दोषी चश्मा (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दोषी चश्मा कथासंग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
२००६ साल
पृष्ठहरू१०४ पृष्ठ

दोषी चश्मा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक एवम् चरित्रप्रधान कथा हो । यो कथा साझा प्रकाशनले वि.सं २००६ सालमा प्रकाशित दोषी चश्मा कथासंग्रह‎मा सङ्ग्रहित गरिएको छ । नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको कथा हो । यो कथा दोषी चश्मा कथासंग्रह(२००६)मा संग्रहित कथा हो ।

समालोचना[सम्पादन गर्ने]

सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ। यसले केशवराजको हीन दृष्टिकोणलाई प्रतीकात्मक रूपमा प्रष्ट्याएको छ। कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग, कोठाबाट निस्केको धुँवा आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ। विविध किसिमका प्रतीकात्मक शब्द र वाक्यगठनहरूका माध्यमबाट केशवराजमा व्याप्त भ्रमलाई प्रकटीकरण गर्ने र यसकै माध्यमद्वारा राणाकालीन समसामयिक सामाजिक यथार्थ उदघाटन गर्नुका साथै आफूलाई ठूलो र अरूलाई सानो ठान्ने एवं देख्नेहरूबाट केशवराजले खेप्नुपरेको मानसिक चिन्ताको साथै उसको मनस्थितिमाथि पनि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट नै प्रतीकात्मक रूपमा प्रकाश पारेका छन्।

"धुँवाको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर उनको कोठामा आई फुट्यो। कोठा अँध्यारो थियो तर केशवराज प्रसन्न थिए।" भन्ने कथोक्तिमा कथाकार कोइरालाले धुँवालाई एउटा जटिल समस्या समाधानको प्रतीकका रूपमा लिएका छन् भने समस्याबाट समाधान पाएको ठानी प्रसन्न भएको केशवराजको भविष्य अझैँ अन्धकारमय बनेको यथार्थलाई कथोक्तिमा अभिव्यक्त 'अँध्यारो' शब्दले प्रष्ट्याएको छ। यसले केशवराजको भविष्य अझै अनिश्चित छ र उसको प्रसन्नतासम्बद्ध तुष्टि धुवाँझैँ क्षणिक छ भन्ने प्रतीकात्मक अर्थ अभिव्यक्त गर्दै उसको अर्द्धचेतन अवस्थाको राम्रो चित्रण गरेको छ। उसले र उसकी श्रीमती दुवैले पाएको दुःखको मूल कारण चाकरीप्रथा नै हो। चाकरीजस्तो विकृत प्रथाले मानिसमा उत्पन्न गर्न पुगेका विभिन्न किसिमका जटिल समस्याजन्य विकृति र विसङ्गतिहरू एवं यसले उत्पन्न गर्न पुगेका विविध किसिमका मानसिक चिन्तालाई केलाएर यो प्रथालाई जरैदेखि निर्मूल गर्नुपर्ने आवश्यकतामाथि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट गहन प्रकाश पारेका छन्।

