द्रुपद
| द्रुपद | |
|---|---|
द्रौपदीको स्वयंवर समारोहमा द्रुपद, २०औँ शताब्दीको चित्र | |
| जानकारी | |
| हतियार | गदा, धनुष र बाण |
| परिवार | पृषत (पिता) सुचित्र (भाइ) |
| जीवनसाथी | पृषती (मुख्य रानी) |
| बच्चा | धृष्टद्युम्न, शिखण्डी, सत्यजित, उत्तमौजा, युधामन्यु र अन्य ६ छोराहरू द्रौपदी (छोरी) |
द्रुपद [१]), जसलाई यज्ञसेन,[२] को नामले पनि चिनिन्छ, हिन्दु महाकाव्य महाभारत मा दक्षिण पाञ्चालका राजा हुन्। उनी महाकाव्यकी नायिका द्रौपदीका पिता हुन्। कुरुक्षेत्र युद्धमा १ अक्षौहिणी सेनाको प्रमुखका रूपमा द्रुपदले आफ्ना ज्वाइँहरू पाण्डवको पक्षबाट लडेका थिए र उनको मृत्यु आफ्ना बाल्यकालका मित्र तथा प्रतिद्वन्द्वी द्रोणको हातबाट भएको थियो।
प्रारम्भिक जीवन र परिवार
[सम्पादन गर्नुहोस्]
महाभारतका अनुसार, द्रुपद पाञ्चाल राज्यका राजा पृषतका छोरा हुन् र उनको जन्मको नाम यज्ञसेन थियो। केही पौराणिक शास्त्रहरूले यसको विपरीत वंशावली प्रदान गर्छन्, जसअनुसार द्रुपद सोमका छोरा हुन् र पृषत सोमका पजुबा हुन्।[३]
द्रुपदको प्रारम्भिक जीवनको वर्णन महाकाव्यको आदि पर्वमा गरिएको छ। जसअनुसार उनी शिक्षाका लागि ऋषि भारद्वाजको आश्रममा जान्छन् र भारद्वाजका पुत्र तथा आफ्ना सहपाठी द्रोणसँग मित्रता गर्छन्। द्रुपदले द्रोणलाई आफू राजा बनेपछि आफ्नो आधा राज्य द्रोणसँग बाँड्ने आश्वासन दिन्छन्। शिक्षा पूरा गरेपछि, द्रुपद पाञ्चाल फर्कन्छन् र पृषतको मृत्युपछि त्यहाँका राजा बन्छन्।[३]
महाभारत मा द्रुपदकी पत्नीलाई पृषती भनेर सम्बोधन गरिएको छ।[४] उद्योग पर्व (महाभारतको पाँचौँ पुस्तक) मा वर्णित 'अम्बोपाख्यान' प्रसङ्गले बताउँछ कि द्रुपद लामो समयसम्म सन्तानविहीन रहन्छन्, जबसम्म उनले कठोर तपस्याद्वारा भगवान् शिवलाई प्रसन्न तुल्याउँदैनन्। फलस्वरूप, उनको पहिलो सन्तानको रूपमा शिखण्डिनी जन्मन्छिन्, जो महिलाको रूपमा जन्मिए पनि शिवको निर्देशनमा पुरुषको रूपमा हुर्काइन्छ। द्रुपदले पछि शिखण्डिनीको विवाह दशार्णकी राजकुमारीसँग गराइदिन्छन्। तर जब उनको वास्तविक पहिचान खुल्छ, दशार्णका राजाले द्रुपद विरुद्ध युद्धको घोषणा गर्छन्। अन्ततः एक यक्षको सहयोगमा शिखण्डिनीले लिङ्ग परिवर्तन गरी पुरुष 'शिखण्डी' बन्छन्।
शिखण्डी बाहेक, द्रुपद उत्तमौजा र युधामन्युका पिता पनि हुन्, ती दुई राजकुमार जसले कुरुक्षेत्र युद्धको समयमा नायक अर्जुनको रक्षा गरेका थिए। प्रमाणित संस्करणमा द्रुपदका एघार छोराहरू भएको उल्लेख छ, जसमा माथि उल्लेखित बाहेक अन्य नामहरू पनि छन्: सत्यजित, कुमार, वृक, पाञ्चाल्य, सुरथ, शत्रुञ्जय र जनमेजय।[५]
शासनकाल
