दृष्टिपटल
| दृष्टिपटल रेटिना | |
|---|---|
मानव आँखाको काटिएको दृश्य; विभिन्न जनावरहरूमा आँखाको संरचना फरक हुन्छ। | |
| विबरण | |
| उच्चारण | ब्रिटिस: /ˈrɛtɪnə/, अमेरिकी: /ˈrɛtənə/, pl. retinae /-ni/ |
| प्रमूख अङ्ग | आँखा |
| प्रणाली | दृष्टि प्रणाली |
| धमनी | सेन्ट्रल रेटिनल शिरा |
| पहिचान | |
| ल्याटिन | rēte, tunica interna bulbi |
| चिकित्सा विषय शीर्षकहरू | D012160 |
| TA | A15.2.04.002 |
| एनाटोमीको आधारभूत मोडेल | 58301 |
| शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू | |
दृष्टिपटल वा सामान्यतः रेटिना प्रायः सबै हाड भएका जीव र केही मोलस्का प्राणीहरूको आँखाको सबैभन्दा भित्री, प्रकाश-संवेदनशील तन्तुको तह हो। आँखाको प्रकाशिकीले दृश्य संसारको एक केन्द्रित द्वि-आयामी प्रतिबिम्ब दृष्टिपटलमा बनाउँछ। दृष्टिपटल उक्त प्रतिबिम्बलाई प्रशोधन गरी अप्टिक नर्भ मार्फत भिजुअल कोर्टेक्समा स्नायु आवेगहरू पठाउँछ, जसले दृष्टि अनुभूति पैदा गर्दछ। दृष्टिपटलको कार्य धेरै हदसम्म क्यामेरामा हुने फोटोग्राफिक फिल्म वा इमेज सेन्सरसँग मिल्दोजुल्दो हुन्छ।
न्युरल दृष्टिपटलमा साइन्याप्सद्वारा एकअर्कासँग जोडिएका न्युरोनहरूका विभिन्न तहहरू हुन्छन् र यसलाई रञ्जित उपकला कोशिकाहरूको बाहिरी तहले सहारा दिएको हुन्छ। दृष्टिपटलका मुख्य प्रकाश-संवेदनशील कोशिकामा फोटोरिसेप्टर सेलहरू हुन्छन् जुन रड सेल र कोन सेल गरि दुई प्रकारका हुन्छन्। रडले मुख्यतया धमिलो प्रकाशमा काम गर्छ र रङ्गहीन दृष्टि प्रदान गर्दछ। कोनले उज्यालो अवस्थामा काम गर्छ र विभिन्न प्रकारका अप्सिनको प्रयोग गरेर रङको पहिचान गर्नुका साथै पढ्ने जस्ता सूक्ष्म कार्यका लागि उच्च-स्पष्टता दृष्टि प्रदान गर्छ। तेस्रो प्रकारको प्रकाश-संवेदनशील कोशिका, फोटोसेन्सिटिभ ग्याङ्लियन सेल, सर्काडियन रिदमको सन्तुलन र प्युपिलरी लाइट रिफ्लेक्स जस्ता अनैच्छिक प्रतिक्रियाका लागि महत्त्वपूर्ण हुन्छ।
दृष्टिपटलमन प्रकाश परेपछि रासायनिक र विद्युतीय घटनाहरूको शृङ्खला सुरु हुन्छ, जसले अन्ततः स्नायु आवेगहरू पैदा गर्दछ। यी आवेगहरू अप्टिक नर्भका तन्तुहरू मार्फत मस्तिष्कका विभिन्न दृश्य केन्द्रहरूमा पठाइन्छ। रड र कोनबाट आउने न्युरल सङ्केतहरू अन्य न्युरोनहरूद्वारा प्रशोधन गरिन्छ, जसको आउटपुट रेटिनल ग्याङ्लियन सेलहरूमा एक्सन पोटेन्सियलको रूपमा हुन्छ र यिनैका एक्जनहरूले अप्टिक नर्भ बनाउँछन्।[१]
हाड भएका जीवको भ्रूण विकासमा, दृष्टिपटल र अप्टिक नर्भ विकासोन्मुख मस्तिष्कको (विशेष गरी भ्रूणको डाइन्सेफालोन) विस्तारको रूपमा उत्पत्ति हुन्छन्; त्यसैले दृष्टिपटललाई केन्द्रीय स्नायु प्रणालीको एक अंश मानिन्छ र यो वास्तवमा मस्तिष्ककै तन्तु हो।[२][३] यो केन्द्रीय स्नायु प्रणालीको एक मात्र यस्तो भाग हो जसलाई गैर-आक्रामक रूपमा बाहिरबाटै हेर्न सकिन्छ। मस्तिष्कको धेरैजसो भाग जस्तै, दृष्टिपटल पनि ब्लड-ब्रेन ब्यारियरद्वारा रक्त प्रणालीबाट अलग गरिएको हुन्छ। दृष्टिपटल शरीरको सबैभन्दा बढी निरन्तर ऊर्जा माग गर्ने भाग हो।[४]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- आँखाका संरचनाहरूको नामकरण गरिएको चित्र
- आँखाको अर्को दृश्य र यसका संरचनाहरूको नामकरण
- अप्टिक नर्भ र स्ट्रिएट कोर्टेक्सको प्रशोधन बिना, दृष्टिपटलले मात्र 'देख्ने' प्रतिबिम्बको चित्रण
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ J, Krause William (२००५), Krause's Essential Human Histology for Medical Students (अङ्ग्रेजीमा), Boca Raton, FL: Universal Publishers, आइएसबिएन 978-1-58112-468-2।
- ↑ "Sensory Reception: Human Vision: Structure and function of the Human Eye" vol. 27, Encyclopædia Britannica, 1987
- ↑ "Penn Researchers Calculate How Much the Eye Tells the Brain" (प्रेस विज्ञप्ति), University of Pennsylvania Health System, २६ जुलाई २००६, मूलबाट ११ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२२।
- ↑ Viegas, Filipe O.; Neuhauss, Stephan C. f. (२०२१), "A Metabolic Landscape for Maintaining Retina Integrity and Function", Frontiers in Molecular Neuroscience 14, आइएसएसएन 1662-5099, डिओआई:10.3389/fnmol.2021.656000, पिएमआइडी 33935647, पिएमसी 8081888।