सामग्रीमा जानुहोस्

तारा (देवी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तारा
सौभाग्य र उत्साहकी देवी
तारका
सुरेन्द्रपुरीस्थित नवग्रह मन्दिरमा बृहस्पति र तारा
आबद्धदेवी
वंशावली
रानीबृहस्पति
सन्तानहरूकचबुध[]

तारा सौभाग्य र उत्साहकी हिन्दू देवी हुन्। उनलाई नेपाल र तिब्बतमा "ज्ञानकी देवी"का रूपमा पनि चिनिन्छ। तारा हिन्दु देवता र बृहस्पति ग्रहका अधिपति बृहस्पतिकी पत्नी हुन्। केही पुराणहरूका अनुसार, ताराले चन्द्रमार्फत बुधलाई जन्म दिएकी हुन्छिन् भने बृहस्पतिमार्फत उनका छोरा कचले जन्म लिन्छन्।

कम्बोडियामा उनलाई किरिणी देवी (កិរិណីទេវី) को रूपमा चिनिन्छ। खमेर साम्राज्यदेखि चलिआएको हिन्दु संस्कृति अनुसार उनलाई भगवान बृहस्पतिकी पत्नी मानिन्छ। कम्बोडियाली पात्रो अनुसार यदि नयाँ वर्षको पहिलो दिन बिहीबार पर्छ भने, उनलाई बिहीबारकी संरक्षक देवीको रूपमा कम्बोडियाली नयाँ वर्षको उत्सवमा पूजा गरिन्छ। अर्को नयाँ वर्ष नआएसम्म एक वर्षका लागि यस धर्तीका मानिसहरूको रक्षा गर्न उनी स्वर्गबाट ओर्लिने विश्वास गरिन्छ। उनको यात्राका केही विशेष विवरणहरू स्थानीय कम्बोडियाली लोक संस्कृतिसँग मिश्रित र अद्वितीय छन्। उदाहरणका लागि, उनको वाहन हात्ती हो। उनी दुईवटा हात भएकी देवीको रूपमा प्रकट हुन्छिन्, जसमा उनले अङ्कुश र धनुष धारण गरेकी हुन्छिन्। उनको लुगाको रङ्ग हरियो हुन्छ। उनको कथा र विवरणहरूलाई कम्बोडियाली बौद्ध धर्मको प्रभावसँग अनुकूलन र सम्मिश्रण गरिएको छ जसले गर्दा यसको आफ्नै छुट्टै पहिचान बनेको छ।[][]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

देवीभागवत पुराणपद्म पुराणका अनुसार, तारा देवताहरूका गुरु बृहस्पतिकी पत्नी हुन्। उनका पतिले आफ्नो अधिकांश समय देवाताहरूका समस्या र मामिलामा बिताउने भएकाले उनले आफू उपेक्षित भएको महसुस गर्थिन्। एक दिन, चन्द्रदेव बृहस्पतिलाई भेट्न आउँछन् जहाँ उनले तारालाई देख्नासाथ उनको सुन्दरताबाट मोहित हुन्छन्। तारा पनि चन्द्रको सुन्दर रूप देखेर उनीप्रति आकर्षित भएपछि उनीहरू दुवै जना भाग्छन्।[]

वियोगमा परी क्रोधित बनेका बृहस्पतिले चन्द्रसँग आफ्नी पत्नी फिर्ता गर्न माग गर्छन्। चन्द्रले बृहस्पतिलाई तारा आफूसँग खुसी र सन्तुष्ट रहेको बताउँदै एक वृद्ध व्यक्ति जवान स्त्रीको पति कसरी हुन सक्छ भनेर उल्टै बृहस्पतिलाई प्रश्न गर्छन्। यो सुनेर बृहस्पतिलाई अझै क्रोधित बन्छन् र उनले चन्द्रदेवलाई युद्धको चेतावनी दिन्छन्। इन्द्र र अन्य देवताहरू युद्धका लागि भेला हुन्छन्। चन्द्रदेव तारालाई फिर्ता गर्न तयार थिएनन् र यसैकारण उनले उनले असुर र उनीहरूका गुरु शुक्रको सहयोग लिन्छन्। देवताहरूलाई शिव र उनका गणहरूले सहयोग गर्छन्। देवता र असुरहरूबीच युद्ध हुनै लाग्दा सृष्टिकर्ता भगवान ब्रह्माले उनीहरूलाई रोक्छन् र चन्द्रदेवलाई तारा फिर्ता गर्न राजी गराउँछन् तर उता तारा भने गर्भवती थिइन् र सोही अवस्थामा फर्किन्छिन्।

