तारानाथ शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तारानाथ शर्मा
तारानाथ शर्मा
जन्म (१९३४-०६-२३) जुन २३, १९३४ (उमेर ८४) १९९१ असार ९
इलाम जिल्ला बरबोटे
साहित्यिक नाम तानासर्मा
पेशा साहित्य
भाषा नेपाली
राष्ट्रियता नेपाली
नागरिकता नेपाली
शिक्षा एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान)
प्रारम्भिक शिक्षालय करफोक उच्च माध्यमिक विद्यालय
विधा नियात्रा, समालोचना, निवन्ध
उल्लेखनीय कार्यहरू बेलाइततिर बरालिँदा
उल्लेखनीय सम्मानहरू मदन पुरस्कार, साझा पुरस्कार
दम्पति शान्ता शर्मा (२०२५ माघ २) [१]

तारानाथ उपाध्याय भण्डारी (जन्म: १९९१ असार ९, प्रख्यात नाम: तारानाथ शर्मा) झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक हुन् । उनी नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिन्छन् । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका डा. तारानाथ शर्मा हाल प्राध्यापन पेशामा छन् ।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा इलाम, बरबोटेमा जन्मेका हुन्। उनी जन्मेको ठाउँलाई त्यतिबेला सित्तलपाटी भनिन्थ्यो। घरछेउ ठूलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भयो। संयोग, उनको परिवार बसाइ सरेर गएको फिक्कलको ठाउँलाई पनि अहिले बरबोटे भनिन्छ। बसाइ सर्दा त्यस ठाउँको नाम सुदुङ थियो। तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमा अक्षर चिनाएका हुन्। अक्षर चिनिसकेपछि रुद्री, “चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोश पनि घोकाए। साथै, ज्योतिषको गणना गर्ने किताब भाषोति पनि सिकाए। तारानाथ फिक्कलमा डेरा बसेर चन्द्र-मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका हुन्। पशुपतिनगरका राजबहादुर राईले अङ्ग्रेजी पढाउन काठमाडौंका चन्द्रभक्त कसजुलाई लगेका थिए। तारानाथले छ कक्षासम्म पहिलो हुँदै फिक्कलमा पढे। त्यसपछि दार्जिलिङको सेन्ट जोसेफमा एकै चोटि नौ कक्षामा भर्ना भए र जिल्ला प्रथम हुँदै १२ कक्षासम्म पढे अनि थप पढाइका लागि बनारस गए। तारानाथको खास थर भण्डारी हो, तर बनारसमा पढ्न गएपछि नाममा शर्मा झुन्ड्याए। अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाए।

शिक्षा[सम्पादन गर्ने]

बनारसबाट बि ए गरिसकेपछि घर फर्केका बेला बुवाले हेडमास्टर खाली छ, यतै बस, अब पढाउन सक्दिनँ भनेर रोक्न खोजे तर उनी अनेक बहाना बनाएर ७० रूपैयाँ मागेर काठमाडौं छिरे। उनले काठमाडौंमा छात्रवृत्तिका लागि आवेदन दिए, पाए पनि र पटना हानिए। उनी बेलायतमा पनि गएर 'दोस्रो भाषाका रूपमा अङ्ग्रेजी' (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) पढे। उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरे।[२]

लेखन[सम्पादन गर्ने]

