दौलत विक्रम विष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दौलत विक्रम विष्ट
Daulat Bikram Bista.jpg
दौलत विक्रम विष्ट

दौलत विक्रम विष्ट (वि.सं. १९८३- वि.सं. २०५९) प्रसिद्ध नेपाली उपन्यासकार दौलतविक्रम हुन्। उनले वि.सं. २०४५ सालको मदन पुरस्कार प्राप्त गरेका थिए।

जीवनी[सम्पादन गर्ने]

सोमराज विष्ट र मानकुमारी विष्टका जेठा छोरा दौलतविक्रम विष्टको जन्म वि.सं. १९८३ साल असोज ६ गते प्रतिपदा तिथिमा भोजपुरको बजारमा भएको थियो। यिनको पुर्ख्यौली थलो लमजुङको चितीमा हो। तर बाबु नै त्यो ठाउँ छाडी काठमाडौंका निवासी बनेका हुँदा यिनको पनि स्थायी बसोबास काठमाडौं नै हुन पुग्यो। यिनका हजुर बुबा रेशमी राज विष्ट नै अदालतका डिठ्ठासम्म भएका थिए। दौलतविक्रमका जेठा बुबा पद्मराज पनि सरकारी सेवामा प्रवेश गरी काठमाडौंमै घरजम गरेर बसेका थिए। त्यही पारिवारिक पृष्ठभूमिले गर्दा बाबु सोमराज पनि १६ वर्षको उमेरमै काठमाडौं आएर खरीदार जागीरमा लागेका थिए। बाबु जागीर खान जाने क्रममै दौलतविक्रमको जन्म भोजपुरमा भएको हो। बाबुको जागीर सरुवा भइ रहने हुँदा यिनको बाल्यकाल पनि विभिन्न ठाउँ (भोजपुर, सल्यान, रक्सौल, झापा, काठमाडौं)मा बित्दै गयो तर मातृस्नेहबाट यी सानै उमेरमा वञ्चित हुनु पर्‍यो। ससाना भाइहरू र यिनलाई छाडेर आमा वि.सं. १९९६ सालमै परलोक गइन्। त्यस घटनाको प्रभाव विष्टमा पछिसम्म परि रह्यो। आफ्नी आमाको मृत्युपछि बाबुले दोस्रो विवाह गरे। सानीमाबाट एउटी छोरी मिठु र तिन भाइ छोरा (क्रमशः शङ्कर, गोपाल र मदन) जन्मिए। आफ्नो ठूलै परिवार भए पनि सोमराज विष्ट जागीरे हुनुका साथै झापामा अढाइ सय बिघा जग्गा जोर्न सफल भएका थिए। उनको सम्पन्नताले दौलतविक्रमलाई पनि टड्कारो आर्थिक कठिनाइ झेल्नु परेन।

सम्पन्न परिवारका दौलतविक्रमको विवाह १९ वर्षको उमेरमा सुब्बा प्रेमलाल पाण्डेकी छोरी लिचुसँग भयो तर बिहे भएको तिन महिना पनि नहुँदै लिचुले छोरो जन्माएकी हुँदा उसलाई माइतीकै जिम्मा लगायो। त्यसपछि काठमाडौं इन्द्रचोक निवासी भक्तमान बस्नेतकी छोरी नुतन कुमारीसँग विष्टको दोस्रो विवाह भयो। उनैबाट विष्टका चार छोरा (क्रमशः श्रीविक्रम, ओमविक्रम, कैलाशविक्रम र अनन्तविक्रम) र दुई छोरी (क्रमशः इन्दिरा र निरु) जन्मिए। विष्टको गृहस्थी कटनी तिनै श्रीमती र छोराछोरीसँग हुँदै गयो। जीवनको उत्तरार्धमा आएर श्रीमतीको पनि देहावसान २०५४ सालमा भयो। यिनी पनि जीवनको अन्तिम प्रहरतिर आएर पक्षाघातको बिमारले कुँजिदै गएका थिए र देहावसान वि.सं. २०५९ साल पुस १३ गते भएको थियो।

कृतिहरू[सम्पादन गर्ने]

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

  • २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित (तर त्यसका लागि दिने भनेको रु.९००।– नदिएको),
  • नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कथा र उपन्यासमा नयाँ मोड ल्याएको मानेर महेन्द्र प्रज्ञा पुरस्कार (२०३२) ,
  • मदन पुरस्कार गुठीबाट ‘ज्योति ज्योति महाज्योति’ उपन्यासका लागि मदन पुरस्कार (२०४५),
  • साझा प्रकाशनबाट ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथा सङ्ग्रहका लागि साझा पुरस्कार (२०४८),
  • भूपालमान स्मृति प्रतिष्ठानले भूपालमान स्मृति पुरस्कार (२०५५),
  • प्रबल गोरखा दक्षिण बाहु चौथा (२०३०),
  • दुर्गम सेवा पदक र
  • जनसेवा पदक (२५ वर्ष नोकरी पुगे बापत)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]