सामग्रीमा जानुहोस्

देवी माहात्म्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवी माहात्म्य
देवीमाहात्म्य
नेपालको नेवारी लिपिमा लेखिएको १७औँ शताब्दीको देवी माहात्म्यको पाण्डुलिपि
जानकारी
धर्महिन्दु धर्म
लेखकव्यास
भाषासंस्कृत
काण्ड१३
पदहरू७००

देवीमाहात्म्य वा देवीमाहात्म्यम् एक हिन्दु दार्शनिक ग्रन्थ हो जसले देवीलाई आदि पराशक्ति वा दुर्गाको रूपमा सर्वोच्च दिव्य परम सत्य र ब्रह्माण्डको सृष्टिकर्ताको रूपमा वर्णन गर्दछ।[][] यो मार्कण्डेय पुराणको एक भाग (अध्याय ८१ देखि ९३ सम्म) हो।[][][] देवी माहात्म्यलाई दुर्गा सप्तशती, शत चण्डी []चण्डी पाठ को नामले पनि चिनिन्छ।[] यस ग्रन्थमा ७०० श्लोकहरू छन् जसलाई १३ अध्यायहरूमा व्यवस्थित गरिएको छ।[][] यो देवीभागवत पुराणदेवी उपनिषद्सँगै शाक्त सम्प्रदायको सबैभन्दा महत्त्वपूर्ण ग्रन्थहरू मध्ये एक हो।[] यो हिन्दु परम्पराका प्रारम्भिक पूर्ण पाण्डुलिपिहरू मध्ये एक हो जसले ईश्वरको स्त्री स्वरूपको श्रद्धा र उपासनाको वर्णन गर्दछ।[]

देवी माहात्म्य मा खराब र असल शक्तिको बीचको पौराणिक युद्धको वर्णन गरिएको छ जसमा देवीले दुर्गाको रूप धारण गरी राक्षस महिषासुर विरुद्ध असल शक्तिहरूको नेतृत्व गर्छिन् भने यहाँ देवीलाई अत्यन्त क्रोधित र क्रूर रूपमा प्रस्तुत गरिएको र अन्ततः असल पक्षको विजय भएको मानिन्छ।[१०][११][१२] यस कथाका श्लोकहरूले एक दार्शनिक आधार पनि प्रस्तुत गर्दछन् जहाँ हिन्दु धर्मको परम सत्य (ब्रह्म), जगत् जननी (दिव्य माता) हुन्।[१३][१४][१५]

देवी माहात्म्य को पाठ नौरथा उत्सव, दुर्गा पूजा पर्व,[१६][१७] र भारत तथा नेपालभरका दुर्गा मन्दिरहरूमा गरिन्छ।[१६][१८]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]
देवी माहात्म्यको सबैभन्दा पुरानो जीवित पाण्डुलिपि, ताडपत्रमा लेखिएको, प्रारम्भिक भुजिमोल वा नेवारी लिपि, नेपाल, ११औँ शताब्दी

देवी माहात्म्यम् को अर्थ 'देवीको महिमा' भन्ने हुन्छ।[१९] यस ग्रन्थलाई दुर्गा सप्तशती पनि भनिन्छ (शाब्दिक अर्थ "सात सयको सङ्ग्रह" वा जसमा सङ्ख्यामा सात सय रहेका छन्), किनभने यसमा ७०० श्लोकहरू रहेका छन्।[]

यसलाई चण्डी पाठ को नामले पनि चिनिन्छ।[२०] देवी माहात्म्यम् मा सर्वोच्च देवीलाई चण्डी वा चण्डिका नामले सम्बोधन गरिएको छ। हिन्दु धर्मग्रन्थहरूका अनुसार, चण्डिका "सत्य र न्यायकी देवी हुन् जो धर्म स्थापनाका लागि पृथ्वीमा प्रकट भएकी थिइन्"। यो नाम विशेषण चण्ड बाट बनेको हो जसको अर्थ "भयानक, उग्र वा दुष्ट शक्तिहरूका लागि क्रूर" भन्ने हुन्छ (असल शक्तिहरूका लागि होइन)। यस उपाधिको वैदिक साहित्यमा कुनै उल्लेख पाइँदैन र यो पहिलो पटक महाभारतको पछिल्लो समयमा थपिएको अंशमा भेटिन्छ जहाँ चण्डचण्डी विशेषणका रूपमा प्रयोग गरिएका छन्।[२१]

देवी माहात्म्य एक भक्तिमूलक ग्रन्थ हो। थोमस कोबर्नका अनुसार यसको उद्देश्य दैवी स्वरूप वा अमूर्त विचारहरूको विश्लेषण गर्नु नभई प्रशंसा वा स्तुति गर्नु हो।[२२] यसले एक दार्शनिक आधारमा उभिएर यो कार्य गर्दछ जसमा नारीलाई नै आदिम सत्ता मानिएको छ; उनी नै सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा त्रिदेवी हुन्।[२२] ग्रन्थमा उनलाई सबै प्राणीहरूमा आत्माको रूपमा र ज्ञान, इच्छा र क्रिया शक्तिको रूपमा निवास गर्ने देवी भनिएको छ।[२२] उनलाई अझ अगाडि सबै जीवित प्राणीहरूको चेतना, बुद्धि, पदार्थ र रूप वा भावनाका रूपमा वर्णन गरिएको छ।[२२]