तारानाथ शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने 'साथी' साप्ताहिक पत्रिकामा 'इलाम' शीर्षकमा छापिएको थियो। खर्साङ छँदा 'आह्वान' हस्तलिखित पत्रिका निकाले। 'हिमध्वनि' भन्ने पत्रिकाको सम्पादन गरे। उनको प्रकाशितमध्ये अन्तिम कृति 'चरी भरर' निबन्ध संग्रह हो। तारानाथ कविता पनि लेख्छन् तर थोरै। १४ मे १९५२मा दार्जिलिङमा लक्ष्मीप्रसाद देवकोटा भेटेपछि कविता लेखनमा केन्द्रित नभएको उनले सुनाए। 'दार्जिलिङमा देवकोटा, लेखनाथ पौड्यालबालकृष्ण सम बर्सेनि आउँथे। स्कुलमा छलेर उनीहरूसँग भेट्न जाँदा देवकोटाले कविता नेलेख्नू, भित्रभित्रै पोल्छ, कविताले मलाई डढाइसक्यो भनेर मेरो डायरीमा लेखिदिए,' उनले सुनाए। देवकोटाले त्यतिबेला उनलाई इन्जिनियर हुन आग्रह गरेका थिए रे। तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थाले। उनीहरूले 'नौलो पाइलो' भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अङ्ग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। 'हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,' उनी गर्व गर्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। 'सुवाषको सट्टा सुवास लेख्न थालेँ,' नेम्वाङले भने, 'झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।' तारानाथ एकताका शर्माको सट्टा सर्मा लेख्थे। बनारसमा पढ्दा उनलाई आफ्नो थर 'भण्डारी' भारतीय जस्तो लागेछ र सर्मा लेख्न थालेछन्। थर फेरेर घर पुग्दा बुवाले गुनासो गरेछन्। 'एउटा पुस्तकमा 'इदं पुस्तकम् प्रजापति शर्मणः' लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुवालाई चुप बनाएँ,' उनले सुनाए। तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छपाउँथे। उनको पहिलो पुस्तक 'नमस्ते' निबन्धसंग्रह रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको हो। दोस्रो कृतिका रूपमा २०२१ सालमा 'घोत्ल्याइहरू' भन्ने समालोचना संग्रह निस्क्यो। उनको सम्पादनमा गोपालप्रसाद रिमालको 'आमाको सपना' कविता संग्रह २०२० सालमा र गुरूप्रसाद मैनालीको 'नासो' कथा संग्रह २०२१ सालमा निस्केको थियो। भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका हुन्। त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमै थिएन। बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको 'मेनाइ साँघुको मेला' शीर्षक लेख पढेपछि 'तिमीले नियात्रा लेखेछौ' भनेका थिए। पछि, त्यही लेखसहितको 'बेलाईततिर बरालिँदा' निबन्ध संग्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिए। 'यात्रा वर्णनमात्र नभई निजी कुरासमेत समेटिएकाले नियात्रा भन्नुपर्छ भन्ने बालकृष्णको तर्क थियो,' तारानाथ भन्छन्। 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पायो। निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो। उनले 'सम र समका कृति' का लागि २०२९ सालमा साझा पुरस्कार पाए। २०२३ सालमा रत्नश्री स्वर्णपदक थापेका थिए। २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार हात पारे।

पुस्तकको खुलेर आलोचना गर्ने समालोचकका रूपमा चिनिन्छन् तारानाथ शर्मा। मवीवि शाहको आलोचना गर्दा जेल गएको र बालकृष्ण समको समालोचना गर्दा निकटता बढेको प्रसँग छन् उनीसँग। पञ्चायतकालमा मवीवि शाहको 'उसैको लागि' भन्ने कविता समालोचना गर्ने क्रममा हिन्दी गीतको नक्कल भनेर उल्लेख गर्दा उनी तीन महिना जेल बसेका थिए। 'जेल परे पनि मलाई दुःख लागेन, भित्रै दुइटा पुस्तक लेखेँ,' उनी भन्छन्। त्यतिबेला समालोचना छाप्ने 'हिन्दु' का सम्पादकलाई पनि सोधपुछ गरिएको थियो। स्कुलमा सँगै पढेका पासाङ गोपर्माले बिन्ती गरेपछि 'मलाई प्राध्यापक थुनेको मन पर्दैन' भनेर राजा महेन्द्रले तारानाथलाई छाड्न निर्देशन दिएका थिए। 'चिसो चुल्हो' लाई 'झुसुले डकार' भनेर समालोचना गर्दा उनले बालकृष्ण समबाट उल्टै प्रशंसा पाएका थिए। उनी समलाई सधैं श्रद्धा गर्छन् र समकै कृति समालोचना गरेर साझा पुरस्कार पाए। [३]

उनले नेपाल, भारत, चीन, जापान, बेलायत, अमेरिका, भूटान, पाकिस्तान, थाइल्याण्ड, लेबनान टर्की, आयर्ल्याण्ड, जर्मनी, स्वीट्जरल्याण्ड, इटाली, भ्याटिकन सिटी आदि भ्रमण गरेका छन् ।

संलग्नता[सम्पादन गर्ने]

पहिलो रचना - वि.सं. २००८मा "साथी" साप्ताहिक -दार्जिलिङमा "इलाम" शीर्षकको लेख प्रकाशित

मौलिक कृति[सम्पादन गर्ने]

