द्वारिकादेवी ठकुरानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वारिकादेवी ठकुरानी

द्वारिकादेवी ठकुरानीको जन्म १९७४ मा डोटीको सिलगढीमा भएको थियो ।[१] द्वारिकादेवी पिता वामदेव पन्त र आमा राधादेवीकी छोरी हुन् । द्वारिकादेवीका सौतनी आमापट्टिका भाइ शिवराज पन्त हुन् । द्वारिकादेवीका बुवा वामदेव पन्त राणाकालमा इलाम र डोटी गौडामा खरिदार थिए । बुवा आमा डोटीमा रहँदा द्वारिकादेवी सिलगढीमा जन्मेकी थिइन । द्वारिकादेवीका पिता वामदेव पन्तको पुख्र्यौली घर भने डोटीकै दानकोट गर्खाको जिजौडामाण्डू जैनोलीमा हो । द्वारिकादेवीले विसं. १९९२ मा बैतडी तल्लो स्वराडका जिम्मुवाल उद्धवबहादुर चन्दसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन । ब्राह्मण परिवारमा जन्मेकी द्वारिकाका श्रीमान उद्धबबहादुर चन्द ठकुरी थिए । सोही कारण पछि द्वारिकाले आफ्नो थर ठकुरानी लेख्ने गरेकी हुन् ।

२०१४ सालमा सिमराबाट काठमाडौँका लागि उडेको प्लेन दुर्घटनामा नेपाली काँग्रेस डडेल्धुराका युवा नेता नारायणीदत्त चटौत (एन.डी.प्रकाश चटौत)को दुःखद निधन भएको थियो । सोही कारण नेपाली काँग्रेसले २०१५ सालको आम निर्वाचनमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेद्वार बनाएको थियो । २०१५ को आम निर्वाचनमा द्वारिकादेवीले पूर्वप्रधानमन्त्री डा. के.आई.सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टी उम्मेद्वार लक्ष्मीदत्त भट्टलाई हराएर चुनाव जितेकी थिइन । द्वारिकादेवीसँग क्षेन नं. ६६ डडेल्धुराबाट चुनाव हार्ने अर्का वरिष्ठ राजनीतिज्ञ नेपाल प्रजा परिषद आचार्य गूटका पुष्करनाथ उप्रेती थिए । डडेल्धुरा हाँटगाउँ घर भएका पुष्करनाथ उप्रेतीको काठमाडौँ डिल्लीबजार बसाइ थियो ।

२०१५ को आम निर्वाचनमा विजय भएपछि द्वारिकादेवी २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन । वीपी कोइराला मन्त्रिमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त सँगै मन्त्री बनेका थिए ।

२०१७ पुस १ गतेको कू मा पक्राउ परेकी द्वारिकादेवी पुस ८ गते छुटेर कलकत्ता पुगेकी थिइन । कलकत्तामा रहेका विघटित कोइराला सरकारका उपप्रधानमन्त्री सुवर्णशम्शेरलाई भेटेर द्वारिकादेवी नेपाली काँग्रेसले राजा महेन्द्रको सत्ता विरुद्ध चलाएको सशस्त्र संघर्षमा सामेल भएकी थिइन । आठ वर्ष प्रवासमा बिताएर आफमाफी पछि द्वारिकादेवी २०२५ सालमा नेपाल फर्केकी थिइन । जीवनको उत्तराद्र्धमा कैलालीको जुगेडामा बस्दैआएकी द्वारिकादेवीको २०५९ मंसिर २४ गते निधन भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नारी दिवस : दक्षिण एसियाकै पहिलो महिला मन्त्री, यस्तो थियो गोर्खापत्रको समाचार", अन्वेषण, अन्तिम पहुँच २०२२-११-०२ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]