सामग्रीमा जानुहोस्

धूमावती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धूमावती
कलह, एक्लोपन, अतृप्त इच्छा र अशुभ कुराहरूको देवी
दश महाविद्याको सदस्य
देवी धूमावती, १९औँ शताब्दीको चित्र
देवनागरीधूमावती
आबद्धमहाविद्या, देवी, पार्वती
वासस्थानमसानघाट
मन्त्रधूँ धूँ धूमावती स्वाहा
वाहनकाग
रानीधूमावान ( शिव को रूप)

धूमावती (शाब्दिक अर्थ "धुवाँ जस्तै वर्ण भएकी") हिन्दु तन्त्रका दश देवीहरूको समूह, दश महाविद्याहरू मध्ये एक हुन्। धूमावतीले हिन्दु धर्म अन्तर्गतको शाक्त परम्परामा महादेवीको भयानक पक्षलाई प्रतिनिधित्व गर्ने देवी हुन्। उनलाई प्रायः एक वृद्ध विधवाको रूपमा चित्रण गरिन्छ र उनलाई हिन्दु धर्ममा अशुभ र अनाकर्षक मानिने वस्तुहरू जस्तै: काग र चातुर्मास अवधिसँग जोडिएको छ। देवीलाई प्रायः घोडा नभएको रथमा नाङ्लो बोकेको वा कागमा सवार भएको अवस्थामा देखाइन्छ, जुन प्रायः मसानघाटमा हुन्छ।

धूमावती ब्रह्माण्डको प्रलयको समयमा प्रकट हुने मानिन्छ र उनी सृष्टिको अघि र विनाश पछि अस्तित्वमा रहने "शून्यता" हुन्। धूमावतीलाई सामान्यतया अशुभ गुणहरूसँग मात्र जोडिए तापनि उनको सहस्रनामले उनका नकारात्मक पक्षका साथै सकारात्मक पक्षहरूको पनि उजागर गरेका छन्। उनलाई प्रायः कोमल हृदय भएकी र वरदान दिने देवीको रूपमा चिनिन्छ। धूमावतीलाई ब्रह्माण्डको परम ज्ञान प्रकट गर्ने एक महान शिक्षिकाको रूपमा वर्णन गरिएको छ जुन ज्ञान शुभ र अशुभ जस्ता भ्रमपूर्ण विभाजनहरू भन्दा पर छ। उनको कुरूप रूपले भक्तलाई सतही कुराहरू भन्दा पर हेर्न, भित्री रूपमा नियाल्न र जीवनको आन्तरिक सत्य खोज्न सिकाउँछ।

धूमावतीलाई सिद्धि (अलौकिक शक्ति) दिने, सबै समस्याहरूबाट बचाउने, अन्तिम ज्ञान र मोक्ष सहित सबै इच्छा र फलहरू प्रदान गर्ने देवीको रूपमा वर्णन गरिएको छ। शत्रुहरूलाई परास्त गर्न चाहनेहरूका लागि पनि उनको पूजा गर्ने सल्लाह दिइन्छ। धूमावतीको पूजा अविवाहित पुरुष, विधवा र सन्यासीका साथै तान्त्रिक जस्ता समाजका अविवाहित सदस्यहरूका लागि आदर्श मानिन्छ। तथापि, वाराणसी स्थित उनको मन्दिरमा उनले आफ्नो अशुभ छविलाई त्यागेर स्थानीय संरक्षक देवीको दर्जा प्राप्त गरेकी छिन् जहाँ विवाहित दम्पतीहरूले पनि उनको पूजा गर्ने गर्दछन्। धूमावती समर्पित मन्दिरहरूको सङ्ख्या थोरै भएतापनि मसानघाट र जङ्गल जस्ता एकान्त ठाउँहरूमा तान्त्रिक विधिद्वारा उनको पूजा निजी रूपमा गरिने गरिन्छ।