  1. घोत्ल्याइँहरू-समालोचना संग्रह-वि.सं.२०२१
  2. भानुभक्तदेखि तेस्रो आयासम्म-समालोचना संग्रह-वि.सं. २०२७
  3. नेपाली साहित्यको इतिहास-साहित्यिक इतिहास
  4. नेपाली साहित्यको ऐतिहासिक परिचय-साहित्यिक इतिहास-वि.सं. २०२७
  5. सम र समका कृति-समालोचना-वि.सं.२०२९
  6. पश्चिमका केही महान साहित्यकार-समीक्षात्मक जीवनी संग्रह-वि.सं.२०२६
  7. सम्पन ल्याएँ-समालोचना संग्रह-वि.सं. २०४४
  8. श्री ५ बडामहारानी सरकार र सामाजिक सेवा-लेख संग्रह-वि.सं.२०४५
  9. नमस्ते-निबन्ध संग्रह-वि.सं.२०४४ १०० जमर्काहरू-निबन्ध संग्रह-वि.सं.२०२५
  10. श्रद्धाका सुमन-निबन्ध संग्रह-वि.सं.२०४४
  11. बेलाइततिर बरालिँदा-यात्रा निबन्ध-वि.सं.२०२६
  12. पाताल प्रवास-यात्रा निबन्ध-वि.सं.२०४२
  13. जीवनका छाल-निबन्ध संग्रह-वि.सं.२०३०
  14. श्री ५ र पञ्चायत
  15. दुइ पोका चुरा-कथा संग्रह-वि.सं.२०२६
  16. सुली-उपन्यास-वि.सं. २०३०
  17. मेरो कथा-उपन्यास-वि.सं. २०२३
  18. ओझेल पर्दा-उपनयास-वि.सं. २०२३
  19. झझल्को-उपन्यास-वि.सं. २०३५
  20. नेपालदेखि अमेरिकासम-उपन्यास-वि.सं. २०४८
  21. विगिनिङ्ग नेपाली
  22. इन्टरमिडियट नेपाल स्ट्रक्चर
  23. इन्टरमिडियट नेपाली रिडर
  24. इन्टरमिडियट नेपाली स्ट्रक्चर वर्कबुक
  25. इन्टरमिडियट नेपाली रिडर वुकवर्क
  26. द क्राउन एण्ड द पञ्चायत डेमोक्रेशी इन नेपाल-अङ्ग्रेजी कृति

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]

  1. "नासो"-गुरूप्रसाद मैनालीको कथा संग्रह-सम्पादन-वि.सं.२०२१
  2. आमाको सपना-गोपालप्रसाद रिमालको कविता संग्रह-संपादन-वि.सं. २०२९
  3. पच्चीस वर्षो नेपाली निबन्ध-निबन्ध संग्रह-सम्पादन-वि.सं. २०३९
  4. चाँदनी शाहका कविता-कविता-चाँदनी शाहको कविता संग्रह-वि.सं. २०३९
  5. समसामायिक साझा कविता-सम्पादन-वि.सं. २०४०
  6. उकालो-बार्षिक-संयुक्त सम्पादन
  7. महेन्द्रमाला-कक्षा ९/१०-सम्पादन
  8. नौलो पाइलो-त्रैमासिक-सम्पादन
  9. हिमज्योती-मासिक -हस्तलिखित-सम्पादन
  10. ब्यायज् यूनियनका समारिका-सम्पादन
  11. बल्दो दियो-कथा संग्रह-वि.सं. २०१३-संयुक्त सम्पादन
  12. सुमिदा नदी र अरु कथाहरू-अनुवाद-वि.सं. २०४६
  13. ऊ भएर मेरो अभिव्यक्ति-कविता संग्रह-सम्पादन-वि.सं. २०४४
  14. विभिन्न पत्र-पत्रिकाहरूमा लेख, कथा निबन्ध, समालोचना,यात्रा संस्मरण प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक[सम्पादन गर्ने]

  • वि.सं.२०२६को "मदन पुरस्कार" प्राप्त "बेलायततिर बरालिँदा" का लागि [४]
  • वि.सं.२०२९मा "साझा पुरस्कार" प्राप्त "सम र समका कृति" का लागि
  • वि.सं.२०२३मा रत्नश्री स्वर्ण पदक प्राप्त
  • वि.सं. २०३९मा श्री ५को सरकार शिक्षा मन्त्रालयबाट र्सवश्रेष्ठ पाठ्य पुस्तक लेखेबापत विशेष पुरस्कार प्राप्त
  • वि.सं. २०४५मा गान्तोक -सिक्किम-मा अभिनन्दन गरिएको

ठेगाना - निवास - सरस्वती टोल धोबीखोला, चाबेल, काठमाडौं, ४७१९५

अन्य जानकारी[सम्पादन गर्ने]