त्यसपछि एक कानुनी प्रक्रिया सुरु हुन्छ। बृहस्पति र चन्द्रदेव दुवैले त्यो बच्चा आफ्नो भएको दाबी गर्छन्। तारा एकदमै लज्जित भइन् र अन्यफे जति प्रयास गर्दा पनि बच्चाको वास्तविक पिता को हो भनेर बताउन उनले अस्वीकार गरिरहिन्। अन्ततः, उनको गर्भमा रहेको बच्चाले नै सोध्यो, 'आमा, म कसको वीर्यबाट जन्मिएको हुँ?' यसपछि ताराले त्यो बच्चा चन्द्रको भएको स्वीकार गर्छिन्। यद्यपि, ब्रह्माले तारा कानुनी रूपमा बृहस्पतिकी पत्नी भएकाले बच्चा पनि कानुनी रूपमा उनकै हुने निर्णय सुनाउँछन्। पत्नीको अर्को पुरुषबाट भएको सन्तान नभइ बृहस्पतिले आफ्नी पत्नी मात्र फिर्ता चाहन्थे र त्यसैले उनले त्यो बच्चालाई नपुंसक भएर जन्मिन श्राप दिन्छन्।[][] हुर्किएपछि, त्यो बच्चाले आफ्नो पालक पिता भन्दा जैविक पिताको (चन्द्र) साथ रोज्छन् र उनका छोरा पुरूरवाले आफ्ना जैविक हजुरबुबाको नाममा चन्द्रवंश स्थापना गर्छन्। पद्म पुराणमा यो कानुनी लडाइँको चर्चा गरिएको छैन।

यस पौराणिक कथामा तारालाई कुनै सजाय भने दिइएको छैन। धेरै पुनरावृत्तिहरूमा उनको कामुकतालाई प्रशंसा गरिएको छ जबकि उनी एक विवाहेत्तर सम्बन्धमा संलग्न थिइन्।[]अन्य केही पौराणिक संस्करणहरूमा भने तारालाई चन्द्रद्वारा अपहरण गरि बलात्कार गरिएको उल्लेख छ। यसपछिको घटनाक्रम र बुधको जन्मको कथा भने उस्तै रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Dalal, Roshen (१८ अप्रिल २०१४), Hinduism: An Alphabetical Guide, Penguin UK, आइएसबिएन 9788184752779
  2. Min Saes (Braḥ Mahā.) (1942) Brahma Chariyakathā, Bibliothèque Royale, Publisher: Royal Library of Cambodia p.185
  3. Astrologer Nhim Pen (1947) Cambodia Calendar, Contributor: William J. Gedney, Publisher: Association Sutharot, Original from the University of Michigan p.118
  4. Patel, Utkarsh (२०२०-०६-०५), "Tara and Chandradev: If a Dissatisfied Partner Has An Affair, Who Is To Be Blamed?", Bonobology.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-१४
  5. "Budha", १७ फेब्रुअरी २०१६।
  6. Agarwal, Himanshu (२०१६-०७-२६), Mahabharata Retold: Part - 1 (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 978-93-86073-87-7
  7. Pattanaik, Devdutt (२०२५-१२-२१), "Decolonising India’s erotic heritage", The New Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१२-२४
  8. Mittal, J. P. (२००६), History Of Ancient India (a New Version) : From 7300 Bb To 4250 Bc (अङ्ग्रेजीमा), Atlantic Publishers & Dist, आइएसबिएन 978-81-269-0615-4