[सम्पादन गर्नुहोस्]पृषतको मृत्युपछि द्रुपद पाञ्चालका राजा बन्छन्। महाकाव्यको आदि पर्व अनुसार उनको राजधानीलाई काम्पिल्य भनिन्थ्यो।[६] यसैबीच, द्रोण गरिबीको जीवन बिताइरहेका हुन्छन्। तर जब उनका छोरा अश्वत्थामालाई दूध समेत किन्न नसक्ने गरिब भनेर जिस्काइन्छ, तब उनी मद्दतका लागि द्रुपदकहाँ जान्छन्। अब आफ्नो उच्च ओहदाप्रति सचेत भइसकेका द्रुपदले उनीहरूबीचको मित्रतालाई स्वीकार गर्न इन्कार गर्छन् र द्रोणलाई भिखारी भन्दै तिरस्कार गर्छन्।[३]
यस अपमानबाट द्रोण क्रुद्ध हुन्छन् र बदला लिने कसम खान्छन्। दरबार छोडेपछि उनी द्रुपदको सामना गर्न सक्ने शिष्यहरूको खोजीमा भौँतारिन्छन्। पछि उनलाई भीष्मले कुरु राजकुमारहरू—पाण्डव र कौरव भाइहरूलाई तालिम दिन नियुक्त गर्छन्। उनीहरूको सैन्य शिक्षा समाप्त भएपछि, द्रोणले उनीहरूसँग आफ्नो गुरुदक्षिणाको रूपमा द्रुपदलाई हराएर बन्दी बनाउन माग गर्छन्। राजकुमारहरूले द्रुपदमाथि आक्रमण गर्छन्, तर द्रुपदले सबै कौरवहरूलाई हराइदिन्छन्।[७] त्यसपछि अर्जुनको नेतृत्वमा पाण्डवहरूले द्रुपदलाई बन्दी बनाएर डोरीले बाँधी द्रोणकहाँ ल्याउँछन्। द्रुपदको अनुरोधमा, द्रोण भविष्यमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सहमत हुन्छन्। द्रुपदलाई मुक्त गरिन्छ, तर पाञ्चाल देशलाई दुई भागमा विभाजन गरिन्छ, जसको एक भाग द्रुपदलाई र अर्को भाग द्रोणलाई दिइन्छ।[३][८]

यद्यपि दुवै राज्यहरू मैत्रीपूर्ण सम्बन्धमा हुन्छन्, द्रुपदले द्रोणको हातबाट भएको आफ्नो अपमान बिर्सन सक्दैनन्। आफू वा आफ्ना सन्तानहरू द्रोणलाई हराउन सक्षम नभएको महसुस गर्दै, द्रुपद द्रोणसँग बदला लिन सक्ने शक्तिशाली छोरा प्राप्त गर्ने इच्छा गर्छन्। उनले धेरै ऋषिहरूसँग परामर्श गर्छन् र अन्ततः याज र उपयाज नामक दुई ऋषि दाजुभाइलाई शक्तिशाली छोरा प्राप्त गर्न मद्दतको लागि अनुरोध गर्छन्। सुरुमा उनीहरूले अस्वीकार गर्छन्, तर द्रुपदले एक वर्षसम्म उनीहरूको सेवा गरेपछि, उनीहरू एक पुत्रकामेष्टि यज्ञ गर्न सहमत हुन्छन्। यज्ञ सम्पन्न भएपछि, उनीहरूले द्रुपदकी पत्नी पृषतीलाई हवि (प्रसाद) ग्रहण गर्न निर्देशन दिन्छन्। तर उनले आफ्नो मुखमा केसरको लेप भएको र आफू धोएर नआउन्जेल पर्खन आग्रह गर्दै अस्वीकार गर्छिन्। उनको असामयिक अनुरोधको आलोचना गर्दै, याजले उक्त हवि यज्ञको वेदीमा खन्याइदिन्छन्। त्यहाँबाट एक बालक र एक बालिकाको जन्म हुन्छ, जसले द्रुपद र पृषतीलाई आफ्ना अभिभावकको रूपमा स्वीकार गर्छन्। उनीहरूको नाम क्रमशः धृष्टद्युम्न र कृष्णा (द्रौपदी) राखिन्छ। उनीहरूको जन्मसँगै एक आकाशवाणी हुन्छ कि धृष्टद्युम्नले द्रोणको हत्या गर्नेछन् र द्रौपदीले कौरवहरूको अन्त्य गराउनेछिन्।[३][९][१०]
कुरुक्षेत्र युद्धमा भूमिका
