दुर्गमासुर
दुर्गम (जसलाई दुर्गमासुर पनि भनिन्छ) हिन्दु धर्मका विभिन्न पौराणिक कथाहरूमा उल्लिखित एक शक्तिशाली असुर राजा हुन्। उनको कथा मुख्यतया देवी शाकम्भरी र दुर्गाको उत्पत्तिको प्रसङ्गसँग जोडिएको छ।[१]
दुर्गमासुर रुरु नामक असुरका छोरा हुन्। उनले भगवान ब्रह्माको घोर तपस्या गरी चारै वेदहरूलाई आफ्नो नियन्त्रणमा लिने र देवताहरूलाई शक्तिहीन बनाउने वरदान प्राप्त गरेका हुन्छन्। दुर्गमासुरले गराएको अनिकालका बेला देवीले शताक्षी स्वरूप र शाकम्भरी स्वरूप धारण गरेकी थिइन्। देवी माहात्म्य र देवीभागवत पुराणका अनुसार, दुर्गमासुरको वध गरेपछि नै देवीको नाम 'दुर्गा' रहन गएको हो। 'दुर्गम' शब्दको अर्थ 'कठिन' वा 'अगम्य' हुन्छ र 'असुर' को अर्थ 'दानव' हुन्छ। दुर्गमासुरले संसारलाई असाध्यै कष्ट (दुर्गति) दिएकाले र उनलाई पराजित गर्न असम्भव जस्तै भएकाले, उनलाई मार्ने देवीलाई 'दुर्गा' भनिएको हो।[२]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]देवीभागवत पुराण
[सम्पादन गर्नुहोस्]हिरण्याक्षको वंश र दैत्य कुलका एक असुर दुर्गमले सृष्टिकर्ता ब्रह्मालाई प्रसन्न पार्न कठोर तपस्या गर्छन्। धेरै वर्षपछि, ब्रह्माले उनलाई आफ्नो इच्छा अनुसारको वरदान माग्न प्रकट हुन्छन्। अमरताको परम्परागत वरदान माग्नुको सट्टा, दुर्गमले वेदका सबै ग्रन्थ र ज्ञानको एकमात्र स्वामी हुने इच्छा राख्छन्। यो वरदान पाएपछि, उनले वेदहरूलाई पाताल लोकमा थुनिदिएपछि पृथ्वीका ब्राह्मण र ऋषिमुनिहरूका लागि वेदहरू अप्राप्य हुन जान्छन्। वेदको अभावमा यज्ञ गर्ने परम्परा लोप हुन्छ जसको परिणाम स्वरूप देवताहरूले आफ्नो शक्ति गुमाउन थाल्छन्।
संसारमा अनिकाल र तिर्खाले व्याप्त बन्न पुग्छ। दुर्गमले यस अवसरको फाइदा उठाउँदै इन्द्रबाट स्वर्गको सिंहासन खोसेर सबै देवताहरूलाई दास बनाउँछन्। दुर्गमका पिताले आफ्नो सम्पूर्ण परिवारको सुरक्षाको वरदान पाएका हुनाले त्रिमूर्तिले यस द्वन्द्वमा हस्तक्षेप गर्न सकेनन्। त्यसैले, उनीहरूले व्यवस्था पुनर्स्थापना गर्नका लागि परम देवी जगदम्बालाई आह्वान गर्छन्। देवी पृथ्वीमा अवतरण गर्छिन् र मानिसहरूको दयनीय अवस्था देखेर शोकका आँसु खसाल्छिन् जसबाट नदीहरू बग्न थाल्छन्। उनले मानिसहरूलाई तरकारी र जडीबुटीहरू दिएर पोषण पनि गर्छिन्।[३]
दुर्गमले आफ्नो सेनासहित देवीमाथि आक्रमण गर्छन्। जगदम्बाको स्वरूपबाट उनको शक्तिका रूपमा धारिणी, बाला, त्रिपुरा, भैरवी र काली प्रकट हुन्छन्। दुर्गमको सेना ध्वस्त भएपछि, राजा र देवीबीच एकल युद्ध हुन्छ। असुर राजा देवीका वाणहरूद्वारा मारिन्छन्। यसरी वेदहरू मुक्त भएर ब्रह्माण्डमा पुनः सुव्यवस्था कायम हुन्छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०१५-१२-०३), "Durgama, Durgamā, Dur-gama: 17 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०६।
- ↑ Danielou, Alain (१९९१), The Myths and Gods of India, Inner Traditions / Bear & Co, पृ: 288, आइएसबिएन 978-0892813544।
- ↑ Murty, Sudha (२०१९-१०-१६), The Daughter from a Wishing Tree: Unusual Tales about Women in Mythology (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, पृ: 35–38, आइएसबिएन 978-93-5305-693-3।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Durgama", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०६।