द लिटिल मरमेड (मूर्ति)
द लिटिल मरमेड (डेनिस भाषामा Den lille havfrue) काँसबाट बनेको जलपरीको मूर्ति हो, जुन कोपनहेगन मा अवस्थित छ।
यो मूर्ति डेनिस मूर्तिकार एडवर्ड एरिक्सन द्वारा निर्माण गरिएको हो र लाङ्गेलिनी तटीय मार्गमा, कोपनहेगन बन्दरगाह मा उभिएको छ। उक्त बन्दरगाह बाल्टिक सागर तर्फ खुल्छ र यो अमालियनबोर्ग दरबार नजिकै पर्छ। मूर्ति समुद्रतर्फ निस्केका चट्टानहरूमाथि राखिएको छ। अहिले यो शहरको सबैभन्दा प्रमुख प्रतीक मानिन्छ।
यो मूर्ति १८३७ मा डेनिस लेखक हान्स क्रिश्चियन एन्डरसन द्वारा लेखिएको उही नामको परीकथामा आधारित छ। आकारमा सानो र धेरै भव्य नदेखिने भए पनि, यो कोपेनहेगनको प्रतीक बनेको छ र १९१३ मा सार्वजनिक रूपमा उद्घाटन भएदेखि नै एक प्रमुख पर्यटकीय आकर्षण रहँदै आएको छ। पछिल्ला दशकहरूमा भने यो मूर्ति तोडफोड गर्ने व्यक्तिहरू र राजनीतिक कार्यकर्ताहरूको निशाना बनेको छ।