तारानाथको समालोचना खारिनुमा विश्वेश्वरप्रसाद कोइरालाको पनि हात छ। कोइरालासँग २०१६ सालतिर पटनाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेर आएपछि जागीरको दौडधुप गरेका बेला उनको निकटता बढेको थियो। पद्मकन्या क्याम्पसमा दुई पटक विज्ञापन खुल्दा पनि विभिन्न बहाना बनाएर पाखा लगाइएपछि धर्मराज थापाले उनलाई दोहोर्‍याएर तत्कालीन प्रधानमन्त्री विश्वेश्वरसँग भेट गराइदिएका थिए। त्यसपछि उनले प्रधानमन्त्रीकै कार्यालयबाट नियुक्तिपत्र लिएर पद्मकन्यामा पढाउन थाले। धर्मराजले पनि त्यतिबेलै रेडियो नेपालको जागीर पाए। 'त्यसपछि क्याम्पसको तलबले पुग्दैन भन्दै भाञ्जी शैलेजालगायत तीन जनालाई ट्युसन पढ्न बोलाएँ,' तारानाथले भने। क्याम्पसबाट मासिक तलब दुई सय ८० रूपैयाँ आउँथ्यो। पद्मकन्यामा जागीर थाल्नुअघि पनि उनी ट्युसन पढाउँथे। पुष्पलालले ट्युसन पढ्ने तीन जना खोजिदिएका थिए। ट्युसनबाट मासिक तीन सय रूपैयाँ आउँथ्यो। पद्मकन्याको जागीरे भएपछि उनले साँझ पाँचदेखि छसम्म ट्युसन पढाउँथे। 'त्यसपछि विश्वेश्वरसँग साहित्यिक गफ हुन्थ्यो। उतै आठ बजे खाना खाएर डेरा फकिन्थेँ। प्रायः उनका भाइ तारिणीले गाडीमा पुर्‍याइदिन्थे,' उनले सम्झे। विश्वेश्वरसँगको अर्को प्रसँग : 'एकदिन विश्वेश्वरले अङ्ग्रेजीमा लेखिएको पुस्तक नेपालमा सबभन्दा पहिले कसले पढ्छ भनेर सोधे। मैले त 'तपाईंले' भनेर जवाफ दिएँ तर उनले 'होइन, सूर्यप्रसाद उपाध्यायले पढ्छन्। सबभन्दा पहिले पुस्तक उनैकहाँ आउँछन्' भने। त्यसपछि उनले पढ्नका लागि आफ्नो समय नभएको जनाउँदै सूर्यप्रसादसँग भएका र अरू पुस्तक पनि पढेर सारमा सुनाउने जिम्मेवारी दिए।' त्यसपछि विश्वेश्वरले नै सूर्यप्रसादसँग चिनजान गराइदिएका थिए। त्यो चिनजानले विश्वसाहित्यमा उनलाई अद्यावधिक हुन मद्दत मिल्यो। पुस्तक पढ्ने र समीक्षा गर्ने क्रम बढायो। उनले आठ महिना विश्वेश्वरको संगत गरे।[स्रोत नखुलेको] २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि संगत टुट्यो।

