८
कन्नसइट, बभेरिया अधिराज्य, जर्मन साम्राज्य
निधन१८ सेप्टेम्बर १९६२(1962-09-18) (उमेर ६४)
कन्नसइट, बभेरिया, पश्चिम जर्मनी

टेरेसा नयमेन (९ अप्रिल १८९८– १८ सेप्टेम्बर १९६२) एक जर्मन क्याथोलिक महिला थिइन् जो आश्चर्यजनक आध्यात्मिक अनुभूतिका कारण विश्वमा परिचित भइन्। उनी रहस्यमयी थिइन् र चिह्नधारी भनी चिनिन्थन्, अर्थात् उनको शरीरमा ईशा मसिह को जस्तै घाउका चिन्ह देखिन्थे। क्याथोलिक चैत्यले उनलाई सन् २००५ यता परमेश्वरको सेवक मान्दै आएको छ।[]

तत्कालिन जर्मन साम्राज्यको बभेरिया अधिराज्यमा अवस्थित कन्नसइट गाउँमा जन्मिएकी नयमेनले आफ्नो सम्पूर्ण जीवन त्यहीँ बिताइन्। उनी निरपेक्ष गरीबीको रेखामुनि रहेको एउटा ठूलो संयुक्त परिवारमा हुर्किएकी थिइन्। उनी सेन्ट फ्रान्सिसको तेस्रो श्रेणीको धर्मसङ्घकी सदस्य समेत थिइन्।

सन् १९१८ मार्च ११ मा टेरेसा नयमेन आफ्ना मामाको गोठमा लागेको आगो निभाउने क्रममा कुर्सीबाट खसेपछि आंशिक रूपमा पक्षाघातग्रस्त भइन्।[] त्यस समयमा उनी पटक–पटक लडिन् र उनलाई विभिन्न चोटपटक पनि लागे। एक पटक त लड्दा लड्दै उनले आफ्नो धेरैजसो दृष्टि गुमाएको बताइन् र सन् १९१९ मा आफू पूर्ण रूपमा दृष्टिविहीन भएको दाबी गरिन्। ओछ्यानमै सीमित हुँदा उनको शरीरमा गम्भीर बेडसोर्स (bed sores) विकसित भए, जसले कहिलेकाहीँ हड्डीसम्म देखिने अवस्था ल्याउँथ्यो।[]

टेरेसाले आफ्नो दृष्टि सन् १९२३ अप्रिल २९ मा फर्किएको बताइन्। त्यही दिन लिसिएक्सकी टेरेसालाई रोममा बिटिफाइड (beatified) घोषणा गरिएको थियो। उनले त्यो दिनभन्दा अगाडि विशेष प्रार्थनाहरू (नोभेना) गरिरहेकी थिइन्।[] उनले भनिन् कि उक्त सन्तले उनीसँग कुरा गरिन् र त्यसपछि उनको पक्षाघात र बेडसोर्स निको भयो।[]

टेरेसा नयमेनका कथन अनुसार उनी सन् १९२५ नोभेम्बर ७ मा फेरि ओछ्यानमा परिन् र नोभेम्बर १३ मा चिकित्सकहरूले उनलाई एपेन्डिसाइटिस भएको बताए। आफ्नै कथनअनुसार, शल्यक्रियाको तयारी भइरहँदा उनलाई तीव्र आक्षेप (convulsions) आयो, उनले छततर्फ हेरिन्, र अन्ततः “हो” भनिन्। उनले परिवारलाई तुरुन्तै प्रार्थनाका लागि चैत्यमा लैजान अनुरोध गरिन्। त्यसपछि उनले आफू एपेन्डिसाइटिसबाट पूर्ण रूपमा निको भएको बताइन्।[]

चिकित्सकहरू र संशयवादी व्यक्तिहरूले टेरेसा नयमेनका चमत्कारी उपचारसम्बन्धी दाबीहरूमा प्रश्न उठाएका छन्।[] संशयवादी अनुसन्धानकर्ता जो निकेलका अनुसार, एक घटनामा उनले आफू अन्धोपनबाट निको भएको दाबी गर्दा, चिकित्सकहरूले उनी अझै “अन्धो” भएको अवस्थामा परीक्षण गर्दा उनका आँखाका पुतलीहरूले प्रकाशप्रति सामान्य प्रतिक्रिया दिएका थिए। निकेलले उनका दाबीहरू “हिस्ट्रिकल हाइपोकन्ड्रिया” वा “स्पष्ट बनावटीपन” बाट प्रेरित भएको ठाने।[] सन् १९५१ मा विद्वान हिल्डा ग्रेफ ले यसको सत्यतामाथि प्रश्न उठाउँदै व्यापक रूपमा समीक्षा गरिएको एक मोनोग्राफ प्रकाशित गरिन्। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 Vogl, Albert. (1978). Life and Death of Therese Neumann, Mystic and Stigmatist. Vantage Press. pp. 2-8. आइएसबिएन ०-५३३-०३३७९-९
  2. 1 2 Nickell, Joe. (1993). Looking for a Miracle: Weeping Icons, Relics, Stigmata, Visions & Healing Cures. Prometheus Books. pp. 227-228. आइएसबिएन १-५७३९२-६८०-९
  3. The Case of Therese Neumann, by Hilda C, Graef. Cork, Ireland: Mercier Press, 1951.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]