दक्षिणामूर्ति
| दक्षिणामूर्ति | |
|---|---|
ज्ञानका देवता | |
मदुराई स्थित मीनाक्षी मन्दिरको दक्षिणी प्रवेशद्वारमा रहेको दक्षिणामूर्तिको मूर्ति। | |
| आबद्ध | शैव धर्म |
दक्षिणामूर्ति [१] हिन्दु देवता शिवको एक गुरुको रूपमा रहेको स्वरूप हो। उनलाई परम चेतना, बोध र ज्ञानको मूर्त रूप मानिन्छ।[२] दक्षिणामूर्तिले शिवलाई योग, सङ्गीत र बुद्धिको शिक्षकको रूपमा प्रतिनिधित्व गर्छन् जसले शास्त्रहरूको व्याख्या गर्छन्।[३] उनलाई ज्ञान र ध्यानका देवताको रूपमा पूजा गरिन्छ।[४]
संस्कृतमा दक्षिणामूर्ति को शाब्दिक अर्थ 'दक्षिणतर्फ फर्केको' भन्ने हुन्छ। अर्को विचारधारा अनुसार संस्कृतमा 'दाक्षिण्य' को अर्थ करुणा वा दया (परोपकार) भन्ने बुझिन्छ। त्यसैले शिवको यो अवतार एक परोपकारी शिक्षकको रूपमा रहेको छ जसले मोक्षका खोजी गर्नेहरूलाई ज्ञान प्रदान गर्दछ।[५] अधिकांश शिव मन्दिरहरूमा गर्भगृहको वरिपरि रहेको दक्षिणी प्रदक्षिणा पथमा दक्षिणामूर्तिको ढुङ्गे मूर्ति दक्षिणतर्फ फर्काएर स्थापना गरिएको हुन्छ।
चित्रण
[सम्पादन गर्नुहोस्]
ज्ञान दक्षिणामूर्तिको स्वरूपमा शिवलाई सामान्यतया चतुर्भुजको (चार हात भएका) रूपमा देखाइन्छ। उनलाई बरको रूखमुनि दक्षिणतर्फ फर्केर बसेको रूपमा चित्रण गरिएको छ। शिव मृग-सिंहासनमा विराजमान छन् र उनलाई उपदेश लिइरहेका ऋषिहरूले घेरेका छन्।[६] उनको दाहिने खुट्टा पौराणिक अपस्मार (हिन्दु पौराणिक कथामा अज्ञानताको प्रतीक मानिने राक्षस) माथि रहेको र देब्रे खुट्टा काखमा खुम्च्याइएको देखाइन्छ। कहिलेकाहीँ उनलाई जङ्गली जनावरहरूले घेरेको पनि देखाइन्छ। उनको माथिल्लो हातहरूमा एउटामा सर्प वा रुद्राक्षको माला (वा दुवै) र अर्कोमा अग्नि ज्वाला हुन्छ; जबकि तल्लो दाहिने हात 'व्याख्यानमुद्रा' मा देखाइन्छ र तल्लो देब्रे हातमा कुशको मुठो वा शास्त्रहरू हुन्छन्। उनको दाहिने हातको चोर औँला झुकेर बूढी औँलाको टुप्पोलाई छोएको हुन्छ। बाँकी तीनवटा औँलाहरू फैलिएका हुन्छन्। यो प्रतीकात्मक हातको इसारा वा मुद्रा 'ज्ञान मुद्रा' हो, जुन ज्ञान र बुद्धिको प्रतीक हो। कहिलेकाहीँ, यो हात 'अभय मुद्रा' मा पनि हुन्छ, जसले आश्वासन र आशीर्वाद दिन्छ। मेलाकादम्बुरमा दक्षिणामूर्तिको मूर्ति एउटा कानदेखि अर्को कानसम्म प्वाल भएको अवस्थामा, बरको रूखमुनि साँढेमाथि बसेको देखिन्छ।[७][८]
दक्षिणामूर्तिलाई निराकार ध्यानको योगिक अवस्थामा रहँदा निरन्तर प्रवाहित हुने आनन्द र सर्वोच्च हर्षले भरिपूर्ण एक शक्तिशाली स्वरूपको रूपमा चित्रण गरिएको छ। यस प्रतिमाका अन्य भिन्न रूपहरूमा वीणाधरा दक्षिणामूर्ति (वीणा समातेका) र ऋषभारुढ दक्षिणामूर्ति (ऋषभ अर्थात् साँढेमा सवार) पर्दछन्।
