देवासुर सङ्ग्राम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मोदनाथ प्रश्रितद्वारा रचित देवासुर सङ्ग्राम (२०३०)मा माक्र्सको समाज विकास सम्बन्धी अवधारणालाई काव्यात्मक अभिव्यक्तिमा प्रस्तुत गरिएको छ । यसले मुख्यतः एसिया (जम्बूद्वीप वा हाल रुस र चिनको पूर्वी हिस्सा बाहेकको बाँकी एसिया) का आर्य हिन्दु र आर्येतर विभिन्न समुदायका मानिसहरूको ऐतिहासिक विकास क्रमलाई प्रस्तुत गर्दै केही हदसम्म समग्र मानव विकासका सामान्य प्रवृत्तिको सङ्केत समेत गरेको छ । यसमा खास गरी दक्षिण एसियामा परिचित देव वा आर्य समूहलाई हाम्रो समाजले मानि आएको सत्पक्षका सट्टा असत् उत्पीडक र शोषक पक्षका रूपमा अनि असुर वा राक्षस पक्षलाई असत् पक्ष भन्दा भिन्न सत् उत्पीडित र शोषित एवं कर्मशील पक्षमा प्रस्तुत गरिएको छ । नेपालमा राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्था रहेका बेला (२०२७) रचिएको यस महाकाव्यले तत्कालीन सामन्ती प्रकारको उत्पादन सम्बन्ध र त्यसमा टिकेको राजतन्त्रमाथि प्रहार गर्न र नेपाली जनमानसमा प्रबल बन्दै गएको माक्र्सवादी विचार प्रवाह गर्नमा ठुलो योगदान पु¥याएको मानिन्छ । प्रस्तुत आलेखमा यसले व्यक्त गरेका प्रमुख वैचारिक पक्षमाथि विचार विमर्श गर्ने जमर्को गरिएको छ र त्यसमा महाकाव्य तत्त्वका कथानकीय गठन, लय, कथन पद्धति, बिम्ब, प्रतीक, अलङ्कार, भाषा आदि कोणबाट हेर्न नसकिएका परिसीमाहरू पनि देखिने छन् ।

मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम महाकाव्यको विषय स्रोत मूलतः हिन्दु धर्मसँग सम्बन्धित विविध ग्रन्थहरूका साथै स्वयं प्रश्रितको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचार प्रस्तुतिका निम्ति गरिएको मौलिक परिकल्पनामा आधारित छ । उनले मूलतः श्रीमद्भागवत्, वेद, महाभारत, दुर्गा सप्तशती, रामायण, श्रीमद्भगवत् गीता, मनुस्मृति आदिका साथै यथार्थ इतिहास, विभिन्न किंवदन्तीहरू समेतको उपयोग गरी ती स्रोतलाई आफ्नो विचार अनुकूल ढालेर विनिर्मित गरेका छन् । उनले ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा उक्त प्राचीन ग्रन्थहरूमा सिलो खोजेर प्राप्त गरेका तथ्यहरूलाई क्रमबद्ध संयोजन गरी आफ्ना तत्सम्बन्धी दृष्टिचेतहरू समेतलाई मिलाएर कथानकको निर्माण गरेका छन् (चापागाईँ २०५२ ः ६२८) । प्रस्तुत महाकाव्यको विषय स्रोतबारे स्वयं प्रश्रित (२०४४ ः १९) यसो भन्छन् ः भारतीय वेद र पुराणहरूको अँध्यारो जङ्गलमा पसेर इतिहासपूर्वका युगको तसबिर खिच्ने प्रयास गर्नु साँच्चै नै दुसाध्य काम हो । अझ सन्दर्भ मिलाउन कैयौँ परिकल्पनाहरूलाई समेत आधार बनाई अगाडि बढ्नु पर्दा र यस दिशामा यो पहिलो प्रयास भएको हुनाले प्रसस्त त्रुटिहरू रहन गएका होलान् । यसमा दिइएको प्राचीन भौगोलिक नक्सा, केही पौराणिक सङ्केत र केही मेरो परिकल्पनामा आधारित हुनाले त्यसमा सम्पूर्ण सत्यताको म दाबी गर्न सक्तिन ।

  • [१]-देवासुर सङ्ग्राम’को वैचारिक पक्ष -:- डा. यदु नन्दन उपाध्याय