यस ग्रन्थमा देवीको 'सगुण' (साकार, अवतार लिएको) र 'निर्गुण' (निराकार, अमूर्त) दुवै स्वरूपका स्तुतिहरू समावेश छन्।[२३] 'सगुण' स्तुतिहरू देवी माहात्म्यको अध्याय १, ४ र ११ मा पाइन्छन् भने अध्याय ५ मा देवीको 'निर्गुण' अवधारणाको प्रशंसा गरिएको छ। ग्रन्थका अनुसार देवीका सगुण रूपहरू महाकाली (संहारकर्ता, माताको इच्छा शक्ति, 'तामसिक'), महालक्ष्मी (पालनकर्ता, माताको विकास शक्ति, 'त्रिगुणात्मिका' र त्यसपछि 'राजसिक') र महासरस्वती (सृष्टिकर्ता, माताको क्रिया शक्ति, 'सात्विक') हुन्,[२३] जसलाई सामूहिक रूपमा 'त्रिदेवी' भनिन्छ। निर्गुण अवधारणा ('अव्यक्त', परात्पर) लाई पनि महालक्ष्मीको रूपमा सम्बोधन गरिएको छ।[२३] यो संरचना संयोगवश बनेको नभई यसमा साङ्ख्य दर्शनको तीन गुणको विचार समावेश गरिएको छ, जुन भगवद गीता जस्ता हिन्दु धर्मग्रन्थहरूमा केन्द्रमा रहेको छ।[२३]

साङ्ख्य दर्शनको मान्यता अनुसार सबै जीवन र पदार्थमा तीनवटा सह-अस्तित्व भएका जन्मजात प्रवृत्ति वा गुणहरू (गुण) हुन्छन्, जसको सन्तुलन वा असन्तुलनले कुनै पनि जीवित प्राणी वा वस्तुको प्रकृति निर्धारण गर्दछ।[२४][२५] तामसिक गुण अन्धकार र विनाशकारी हो, सात्विक गुण उज्यालो र रचनात्मक हो, र राजसिक गुण गतिशील ऊर्जा हो जुन आफैमा न रचनात्मक हुन्छ न त विनाशकारी नै।[२३] यस दर्शन अनुसार, अव्यक्तमा यी तीनै गुणहरू एक प्रवल सिद्धान्त र अप्रकट शक्तिको रूपमा रहेका हुन्छन् र देवी माहात्म्य का अनुसार यो अप्रकट देवी प्रत्येक व्यक्तिमा निवास गर्छिन्।[२२] साङ्ख्यको यो द्वैतवादी आधारलाई उपनिषद, भगवद गीता, भागवत पुराण र हिन्दु धर्मका अन्य महत्त्वपूर्ण ग्रन्थहरूमा झैँ देवी माहात्म्यमा पनि अद्वैतवादी (अद्वैत) आध्यात्मिकतामा एकीकृत गरिएको छ।[२६][२७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. June McDaniel 2004, पृष्ठ. 215-216.
  2. Kinsley 1988, पृष्ठ. 101-102.
  3. Cheever Mackenzie Brown 1998, पृष्ठ 77 note 28.
  4. Coburn 1991, पृष्ठ. 13.
  5. 1 2 Coburn 2002, पृष्ठ 1.
  6. 1 2 Tracy Pintchman 2014, पृष्ठ 86.
  7. "Chandi Path", Archive.org, २०२०-०२-१७, अन्तिम पहुँच २०२४-०१-०४
  8. 1 2 Coburn 1991, पृष्ठ. 27-31.
  9. Constance Jones; James Ryan (२०१४), Encyclopedia of Hinduism, Infobase Publishing, पृ: ३९९, आइएसबिएन 978-0816054589
  10. Rocher 1986, पृष्ठ. 191-192.
  11. Tracy Pintchman 2014, पृष्ठ 20.
  12. June McDaniel 2004, पृष्ठ. 215-216, 219-220.
  13. Coburn 2002, पृष्ठ 1, 53-56, 280.
  14. Lochtefeld 2002, पृष्ठ 426.
  15. Kinsley 1988, पृष्ठ. 101-105.
  16. 1 2 Dalal 2014, पृष्ठ 118.
  17. Gavin Flood (१९९६), An Introduction to Hinduism, Cambridge University Press, पृ: १८१, आइएसबिएन 978-0-521-43878-0
  18. Kinsley 1997, पृष्ठ. 30-35.
  19. "British Library", www.bl.uk, मूलबाट २०२३-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-१९[स्थायी मृत कडी]
  20. "Devi Mahatmya", www.bl.uk, मूलबाट २०२३-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२०[स्थायी मृत कडी]
  21. Coburn, Thomas B., Devī Māhātmya. p 95
  22. 1 2 3 4 5 Thomas Coburn (२००२), Katherine Anne Harper, Robert L. Brown, सम्पादक, The Roots of Tantra, State University of New York Press, पृ: 79–81, आइएसबिएन 978-0-7914-5305-6
  23. 1 2 3 4 5 Thomas Coburn (२००२), Katherine Anne Harper, Robert L. Brown, सम्पादक, The Roots of Tantra, State University of New York Press, पृ: 80–83, आइएसबिएन 978-0-7914-5305-6
  24. James G. Lochtefeld, Guna, in The Illustrated Encyclopedia of Hinduism: A-M, Vol. 1, Rosen Publishing, आइएसबिएन ९७८०८२३९३१७९८, page 265
  25. Alban Widgery (1930), The principles of Hindu Ethics, International Journal of Ethics, Vol. 40, No. 2, pages 234-237
  26. Tracy Pintchman 2015, पृष्ठ. 131-132.
  27. Coburn 1991, पृष्ठ. 157-158.