महत्त्व
[सम्पादन गर्नुहोस्]भारतीय परम्परामा गुरु वा आध्यात्मिक शिक्षकलाई विशेष श्रद्धा गरिन्छ। दक्षिणामूर्तिलाई परम गुरु, ज्ञानको अवतार र अज्ञानताको विनाशक (देवताको खुट्टा मुनि कुल्चिएको राक्षसद्वारा प्रतिनिधित्व गरिएको) मानिन्छ। ज्ञान मुद्रालाई यसरी व्याख्या गरिएको छ:- बूढी औँलाले भगवानलाई बुझाउँछ र चोर औँलाले मानिसलाई बुझाउँछ। बाँकी तीनवटा औँलाहरूले मानिसका तीन जन्मजात अशुद्धिहरू अर्थात् अहंकार, भ्रम र विगतका जन्मका खराब कामहरूलाई जनाउँछन्। जब मानिसले आफूलाई यी अशुद्धिहरूबाट अलग गर्छ तब ऊ भगवानसम्म पुग्दछ। अर्को व्याख्या अनुसार अन्य तीन औँलाहरूले जीवनका तीन अवस्थाहरूलाई जनाउँछन्: जागृति (इन्द्रिय र मनमार्फत पूर्ण रूपमा ब्यूँझिएको अवस्था), स्वप्न (निद्राको अवस्था - जब मन जागृत हुन्छ) र सुषुप्ति (सत्य-स्वरूप - जब इन्द्रिय र मन आत्मामा विलीन हुन्छन् - आत्मा)। हातलाई तिघ्राभन्दा माथि उठाएर हत्केला बाहिर फर्काइएको र औँलाहरूले सङ्केत गरिएको 'अभय मुद्रा' लाई आफ्ना विद्यार्थीहरूमाथिको उहाँको अनुग्रहको रूपमा व्याख्या गरिएको छ। रुद्राक्षको माला वा सर्पले तान्त्रिक ज्ञानलाई बुझाउँछ। अग्निले अज्ञानताको अन्धकार हटाउने प्रकाश वा ज्ञानको प्रतीकलाई जनाउँछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ दक्षिणामूर्ति स्वरूपको प्रतिमागत विवरणका लागि हेर्नुहोस्: Sivaramamurti (1976), p. 47.
- ↑ Dictionary of Hindu Lore and Legend (आइएसबिएन ०-५००-५१०८८-१) by Anna Dallapiccola
- ↑ शिक्षण कार्यको प्रतिनिधित्व गर्ने स्वरूपको विवरणका लागि हेर्नुहोस्: Kramrisch, p. 472.
- ↑ Magick of the Gods and Goddesses: Invoking the Power of the Ancient Gods By D. J. Conway p.284
- ↑ Shiva to Shankara: Decoding the Phallic Symbol By Dr. Devdutt Pattanaik p.139
- ↑ मृग-सिंहासन र ऋषिहरूको समूहको रूपमा दक्षिणामूर्तिको विवरणका लागि हेर्नुहोस्: Chakravarti, p. 155.
- ↑ Rajarajan, R.K.K. (जनवरी २०१९), "New Dimensions of Dakṣiṇāmūrti: with Special Reference to Vijayanagara-Nāyaka Art", Heritage: Journal of Multidisciplinary Studies in Archaeology।
- ↑ Rajarajan, R.K.K. (२०११), "Dakṣiṇamūrti on vimānas of Viṣṇu Temples in the Far South", South Asian Studies 27 (2): 131–144, डिओआई:10.1080/02666030.2011.614413।