घोडा नभएको रथमा नाङ्लो बोकेकी विधवाको रूपमा धूमावतीको एक परम्परागत चित्र

महाविद्या समूह बाहिर धूमावतीको स्वतन्त्र अस्तित्व विरलै पाइन्छ। महाविद्याहरूमा समावेश हुनुअघि उनको कुनै ऐतिहासिक उल्लेख भेटिँदैन। फ्रान्सेली इतिहासकार आलेन दानेलुले गरिबी, निराशा र हतासाको देवीको रूपमा धूमावतीलाई रोग र कष्टकी देवी निर्ऋति र दुर्भाग्य र दरिद्रताकी देवी अलक्ष्मीसँग जोडेका छन्।[] किन्स्लेले यस सूचीमा अर्की देवी ज्येष्ठालाई पनि थपेका छन्।[]

वैदिक देवी निर्ऋति मृत्यु, क्षय, दुर्भाग्य, क्रोध र अभावसँग सम्बन्धित छिन्। उनलाई टाढा राख्नका लागि गरिने अर्पणहरूमा विशेष जोड दिइन्छ। निर्ऋति जस्तै, धूमावती पनि अशुभ कुराहरू र कठिनाइहरूसँग जोडिएकी छिन्। प्राचीन हिन्दु देवी ज्येष्ठाका प्रतिमाहरूको धूमावतीसँग समानता रहेको छ। धूमावती जस्तै उनी पनि कालो वर्णकी, कुरूप र कागसँग सम्बन्धित छिन्। ज्येष्ठालाई कुनै पनि शुभ कुरा सहन नसक्ने देवीको रूपमा वर्णन गरिएको छ। धूमावती जस्तै ज्येष्ठा पनि कलह, अशुभ स्थानहरूमा बास गर्ने र खराब स्वभाव भएको मानिन्छ।[] 'शारदातिलक-तन्त्र' का टीकाकार लक्ष्मण देशिकले धूमावतीलाई ज्येष्ठाको रूपमा पहिचान गरेका छन्। धन, भाग्य र सौन्दर्यकी देवी लक्ष्मीकी दिदी र विपरित स्वरूप भएकी अलक्ष्मी र धूमावती दुवैलाई बूढी, कुचो बोकेकी र कागको प्रतीक समावेश गरेको भनी वर्णन गरिएको छ। यी सबै चिजहरूलाई भोक, तिर्खा, आवश्यकता र गरिबीको प्रतीक मानिन्छ।[]

धूमावती र यी तीन देवीहरूका बीचमा समानताहरू रहेतापनि ती देवीहरूमा धूमावती जस्तो विधवापन र उनको कुरूपतामाथिको शास्त्रीय जोडको अभाव देखिन्छ। ती तीन देवीहरूको नाम धूमावतीको 'नाम स्तोत्र' (उनका धेरै नामहरू आह्वान गर्ने भजन) मा पनि पाइँदैन, जहाँ यस्तो पहिचान स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्दथ्यो। ती तीन देवीहरूमा महाविद्याको सन्दर्भमा पाइने धूमावतीको उग्र योद्धा पक्ष र उनका सकारात्मक पक्षहरूको पनि कमी छ। विद्वान डेभिड किन्स्लेको विचारमा, यी तीन देवीहरू धूमावतीका पूर्ववर्ती हुन सक्ने भएतापनि तिनीहरू धूमावती "स्वयम्" भने होइनन्।[] किन्स्लेका अनुसार, दश महाविद्याको अवधारणा १२औँ शताब्दीभन्दा पुरानो नहुन सक्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Daniélou, Alain (१९९१-१२-०१), The myths and gods of India, Inner Traditions / Bear & Company, पृ: 282–3, आइएसबिएन 978-0-89281-354-4
  2. 1 2 3 4 Kinsley (1997), pp.178-181
  3. Kinsley (1988) p. 175

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]