चाकरी नगरे तथा ठूलाबडा मानिससँग टेक राखे भोकभोकै मर्नुपर्छ भनेर चाकरीलाई जीवनको अभिन्न आधार र सर्वेसर्वा ठान्दै अनि जर्साबलाई देवता समान मान्दै चाकरीमा निर्लिप्त केशवराजको दारुण नियतिमाथि "धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै उनी आइरहेका थिए" भन्ने कथोक्तिका माध्यमबाट नै कथाकारले राम्रो प्रकाश पारेका छन्। यसमा अत्यन्त गहन किसिमको प्रतीकात्मक अर्थ समावेश हुन पुगेको पाइन्छ। बिहान झिसमिसेदेखि बेलुकी अबेरसम्म चाकरीमा निर्लिप्त व्यक्तिहरूले आफ्नो अमूल्य समयलाई केवल चाकरीमै समर्पित गरेको कारण ऊभित्रको शक्ति, सामर्थ्य र श्रम त्यसै खेर गइरहेको एवं आफूलाई आत्मनिर्भर तुल्याउन नसकी खेतको सुगन्धी वायुलाई नै स्वादका रूपमा लिनुपरेको यथार्थको प्रकटीकरण गर्दै भोकभोकै बाँच्न विवश र बाध्य हुनु परिरहेको यथार्थ यसमा राम्ररी अभिव्यक्त हुनपुगेको छ। यस किसिमका विभिन्न प्रतीकात्मक शब्द र उक्तिहरूका माध्यमबाट सदैव चाकरीमा निर्लिप्त केशवराजको चारित्रिक विशेषता, उसको मनस्थिति र क्रियाकलापहरूको मनोवैज्ञानिक शल्यक्रिया गर्ने काम कथाकारले कथामा गरेका छन्। केशवराजका विविध किसिमका मानसिक संवेगहरू र पात्रानुकूल संवादका माध्यमबाट मूलरूपमा केशवराजको मनस्थितिको गहिरो विश्लेषण गर्ने काम कथाकारले गरेका छन्। यस किसिमको विश्लेषणको क्रममा केशवराजका अतृप्त आवेगहरू पनि कथामा अभिव्यक्त भएका छन्। यति हुँदाहुँदै पनि मानिसको चेतन मन, अर्द्धचेतन मन र अवचेतन मनमध्ये मूलरूपमा केशवराजको अवचेतन मनको व्यवहारवादी मनोविश्लेषण कथाकारले 'दोषी चस्मा' शीर्षकको कथामा गरेका छन्।

केशवराजमा यदाकदा पाइने चेतन र अर्द्धचेतन मनलाई अवचेतन मनले दमन गर्न पुगेको पाइन्छ। कथामा केशवराजको चेतन मनले आफ्नो अडान छाड्न नहुने स्थितिबोध पनि गर्न पुगेको देखिन्छ। दिनरात चाकरीमा निर्लिप्त भएर पनि आफ्नो कुनै व्यवस्था नभएको र क्षणिक सुख पनि पाउन नसकेको यथार्थको चित्रण पनि कथामा छ। आफ्नी श्रीमतीले दुःखसँग जीवन बिताउनु परिरहेको स्थितिबोध पनि केशवराजले गरेको छ। यति हुँदाहुँदै पनि उसको अर्द्धचेतन मनले चेतन मनलाई दमन गर्न पुगेको छ "जसले चाकरीकै भरमा दुई साँझ गास टिप्छ, ऊजस्ता झुत्रेले टेक राख्ने र ! टेक राखेर के ? जर्साबको के बिग्रन्छ ? के उहाँको भ्रम निवारण हुन्छ ? आफैँ भोको मर्नुपर्छ। हामीहरूजस्ताले त्यस्ता ठूलासँग टेक राख्ने रे ! अहँ एउटा भूललाई अर्को भुलले सच्याउन सक्तैन। गएर माफी माग्नैपर्छ।" भन्दै उसको चेतन मनलाई अर्द्धचेतन मनले र अर्द्धचेतन मनलाई अवचेतन मनको परिवेशले नराम्ररी थिच्न पुगेका विभिन्न किसिमका मनोवैज्ञानिक अवस्थाको चित्रण कथामा पाइन्छ। यसरी अवचेतन मनले मानिसको व्यक्तिगत इच्छाहरूलाई कसरी र कुन रूपमा थिच्न पुग्छ र उसभित्र कसरी कुण्ठा र नैराश्य उत्पन्न हुनपुग्छ भन्ने तथ्यलाई अत्यन्त कलात्मक एवं प्रतीकात्मक रूपमा कथाकारले यो कथामा राम्ररी उदघाटन गरेका छन्।

