थुसिडाइड्स जाल

थुसिडाइड्स जाल भन्ने शब्दलाई अमेरिकी राजनीतिक वैज्ञानिक ग्राहम एलिसनले लोकप्रिय बनाएका हुन्। यस शब्दले यस्तो अवस्थालाई जनाउँछ जहाँ उदाउँदो शक्तिले विद्यमान महाशक्तिलाई क्षेत्रीय वा अन्तर्राष्ट्रिय प्रभुत्वबाट विस्थापित गर्ने खतरा उत्पन्न गर्दा युद्धतर्फ जाने प्रवृत्ति देखिन्छ। यो शब्द सन् २०१५ पछि व्यापक रूपमा प्रयोग हुन थाल्यो, र मुख्यतया चीन-संयुक्त राज्य अमेरिकाको सम्बन्धको विश्लेषणमा लागू गरिन्छ।[१]
यस अवधारणालाई समर्थन गर्दै, एलिसनले हार्वर्ड विश्वविद्यालयअन्तर्गतको बेल्फर सेन्टर फर साइन्स एन्ड इन्टरनेशनल अफेयर्समा एक अध्ययनको नेतृत्व गरेका थिए। उक्त अध्ययनले उदाउँदो शक्तिले शासन गरिरहेको शक्तिलाई चुनौती दिएको १६ वटा ऐतिहासिक घटनामध्ये १२ वटा अन्ततः युद्धमा परिणत भएका निष्कर्स निकालेको थियो। तर, यस अध्ययनमाथि उल्लेखनीय आलोचना पनि भएको थियो र विशेष गरी युक्त राज्य अमेरिका र चीनबिचको सम्भावित सैन्य द्वन्द्वसँग सम्बन्धित थुसिडाइड्स जाल अवधारणाको महत्वबारे विद्वानहरूको धारणा अझै विभाजित रहेको थियो।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]
यो अभिव्यक्ति प्राचीन एथेन्सका इतिहासकार तथा सैन्य कमाण्डर थुसिडाइड्स (जिनको मृत्यु करिब ईसा पूर्व ४०० तिर भएको मानिन्छ) बाट प्रेरित भएको हो, र अमेरिकी राजनीतिक वैज्ञानिक ग्राहम एलिसनले करिब सन् २०११ तिर यो शब्द प्रयोगमा ल्याएका हुन्।
थुसिडाइड्सले आफ्नो कृति पेलोपनेशियन युद्धको इतिहासमा “एथेन्सको उदय र त्यसले स्पार्टामा उत्पन्न गरेको भयले युद्धलाई अपरिहार्य बनायो” भन्ने अवलोकन गरेका थिए। यही आधारमा ग्राहम एलिसनले थुसिडाइड्स जाल शब्द प्रयोग गर्दै यस्तो अवस्थाको व्याख्या गरे, जहाँ उदाउँदो शक्ति (जस्तै एथेन्स) ले स्थापित शासक शक्ति (जस्तै स्पार्टा) को प्रभुत्वलाई चुनौती दिन्छ र त्यसले युद्धतर्फ धकेल्ने प्रवृत्ति सिर्जना गर्छ।
ग्राहम एलिसनले आफ्नो सन् २०१७ को पुस्तक डेस्टिनेड फर वारमा यस अवधारणालाई अझ विस्तार गरेका छन्। उक्त पुस्तकमा उनले “चीन र अमेरिका अहिले युद्धतर्फ उन्मुख टकरावको मार्गमा छन्” भन्ने तर्क प्रस्तुत गरेका छन्।
यद्यपि ग्राहम एलिसनले डेस्टिनेड फर वारमा “शासक शक्ति” र “उदाउँदो शक्ति” बीचको युद्ध अनिवार्य नभएको बताएका छन्, तर “थ्युसिडाइड्स ट्र्याप” को अवस्थामा युद्ध टार्न अत्यन्त कठिन हुन सक्ने र त्यसलाई रोक्न व्यापक तथा गहन कूटनीतिक प्रयास आवश्यक पर्ने कुरा पनि उनले उल्लेख गरेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rachman, Gideon (१८ डिसेम्बर २०१८), "Year in a Word: Thucydides's trap", Financial Times, अन्तिम पहुँच ८ जुलाई २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Destined for War" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन