दक्षिणराय

दक्षिणराय (बङ्गाली: দক্ষিণরায়) बङ्गलादेश र भारतको सुन्दरवन क्षेत्रमा जाति तथा धर्म नहेरी पूजा गरिने प्रतिष्ठित लोक देवदेवीहरू मध्ये एक हुन्। उनलाई जनावर र दानवको नियन्त्रक वा बाघको राजा र सुन्दरवनको समग्र शासकको रूपमा चिनिन्छ। सुन्दरवनका बासिन्दाहरू दक्षिणरायलाई सुन्दरबनको भाटी क्षेत्रको अधिपति मान्दछन्।[१][२][३] अर्की एक लोकदेवी बोनबिबी र पीर बड्खाँ गाजीसँग दक्षिणरायको विरोधका कुराहरू सुन्दरवनका लोककथा, संस्कृति र पाला गीतका अंश हुन्। पश्चिम बङ्गालको सुन्दरवन जङ्गलमा भोजन र जीविकोपार्जनका लागि प्रवेश गर्ने सबै मानिसहरूले जात, धर्म वा आस्थाको भेदभाव नगरी यस देवताको पूजा गर्ने गरेको पाइन्छ।[४]
स्थानीय किंवदन्तीअनुसार दक्षिणरायको शासन क्षेत्र दक्षिणमा काकद्वीप, उत्तरमा भागीरथी नदी, पश्चिममा घाटाल र पूर्वमा बाकला जिल्लासम्म फैलिएको थियो। प्रत्येक अमावस्याको दिन दक्षिणरायको मन्दिरमा पशुवली दिइन्छ। लोकविश्वासअनुसार दक्षिण रायलाई गीत र बाजा मन पर्ने भएकाले स्थानीयहरूले रातिमा उनको मन्दिरमा नाचगानको कार्यक्रम आयोजना गर्छन्। दक्षिणरायको वार्षिक पूजाको अवसरमा गायकहरूले पालैपालो कवि कृष्णराम दासद्वारा रचित रायमङ्गल प्रस्तुत गर्छन् र बाउल्या, मउल्य, मलङ्गी जस्ता श्रमजीवी मानिसहरूले हिन्दु-मुसलमान फरक नगरी यो गीत भक्तिपूर्वक सुन्छन्। सुन्दरवनका बासिन्दाहरू दलदले जङ्गलमा माछा समात्न, काठ वा मह सङ्कलन जस्ता काममा जानु अघि दक्षिणरायको मन्दिरमा पूजा गर्दछन्।[५] केही मानिसहरूले टाउकोको पछाडि दक्षिणरायको मुकुट लगाएर जङ्गलमा प्रवेश गर्छन्। यसो गर्दा मुकुट देखेर बाघ नजिक आउन डराउँछ भन्ने उनीहरूको विश्वास छ।
साहित्य
[सम्पादन गर्नुहोस्]कलकत्ताको गढिया रेलवे स्टेसनको नजिकै रहेको लक्ष्मीकान्तपुर र धपधपिबाट केही किलोमिटर टाढा दक्षिणराय मन्दिर अवस्थित छ। यो क्षेत्र पहिला सुन्दरवनको भाग थियो। अझै पनि यस क्षेत्रमा बास गर्ने मानिसहरूले दक्षिणराय मन्दिरमा पूजा गर्छन्। दक्षिणरायको मूर्तिमा ठूलो मुकुट देखिन्छ। उसको शरीर दुब्लो, चम्किलो र पहेँलो छ। शरीरमा बाघको जस्तै धब्बाहरू र मुखको दुवैतिरबाट लार झरिरहेको देख्न सकिन्छ। यसबाहेक उनको छ मिटर लामो पुच्छर पनि रहको छ। कवि कृष्णराम दासको रायमङ्गल, साथै हरप्रसाद शास्त्री, दिनेशचन्द्र सेन, निहाररञ्जन राय, सुनीतिकुमार चट्टोपाध्यायले दक्षिणरायबारे लेखेका छन्। राजशेखर बसुको (परशुराम) प्रसिद्ध छोटो कथा र सुनील गङ्गोपाध्यायको किशोर रहस्य उपन्यास जङ्गोलेर मोध्धे गोम्बुजमा पनि दक्षिणरायको कुरा उल्लेख छ।[६] इतिहासकार सतीशचन्द्र मित्रको जशोहर खुलनार इतिहास नामक एक पुस्तक अनुसार बोनबिबी विरुद्ध दक्षिणरायले धेरै युद्ध लडेको र अन्तमा पराजित भई पराजित भई शान्ति सम्झौता गरेको उल्लेख छ।दक्षिणरायको पराजयलाई यस पुस्तकमा बाघ वा दुष्ट शक्तिको पराजयको रूपमा उल्लेख गरिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Protection from the Gods", lairweb.org.nz/, अन्तिम पहुँच २७ डिसेम्बर २०१२।
- ↑ Valmik Thapar (१९९७), Land of the Tiger: A Natural History of the Indian Subcontinent, University of California Press, पृ: 117–, आइएसबिएन 978-0-520-21470-5, अन्तिम पहुँच २७ डिसेम्बर २०१२।
- ↑ Swati Mitra (२०११), Wild Trail in Bengal: Travel Guide, Goodearth Publications, पृ: 18–, आइएसबिएन 978-93-80262-16-1, अन्तिम पहुँच २७ डिसेम्बर २०१२।
- ↑ "Dakshin-Ray", nationalmuseumindia.gov.in, अन्तिम पहुँच डिसेम्बर २५, २०१७।
- ↑ বাঙলাদেশ জাতীয় জ্ঞানকোষ। "রায়মঙ্গল"। বাংলাপিডিয়া।
- ↑ গোপেন্দ্রকৃষ্ণ বসু (২০১৫), বাংলার লৌকিক দেবতা, কলকাতা: দেজ পাবলিশিং, पृ: ১৫০।