सामग्रीमा जानुहोस्

तक्षक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तक्षक
तक्षकेश्वर मन्दिरमा रहेको तक्षकको मूर्ति
देवनागरीतक्षक
आबद्धनाग
वासस्थानइन्द्रपुरी
वंशावली
रानीनाम नखुलेकी नागिनी
सन्तानहरूअश्वसेन

तक्षक हिन्दु धर्मबौद्ध धर्मका एक नागराज हुन्। उनको उल्लेख हिन्दु धर्मग्रन्थ महाभारत का सासाथै भागवत पुराण मा पनि गरिएको छ। उनलाई नागहरूका राजाको रूपमा वर्णन गरिएको छ। तक्षकलाई चिनियाँ र जापानी पौराणिक कथाहरूमा "आठ महान् ड्रागन राजाहरू" मध्ये एकको रूपमा पनि चिनिन्छ।[] नन्द (नागराज), उपनन्द, सागर (शाकर), वासुकी, बलवान, अनवतप्त र उत्पलका बीचमा तक्षकलाई उड्न सक्ने र सबैभन्दा विषालु सर्पको रूपमा उल्लेख गरिएको छ।

तक्षकले भिखारीको भेषमा कल्माषपाद (पौष्य) राजाकी रानीका झुम्काहरू चोरी गरेका थिए जसलाई ती रानीले उत्तङ्क नामक एक ब्राह्मणलाई उपहारस्वरूप दिएकी थिइन्। उत्तङ्क अन्यको सहयोगमा ती झुम्काहरू फिर्ता पाउन सफल बन्छन्। उनले तक्षकसँग बदला लिन चाहना राखि अर्जुनका पनाति तथा कुरु राजा जनमेजयको राजधानी हस्तिनापुर तर्फ लाग्छन्। उत्तङ्कले केही समयअघि मात्र तक्षशिलाबाट विजयी भएर फर्केका राजा जनमेजयसँग भेट गर्छन्। उत्तङ्कले राजालाई उनका पिता परीक्षितको मृत्यु तक्षकको हातबाट भएको कुरा सम्झाउँछन्।

अध्याय (१४-५३ देखि ५८) मा उत्तङ्कको इतिहास दोहोर्‍याइएको छ जहाँ ती झुम्काहरू राजा सौदास (एक इक्ष्वाकु राजा) की पत्नी रानी मदयन्तीका थिए भनी उल्लेख गरिएको छ (१४,५७)। ऐरावत वंशका एक नागले ती झुम्काहरू चोरी गरेको भनिएको छ (१४,५८)। पुरु वंश (चन्द्र वंशको एक शाखा) का ऋक्ष नामक राजाले तक्षक वंशकी एक नाग कन्यासँग विवाह गरेको उल्लेख छ (१,९५)। भीष्मको पराक्रमलाई (६,१०८) मा नाग तक्षकसँग तुलना गरिएको छ। हिन्दीसंस्कृत भाषामा तक्षक सर्पको अर्थ 'हावामा तैरिएर हिँड्ने सर्प' भन्ने हुन्छ।[]

श्रीमद्भागवत् पुराणका अनुसार, तक्षक इक्ष्वाकु वंशका थिए। उनी रामका वंशज पनि। तक्षकका छोराको नाम बृहद्वल थियो जो अर्जुनका छोरा अभिमन्युद्वारा युद्धमा मारिएका थिए। तक्षक खाण्डव वनमा बस्ने गर्थे (१,२२५)। त्यहाँ नागहरूका साथै पिशाच, राक्षस, दैत्यदानव जस्ता अन्य जातिहरू पनि बस्दथे (१,२२७)। अग्निको आग्रहमा अर्जुनले उक्त वन जलाइदिएका थिए। त्यस समयमा नाग प्रमुख तक्षक त्यहाँ भएतापनि तक्षकका शक्तिशाली छोरा अश्वसेन त्यहीँ थिए। अर्जुनले अश्वसेनकी आमा तथा तक्षककी पत्नीको वध गर्छन् तर अश्वसेन भने उम्कन सफल हुन्छन् (१-२२९,२३०) (४,२)। आफ्नी आमाको हत्याको बदला लिन अश्वसेनले, अर्जुन कर्णसँग युद्ध गरिरहेका बेला कुरुक्षेत्र युद्धको क्रममा अर्जुनमाथि आक्रमण गर्छन् (८,९०) (९,६१)। यहाँ अश्वसेनलाई ऐरावत वंशमा जन्मेको भनिएको छ (८,९०)। असुर वास्तुकार मयदानव, जो त्रिपुरासुरको पतनबारे शिवको चेतावनीपछि त्यहाँ आएका थिए, खान्डव वन जलाउँदा तक्षकको निवासबाट भागेको उल्लेख छ (१,२३०)।

