दत्तात्रय रामचन्द्र कापरेकर
दत्तात्रय रामचन्द्र कापरेकर | |
|---|---|
| जन्म | दत्तात्रय रामचन्द्र कापरेकर १७ जनवरी १९०५ डहाणु, बम्बई प्रान्त, भारत |
| मृत्यु | ४ जुलाई १९८६ (उमेर ८१) नासिक, महाराष्ट्र, भारत |
| पेशा | शिक्षक |
| चिनारीको कारण | मनोरञ्जक गणितको क्षेत्रमा दिएको देनका लागि |
दत्तात्रय रामचन्द्र कापरेकर (मराठी: दत्तात्रेय रामचंद्र कापरेकर; १७ जनवरी १९०५ – ४ जुलाई १९८६) एक भारतीय गणितज्ञ थिए जो रोचक कुराहरूको अन्वेषण गर्न एवं रोचक अङ्क/सङ्ख्या संरचनाको खोजी गर्न नै आनन्दित हुन्थे। उनले कापरेकर सङ्ख्या, हर्षद सङ्ख्या र स्व–सङ्ख्या लगायत विशेष र असाधारण किसिमका अनेकौँ किसिमका सङ्ख्याहरू वर्णन गरेका छन्। उनले कापरेकर स्थिराङ्क पत्ता लगाए, जसलाई उनको नाम दिइयो।[१] सामान्य स्कूल शिक्षक मात्र रहेका कापरेकरले कुनै पनि औपचारिक उच्च शिक्षा हाँसिल गरेका थिएनन्। तर उनले कैयौँ शोध-पत्र लेखेर मनोरञ्जक गणितमा चाख राख्ने व्यक्तिहरू माझ प्रसिद्ध बने।[२]
शिक्षा र काम
[सम्पादन गर्नुहोस्]कापरेकरले माध्यमिक तहसम्मको शिक्षा ठाणेमा प्राप्त गरेका थिए भने पुनेको फर्ग्युसन कलेजमा अध्ययन गरेका थिए। सन् १९२७ मा उनले गणितमा मौलिक कार्यको लागि रैङ्गलर आर. पी. परान्जपे गणितीय पुरस्कार जीते।
उनले मुम्बई विश्वविद्यालयबाट सन् १९२९ मा स्नातक गरेका थिए। सन् १९३० देखि १९६२ सम्म उनी महाराष्ट्रको देवलाली स्थित एउटा सरकारी स्कूलमा शिक्षक रहे। उनी साइकलमा अलग-अलग स्थानहरूमा गएर निजी रूपमा पनि विद्यार्थीहरूलाई पढाउँथे र उनको शिक्षण विधि पनि अनौठो किसिमको थियो। फुर्सदको समयमा नदी किनारमा बसेर विभिन्न साध्य तथा सिद्धान्तहरूको बारेमा मनन गर्नमै उनी रमाउँथे। उनका अन्तहीन दशमलव, जादु वर्ग र विशेष गुण भएका पूर्ण सङ्ख्या जस्ता विषयमा धेरै लेखहरू प्रकाशित भएका थिए।[३][४]
खोजहरू
[सम्पादन गर्नुहोस्]कापरेकरले प्रायः एक्लै काम गरे र सङ्ख्या सिद्धान्तमा धेरै कुरा पत्ता लगाए। उनले विभिन्न प्रकारका सङ्ख्याहरू र तिनका विशेष गुणहरूको अध्ययन गरे। कापरेकर स्थिराङ्क र कापरेकर संख्याहरू बाहेक उनले स्व सङ्ख्या वा देवलाली संख्या, हर्षद सङ्ख्या र डेम्लो सङ्ख्याहरूको पनि वर्णन गरे। उनले कोपर्निकस म्याजिक स्क्वायरसँग सम्बन्धित विशेष प्रकारका म्याजिक स्क्वायरहरू पनि बनाए। सुरूमा भारतीय गणितज्ञहरूले उनको विचारलाई खासै गम्भीरतापूर्वक लिएनन्। उनको अधिकांश काम साधारण गणित पत्रिकाहरूमा प्रकाशित हुन्थ्यो वा निजी रूपमा छापिन्थ्यो। तर सन् १९७५ को मार्च महिनामा मार्टिन गार्डनरले साइन्टिफिक अमेरिकन पत्रिकाको म्याथेम्याटिकल गेम्स स्तम्भमा उनको बारेमा लेखेपछि उनी अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध भए। कापरेकर स्थिराङ्कलाई मर्लिन बर्न्सद्वारा लिखित सन् १९७५ मा प्रकाशित बालपुस्तक "आइ हेट म्याथेम्याटिक्स" मा पनि व्याख्या गरिएको थियो, यद्यपि त्यहाँ उनको नाम उल्लेख गरिएको थिएन। भौतिक रूपमा अब उनी यस संसारमा नरहे पनि संसारभरी नै परिचित छन् र उनले पत्ता लगाएका सङ्ख्याका गुणहरूको अध्ययन धेरै गणितज्ञहरूले गरिरहेका छन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "क्या आप जानते हैं जादुई नंबर ६१७४ की पहेली? इस भारतीय गणितज्ञ ने की खोज", आज तक (हिन्दीमा), २०२३-०१-१७, अन्तिम पहुँच २०२५-११-२६।
- ↑ https://mathshistory.st-andrews.ac.uk/Biographies/Kaprekar/
- ↑ Heve (२०१६-०१-१७), "17 JAN 1905-1985 DATTATRAY RAMCHANDRA KAPREKAR", Wixsite, अन्तिम पहुँच २०२५-११-२६।
- ↑ Salwi, Dilip M. (२००५-०१-२४), "Dattaraya Ramchandra Kaprekar", 4to40.com, मूलबाट २००७-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-२६। वेब्याक मेसिन अभिलेखिकरण २००७-११-१६ मिति
- ↑ O'Connor, John J.; Robertson, Edmund F., "D. R. Kaprekar", MacTutor History of Mathematics Archive, University of St Andrews।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- "Mysterious number 6174"
- Numberphile (Dec 5, 2011) 6174 Numberphile नामक युट्युब च्यानलमा रहेको भिडियो सामग्री