कथाकार विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा' कथा प्रत्येक पाठकभित्र अन्तहृदयदेखि नै केशवराजप्रति करुणा र सहानुभूति जगाउँदै अगाडि बढेको छ। उसका चेतन, अर्द्धचेतन र अवचेतन मनस्थितिहरूको शल्यक्रिया गरेर उसका चारित्रिक विशेषताहरूका पक्षमा कथाले गहन प्रकाश पारेको छ। मूलरूपमा राणाकालीन समयको सामान्य कर्मचारीहरूको दिनचर्यालाई केशवराज नामको प्रतिनिधिपात्रको माध्यमबाट केलाइएको यो कथाको मूल सन्देश चाकरीप्रथाको विरोध गर्नु हो र यस प्रथाले व्याप्त हुनपुगेको व्यक्तिको कुण्ठा र निराशालाई राम्ररी अभिव्यक्त गर्नु नै हो। यही कुण्ठा र निराशाले व्याप्त भएको मनस्तापी व्यक्तित्व केशवराजको निरीह जीवनपद्धति र कमजोर मनस्थितिको विश्लेषण कथाकारले कथामा गरेका छन्। यस क्रममा चाकरीलाई नै सर्वेसर्वा मान्ने र ठान्ने केशवराजलाई एक नम्बरको चाकरीबाजको रूपमा कथामा चित्रित गरिएको छ। जर्साबको चाकरी नगरी खान, लाउन पाइन्न र चाकरी नगरे आफ्नो मात्र होइन परिवारकै जीवन बर्बाद हुन्छ भन्ने कमजोर मानसिकता बोकेर उसले आफ्नो स्वाभिमानलाई समेत पूर्णरूपमा गुमाउन पुगेको देखिन्छ। यस यथार्थका कसीमा केशवराजलाई एउटा अकर्मण्य चरित्र बोकेको व्यक्तित्वको रूपमा लिन सकिन्छ। ऊ कुनै कुरालाई पनि सही किसिमले विश्लेषण गर्न नसक्ने एउटा निरीह प्राणीका रूपमा कथामा उभिएको छ। ऊ अति सामान्य किसिमको घटनालाई पनि समस्याको सगरमाथा नै खडा भएको रूपमा लिनपुग्छ र यसकै कारण मनभित्र विभिन्न किसिमका शङ्का-उपशङ्काका पहाड सिर्जना गरेर मानसिक रोगी बन्न पुग्छ। जर्साबलाई स्वस्ति गर्न नपाएको ठानेपछि उसभित्र उत्पन्न हुनपुगेका विभिन्न किसिमका संवेग र अन्तर्द्वन्द्वहरूलाई मनन गर्दा उक्त कुराको पुष्टि हुन्छ।

ऊ आफूलाई लागेको र आफूले देखेको कुरासमेत निर्धक्कसँग कसैलाई भन्न सक्तैन। उसको मुटु नै ज्यादै कमजोर छ। जर्साबसँग माफी माग्दा 'केको माफी!' भनेर सोद्धा नै तर्सिएर त्यहाँबाट त्यसै फर्किएको घटनाबाट ऊ अत्यन्त कमजोर मुटु भएको मानिस हो भन्ने तथ्य परिभाषित हुन्छ। चाकरीमा निर्लिप्त भएर उसले आफ्नो जीवनको अमूल्य समय त्यसै खेर फालेको छ। कुनै पनि तिलजस्तो कुरालाई विभिन्न शङ्का-उपशङ्का गरी त्यसलाई पहाड बनाउने, आफ्ना कमजोरीहरूको रिस अरूमाथि पोख्ने, वनको बाघले नखाए पनि सदैव मनको बाघले भने खाइरहने अत्यन्त काँतर किसिमको केशवराजको चारित्रिक मनस्थितिको गहिरो विश्लेषण कथाकार कोइरालाले यो कथामा गरेका छन्। यस किसिमले केशवराजको चारित्रिक विशेषताहरूलाई उजागर गर्ने कार्यमा पात्रको मनोवृत्ति र त्यसको आधारमा अघि बढेको स्वभावोक्तिजन्य प्रतीकात्मक कथाकलाको राम्रो संयोजन कथामा हुनपुगेको पाइन्छ। विभिन्न किसिमका सङ्केत र प्रतीकको प्रयोगबाट धेरै कुरालाई बुझाउने कथाशिल्प कथाकार कोइरालाको विशेषता नै हो। यस किसिमको विशेषतालाई यो कथाले पनि राम्ररी अँगालेको पाइन्छ।

