तीनबुँदे सहमति (नेपाल सरकार तथा माओवादी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ३० पुसमा भएको तीनबुँदे सहमति

• नेपालको अन्तरिम संविधान २०६३, विस्तृत शान्तिसम्झौता, हतियार र सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता तथा त्यसपश्चात् भएका विभिन्न सहमति समेतलाई पालना गर्दै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन आवश्यक निर्णय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्छ।

• अनमिनको वहिर्गमनपश्चात् पनि शान्ति प्रक्रिया तथा सेना र हतियारको अनुगमनमा कुनै किसिमको समस्या वा अवरोध उत्पन्न हुन नदिन अनमिनले हालसम्म गर्दै आएको मा'वादीका शिविरमा रहेका सातवटा कन्टेनर तथा नेताहरूको सुरक्षाका लागि बाहिर राखिएका हतियार र छाउनीमा रहेको कन्टेनरको व्यवस्थापन सम्बन्धी अनुगमन, मतभेदको समाधान र विश्वासको वातावरण बनाइराख्ने सबै कार्य अब उप्रान्त विशेष समितिले गर्नेछ। सोको प्रयोजनका लागि विशेष समितिले आफूभित्र र आफ्नो सचिवालयबाट तीन-तीन जना रहने गरी एक संयन्त्र निर्माण गर्नेछ। साथै विशेष समितिबाट आवश्यक जनशक्तिसहितको एउटा संयुक्त टोली गठन गरी हतियार तथा सेनाको व्यवस्थापनसम्बन्धी अनुगमनमा तुरुन्तै खटाइनेछ। यस सम्बन्धमा यसअघि भएका सबै सहमति, सम्झौता यसै अनुसार संशोधित र परिमार्जित भएको ठहरिनेछ।

• सेना तथा हतियार व्यवस्थापनको अनुगमनका लागि अनमिनले गरेको कामको लागि धन्यवाद दिंदै त्यसले प्रयोग गरिआएका सबै साधन एवम् सरसामग्रीहरू शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने कार्यमा प्रयोग गर्न विशेष समितिको मातहतमा रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिन्छ।