२००७ सालको आन्दोलनमा तारानाथ शर्मा सक्रिय थिए। 'झापामा बिबी चेम्जोङ, नरेन्द्रनाथ बास्तोलाको अगुवाइमा भएको कांग्रेसको आन्दोलन सहपाठी पासाङ गोपर्मा, वीरेन्द्र खुजेलीसँग पछि लागेका थियौं,' उनले सुनाए। इलामबाट १६ युवा लिएर तारानाथ झापा झरेका थिए, बुधबारेमा आयोजित कार्यक्रममा उनले पहिलो पटक भाषण ठोके। उनीहरू कृष्णप्रसाद बास्तोलाको घरमा बसेर आन्दोलनका कार्यक्रममा सरिक हुन्थे। झापाका प्रशासकले आत्मसमपर्ण गरिसकेपछि कांग्रेसका कार्यकर्ता इलाम हानिएका थिए। 'पशुपतिनगर भन्सारमा कार्यरत बुवा बिरामी भएको सुनेर म त्यता गएँ। अरू मार्चपास गर्दै इलाम गए,' उनले भने, 'पशुपतिनगर पुग्दा त बुवा पनि कांग्रेस भइसकेको थाहा पाएँ। उहाँले युवाहरूलाई खटाएर मोटरबाटो खनाइरहनुभएको रहेछ।' बुवालाई भेटेपछि उनी आइतबारे खटिए। त्यहाँ उनको काम हुलाकमा आउने चिठीको सेन्सर गर्नु थियो। 'इलाममा बडाहाकिम थिएँ। उनीहरूको चिठी यतैबाट आउँथ्यो। राणाहरूको चिठी भेटिए च्यातेर फ्याँकिदिन मलाई अह्राइएको थियो,' उनले भने, 'व्यक्तिगत चिठी बढी हुन्थ्यो। राणालाई जाने चिठीमा 'तपाईंहरू उन्मुक्ति (विमोचन) चाहनुहुन्छ भने तुरुन्त आत्मसमर्पण गर्नुस् भनेर पुछारमा आफ्नो नामसमेत लेखिदिन्थेँ।' केही दिनपछि बडाहाकिम विज्ञानशमशेर राणाले टुँडिखेलमा आत्मसमपर्ण गरे। 'हामी पनि गएका थियौं। टुँडिखेलमा विज्ञानशमशेरले नरेन्द्रनाथ बास्तोलासँग 'तारानाथजीलाई त देख्दिनँ नि!' भन्दै जिज्ञासा राखे। मलाई देखाउँदा उनी तीनछक परे। उनले तारानाथ ठूलै होला भन्ठानेका रहेछन्। त्यसपछि उनले मसँग हात मिलाए। त्यति ठूलो मान्छेसँग मैले पहिलोपटक हात मिलाएको हुँ।' बडाहाकिमले आत्मसमर्पण गरेपछि उनी पासाङ गोपर्मा र वीरेन्द्र खुजेलीसँग इलामको दरबार बस्न थालेका थिए। 'तर बुवाले अहिले राजनीति गर्ने बेला होइन, पढ्नुपर्छ भनेर राजाको छोराछोरी पढ्ने दार्जिलिङको सेन्ट जोसेफ पठाए,' उनले सुनाए।

तारानाथ शर्मा आफूलाई व्यस्त राख्छन्। उनको अनुभवमा बुढेसकालमा व्यस्त हुँदा 'डिप्रेसन'ले छुँदैन। 'त्यसैले मैले स्कुल जान छाडेको छैन। केटाकेटीसँग गफिएर भुलिन्छु। १२ बजे स्कुलबाट फिर्छु। खाना खाएर नेपाली पत्रिका पढ्छु। भेटघाट गर्छु, जाँगर चल्यो भने लेख्छु,' उनले सुनाए। उनी बिहान सबेरै उठेर योग गर्छन्। दूध-च्युरा र फलफूल खान्छन्। मधुमेह र रक्तचापको औषधि लिन्छन्। निम्तो आएका कार्यक्रमहरू भ्याउँछन्। उनले यता पद्मकन्या, त्रिचन्द्र र त्रिभुवन विश्वविद्यालयमा पढाए। उनले साझेदारीमा साम्भवी विद्यालय खोलेका थिए तर साझेदारी धेरै टिकेन। नोबल एकृडेमीमा एक वर्ष प्राचार्य भए, त्यसपछि डनबस्को गए। आत्मसन्तुष्टिका लागि लेखेको बताउने तारानाथ लेखेकै भरमा गुजारा चलाउन सक्ने अवस्था नरहेको बताउँछन्। हक्की स्वभावका उनी सरकारले आफ्ना लागि केही गरिदिएन भन्ने गुनासो पनि बेलाबेला ओकल्छन्। 'अमेरिकामा थप दुई वर्ष पढाउँदा पेन्सन आउँछ। यहाँ मेरो केही छैन,' उनी भन्छन्। उनको चित्तदुखाइ लेखहरूमा पनि भेटिन्छ। राजनीतिक दलप्रति पनि उति सन्तुष्ट छैनन्। पाँच महिनाअघि चितवनमा रगतले कट्कटिएको हातबाट अभिनन्दन नथाप्ने अड्डी कसे र सरस्वतीको भेषमा रहेकी बालिकाबाट अभिनन्दित भए। उनी देवताप्रति उतिसाह्रो विश्वास गर्दैनन्। बरु साहित्यिक फाँटकै लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समलाई श्रद्धा गर्छन्। 'मेरा ब्रह्मा, विष्णु र महेश्वर भनेकै देवकोटा, पौडेल र सम हुन्,' उनी भन्छन्। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. डा. तारानाथ शर्मा र शान्ताकाे ५० वर्षे प्रेमिल यात्रा
  2. २.० २.१ २.२ "रोशन साँवा: तारानाथको तानाबाना'", mysansar.com, २०१२-०३-१२, अभिगमन मिति २०१२-०३-१२ 
  3. "रोशन साँवा: तारानाथको तानाबाना'"
  4. मदन पुरस्कार गुठी

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]