धनुषा जिल्ला
धनुषा जिल्ला | |
|---|---|
धनुषा जिल्लामा अवस्थित जानकी मन्दिर | |
मधेश प्रदेशको नक्सामा धनुषा जिल्लाको अवस्थिति (गाढा पहेँलो) | |
| देश | नेपाल |
| क्षेत्र | मिथिला |
| प्रदेश | मधेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | जनकपुर |
| सरकार | |
| • प्रकार | समन्वय समिति |
| • अङ्ग | जिसस, धनुषा |
| क्षेत्रफल | |
| • जम्मा | १,१८०.७ किमी२ (४५५.९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ८६७,७४७ |
| • क्रम | auto |
| • घनत्व | ७३०/किमी२ (१९००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| मुख्य भाषा(हरू) | मैथिली (८५.८%), नेपाली (४.५%) |
| वेबसाइट | ddcdhanusha |
धनुषा नेपालको मधेश प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कुल जनसङ्ख्याको २.९% ओगटी जनसङ्ख्याको क्रममा पाँचौ स्थानमा पर्ने तथा विभिन्न ९३ जातजाति पाइएको यस धार्मिक क्षेत्रले आफू भित्र समेटेको भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले यस जिल्लालाई देश विदेशमा परिचित गरएको छ। भारतको सीमावर्ती शहर जयनगरसम्म पुग्ने नेपालको एक मात्र रेलसेवाले पनि यस जिल्लाको महत्त्वलाई बढाएको छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]किम्बदन्ती एवं धर्मग्रन्थहरूका अनुसार त्रेता युगमा प्रजाहरूलाई अनिकालवाट मुक्ति दिलाउन जनकवंशका वाईसौ राजा शीरध्वजले आफैँ हलो जोत्न थाल्दा भूमीबाट बालिका जानकी (सीता) उत्पन्न भएकी थिइन्। सर्वगुण सम्पन्न जानकीको विवाहका लागि स्वयंवर लिन ईच्छुक विभिन्न प्रदेशबाट आएका शक्तिसम्पन्न राजकुमारहरू मध्येबाट शिवधनुषमा ताँदो चडाउनेलाई वरको रूपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्याबाट आएका दसरथपुत्र रामचन्द्र बाहेक कोही सफल हुन सकेनन। तर रामचन्द्रले सो धनुषमा ताँदो चडाउनलाग्दा अत्यधिक वजनको सो धनुष खण्डीत हुनपुग्यो। सो धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ यसै स्थानको नामबाट जिल्लाको नाम धनुषा भनी नामाकरण भएको पाइन्छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १ उपमहानगरपालिका र ११ नगरपालिका र ६ गाउँपालिकाहरू गरि १८ वटा स्थानीय तहहरू रहेका छन्।[२]

जिल्लाको इतिहास
[सम्पादन गर्नुहोस्]धनुषा जिल्लाको धार्मिक सास्कृतिक भौगालिक आर्थिक तथा सामाजिक व्यवस्था मानव सभ्यताको हरेक युग कालबाट प्रभावित भई परिष्कृत हुँदै आएको पाइन्छ। भारतमा रहेको अयोध्याका राजकुमार रामचन्द्रसँग जानकीको विवाह पश्चात यस क्षेत्रको गरिमा अझ उत्कर्षमा पुगेको पाइन्छ। धनुषा जिल्लाको हालको स्वरूप कोशी देखि गण्डकी र गङ्गा देखि हिमालयसम्म फैलिएको वृहत मिथिला प्रदेशको युगान्तमा खुम्चिँदै गएको सानो स्वरूप नै हो भन्ने गरिन्छ। किम्बदन्ती अनुसार पूर्व वैदिक युगमा मानव विहीन रहेको यो क्षेत्रको अन्वेषण माथव विदेधले गरेका थिए। मुखमा अग्नी लिई यस वनले ढाकिएको अनकन्टार प्रदेशमा आईपुग्दा उनको मुखमा रहेको आगो बाहिर आई सम्पूर्ण वनको विनाश भए पश्चात यहाँ मानव वसोवास शुरु भएको थियो। त्रेतायुगमा राजा जनकको विद्वता र जानकीको धार्मिक सम्लग्नताका कारण यो क्षेत्र टाढा-टाढासम्म प्रख्यात भएको पाइन्छ।
सत्रौँ शताव्दीको शुरुमा भातबाट महात्मा सुरदासको आगमन पश्चात यस क्षेत्रको इतिहास सफा हुँदै गएको देखिन्छ। किम्बदन्ती अनुसार जानकीको जन्मस्थानको खोजीमा महात्मा सुरदास भौंतारिदै गर्दा एकदिन राति सपनामा जानकी आफै प्रकट भई सुरदासलाई सो स्थान देखाएकी थिईन। सोही वखत सुरदासले सो स्थानमा खन्ती गाडी चिनो लगाएर जानकीलाई प्रतिस्थापित गराएका थिए। राज्यहरूको उदय विलय क्रमसगै यस प्रदेशका शासक भौगोलिक सीमा परिवर्तन हुँदै गए। नेपाल एकीकरण हुनुअघि यो प्रदेश मकवानपुर राज्यको अधीनमा थियो। मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरका लागि १४०० विघा जमिन उपलव्ध गराएका थिए। विसं १८८२ माअमरसिंह थापाले पेगोडा शैलीमा राममन्दिरको निर्माण गराएका थिए भने विसं १९५०मा टिकमगढकी महारानी वृषभानु देवीले ९ लाख रूपैयाँ लगाएर हालको भव्य मुगलकालीन शैली झल्किने जानकी मन्दिर निर्माण गराएकी हुन। हालको धनुषा जिल्लाले धार्मिक ऐतिहासिक मिथिला प्रदेशको सानो भूभाग ओगटेको भएपनि यो जिल्ला यस प्रदेशको मुटुको रूपमा रहेको पाइन्छ।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांश: उत्तरी २५.३५" देखि उत्तरी २७.५" सम्म
- देशान्तरः पूर्वी ८५.५" देखि पूर्वी ८६.२" सम्म
- उचाइ:-
- सिमाना:- पूर्व-सिराहा जिल्ला, पश्चिम-महोत्तरी जिल्ला, उत्तर-सिन्धुली जिल्ला र दक्षिण- भारतको बिहार प्रदेश
- क्षेत्रफल:- १,१९० वर्ग किलोमिटर
- अवस्थिति:- तराई प्रदेश
- औषत लम्बाइ:- उत्तर-दक्षिण ४५.२७ किलोमीटर
- औषत चौडाइ:- पूर्व-पश्चिम २७.४७ किलोमीटर
- अधिकतम लम्बाइ:- ५८ किलोमीटर
- न्युनतम लम्बाइ:- ३९ किलोमीटर
- अधिकतम चौडाइ:- ३४ किलोमीटर
- न्युनतम चौडाइ:- २२ किलोमीटर
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]नेपालको क्षेत्रीय वर्गीकरण ढाँचा:धनुषा जिल्लाका गाविस तथा नगरपालिकाहरू
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;National Population and Housing Census 2021(National Report)नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।