ठूलाकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कास्की जिल्लाअन्तर्गत उत्तरपूर्वी क्षेत्र कालिका गाविसअन्तर्गत पर्ने रमणीय स्थल हो। यसको निकटमा कास्कीका 'राखी गाविस' र 'भिजुरे गाविस' रहेको छ|

'लेखनाथ नगरपालिका, अर्घौंपौवा' बजारबाट उत्तरतर्फ करिब तीन-चारघण्टाको दूरीमा यो ठाउँ रहेको छ। करिब दुई हजार मि.को उचाइमा रहेको यस ठाउँबाट दक्षिणभेकमा पोखरा बजार, सात तालहरू र विशाल उर्वर समतल भूमिलगायत देख्न सकिन्छ। अनि उत्तरतर्फ धौलागिरि, माछापुच्छे्र, अन्नपूर्णलगायत हिमशृङ्खलाको लहर देखापर्छ।बिहान-बेलुकाको रमणीय दृश्यावलोकनमा सूर्‍योदय र सूर्यास्तको दृश्यले जो कोहीलाई पनि यसले निकै लोभ्याउने काम गरिरहेको अनुभूत हुन्छ।स्वयं कविशिरोमणि लेखनाथ पौड्यालको बाल्यकालताक नै पनि यस भेकमा यो निकै नाम चलेको, चल्ती-फिर्तीको भएको कुरा कविबाट उल्लिखित देहाय का प्रसङ्गबाट बुझिन्छ।

सङ्गातीसित रङ्गिँदै ....म कहिले पुग्थें 'ठूलाकोट'मा

कैले संथर फाँट टारहरूका चित्रे घना गोंठमा,

जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो

जसमा बाल्यविकासको मधुरिमा स्वर्गीय हाम्रो थियो।

यहाँ भगवान् कालभैरवको प्राचीनतम् मन्दिर पनि छ। 'कालभैरव' भगवान् शिवका मुख्य गणमध्ये एक हुन्। यिनको सुप्रसिद्ध विशालमूर्ति काठमाडौंको हनुमानढोकामा रहेको छ र राजा प्रताप मल्लले स्थापित गरेको भनिएको छ। जे होस्, ठूलाकोटमा रहेको यो मन्दिर करिब हजार वर्ष अघिको हो भन्ने भनाइ पुरातìवविद्हरूको पाइन्छ। उहिले कास्केली राजाको समयमा सीमा-सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा पनि निकै महिमाशाली थियो भन्ने कतिपय बूढापाकाहरूबाट सुन्न सकिन्छ। यसरी ऐतिहासिक, धार्मिक र प्राकृतिक हरेक दृष्टिले उल्लेख्य रहेको यो रमणीयस्थल हो। पर्यटकीय आकर्षण- साधन सम्पन्नता जुटाउन सके आजको अवस्थामा यो पर्यटकीयस्थलको रूपमा आउने कुरा निश्चित छ। पुरानो समय अर्थात् वि.सं. १९७८/७९ सालको आसपास यही पर्यटकीयस्थल 'ठूलाकोट'मा आफ्ना सङ्गातीहरूको साथ कविशिरोमणि लेखनाथ पौड्याल गाईवस्तु चराउँदै रमाइलो गर्दै घुमफिरमा पुगेका सङ्केत यहाँ छ।

'ठूलाकोट'को विशेष महत्ता र गौरव हरसाल दसैँमा देखापर्छ। हिन्दूसांस्कृतिक परम्परामा दुइटा दसैँ पर्व वा उत्सव सम्मान्य छन्-आश्विनशुक्ल नवरात्र -बडादसैँ), चैत्रशुक्ल नवरात्र -चैतेदसैँ)। यी दुबै दसैँमा यस कोटमा दुर्गाभवानी र भैरवको पूजा हुन्छ। हरसाल बडादसैँको सुरुदेखि नै नवरात्रका नवै दिनहरूमा दुर्गा भवानीको आहृवानसाथ त्रिपाठी थरका बाहुनमार्फत् सप्तशक्ति पाठको साथै विधिवत् पूजाआजा चल्छ। यद्यपि दसैँ नवरात्रको पाठपूजा निम्ति भनेर यहाँ कुनै गुठी वा अलग व्यवस्था भएको आधिकारिक कोष भने छैन तर पनि ठूलाकोटको मूलगुठीबाट उनीहरूलाई स्थानीय गाविस र ठूलास्वाँरासमेतले दक्षिणाप्रदान गर्ने गरेको थाहा हुन्छ। नवरात्र समयमा हुने ठूलाकोटको यो पूजाव्यवस्था वि.सं. २०२१ साल अघि स्थानीय तालुकदारले चलाएको बुझिन्छ। ठूलाकोटमा राँगो काट्ने मौलो अद्यापि छँदैछ, यही मौलोको आधारमा हुनसक्छ- यस कोटको पूजाव्यवस्था चलाउने तालुकदारलाई उहिले 'मौलोको मुखिया' भन्ने चलन थियो। वि.सं. २०२९ सालपछि बिस्तारै नवरात्रमा हुने पूजापरम्पराको व्यवस्था गाविसहरू मिलेर चलाउने गरेको थाहा हुन्छ।

यस पूजाको क्रममा सर्वप्रथम दसैँका फूलपातीको अघिल्लो दिन चोखो खाई शुद्ध बसेका युवाहरूमार्फत् छिमेकी गाउँ डुली फूलपाती ल्याई अर्घौं झाँजरमारे-चण्डीको थान आइपुग्छन्। अनि ठूलाकोट-नवरात्र पूजा गर्ने-गराउने टोलीद्वारा उनीहरूलाई लिन गई स्वागतसाथ फूलपाती भित्र्याइन्छ। अनि नवरात्रभर यहाँ विभिन्न पशुपछिको बलि चढाइ भैरव तथा कालिकाको पूजा हुन्छ। अर्को कुरा ः नवरात्रमा चोखो बसी यथाविधि हविष्य खाई पाठपूजा गरी शान्तभावले बस्ने पूजारीलाई यहाँ 'उपासक' भन्ने चलन छ। अनि नवरात्रभर पूजा चलाउने 'उपासक' यहीँ कोटमा नै बस्ने व्यवस्था पनि गरिएको छ। कालरात्रि (महाअष्टमी-बलिनवमी)को दुई दिन यहाँ अझ विशेष घचारो हुन्छ। बलि चढाउने त छँदैछन्, सोबाहेक भैरव तथा कालिकाको दर्शन र प्रसादग्रहण गर्ने भनी छिमेकी गाउँलेहरूको पनि यहाँ भीड लाग्छ। यसरी अर्घौं ठूलाकोटका भैरव र कालिका यहाँ सम्मान्य देवीको रूपमा युगौंदेखि विशेष समादरणीय छन्। ठूलाकोटको आसपासमा दुइटा प्रसिद्ध प्राकृतिक धारा पनि छन्। तिनलाई 'छहरे' र 'पहरे धारा' भनी समादर गरिन्छ। बालाचतुर्दशी (शतबीज छर्ने)को दिन यहाँ स्नान गरी शतबीज छर्ने परम्परा पनि छ।