सामग्रीमा जानुहोस्

देवी तुलसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलसी
इस्कोन मन्दिर, वृन्दावनमा रहेको वृन्दाको मूर्ति
अन्य नामहरूवृन्दा
देवनागरीतुलसी
आबद्धदेवी, लक्ष्मी, नारायणी नदी
वासस्थानभूलोक, वैकुण्ठ
प्रतीकतुलसीको बोट
चाडपर्वहरूतुलसी विवाह
अभिभावकहरू
  • धर्मध्वज (पिता)
कालनेमि र स्वर्ण (वृन्दाको रूपमा)[]
रानी जलन्धर (वृन्दाको रूपमा)
तुलसी को बोट जसले देवी तुलसीको प्रतिनिधित्व गर्दछ।

तुलसी वा वृन्दा हिन्दु परम्परामा एक पवित्र वनस्पति हो। हिन्दुहरू यसलाई देवी तुलसीको पार्थिव अभिव्यक्तिको रूपमा मान्दछन् भने उनलाई लक्ष्मीको अवतारका साथै भगवान विष्णुकी पत्नीको रूपमा पनि लिइन्छ। अर्को प्रसङ्गमा, वृन्दाको रूपमा उनको विवाह जलन्धरसँग भएको थियो। विष्णु र उनका अवतारहरू जस्तै कृष्णविठोवाको अनुष्ठानिक पूजामा तुलसीको पात चढाउनु अनिवार्य मानिन्छ।

परम्परागत रूपमा, हिन्दु घरहरूको बीचको आँगनको केन्द्र वा छेउमा मठ बनाइ तुलसी रोप्ने गरिन्छ।[] यो बोट धार्मिक उद्देश्यका साथै यसको सुगन्धित तेल र औषधीय गुणका लागि खेती गरिन्छ।

वेदहरूमा तुलसी ("अतुलनीय") लाई वैष्णवी ("विष्णुको अंश"), विष्णुवल्लभा ("विष्णुकी प्रिय"),[] हरिप्रिया ("विष्णुकी प्रिय"), र विष्णु तुलसी भनिएको छ। हरियो पात भएको तुलसीलाई श्री-तुलसी ("भाग्यशाली तुलसी") वा लक्ष्मीतुलसी भनिन्छ। 'श्री' विष्णुकी पत्नी लक्ष्मीको अर्को नाम पनि हो। यो प्रजातिलाई राम-तुलसी ("चम्किलो तुलसी") को नामले पनि चिनिन्छ भने राम विष्णुका प्रमुख अवतारहरूमध्ये एक हुन्। गाढा हरियो वा प्याजी रङको पात र डाँठ हुने तुलसीलाई श्यामतुलसी वा कृष्णतुलसी ("कालो तुलसी") भनिन्छ, कृष्ण पनि विष्णुका एक प्रमुख अवतार हुन्। यो प्रजातिलाई कृष्णका लागि विशेष रूपमा पवित्र मानिन्छ किनकि यसको प्याजी वा कालो रङ कृष्णको कालो वर्णसँग मिल्दोजुल्दो छ।[][]

अर्को तर्क अनुसार देवी लक्ष्मी र तुलसी अभिन्न छन् त्यसैले यसलाई लक्ष्मी प्रिया ("प्रिय लक्ष्मी") पनि भनिन्छ। तुलसीलाई विष्णुका अन्य अवतारका पत्नीहरू (जस्तै रामकी सीता र कृष्णकी रुक्मिणी) सँग पनि जोडेर हेरिन्छ। 'तुलसी' शब्दको शाब्दिक अर्थ "अतुलनीय" वा "नाप्न नसकिने" भन्ने विश्वास गरिन्छ। 'तुला' को अर्थ तराजु वा सन्तुलन हो जहाँ वस्तुलाई एकातर्फ र तौललाई अर्कोतर्फ राखेर मापन गरिन्छ। त्यसैले, तुलसीको अर्थ त्यो हो जसलाई कसैसँग तुलना गर्न वा नाप्न सकिँदैन।

चेन्नईस्थित इस्कोन मन्दिरमा तुलसी मठको परिक्रमा गर्दै भक्तजनहरू

श्रीमद्भागवतमा अन्य वनस्पतिहरूको तुलनामा तुलसीको महत्त्वलाई यसरी वर्णन गरिएको छ:

मन्दार, कुन्द, कुरबक, उत्पल, चम्पक, अर्ण, पुन्नाग, नागकेशर, बकुल, लिली र पारिजात जस्ता फूल फुल्ने बिरुवाहरू अलौकिक सुगन्धले भरिएका हुन्छन्। ती सबै बिरुवाहरू तुलसीले गरेको तपस्याप्रति सचेत छन् किनभने भगवानले तुलसीलाई विशेष प्राथमिकता दिनुहुन्छ जसले स्वयंलाई तुलसीको मालाले सुशोभित गर्नुहुन्छ।

श्रीमद्भागवत, स्कन्ध ३, अध्याय १५, श्लोक १९[]

तुलसीको बोटबाट पाइने पात, डाँठ, फूल, जरा, बीउ र तेल जस्ता प्रत्येक भागलाई पूजनीय र पवित्र मानिन्छ।[] तुलसीको बोटको वरिपरिको माटोलाई समेत पवित्र मान्ने गरिन्छ। पद्म पुराणका अनुसार, जसको अन्त्येष्टि गर्दा चितामा तुलसीको दाउरा प्रयोग गरिन्छ उसले मोक्ष प्राप्त गरी विष्णुको वासस्थान वैकुण्ठमा स्थान पाउने विश्वास गरिन्छ। यदि विष्णुको अगाडि दीप बाल्न तुलसीको सुकेको डाँठ प्रयोग गरिन्छ भने त्यो देवताहरूलाई लाखौँ दीप अर्पण गरे सरह हुन्छ। यदि कसैले (प्राकृतिक रूपमा सुकेको) तुलसीको काठको लेप बनाएर आफ्नो शरीरमा लगाउँछ र विष्णुको पूजा गर्छ भने त्यो धेरै साधारण पूजा र लाखौँ 'गोदान' (गाई दान) बराबर हुन्छ।[] मृत्युशैय्यामा रहेका व्यक्तिको आत्मालाई स्वर्ग पुग्न मद्दत मिलोस् भनी तुलसीको पात मिसाइएको जल खुवाउने गरिन्छ।[]

जसरी तुलसीको सम्मान फलदायी हुन्छ त्यसरी नै उनको अपमानले विष्णुको क्रोधलाई निम्त्याउँछ भन्ने विश्वास छ। यस्तो हुन नदिन सावधानीहरू अपनाइन्छ। तुलसीको बोट नजिकै पिसाब फेर्नु, दिसा गर्नु वा फोहोर पानी फाल्नु वर्जित छ। बोट उखेल्नु वा यसका हाँगाहरू जथाभावी काट्न पनि निषेध गरिन्छ।[] पूजाका लागि अयोग्य भएका टुटेका देवी-देवताका मूर्तिहरूलाई विसर्जन गरेजसरी सुकेको तुलसीको बोटलाई धार्मिक विधिपूर्वक जलाशयमा विसर्जन गरिन्छ।[] यद्यपि हिन्दु पूजामा तुलसीको पात अनिवार्य छ, तर यसलाई टिप्नका लागि कडा नियमहरू छन्। पात टिप्नु अघि तुलसीसँग क्षमा प्रार्थना गर्ने परम्परा रहेको छ।[] तुलसी शब्द धेरै स्थानका नाम र पारिवारिक थरहरूमा पनि प्रयोग भएको पाइन्छ।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Veṭṭaṃmāṇi (१९७५), Puranic encyclopaedia : A comprehensive dictionary with special reference to the epic and Puranic literature, Motilal Banarsidass, आइएसबिएन 9780842608220
  2. Simoons 1998, पृष्ठ. 17–18.
  3. 1 2 Simoons 1998, पृष्ठ 14.
  4. Chatterjee, Gautam (२००१), Sacred Hindu Symbols, Abhinav Publications, पृ: ९३, आइएसबिएन 978-81-7017-397-7
  5. "ŚB 3.15.19", vedabase.io (अङ्ग्रेजीमा), मूलबाट २०२०-०२-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०२३
  6. Cohen, MarcMaurice (२०१४), "Tulsi - Ocimum sanctum: A herb for all reasons", Journal of Ayurveda and Integrative Medicine (अङ्ग्रेजीमा) 5 (4): 251–259, आइएसएसएन 0975-9476, डिओआई:10.4103/0975-9476.146554, पिएमआइडी 25624701, पिएमसी 4296439
  7. Mani p. 798
  8. 1 2 Deshpande 2005, पृष्ठ 203.
  9. 1 2 Simoons 1998, पृष्ठ. 22–3.
  10. Simoons 1998, पृष्ठ 8.