[सम्पादन गर्नुहोस्]द्रुपदले कुरुक्षेत्र युद्धमा पाण्डवहरूको पक्षबाट लडेका थिए। भीष्मले उनलाई 'महारथी' को संज्ञा दिएका थिए। युद्धको पहिलो दिन उनले जयद्रथसँग युद्ध गर्छन्। लामो समयसम्म चलेको द्वन्द्वपछि द्रुपद अन्ततः पराजित हुन्छन् र युद्धभूमिबाट पछि हट्छन्। १४औँ दिनको रातमा, उनी वृषसेनद्वारा पराजित हुन्छन् र बेहोस हुन्छन्। उनलाई युद्धभूमिबाट बाहिर लैजाँदा वृषसेनले उनको अधिकांश सेनाको पनि संहार गर्छन्।[११] उनले राजा विराटसँग मिलेर युद्ध गर्छन् र युद्धको १५औँ दिनमा द्रोणको हातबाट मारिन्छन्। लामो तरवार युद्धपछि उनी नराम्ररी घाइते हुन्छन् र अन्ततः द्रोणद्वारा मारिन्छन्। उनको मृत्युपछि, द्रोणले आँखाभरि आँसु पार्दै आफ्नो साथीलाई मार्नु परेकोमा दुःख व्यक्त गर्दै उनको शरीरलाई श्रद्धाञ्जली अर्पण गर्छन्।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sanskrit Dictionary for Spoken Sanskrit", spokensanskrit.de, मूलबाट १५ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२०।
- ↑ Hiltebeitel, Alf (२०११-०८-१७), Dharma: Its Early History in Law, Religion, and Narrative (अङ्ग्रेजीमा), Oxford University Press, USA, आइएसबिएन 978-0-19-539423-8।
- 1 2 3 4 5 Puranic Encyclopedia: a comprehensive dictionary with special reference to the epic and Puranic literature, Vettam Mani, Motilal Banarsidass, Delhi, 1975, 251
- ↑ Karve, Irawati (जुलाई २००६), Yuganta: The End of an Epoch (अङ्ग्रेजीमा), Orient Longman, आइएसबिएन 978-81-250-1424-9।
- ↑ Buitenen, J. A. B. van; Fitzgerald, James L. (१९७३), The Mahabharata, Volume 3: Book 4: The Book of the Virata; Book 5: The Book of the Effort (अङ्ग्रेजीमा), University of Chicago Press, आइएसबिएन 978-0-226-84665-1।
- ↑ "Mahabharat - Draupadi'S Swayamvar", urday.in, मूलबाट १० मार्च २०१४-मा सङ्ग्रहित।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CXL", www.sacred-texts.com, अन्तिम पहुँच २०१८-०१-१५।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section CXXXI", sacred-texts.com, अन्तिम पहुँच २०१५-०५-२०।
- ↑ Sargeant, Winthrop; Smith, Huston (२००९), The Bhagavad Gītā, SUNY Press, पृ: १६, आइएसबिएन 978-1-4384-2841-3।
- ↑ Bonnefoy, Yves (१९९३), Asian Mythologies, University of Chicago Press, पृ: ५६, आइएसबिएन 978-0-226-06456-7।
- ↑ "MAHABHARATA - Yudhistra's Permission", urday.in, मूलबाट ३१ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२०।
- ↑ Ganguli, K.M. (२०१४), The Mahabharata, Book 7: Drona Parva, Netlancers Inc।[स्थायी मृत कडी]