पाण्डवहरूसँगको प्रतिशोध

[सम्पादन गर्नुहोस्]
जनमेजयको सर्प सत्र (सर्प यज्ञ), जसलाई आस्तिकले रोक्ने प्रयास गरिरहेका छन्।

जब राजा परीक्षितलाई एक ऋषिका छोराले आफ्ना पिताको अपमान गरेको झोँकमा सर्पले डसेर मृत्यु हुने श्राप दिए तब तक्षकले उक्त श्राप पूरा गर्न त्यहाँ आउँछन्। तक्षकले भेष बदलेर (१,५०) भगवान विष्णुको ध्यान गरिरहेका अर्जुनका नाति परीक्षितलाई डसेर उनको वध गर्छन्। उनले राजालाई कुनै पनि चिकित्सा सहायता प्राप्त हुन नदिनका लागि कश्यप गोत्रका एक ब्राह्मणलाई घूस दिएर फर्काइदिए जो सर्पको विष निको पार्नमा निपुण थिए (१,४३)।

तक्षकद्वारा जलाइएको रूखलाई कश्यपले पुनर्जीवित गराउँदै र तक्षकले परीक्षितलाई डस्दै गरेको चित्र (बिर्ला रज्मानामाको एक पृष्ठ)।

पछि परीक्षितका छोरा राजा जनमेजयले तक्षशिलामा युद्ध गरी (१,३) र तक्षकको नेतृत्वमा रहेका नागहरूलाई त्यहाँबाट पनि लखेट्छन्।

तक्षकको क्षेत्रबाट यात्रा गरिरहेका बेला उत्तङ्क पनि अर्को शिकार बन्न पुग्छन्। जनमेजयलाई भेटेर उत्तङ्कले ती कुरु राजाको क्रोधलाई तक्षक र नाग वंशतर्फ मोडिदिन्छन्। जनमेजयले तक्षशिलामा नाग वंशलाई नै समाप्त पार्ने उद्देश्यले एक अभियान सुरु गरी नागहरूको नरसंहार गर्छन् (१,५२)। तक्षकले आफ्नो क्षेत्र छोडेर देव लोकमा शरण लिए जहाँ उनले देवराज इन्द्रसँग सुरक्षा मागे (१,५३)। तर जनमेजयका मानिसहरूले उनलाई फेला पारेर अन्य नाग प्रमुखहरूसँगै मृत्युदण्ड दिनका लागि बन्दी बनाएर ल्याउँछन् (१,५६)। त्यस समयमा, आस्तिक नामक एक विद्वान् बालक ऋषिले आएर हस्तक्षेप गर्छन्। उनकी आमा मनसा नाग थिइन् र पिता ब्राह्मण थिए। जनमेजयले विद्वान् आस्तिकको कुरा सुनेपछि उनले तक्षकलाई मुक्त गरिदिन्छन्। उनले नागहरूको नरसंहार पनि रोके र उनीहरूसँगको सबै शत्रुताको पनि अन्त्य गर्छन् (१,५६)। त्यस समयदेखि नाग र कुरुहरू शान्तिपूर्वक बस्न थाले। जनमेजय पनि एक शान्तिप्रिय राजा बन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Eight great dragon kings - Tibetan Buddhist Encyclopedia"
  2. "Takshak-the flying snake", YouTube, मूलबाट २०२१-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१४