कथामा अन्तर्मुखी पात्र केशवराजको मनभित्रका प्रत्येक मनोवृत्तिलाई खोतलखातल गरी त्यसलाई यथार्थरूपमा उद्घाटित गर्ने र त्यसका माध्यमबाट चाकरी प्रथाको झाँको झार्दै यस प्रथाप्रति ठूलो व्यङ्ग्य र उपहास गर्ने कार्यमा विभिन्न किसिमका प्रतीकात्मक शब्द र वाक्यहरू प्रयोग भएका छन्। यसका कसीमा पनि मानिसका भित्री मनको चिरफार गर्ने कार्यमा कथाकार कोइराला निक्कै खप्पिस कथाकारका रूपमा देखिएका छन्। त्यसैले उनका अन्य सबै उत्कृष्ट मनोवैज्ञानिक कथाहरूमध्ये यो कथालाई पनि अत्यन्त उत्कृष्ट किसिमको मनोवैज्ञानिक कथाको रूपमा लिन सकिन्छ।

यौनमनोविज्ञानमा आधारित कथाबाट यौनजन्य समस्याको मनोवैज्ञानिक चित्रण गर्न खप्पिस कथाकार कोइरालाको 'दोषी चस्मा' शीर्षकको यो कथा यौनेतर मनोविज्ञानको एउटा सामाजिक र यथार्थवादी मनोवैज्ञानिक कथा हो। यसले राणाकालीन सामाजिक परिवेश र यथार्थको प्रकटीकरणका माध्यमबाट चाकरीप्रथाले सिर्जना गर्न पुगेको विकृति र विसङ्गतिमाथि ठूलो प्रहार गर्दै प्रत्येक मानिसको स्वअस्तित्वको खोजि गरेको छ। प्रतीकात्मकरूपमा आफूलाई ठूलो मान्ने र अरूलाई सानो देख्ने र सोच्ने ठूलाबडा भनाउँदाहरूको प्रवृत्तिको विरोध कथाले गरेको छ। प्रत्येक मानिसलाई आफ्नो स्वाभिमान र आत्मगौरवको रक्षा गर्दै आफ्नो जन्म र जीवनको सार्थकता खोज्न आग्रह गरेको छ। त्यसैले यो कथा मूलरूपमा अस्तित्ववादमा आधारित अत्यन्त सुन्दर कथा हो र यसले परम्परामा आधारित सामन्ती सोच र व्यवहारले थिचिएको र निस्सासिएको नेपाली समाज र गरीबीबीचको द्वन्द्वात्मक यथार्थको सही र सूक्ष्म विवेचनाका माध्यमबाट प्रत्येक मानिसको अस्तित्वको संरक्षणका लागि प्रत्येक मानिस जागरुक हुनुपर्ने प्रतीकात्मक सन्देश प्रवाहित गरेको छ।

कथा अत्यन्त प्रौढ सोचमा आधारित छ र यसले प्रत्येक मानिसलाई आफू हुनुको अस्तित्वको खोजि गर्दै प्रतीकात्मकरूपमा समाजको परिवर्तन प्रक्रियामा अघि बढ्न मानिसले आफूभित्र अन्तर्निहित शक्ति र सामथ्र्यको भित्री स्तरलाई उकासेर बाहिरी परिवेशमा व्याप्त प्रत्येक विकृत संस्कार र वातावरणको अन्धकारलाई चिर्न अग्रसर हुनुपर्ने विषयलाई चित्रित गर्नपुगेको पाइन्छ। मानिसको मनभित्र दमित इच्छा र चाहनाहरूलाई मूर्तरूप प्रदान गर्न मनभित्र नै परिवर्तन आउनुपर्छ र त्यसलाई बाहिरी परिवेशमा पनि चित्रित गर्न सार्थक प्रयास गर्नुपर्छ। यसको अभावमा समाज परिवर्तन हुनसक्दैन र समाज परिवर्तनका लागि समाज सुहाउँदो आचरण र जीवनलाई सङ्घर्षशील तुल्याउनु सक्नुपर्छ भन्ने सत्यतथ्यमा पनि यो कथाले प्रतीकात्मक रूपमा मार्मिक प्रकाश पार्नसकेको पाइन्छ। यसकै सापेक्षतामा कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ। [१]

= यो पनि हेर्नुहोस् = विश्वेश्वरप्रसाद कोइराल


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. भाषा/साहित्य, समीक्षा, शिवप्रसाद भट्टराई, गोरखापत्र